बंगलादेशबाट १७ नेपाली विद्यार्थी आइतबार स्वदेश फर्किँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आइतबार काठमाडौं ल्याइने बताएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन् । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’ प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
राहुघाट आयोजनाको मुख्य सुरुङको काम अन्तिम चरणमा
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । ‘छ हजार दुई सय मिटरमध्ये शनिबारसम्म छ हजार एक सय ८७ मिटर सुरुङ निर्माण भएको छ’, उनले भने, ‘केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ ।’ तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो । रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो । मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ । रघुगङ्गा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ । घुमाउनेतालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । रासस
युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ, सार्वजनिक गरे भावी कार्ययोजना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छिन् । काठमाडौंमा साउन ४ गते शुक्रबार सम्पन्न मञ्चको २०औं वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरु संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्ष हुन्छ । मञ्चको कार्यसमिति सदस्यमा सुदिप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, बिलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुबिन श्रेष्ठ नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रुपमा रहन्छिन् । पद तथा गोपनीयताको शपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ‘आकांक्षा’ थिममा आफ्नो कार्ययोजना ‘भिजन २०२५’ सार्वजनिक गरेका छन् । उत्कृष्टता, प्रगति र नवीनतालाई जोड दिएको उनको कार्ययोजनाको लक्ष्य मञ्चका प्रत्येक सदस्यलाई सम्भावनाको अधिकतम उपयोग गर्न सक्ने तहमा पुग्ने गरी सशक्तीकरण गर्नु रहेको छ । ‘आगामी वर्षका लागि मञ्चका सदस्यलाई उच्चतम लाभ दिलाउन आकांक्षा थिम प्रस्तुत गर्न पाउँदा म निकै उत्साहित छु,’ नवनियुक्त अध्यक्ष श्रेष्ठले भने । यो थिम चयन गरेर नयाँ नेतृत्वले मञ्चका सदस्यको व्यक्तिगत र सामूहिक आकांक्षालाई स्वीकार गरेको उनले बताए । ‘आकांक्षाले उत्कृष्टता, प्रगति र नवीनताको हाम्रो अथक प्रयासलाई जनाउँछ,’ अध्यक्ष श्रेष्ठले भने । मञ्चका हरेक पहल, कार्यक्रम र गतिविधिले सदस्यहरुले पाउने लाभको मात्रा बढाउने, व्यक्तिगत एवं पेसागत प्रगतिलाई सघाउने कुरा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । नेटवर्किङ, सिकाइ तथा विकास, प्रगति र संस्थाको प्रवद्र्धन तथा ब्रान्डिङलाई श्रेष्ठले प्राथमिकताको क्षेत्र भनेका छन् । नयाँ कार्यसमितिले मित्र प्रणाली, मेन्टरसिप कार्यक्रम, मिनी ओलम्पिक, उद्यमशीलतासम्बन्धी छलफल, खेल गतिविधि, मनाङसम्मको मोटर र्याली र अन्तर्राष्ट्रिय यात्राका कार्यक्रमहरु गर्नेछ । घोषित लक्ष्यप्राप्तिका लागि अन्तर्राष्ट्रिय स्तरका वक्ताको प्रवचन, कक्षाकोठा र प्रयोगमा आधारित सिकाइ कार्यक्रम पनि सञ्चालन गर्ने योजना छ । च्याप्टर संख्या हालको १३ बाट १७ र सदस्य संख्या १५०० पुर्याउने नयाँ कार्यसमितिको लक्ष्य छ । अध्यक्ष श्रेष्ठले संस्थाको सफलता र व्यक्तिगत प्रगतिका लागि मञ्चका कार्यक्रमहरुमा सबै सदस्यलाई सक्रिय सहभागी हुन आग्रह गरे । चुनौतीका बाबजुद सबै प्रयासमा उच्चतम मूल्य प्राप्त गर्ने सामूहिक आकांक्षा राख्न पनि सदस्यहरुलाई सुझाए । सोही सत्रलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हुँदा आशावादी रहन उद्यमी व्यवसायीलाई आग्रह गरे । मन्त्रालयले सरकारसँगका अपेक्षा के के छन् भनेर निजीक्षेत्रसँग सुझाव मागेको पनि उनले सुनाए । मन्त्रालयले समस्याको गहिराई पत्ता लगाउँदै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, पूर्वमन्त्री, सचिवहरु र पार्टीका घोषणापत्रका आधारमा साझा निष्कर्ष निकालेर लगानीमैत्री वातावरण निर्माण गर्ने पनि उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको संशोधित विधानले महासंघका कार्यसमितिमा मञ्चको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेका बताए । आगामी साधारणसभाबाट उक्त संशोधन पारित भएपछि महासंघ कार्यसमितिमा नेपाल युवा उद्यमी मञ्चको अनिवार्य प्रतिनिधित्व रहने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा उद्यमशीलता प्रवद्र्धनमा मञ्चको योगदान प्रसंसनीय रहेको बताए । मञ्चका संस्थापक अध्यक्ष गौरव अग्रवाल र निवर्तमान अध्यक्ष सहारा जोशीले आर्थिक वृद्धिलाई अगाडि लैजान र दिगो विकासका लगि सरकार, निजी क्षेत्र र युवा उद्यमीबीच सहकार्यको आवश्यकतामा जोड दिए । उक्त सत्रमा युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरलाई सम्मानित गरिएको थियो । ललितपुर च्याप्टरले बेस्ट भ्यालु मेम्मर्स च्याप्टर २०२४ उपाधि पायो भने जनकपुर च्याटरलाई बेस्ट रिभाइभिङ च्याप्टरको रुपमा सम्मानित गरियो । रुपन्देही च्याप्टरले बेस्ट आइडिया एन्ड इन्नोभेसन च्याप्टर तथा काठमाडौं र जनकपुरले संयुक्त रुपमा बेस्ट च्याप्टरको अवार्ड पाए । हाल देशभर मञ्चका १३ च्याप्टर छन् भने ८५० भन्दा बढी युवा उद्यमी सदस्यको रुपमा आबद्ध छन् । मञ्चमा आवद्ध उद्यमीबाट सञ्चालित उद्योग, व्यवसायमा ३० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
लिखित निर्णय दिन डराइरहेका ओली, पत्र कुरिरहेका कुलमान
काठमाडौं । विद्युतको लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक निर्देशन नेपाल विद्युत् प्राधिकरणले इन्कार गरेको छ । प्रधानमन्त्री ओलीले शुक्रबार उद्योगी र कार्यकारी निर्देशक कुलमान घिसिङलाई सँगै राखेर लाइन जोड्न दिएको निर्देशन कुलमानले इन्कार गरेका हुन् । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा महसुल नबुझाएका उद्योगहरूमा पुनः लाइन जोड्न नसकिने भन्दै ओलीको निर्देशन अस्वीकार गरेको हो । ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । दुई घण्टा लामो छलफलमा लाइन जोड्ने वा नजोड्ने विषयमा व्यापक छलफल भएको थियाे । अन्ततः सञ्चालक समितिले लाइन नजोड्ने निर्णय गरेको बुझिएको छ । सरकारको लिखित निर्देशन कुर्ने निर्णय गरेको बताइएको छ । यसअघि प्राधिकरणले १५ दिनमा डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई पत्र पठाएको थियो । तर, कुनै पनि उद्योगीले महसुल नबुझाएपछि प्राधिकरणले असार २५ गतेदेखि लाइन काट्न सुरु गरेको थियो । अहिलेसम्म आधा दर्जन उद्योगमा प्राधिकरणले लाइन काटिसकेको छ । प्राधिकरणले हालसम्म रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टिलक र जगदम्बा स्टिलमा विद्युतको लाइन काटेको छ । प्राधिकरणले धमाधम लाइन काट्न सुरु गरेपछि प्रधानमन्त्री ओलीले दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । सोही छलफलमा ओलीले कार्यकारी निर्देशक घिसिङलाई लाइन जोड्न मौखिक रुपमा निर्देशन दिएका थिए । उनको निर्देशनपछि घिसिङले बोर्ड बैठक बसिसकेपछि मात्रै निर्णय लिन सकिने धारणा राखेका थिए । प्राधिकरण बैठकले भने मौखिक नभई लिखित निर्देशन माग गरेको छ । तर, प्रधानमन्त्री ओलीले भने लिखित निर्देशन दिन सकेका छैनन् । प्राधिकरण भने मौखिक निर्देशन नभई लिखित निर्देशन आएपछि मात्रै आफ्नो निर्णयबाट पछि हट्ने अडान राख्दै आएको छ । ओलीले लिखित निर्देशन दिन आनाकानी गरिरहेका छन् । अघिल्लो सरकारले गिरीशचन्द्रलालको संयोजकत्ववको समितिले दिएको प्रतिवेदनका आधारमा महसुल असुल गर्नु पर्ने निर्णय गरेको थियो । तर, केपी ओलीले विगतका सबै निर्णयलाई वेवास्ता गर्दै ठाडो निर्देशन दिएपछि घिसिङले उनको निर्देशन अवज्ञा गरेका हुन् । डेडिकेडेट फिडर र ट्रंक लाइन मार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । यही विवादमा प्राधिकरणले २४ उद्योगको लाइन गत पुस पहिलो साता काटेको थियो ।
अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव
काठमाडौं । अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताए । शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका लागि एयू आयुक्त मोहम्मद बेल्होसिनले घानाको राजधानी अक्रामा एयूको कार्यकारी परिषद्को चलिरहेको ४५ औं साधारण सत्रमा पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । उनले यो घाटाले महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक असर पर्ने चेतावनी दिए । त्यसैले आयुक्तले संयुक्त राष्ट्र संघले तय गरेको सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्यहरू हासिल गर्न महादेशलाई आह्वान गरे । शैक्षिक प्रणालीमा पहिले नै लगानी गरिसकेको भएपनि बलियो प्रयास हुन नसकेको बताए । अफ्रिकालाई करिब ९० अर्ब अमेरिकीको लगानी आवश्यक रहेको बताइएको छ । थप दक्ष व्यक्तिलाई पेशा अंगाल्न उत्प्रेरित गर्न शिक्षण पेशालाई पुनः ब्राण्डिङ गर्न आग्रह गरे । उनले अफ्रिकामा शिक्षा प्रणाली सुधार गर्नका लागि विश्वव्यापी सहयोगको लागि पनि आह्वान गरे । विश्वका अन्य भागहरूमा कम जनसंख्या वृद्धिका कारण आगामी २० वर्षमा सम्पूर्ण विश्वले अफ्रिकी युवाहरूमा निर्भर रहनुपर्ने हुनसक्छ ।
सबैभन्दा ठूलो दुर्लभ सियामी गोहीको गुँड कम्बोडियामा भेटियो
काठमाडौं । कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो संख्या हो । एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ । यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ । विश्वभर करिब १ हजार सियामी गोहीहरू छन् । जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन् ।
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो । काठमाण्डौंको द एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ः२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक समेत हो । हाल बैंकले देशैभरका आफ्ना शाखा संजालहरु मार्फत् आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दैै आएको छ ।
एनआईसी एशिया बैंक २७औँ वर्षमा प्रवेश, सरकारलाई तिर्याे साढे २६ अर्ब राजस्व
काठमाडौं । एनआईसी एशिया बैंक २७औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै दिन सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको एनआईसी एशिया बैंक आजदेखि २७औं वर्षमा प्रवेश गरेको हो । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकले बैंकिङ क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । डिजिटल फष्र्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको एनआईसी एशियाले भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै आएको छ । बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी गरेको छ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्याउन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियालृ बताए । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । साथै गत अर्थिक वर्ष २०८०÷८१ मा मात्रै २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई तिरेको बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ छ ।