कर्जा चुक्ता गर्न समस्याग्रस्त घोषित सिभिल सहकारीको ताकेता, नतिरे कारबाही गर्ने
काठमाडौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ऋण तिर्न ताकेता गरेको छ । सहकारी संस्थाले ऋणीहरूलाई ३५ दिनभित्र ऋण तिर्ने ताकेता गरेको हो । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सूचना प्रकाशन गरी सावाँ ब्याज तिर्न भनेको हो । ‘प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ ब्याज सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र यस संस्थाको बैंक खातामा जम्मा गरी सोको भौचर यस समितिको कार्यालयमा पेस गरी कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । साथै समयभित्र ऋण कर्जाको दायित्व राफसाफ नगरेमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी दिएको छ ।
नेपाल लाइफ क्यापिटलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल लाइफ क्यापिटलले सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले साउन ८ गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले ४ लाख ३८९ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिनुपर्नेछ । क्यापिटलको १०औं बार्षिक साधारण सभाले चुक्ता पुँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले अंकित मूल्य १ सय रुपैया दरको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो । तर, कूल १० करोड ९९ लाख १२९ कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । र, बाँकी रहेको ४ लाख ३८९ कित्ता हकप्रद सेयर संस्थापक सेयरधनीहरूलाई बिक्रीमा राखेको हो ।
यूरो, अष्ट्रेलियन, क्यानेडियन डलरको मूल्य घट्यो, कुन देशको कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (साउन ७ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ तोकेको छ । अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.३१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.९६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५९ रुपैयाँ र बिक्रीदर १७३.३६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.२६ रुपैयाँ र बिक्रीदर ८९.६७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६९ रुपैयाँ तोकिएको छ । आइतबारको तुलनामा डलरको मूल्य घटेको छ । यसअघि हिजो आइतबार युरोपियन युरो एकको खरिददर १४५.४७ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.४४ रुपैयाँ र बिक्रीदर ९७.८७ रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ तोकिएको छ ।
निफ्रा बैंकका अधिकांश सूचकमा गिरावट, वितरणयोग्य नाफा ७०.७२ करोड रुपैयाँ
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशत घटेर १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेर २ अर्ब ५४ कारेड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ, सञ्चालन आम्दानी ६.८६ प्रतिशत घटेर २ अर्ब ५६ करोड १ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेर १ अर्ब ९० करोड १० लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ । बैंकको निक्षेप ६.९३ प्रतिशत घटेर ८२ करोड ९८ लाख रुपैयाँ र कर्जा लगानी ४ प्रतिशत बढेर २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ पैसा घटेर ६.१६ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ ।
६७४ केजी यार्सागुम्बा निकासी, केजीको १८ लाख मूल्य
काठमाडौं । गत आर्थिक वर्षमा दार्चुलाबाट ६७४ किलोग्राम (केजी) यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयल गत वर्ष ८ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकामा व्यापारीले छोडपुर्जी बनाएर ६७४ किलोग्राम यार्सा काठमाडौं निकासी गरेको बताए । यसबापत संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व लिने गरेको र उक्त अवधिमा २ करोड ८९ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले बताए । कार्यालयका वार्डेन विनयकुमार झाले छिल्लो समय उत्पादन घटेका कारण तोकिएको लक्ष्यअनुसार यार्सागुम्बा सङ्कलन गर्न नसकिएको बताए । उनका अनुसार सङ्कलकहरूले विगत केही वर्षयता हिमाली क्षेत्रमा यार्सागुम्बा कम पाइन थालेको छ । ‘बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नाका कारण पत्ता लगाउन जरुरी भइसकेको छ । अब यार्सा पाइने क्षेत्रहरूको अध्ययन-अनुसन्धान गर्ने योजनामा छौँ,’ उनले भने । दार्चुलामा विशेषगरी अपी हिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । यहाँका लोलु, अपी फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायत पाटनमा यार्सागुम्बा पाइने गर्छ । व्यापारी हरिश भट्टले पनि पछिल्ला वर्षमा यार्सा पाउने क्रम घट्दै गएको बताए । पछिल्लो समय यार्साको मूल्यसमेत घटेको उनको भनाइ छ । ‘यहाँ सङ्कलकहरुसँग किन्नुपर्दा महँगोमा किन्नुपरेको छ । हामीले प्रतिकिलोग्राम १७ देखि १८ लाख रुपैयाँ खरिद गरेर काठमाडौंमा १४ देखि १५ लाख रुपैयाँ प्रतिकिलोग्राममा बेच्नुपर्ने माध्यता छ । यसले व्यापार गर्न निकै गाह्रो भइसक्यो,’ उनले भने । व्यापारीहरुले ‘ग्रेड’का आधारमा यार्सा खरिदबिक्री गर्ने गरेका छन् ।
काँकडभिट्टाबाट स्वदेश फर्किएका विद्यार्थी भन्छन्- ‘गोली चल्दा मुटु हल्लिन्थ्यो, अब ढुक्क भइयो’
काठमाडौं । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । ‘पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो,’ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, ‘विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।’ उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए । बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए । आज दिउँसो काँकडभिट्टा आइपुगेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताइन् । इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । ‘कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो, कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ,’ उनले भनिन् । आज मात्रै ९ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिए । केही विद्यार्थी भुटानबाट समेत आएका थिए । रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताए । काठमाडौं उनले भने, ‘एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।’ उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए । सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाउनुभयो । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।’ बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताइन् । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् । पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् । काठमाडौं र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उहाँका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुरेका थिए ।
२० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा ९, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ७, जिल्ला अदालत कैलालीमा ३ र जिल्ला अदालत कञ्चनपुरमा एक गरी २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको जनाएको छ । यसबाहेक थप १९ उद्योगी व्यवसायीसँग बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ । खाद्यपदार्थको स्वच्छता र गुणस्तर नियमन गर्नका लागि कार्यालयले गत वर्ष खाद्यबजार तथा रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा कैफियत देखिएका १५ लाख ८७ हजार ८०९ रुपैयाँ मूल्य बराबरका सामान जफत गरी नष्ट गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिए । कार्यालयले आज यहाँ आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा उहाँले गत वर्ष कार्यालयले गरेको गतिविधिले खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न टेवा पुगेको बताए । कार्यालय प्रमुख प्रधानले गत वर्ष तीन सय ४९ वटा खाद्य तथा दाना उद्योगको दर्ता सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण गरिएकोे जानकारीसमेत दिए । कार्यालयले खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न खाद्य ऐन तथा दाना ऐनअनुरूप उद्योग, बजार तथा होटेल रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा शङ्कास्पद नमूना सङ्कलन गरी कारबाही प्रक्रियाअघि बढाउँदै आएको छ । खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले अनुगमन निरीक्षणका लागि साधनस्रोत अभाव तथा प्रयोगशाला व्यवस्थापनका लागि स्थान अभावले उपलब्ध उपकरण प्रयोगमा ल्याउन नसकिएल थप कार्य गर्न कठिनाइ भएको बताए । सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली मातहतमा डडेल्धुरा, डोटी र बैतडीमा डिभिजन कार्यालय सञ्चालनमा छन् ।
एआई सम्बन्धि कार्यपत्र ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताएका छन् । क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस्तो धारणा राखेका हु्न् । मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने जानकारी दिए । आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएकोउनले स्मरण गराए । मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन आग्रह पनि गरे । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भने । उनले सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको जानकारी समेत दिए । क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराए । महासचिव तथा साईबर सुरक्षा विज्ञ चिरञ्जिबी अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स, साईबर सेक्युरिटी र ब्लकचेन प्रविधीलाई अनुसरण गर्नुपर्ने सुझाव दिए । उनले साइबर सुरक्षा कमजोर हुनुमा आवश्यक नीति तथा कार्ययोजनाको अभाव, सुरक्षामा कम लगानी र नयिमति सुरक्षा परीक्षण नहुनु प्रमुख तीन कारण रहेको बताए ।