उपसभामुखको नाममा मिडिया ट्रायल भयो, हेप्ने काम नगर्नुहोला : सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै सांसद सुमनाले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताइन् । ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ, यसमा घोर आपत्ति जनाउन चाहन्छु,’ उनले भनिन्, ‘हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन ? सडकमा प्रदर्शनमा उत्रिएका होइनन् ?’ उनले आचरणको कुर गर्ने हो भने सबैको आचरणको कुरा गर्नुपर्ने उनले बताइन् । ‘यदि आचरणको कुरा गर्ने हो भने गरौं, सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं, तपाईंहरूलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्ने नत्र चुप लागेर बस्ने ?,’ उनले प्रश्न गरिन्, ‘बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर, त्यो आँट छ ? हेप्ने काम चाँही नगर्नुहोला ।’
बजेट संशोधन गर्ने प्रधानमन्त्री ओलीको संकेत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट संशाेधन गर्ने संकेत गरेका छन् । आइतबार प्रतिनिधिसभा संसदमा विश्वासको मत लिनुअघि आफ्नो धारणा राख्दै उनले चालु आर्थिक वर्षको बजेट संशोधन हुने संकेत गरेका हुन् । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याएको बजेट केपी ओली नेतृत्वको सरकारले संशोधन गर्ने तयारी गरेकाे हो । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट सार्वजनिक गरेका थिए । अब नयाँ अर्थमन्त्री विष्णु पौडेलले सो बजेट संशोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले यतिबेला सिंगो देश निराशामा रहेको बताएका छन् । उनले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको धारणा राखेका छन् । उनले अहिले अर्थतन्त्र डामाडोल अवस्थामा रहेको बताउँदै देशको आयात र निर्यात घटेको, बैंकको ब्याज घट्दा पनि ऋण प्रवाह नहुँदा बैंकमा पैसा थुप्रिएको धारणा राखे । यसले व्यवसायीमा पनि निराशा छाएको बताएका छन् ।
बंगलादेशको रोजगारीमा आरक्षणसम्बन्धी प्रावधानबारे सुनुवाइ हुने
बंगलादेश । बंगलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर गरिएको अपिलबारे आइतबार सुनुवाइ गर्ने भएको छ । प्रहरी र विश्वविद्यालयका विद्यार्थीबीच देशव्यापी झडप हुँदा १५१ जनाको मृत्यु भएको छ । उच्च अदालतले सन् २०१८ मा आरक्षणसम्बन्धी सरकारको सर्कुलर खारेज गर्ने निर्णय गरेपछि देशभर विरोध प्रदर्शन र झडप भएको थियो । विद्यार्थीहरूको मागको जवाफमा, सरकारले सुनवाईमा आरक्षण सुधारमा बहस गर्ने योजना बनाएको छ । यद्यपि, आन्दोलनरत नेताहरू र वृहत्तर राजनीतिक स्वार्थहरूबीचको मतभेदका कारण यसले हिंसा रोक्ने वा नरोकिने भन्नेमा अनिश्चितता छ । हालैको हिंसामा सयौं मानिसको मृत्यु भएको छ, जसका कारण सरकारले कफ्र्यू लगाउन र सेना परिचालन गर्न बाध्य भएको छ । प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीहरूको मुद्दाप्रति समर्थन जनाएका छन् । तर अदालतको आगामी फैसलाबाट निराश नहुन आग्रह गरेका छन् । यसैबीच, विपक्षी बिएनपीले आन्दोलनलाई निरन्तरता दिने बताइरहेको छ । सरकारी जागिरका लागि राजनीतिकरण गरिएको भर्ना कोटाको विरोधमा यसै साता सुरु भएको विरोध प्रदर्शन प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ । दङ्गा प्रहरीले सुव्यवस्था कायम गर्न नसकेपछि बङ्गलादेशका विभिन्न शहरमा सैनिकले गस्ती गरिरहेका थिए भने बिहीबारदेखि देशव्यापी इन्टरनेट सेवा काटिएपछि बाहिरी दुनियाँमा सूचना प्रवाहमा निकै कमी आएको छ । सर्वोच्च अदालतले विवादास्पद जागिरको कोटा खारेज गर्ने वा नगर्ने भन्नेबारे अपेक्षित निर्णय गर्नुअघि आइतबार सुनुवाइ सुरु गरेको हो । प्रधानमन्त्री हसिनाका विरोधीहरूले उनको सरकारले न्यायपालिकालाई आफ्नो इच्छाअनुसार झुकाएको आरोप लगाएका छन् । उनले यसै हप्ता जनतासामु यो योजना खारेज हुने संकेत दिएका छन् । तर बढ्दो दमन र बढ्दो मृत्यु दरपछि अनुकूल फैसलाले उर्लेको जनआक्रोशलाई शान्त पार्ने सम्भावना कम छ । राष्ट्रव्यापी कफ्र्यूको अवज्ञा गर्दै राजधानी ढाकामा शनिबार भएको विरोध प्रदर्शनस्थलमा २४ वर्षीय व्यवसायी हसिबुल शेखले भने, ‘यो अब विद्यार्थीको अधिकारको कुरामा मात्र सीमित रहेन ।’ उनले भने, ‘अहिले हाम्रो माग सरकारको राजीनामाको हो ।’ यस महिनाको अशान्तिको उत्प्रेरक एक प्रणाली हो जसले पाकिस्तानविरुद्ध १९७१ को मुक्ति युद्धका भूतपूर्व सैनिकहरूका बच्चासहित विशिष्ट समूहहरूको लागि आधाभन्दा बढी निजामती सेवाका पदहरू आरक्षित गर्दछ । आलोचकहरूका अनुसार यो योजनाले सन् २००९ देखि देशमा शासन गरिरहेकी र जनवरीमा लगातार चौथो पटक चुनाव जितेकी ७६ वर्षीया हसिनाप्रति वफादार परिवारलाई फाइदा पुर्याउँछ । हसिनाको सरकारमाथि अधिकारवादी समूहहरूले सत्तामाथि आफ्नो पकड बलियो बनाउन राज्यका संस्थाहरूको दुरुपयोग गरेको र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यासहित असहमतिलाई निस्तेज पारेको आरोप लगाउँदै आएका छन् । रासस
ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ : रघुजी पन्त
काठमाडौं । सत्तारुढ नेकपा एमालेमा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् । ज्येष्ठ नागरिकहरूले राष्ट्रिय परिचय पत्र लिनका लागि घण्टौ लाईन बस्नुपर्ने अवस्था देशभर भएकाले यस्तो व्यवस्था हटाउनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पन्तले ज्येष्ठ नागरिकहरूलाई परेको मर्कालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘यो राष्ट्रिय परिचय पत्र मेरो विचारमा ७० वर्षभन्दा माथिलाई राष्ट्रिय परिचय पत्र लिइराख्नुपर्छ भनेर जोड दिइराख्नुपर्छ भन्ने लाग्दैन । त्यसैले जनतालाई परेको यो मर्कालाई सामान्य नठानौं । यसलाई गृह मन्त्रालयले तुरुन्त एउटा सर्कुलर पठाएर हटाउने काम गरोस् ।’ सांसद पन्तले मुलुकको राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउने काममा पनि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढनुपर्ने बताए ।
आन्दोलन चर्किएपछि स्वदेश फर्किए बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी
काठमाडौं । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । आइतबार बिहान उनीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि बंगलादेश सरकारले शनिबारदेखि नै कफ्र्यू आदेश जारी गरेको छ । बंगलादेशमा रहेका अन्य नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ । बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरु एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन् । उनले अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि देश छोडेर स्पेन भागेको खबर पाएको बताइन् । ‘एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएका थियौँ । यस्तो अवस्था आएपछि हामी तीन चार दिनअघि देखि नै आउन खोजेका थियौँ । ढाकाको कलेज हो हाम्रो, हामीलाई नोटिस आएको दिनदेखि नै धेरै नै साथी फर्किसक्नुभएको छ, हामीलाई कलेजले सेभ छ भनिरह्यो’, उनले भनिन् । त्यस्तै अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरु मरिरहेको जानकारी पाएपछि आफूहरु त्रस्त बनेको बताए । उनीहरुले आफूहरुलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए । त्यस्तै अर्की विद्यार्थी आदना सुवेदीले एम्बेसीले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले फोन गर्दा समेत बंगलादेशस्थित नेपाली दुतावासले नउठाएको बताइन् । उनले भनिन्, ‘एम्बेसीले सहयोग गरेन, गाडी पठाएन, एम्बेसीले फोन पनि उठाएन ।’ परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् । उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए । उनले उपसभामुख इन्दिरा रानामगरलाई संसद्को कमाण्ड गर्न सुहाँउछ कि सुहाँउदैन भन्दै प्रश्न गरे । ‘संसदभन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस् । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाइयोस् । यो कन्सल्टेन्सी नबनाइयोस्,’ उनले भने । उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए । ‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ । संसद चुप लागेर बस्नु हुँदैन,’ उनले भने, ‘उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभएका हुन्छ ।’
युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त
वासिङ्टन डिसी । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएका छन् । नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार युएसएआइडीको मुख्यालय डिसीमा उनको शपथ गराएका छन् । कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए । उक्त अवसरमा खरेलले युएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिँदै, प्रतिनिधिसभा बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने विषय पनि कार्यसूचीमा रहेको छ ।