ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व संकलन
फुङलिङ । ताप्लेजुङमा रु १८ करोड ७२ लाखभन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ७२ लाख १६ हजार सात सय ९३ रुपैयाँ राजस्व संकलन भएको हो । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार संघतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेशतर्फको कूल बजेट ६२ करोड ८७ लाख ५३ हजार एक सय आठ रुपैयाँ रहेको थियो । त्यसमा पुँजीगततर्फ २० करोड ९० लाख दुई हजार रुपैयाँ र चालुतर्फ ४२ करोड ९७ लाख ५१ हजार रुपैयाँ रहेको थियो । पुँजीगततर्फ ९४ दशमलव २५ र चालुतर्फ ८१ दशमलव २५ प्रतिशत प्रगति भएको आचार्यले बताए । प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला आयुर्वेदलगायत कार्यालय रहेका छन् । संघतर्फको बजेट चार अर्ब ९९ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको थियो । त्यसमा पुँजीगततर्फ ६० करोड ११ लाख ३० हजार रुपैयाँ र चालुतर्फ चार अर्ब ३९ करोड ५१ लाख नौ हजार रुपैयाँ रहेको थियो । पुँजीगततर्फ ७३ दशमलव २० र चालुतर्फ ९४ दशमलव ६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए । संघतर्फका कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकायलगायत कार्यालय रहेका छन् । जिल्लामा संंघ र प्रदेशअन्तर्गतका ३७ कार्यालय रहेका छन् । रासस
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । प्रमुख सचेतक सन्तोष परियारले एक सूचनामार्फत विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । आइतबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको हो । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा वडाध्यक्ष चीनकाजीले थाले सडकबाटै काम
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्ने मेयर बालेन शाहको कदमको विरोधमा वडा नम्बर २२ का जनप्रतिनिधिहरूले सडकमै बसेर सेवा प्रदान गर्न थालेका छन् । वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । वडाबाट दिइने सेवामूलक कामहरूका कागजपत्र अहिले वडाध्यक्षले सडकमै बसेर बनाइदिएका छन् । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकदेखि दक्षिणतर्फको धर्मपथ आसपासमा सडक काट्न सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन् । स्थानीयको विरोधमा वडाका जनप्रतिनिधिहरू पनि समर्थनमा उत्रिएका छन् । स्थानीयहरूसँग समन्वय नगरिएको भन्दै शुक्रबार दिउँसो डोजर पुगेपछि त्यहाँ प्रदर्शनकारी उग्र बनेका थिए । केहीबेर सुरक्षाकर्मी र नगर प्रहरीसँग धकेलाधकेल भएको थियो ।
एनआईसी एसिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । साउन ६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले जोशीलाई साउन ७ गतेबाट लागु हुने गरी संस्थाको सीईओमा ४ वर्षको लागि नियुक्त गरेको हो । उनीसँग यो भन्दा अगाडी छिमेक लघुवित्तमा पनि सीईओको रुपमा काम गरिसकेको राम्रो अनुभव रहेको छ ।
अस्पतालमा ओपीडी दुई सिफ्ट चलाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरूसँगको छलफलपछि मन्त्री पौडेलले अस्पतालहरूको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरूमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ । यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ । चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने निर्णय मन्त्रालयले गरेको छ । अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ । अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेलगायत निर्णय पनि भएको छ ।
ठूला दल एकै ठाउँमा भए पनि कसैलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । जनताले सुशासनको अनुभुति गर्ने गरी सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो । ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनपनि सक्छ,’ उनले भने । आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो । यदि मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । ‘जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उनले भने । बिपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले बिपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए । ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो, पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं, तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं, बिपीले त यस्तो कहिल्यै सिकाउनुभएन, हिजोको त्यो आत्मियता कहाँ गयो ?,’ कोइरालाले प्रश्न गरे ।
सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौं परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यका सम्बद्ध निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्ने गरी पहल गर्ने प्रतिबद्धता जनाए । उनले राज्य सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकायलगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने बताए । अर्थमन्त्री पौडेलले राज्यमा सम्बद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरूका लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताए । उनले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरूको महत्वपूर्ण भूमिका रहेको बताए अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताए । उनले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनका निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे । उनले चार्टर्ड एकान्टेण्ट संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताए ।
कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आइतबार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसीहरूले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे । उनले विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविष्मरणीय रहेको बताए । उनले कोईराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको पनि जानकारी दिए । ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर । बिपी कोईरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ, राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो’, उनले भने । सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।