काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्ने मेयर बालेन शाहको कदमको विरोधमा वडा नम्बर २२ का जनप्रतिनिधिहरूले सडकमै बसेर सेवा प्रदान गर्न थालेका छन् ।
वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । वडाबाट दिइने सेवामूलक कामहरूका कागजपत्र अहिले वडाध्यक्षले सडकमै बसेर बनाइदिएका छन् ।
उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकदेखि दक्षिणतर्फको धर्मपथ आसपासमा सडक काट्न सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन् । स्थानीयको विरोधमा वडाका जनप्रतिनिधिहरू पनि समर्थनमा उत्रिएका छन् ।
स्थानीयहरूसँग समन्वय नगरिएको भन्दै शुक्रबार दिउँसो डोजर पुगेपछि त्यहाँ प्रदर्शनकारी उग्र बनेका थिए । केहीबेर सुरक्षाकर्मी र नगर प्रहरीसँग धकेलाधकेल भएको थियो ।