काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसीहरूले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे ।
उनले विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविष्मरणीय रहेको बताए । उनले कोईराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको पनि जानकारी दिए ।
‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर । बिपी कोईरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ, राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो’, उनले भने ।
सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।