काठमाडौं । नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरुलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरुले बताएका छन् ।
विज्ञहरुले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु भइरहेको जिकिर गरे । वातवरण तथा प्रकोपविद् दीपकविक्रम थापा क्षेत्रीले नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको बताए । उनले जलवायुजन्य विपद्का घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाउन सरकासँग आग्रह गरे ।
हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन नसकेको बताए । विश्वलाई देखाउनका लागि नेपालसँग जलवायुजन्य विपद्बाट भएका घटनाहरु यकिन गरि नसकेको बताए । नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरु वैज्ञानिक रुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरु रहेको जानकारी दिए ।
‘नेपालको हकमा हामीले जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु पनि देखिरहेका छन् । हामी संख्यात्मक हिसावमा देखायौँ तर त्यसले हामीले कति समस्यामा पारेको छ, यस्ता घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाएर बोल्न सकेका छैनौँ’, उनले भने ।
४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिब ८० प्रतिशत जलवायु परिवर्तनबाट
विज्ञ क्षेत्रीले विगत ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिब ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट भएको बताए । उनकाअनुसार युएनले गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएका छन् । नेपाल जस्तो विकासोन्मुख देशहरु ८० प्रतिशत जलवायु परिवर्तनको जोखिममा परेको बताए ।
पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै नेपाल जस्ता विकासोन्मुख देशहरुले जलवायुजन्य परिवर्तनका कारण हुने घटनालाई कम गर्नसक्ने जिकिर गरे । पूर्वसूचना प्रणालीलाई विकास गर्न नसके झनै भयावह अवस्था आउने बताए । विकसित देशहरु भन्दा १० गुणा बढी क्षति नेपाल लगायतका देशलाई जलवायु परिवर्तनका कारण भएको बताए । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन जरुरी रहेको जानकारी दिए ।
‘हामीले विगत ४० वर्षको आँकडालाई हेर्ने हो भने जलवायु परिवर्तनका हिसावले आएको कुराहरुमा लगभग ८० प्रतिशत जलवायु परिवर्तनकै कारणले हाम्रोमा विपद्हरु निम्तिएका छन्, त्यो सबै जलवायु परिवर्तनका कारणले भएको भन्ने देखाएको छ’, उनले भने ।
विपद्पूर्व तयारीका लागि आज एक रुपैयाँ खर्च गर्दा भविष्यमा ४ रुपैयाँ बचाउन सकिन्छ
विपद्विज्ञ क्षेत्रीले नेपालले ०.०२ प्रतिशत मात्रै हरित गृह ग्यास उत्सर्जन गरेको भन्दै कम उत्सर्जन गर्ने देशले नै बढी क्षति व्यहोरिरहेको बताए । उनले नेपाल ज्लवायुजन्य विपद् बढी व्यहोर्ने देशमा चौथो नम्बरमा रहेको बताए । उनले यसबारेमा विश्वस्तरमा एक आवाजमा लैजानसके सो बराबरको क्षति विकसित देशहरुले व्यहोर्ने वातावरण बन्ने जानकारी दिए ।

यस्तै, उनले विकासका बजेटहरुमा नेपालले लगभग ०.४७ प्रतिशत मात्रै लगानी गरेको बताए । विपद्सम्बन्धी बजेटमा ४ प्रतिशत बजेट मात्रै विपद्पूर्व तयारीको लागि प्रयोग हुने गरेको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा जलवायु परिवर्तनको बारेमा वकालत गरिएको भएपनि त्यसपछिका दिनमा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई कम प्राथमिकता दिइएको बताए । जलवायु परिवर्तनका कारण प्रकोपीय जोखिमका हिसावमा नेपाल खतरायुक्त रहेकोबारे विश्वलाई बुझाउन सक्नुपर्ने जानकारी दिए ।
‘नेपाल जस्तो देश जसले ०.०२ प्रतिशत मात्रै हामीले हरित गृह ग्यास उत्सर्जन गर्दछौँ । तर हामी जस्तो देशहरुले धेरै नै क्षति व्यहोरिरहेको छ, त्यो माथि भइसकेपछि उनीहरुले त्यति नै बराबरको क्षति बराबरको पैसा दिइराख्ने भनेको पनि इजि टाक्स होइन’, उनले भने ।
उनले नेपालमा जलवायु परिवर्तनका कारण नेपालको संस्कृति र हिमाली क्षेत्रका नागरिकमा बढी असर परेको बताए । ग्रामिण भेगसम्म जलवायु परिवर्तनका असरबारे जानकारी गराउन नसके अनुकुलतातर्फ लैजान नसकिने बताए । अहिले १ डलर विपद्पूर्व तयारीका लागि गर्ने हो भने भविष्यमा ४ डलर रुपैयाँ जोगाउन सकिने जानकारी दिए ।