विकासन्युज

कर्णालीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरूले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेर मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने छन् । माओवादीतर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गाबहादुर रावत र ऊर्जामन्त्रीमा रणसिंह परियार थिए ।

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीड देख्न सकिन्छ । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र वार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।  

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, ६ अर्ब ८६ करोड संकलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर देखापरेको छ । कार्यालयले आव २०७९र८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए । ‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर संकलन र आयकर संकलन उत्साहजनक देखिएको छ’, उनले भने, ‘गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व संकलनमा असर पारेको छ ।’ आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार रुपैयाँ संकलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार रुपैयाँ संकलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत दुई अर्ब ३९ करोड ८६ लाख २० हजार रुपैयाँ संकलन गरेको छ । प्रमुख कर अधिकृत तिवारीले राजस्व संकलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई १० अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड रुपैयाँ संकलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।

युरोपेली जहाज निर्माता एयरबसले भारतमा दोस्रो ‘एसेम्बली प्लान्ट’ खोल्दै

काठमाडौं । युरोपेली विमान निर्माता कम्पनी एयरबसले भारतमा आफ्नो दोस्रो प्लान्ट अर्थात् एसेम्बली लाइन खोल्न आठ वटा साइटलाई सर्टलिस्ट गरेको छ । कम्पनीले भारतमा टाटा एडभान्स सिस्टम्स (टीएएसएल) सँग साझेदारी गरेको छ। सी२९५ ट्रान्सपोर्ट विमानहरू निर्माण गर्न भारतमा एयरबसको पहिलो एसेम्ब्ली लाइन आगामी केही दिनमा उद्घाटन हुने कार्यक्रम छ। एच१२५ हेलिकप्टर भारतमा कम्पनीको दोस्रो प्लान्टमा निर्माण गरिनेछ । यो कम्पनीको विश्वमा चौथो प्लान्ट हुनेछ जसमा सिंगल इन्जिन हेलिकप्टर बनाइनेछ । यसअघि कम्पनीले फ्रान्स, ब्राजिल र अमेरिकामा यस्ता प्लान्ट स्थापना गरिसकेको छ । प्लान्टले प्रतिवर्ष १० वटा हेलिकप्टर उत्पादन गर्नेछ, जसमध्ये पहिलो सन् २०२६ को सुरुमा तयार हुने अपेक्षा गरिएको छ । एयरबसले आगामी २० वर्षमा पाकिस्तानबाहेक भारतीय उपमहाद्वीपमा करिब ५०० वटा हेलिकप्टरको बजार हुने अपेक्षा गरेको छ । यो हेलिकप्टरको मूल्य ३० करोड रुपैयाँदेखि सुरु हुन्छ । एयरबस हेलिकप्टरका कार्यकारी उपाध्यक्ष (ग्लोबल बिजनेस) ओलिभियर माइकलनले भने, ‘भारतमा अन्तिम एसेम्बली लाइनले हामीलाई नेतृत्व समय, डेलिभरी समयको हिसाबले प्रतिस्पर्धी मात्र बनाउँदैन, यसले हामीलाई भारतीय बजार विकास गर्न र माग पूरा गर्न पनि मद्दत गर्नेछ, यसमा छिमेकी देशहरूले पनि सहयोग गर्नेछन् ।’ उनले यो मोडल भारतमा एयरबस ए३२० जस्तै सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘एच १२५ हाम्रो ए३२० हो ।’ भारतमा नयाँ सुविधा फ्रान्सेली प्लान्टको लाइनमा हुनेछ र इन्जिनसहित अधिकांश प्रमुख सबसिस्टमहरू फ्रान्स, जर्मनी र स्पेनबाट आउनेछन् । एयरबसले उक्त सुविधामा कति लगानी गर्ने वा कति जनाले त्यहाँ काम गर्ने भन्ने बताएको छैन । ब्राजिलको सुविधाले लगभग १० हेलिकप्टरहरू बनाउँछ र लगभग ५०० मानिसहरूलाई रोजगार दिन्छ। तर, यसमा थप एकाइहरू पनि छन् । भारत र दक्षिण एसियामा एयरबस हेलिकप्टरका प्रमुख सन्नी गुगलानीले गत वर्ष एयरबसले भारतमा १० वटा एच१२५ हेलिकप्टर बिक्री गरेको बताए । भारतमा एयरबसको पहिलो एसेम्बली लाइन डोड्रामा लगभग तयार छ जसले वायुसेनाका लागि सी२९५ ट्रान्सपोर्ट विमान निर्माण गर्नेछ । माइकलनले स्थानको अन्तिम मूल्यांकन भइरहेको बताए । एयरबसले भारत र चीनमा आफ्नो उपस्थिति विस्तार गर्दैछ किनभने यी देशहरूमा आगामी दशकहरूमा उड्डयन क्षेत्रमा ठूलो वृद्धिको सम्भावना छ । कम्पनीले २००८ मा चीनमा आफ्नो पहिलो एसेम्ब्ली लाइन खोलेको थियो । त्यहाँ लोकप्रिय ए३२० यात्री जेट उत्पादन भइरहेको छ जसको लागत लगभग ३५० करोड रुपैयाँ छ । गत वर्ष एयरबसले चीनमा दोस्रो एसेम्बली लाइन खोल्ने घोषणा गर्‍यो । तर, चीनले नै ए३२० जस्तो विमान कोम्याक सी९१९ विकास गरेको छ। सरकारले स्वयम् स्थानीय कम्पनीलाई प्रवर्द्धन गरिरहेको छ । कोम्याक सी९१९ का लागि पहिले नै १ हजार अर्डरहरू प्राप्त भइसकेका छन् । एयरबसले भारतको तुलनामा चीनबाट धेरै कम अर्डर गरेको छ । चिनियाँ एयरलाइन्सले कुल ३५७ एयरबस विमान अर्डर गरेका छन् । भारतीय कम्पनीहरूले १ हजार २१६ एयरबस विमान अर्डर गरेका छन् । इन्डिगोले ९ सय ७२ र एयर इन्डियाले २ सय ४४ विमान अर्डर गरेको छ । भारतले एयरबस र बोइङलाई देशमा एसेम्बली लाइन खोल्न माग गरेको छ । एयरबसले दोस्रो एसेम्बली लाइन खोल्ने तयारी गरिरहेको बेला बोइङले यस विषयमा कुनै निर्णय गरेको छैन । एजेन्सी

नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा !

काठमाडौं । पवित्रा न्यौपाने (नाम परिवर्तित) साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा प्रमुख भएर काम गरिरहेकी थिइन् । ‘संस्था रहे म रहन्छु’ भन्ने भावनाका साथ लगनशील, अनुसाशित र इमानदारीतापूर्वक तोकिएको जिम्मेवारी निर्वाह गर्थिन् । आफ्नो काम अनुसारको पद र सेवा सुविधा पाएकी न्यौपाने उर्जावान र जोसजाँगर चलाएर काम गर्थिन् । तर, नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जरपश्चात् न्यौपानेलाई शाखा प्रमुखबाट हटाइयो । नेरूडे मिर्मिरे लघुवित्त भएपछि अर्काे व्यक्तिलाई शाखा प्रमुख बनाइयो । उनको पद घटुवा मात्रै भएन, खाइपाई आएको सुविधामा समेत कटौति गरियो । संस्थाका लागि हरेक समस्या र चुनौतीसँग जुधिरहेकी न्यौपाने बिना गल्ती खाईपाई आएको सुविधा र पद घटाएपछि काम गर्ने मनोबल कमजोर भएकाे बताउँछिन् । आफूभन्दा जुनियर व्यक्तिको मातहत काम गर्नु परेको भन्दै नेरूडे मिर्मिरे लघुवित्तको जनशक्ति व्यवस्थापन विभागलाई पत्र लेख्दै उनले आफ्नो सरूवा काठमाडौं उपत्यकामा गरिदिन अनुरोध गरेकी छिन् । ‘गत जेठ १ गतेदेखि ते सरुवा गरिदिनुहुन अनुरोध गरी जनशक्ति व्यवस्थापन विभागलाई पत्र लेख्दा, मौखिक रूपमा प्रदेश कार्यालय र क्लष्टर कार्यालयलाई पटकपटक गर्दापनि सुनुवाई नहुँदा काम गर्ने मनोबल कस्तो हुन्छ भन्ने बिना गल्ती सजाय पाउनेले मात्रै महसुस गर्न सक्छ,’ उनले पत्रमा लेखेकी छिन्, ‘कुनै कर्मचारीले सेवामा प्रवेश गरेदेखि घर पायक बस्न पाउने र कसैले नपाउने अन्याय र विभेदपूर्ण व्यवहारलाई सच्याउँदै घरपायक (काठमाण्डौ उपत्यका) सरूवा गरिदिन आग्रह छ ।’ न्यौपानेजस्तै मनोबल खस्किने गरी सरूवा र जिम्मेवारी घटुवा गरेपछि साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरू आन्दोलित छन् । साविक मिर्मिरे लघुवित्तका कटक बहादुर शाहको अध्यक्षतामा गत असार २० गते भक्तपुरमा बसेको बैठकले ९ बुँदे ज्ञापनपत्र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बुझायो । १८ जना उपस्थित उक्त बैठकले लघुवित्तका सीईओलाई ज्ञापनपत्र बुझाउँदै दुई ठुला संस्थाहरू एकआपसमा समान रूपमा सफल मर्जर भएपनि मर्जरपछि कर्मचारीमाथि अन्यायपुर्ण तरिकाले गरिएका सरूवा, अनावश्यक कारबाही र जिम्मेवारी हेरफेरमा भएको सौतेनि व्यवहार तुरून्तै खारेज गर्नुपर्ने, पुर्वदेखि पश्चिमसम्म कुनैपनि कर्मचारीहरूसँग सुमधुर सम्बन्ध नभएको व्यक्तिलाई कर्जा असुलि विभाग प्रमुखको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने माग राखे । यस्तै विभिन्न व्यक्तिको शैक्षिक योग्यता भारतीय डुप्लीकेट रहेकाले छानबिन गरी कारबाही हुनुपर्ने, केन्द्र व्यवस्थापक र नायव पद खारेज गरी सम्पुर्ण केन्द्र व्यवस्थापक कर्मचारीहरूलाइ कनिष्ठ सहायक पदमा र नायव पदलाई हटाई माथिल्लो पदमा बढुवा गर्नुपर्ने, नियमसंगत हुनुपर्ने कर्मचारी बढुवा तुरून्त गरिनुपर्ने, विभिन्न ठाउँमा मर्ज भएका शाखाहरूका तत्कालीन शाखा प्रमुखलाई सोही शाखामा राखि मनोबल नै खस्किने गरी व्यवस्था गरेकोप्रति ध्यानार्कषण भएको र तुरून्त उहाँहरुको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । वि.सं २०८१ असार १६ गते खराब कर्जा असुलि सम्बन्धि भर्चुअल बैठकमा नायव प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कर्मचारीहरूलाइ असुलिमा प्रेरणा दिनुको साटो सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरूको केन्द्रीय कार्यालयमा फाइलिङ व्यवस्थापन भैरहेको र कारबाही गरिने भनि दिएको धम्कीपुर्ण अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै उनीहरूले राजिनामा माग गरेका छन् । जनशक्ति व्यावस्थापन विभागको सहायक कर्मचारी सुरेश बहादुर खड्कालाई तुरुन्त सो विभागबाट हटाउनुपर्ने र शाखा प्रबन्धक, कलस्टर प्रमुख तथा प्रदेश प्रमुखले विगतमा खाईपाई आएको जिम्मेवारी भत्ता तुरून्त लागू गर्नुपर्ने ज्ञापन पत्र बुझाएका छन् । मर्जरमा भएको सहमति पालना भएन नेरूडे र मिर्मिरे लघुवित्तबीच वि.सं २०७९ पुस ११ गते मर्जरको प्रारम्भिक सम्झौतामा साविक नेरुडेका अध्यक्ष डा.भेष प्रसाद धमला र मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बन्ने लघुवित्त कस्तो हुने र के-के गर्ने भन्ने विषयमा अधिकांश सहमति साविक मिर्मिरेका अध्यक्ष बोहरासँग भएका थिए । तर, बोहरा लघुवित्तबाट बाहिरिएपछि ती सहमतिहरूले निरन्तरता पाउन सकेन । साविक मिर्मिरेले कनिष्ठ सहायक ‘ख’ (जुनियर असिस्टेन्ट) भनेर १६१ जना फिल्ड  कर्मचारी भर्ना गरेको थियो । उनीहरू लघुवित्तमा आवद्ध भएको केही समयमै मर्जर प्रक्रिया अघि बढ्यो । मर्जरपछि कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति भएको थियो । तर, मर्जरपछि संस्थाबाट हटाउने गरी उनीहरूलाई घटुवा गरेको लघुवित्त स्रोतले बताएको छ । ‘साविक मिर्मिरेकै माथिल्लो तहका कर्मचारीलाई प्रयोग गरेर मिर्मिरेकै कर्मचारीलाई दबाउने, अनावश्यक सरूवा गर्ने काम भयो, मिर्मिरेका शाखा प्रमुखलाई हटाएर साविक नेरूडेका कर्मचारीलाई शाखा प्रमुख बनाइयो,’ स्रोतले भन्यो, ‘दुवै संस्था बराबर हैसियतमा मर्जर भएपछि सबैलाई समान व्यवहार गर्नुपथ्र्याे तर, कर्मचारीलाई हेर्ने नजर भने परिवर्तन भयो ।’ डीसीईओ बोहरा झण्डै कुटिए गत असार १६ गते कर्जा असुलि सम्बन्धि भर्चअल बैठकमा लघुवित्तका उच्च व्यवस्थापकसहित देशभरिका शाखा प्रमुख सहभागी थिए । आर्थिक वर्षको अन्तिम महिना भएकाले कर्मचारीहरूलाई कर्जा असुलीमा मोटिभेटका लागि बैठक आह्वान गरिएको थियो । तर, सो बैठकमा लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मिन बहादुर बोहराले कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिए । ‘खराब कर्जा असुलि सम्बन्धि भर्चुअल बैठक डाकेपछि कर्मचारीहरूलाई उत्प्रेरित गर्नुपर्ने हो तर, डीसीईओ बोहराले कर्मचारीहरूलाई असुलिमा प्रेरणा दिनुको सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरूको केन्द्रीय कार्यालयमा फाइलिङ व्यवस्थापन भईरहेको छ, कारबाही गर्छाैं भनेर धम्कीपुर्ण अभिव्यक्ति दिनुभयो, उहाँले तत्काल राजिनामा दिनुपर्छ,’ कर्मचारीहरूले माग गरेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालयमा उपस्थित भएका कर्मचारीहरूलाई पनः डीसीईओ बोहराले अभद्र व्यवहार गरेपछि कर्मचारीहरू झण्डै कुट्ने अवस्थामा पुगेका थिए । कर्मचारीहरूको डरले डीसीईओ बोहरा एक साता कार्यालय नै उपस्थित नभएको लघुवित्त स्रोतको दाबी छ । ‘केन्द्रीय कार्यालयमा मिन बहादुर बोहरालाई कर्मचारीहरूले झण्डै कुटेका थिए । कर्मचारीलाई मोटिभेट गर्नुपर्नेमा उल्टै डिमोटिभेट गरेपछि कर्मचारीले कुट्न लागेका थिए । तर, उनी भागेपछि कुटिनबाट जोगिएका हुन्, उनी ६/७ दिनसम्म गायब भएर डरले केन्द्रीय कार्यालयमा जान नै छाडे,’ स्रोतले भन्यो ।  माग कार्यान्वयन नभएपछि ११ बुँदे ध्यानाकर्षण असार २० गते पेस गरेको मागहरूमा संस्थाले कुनै चासो नदिएपछि मिर्मिरे लघुवित्त कर्मचारी संगठनले पुनः असार २५ गते ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष रोशन बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा ११ बुँदे माग राख्दै सीईओलाई पत्र दिइएको छ । साविक मिर्मिरे लघुवित्तको कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा सुविधा सम्बन्धि कार्यविधि अनुसार आईपाई आएको सेवा सुविधा कटौति र मर्जरको मर्मविपरित काम भएकाले तत्काल काम गर्ने वातावरण गर्नुपर्ने माग गरेका छन् । कर्मचारी सेवा विनियमावली नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार हुनुपर्ने, सबै सुविधाहरू उपलब्ध गराउनु पर्ने, कर्मचारीले पाउने कर्जा पाउनुपर्ने, जीवन बीमाको सम्पूर्ण बिमा शुल्क संस्थाले नै बेहोर्नुपर्ने, दैनिक ज्यालादारी (फिल्ड सहायक, कार्यालय सहयोगी) कर्मचारीहरूलाई स्थायी नियुक्ति गर्नुपर्ने, नायब अधिकृत र नायव प्रबन्धक पद खारेज गरी उक्त पदमा कार्यरत कर्मचारीलाई माथिल्लो पदमा समायोजन गर्नुपर्ने, दुर्गम भत्ता यथाशिघ्र कर्मचारीलाई उपलब्ध गराउनुपर्ने, सरूवा नीति बनाई अविलम्ब कार्यन्वयन गर्नुपर्ने, एउटै शाखा, प्रदेश, कलष्टरमा लामो समयदेखि कार्यरत तथा एउटै जिल्लामा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई पायक पर्ने शाखा वा जिल्लामा सरूवा व्यवस्थापन गर्नुपर्ने माग उनीहरूले गरेका छन् । यस्तै गृह जिल्लाभन्दा ७ सय किलोमिटर टाढाको कार्यालयमा कार्यरत कर्मचारीलाई प्रोत्साहन स्वरूप आउट स्टेसन भत्तालाई निरन्तरता दिनुपर्ने, कर्मचारी व्यवस्थापनमा गरेको लापरबाहीले कर्मचारीहरू माझ द्वन्द सिर्जना गरेकाले सही व्यवस्थापन हुनुपर्ने लगायतका माग छन् । खड्का र कुँवरले कुम्ल्याए सदस्यता शुल्क साविक मिर्मिरे लघुवित अन्तर्गत गठन भएको कर्मचारी संगठन मिर्मिरेले कर्मचारीको हितमा हुने गरी भूमिका निर्वाह नगरेको, सदस्यता शुल्क र सहयोगमार्फत् संकलन गरेको रकम सार्वजनिक गर्न माग गरेका छन् । संगठनको रकम तीन/चार जनाले आफूलाई फाइदा हुने गतिविधिमा खर्च गर्ने गरेको आरोप उनीहरूको छ । ‘सुरेश बहादुर खड्का र दिपक कुँवरको निर्देशनमा संगठन चलिरहेको आभास हुन्छ, देशभरिका कर्मचारीलाई सरूवा गर्ने, घटुवा गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिनुहुन्छ,’ लघुवित्तका एक कर्मचारीले भने, ‘हालसम्म संकलन भएको सदस्यता शुल्क र सहयोगमार्फत (प्रतिव्यक्ति ५ सयदेखि ४ हजार रुपैयाँसम्म) संकलन गरेको रकमको हरहिसाब सार्वजनिक गर्नुपर्छ ।’

यस्ता छन् अपि पावरले लगानी गरेका ७ कम्पनी, अबको योजना अपार्टमेन्ट निर्माण

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ । १७ महिनामै पहिलो आयोजना निर्माण सम्पन्न गरेको अपिले दोश्रो जलविद्युत आयोजनाको रुपमा सोहि नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना बनायो । यो आयोजना पहिलो आयोजना स्थल भन्दा ५ किलोमिटरमाथी छ । यस आयोजनाले २०७६ साल कार्तिक १३ गतेबाट व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो । यी ३ वटा जलविद्युत आयोजनामध्ये ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भईसकेको छ । यस आयोजनाबाट कम्पनीले वार्षिक २३ करोड आम्दानी गर्छ । ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाले पनि वार्षिक २३ करोड नै आम्दानी गर्छ । ४० मेगावाट क्षमताको अपर चमेलियाले भने वार्षिक १ अर्ब ३५ करोड आम्दानी गर्छ । यसरी कम्पनीले जलविद्युत आयोजनाबाट वार्षिक १ अर्ब ८१ करोड आम्दानी प्राप्त गर्ने देखिन्छ । यसरी सुदूरपश्चिमबाट सुरु भएको अपि पावरको यात्रा अहिले पूर्वसम्म नै पुगिसकेको छ । विद्युत आयोजनाहरु विकास गर्ने भनेर २०६० असार ५ गते स्थापना भएको अपि पावर प्रा।लि। कम्पनीमा ब्यापक जनसहभागिता गराउने उदेश्यले २०७० साउन ६ गतेदेखि पब्लिक कम्पनीको रुपमा परिणत गरि कार्य गरिरहेको छ । यस कम्पनीमा हाल डेढ लाख शेयरधनीहरु रहेका छन्। सुरुमा कम्पनीमा १०० कित्ता शेयर हुने शेयरधनीको शेयर अहिले बढेर ४०० कित्ता पुगेको छ । कम्पनीले मुनाफालाई बोनस शेयरको रुपमा लगानीकर्तालाई वितरण गर्ने नीति लिएको छ । र मुनाफा भएको रकमले अन्य नयाँ आयोजना निर्माण गर्ने गरेको छ । साथै समय समयमा आवश्यकता अनुसार हकप्रद मार्फत पनि रकम जुटाउदै आएको छ । यसै नीतिको कारण ८.५ मेगावाटको जलविद्युत आयोजना बनाएर उदाएको यस कम्पनी कम्पनी हालको अवस्थामा ६२।५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने कम्पनी भएको छ । १०० करोड चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको चुक्ता पुँजी अहिले करिब ६०० करोड भईसकेको छ । कम्पनीले हाइड्रो मात्र नभई सोलार आयोजनाबाट पनि विद्युत उत्पादन गरि देशको कुल उर्जा उत्पादनमा ठूलो योगदान पुर्याईरहेको छ । हाल कम्पनीले तीन वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यी ३ वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका ३ वटै सोलार आयोजना ऋणमुक्त छन् । यी आयोजनाबाट कम्पनीले क्रमशस् ४ करोड ५० लाख, १ करोड १५ लाख र १ करोड १५ लाख रुपैयाँ वार्षिक आम्दानी गर्छ । यसरी सोलार आयोजना र जलविद्युत आयोजना गरि कम्पनीको कुल वार्षिक आम्दानी १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ हुन आउँछ । सुदूरपश्चिमको दार्चुलादेखि सुदुरपुर्वको ताप्लेजुङसम्म नै आयोजना निर्माण गरि कम्पनीले देशभर नै आफ्नो शशक्त उपस्थिति देखाएको छ । जलविद्युत आयोजना ३० वर्षपछि सरकारीकरण हुने भएकोले कम्पनीले एउटा आयोजना सरकारीकरण भएपछि त्यसले कम्पनीको आम्दानी नगुमोस् भनेर केही वर्षको अन्तरलमा नयाँ नयाँ आयोजना निर्माण गरिरहेको छ । साथै सरकारीकरण नहुने सोलार आयोजना, कृषि उत्पादन, हाउजिङ निर्माण लगायतला क्षेत्रमा लगानी गरिरहेको छ । एउटा ‘अम्ब्रेला अर्गनाइजेसन’को रुपमा रहेको अपि पावरले जलविद्युत र सोलार बाहेक अन्य थुप्रै क्षेत्रमा लगानी गरि लगानीलाई विविधिकरण गरिरहेको छ । अब कम्पनीले नवीनतम् हाइड्रोजन उर्जा उत्पादनको लक्ष्य लिएको छ भने थप लगानी विविधिकरणको लागि पानी उत्पादन गर्ने र अपार्टमेन्टसमेत निर्माणको तयारी गरिरहेको छ । ७ कम्पनीमा शेयर लगानी यी बाहेक अपि पावर कम्पनीले विभिन्न ७ वटा अन्य कम्पनीमा शेयर लगानी गरेको छ । कम्पनीले इङ्गवा हाइड्रोपावर लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गरेको छ । इङ्गवा हाइड्रोको कुल चुक्ता पुँजी ६० करोड रहेकोमा अपि पावरको १५ करोड लगानी रहेको छ । आईपीओ निष्काशन गरि शेयरबजारमा समेत सुचिकृत भईसकेको यस कम्पनीले ९।७ मेगावाटको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० चैत्र देखि व्यापारिक उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०८१र८२ देखि यस आयोजनाले अपि पावरलाई लाभांश दिन सक्ने आंकलन कम्पनीको छ । त्यस्तै अपि पावरले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ३२ करोड ९२ लाख बराबरको शेयर लगानी गरेको छ । यस आयोजनाले ११ मेगावाट क्षमताको माथिल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८१ फागुनमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओ निष्काशनपश्चात यस कम्पनीमा अपि पावरको स्वामित्व ४५ प्रतिशत रहनेछ । अपि पावरले ७ करोड ५ लाख रुपैयाँ शेयर लगानी गरेर आफ्नो सहायक कम्पनीको रुपमा अपि हाइड्रो मेकानिकल लिमिटेड स्थापना गरेको छ । यसले अपि पावरलाई वार्षिक १० प्रतिशत लाभांश दिने अनुमान छ । यस कम्पनीले जलविद्युत आयोजनाहरुको लागि आवश्यक हाईड्रो मेकानिकल उपकरणहरु निर्माण गर्दछ । जलविद्युत आयोजनाहरु समयमा निमार्ण सम्पन्न गर्न चाहिने फलामका सामानहरु (पेनस्टक पाईप, गेट, बाईफर्केशन, ट्रान्सर्याक, बेलमाउथ आदि) यस कम्पनीले उत्पादन गरिरहेको छ । अपि पावरले अपि चमेलिया पावर लिमिटेडमा २ अर्ब २० करोड लगानी गरेको छ । यस कम्पनीले ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । हाल आयोजनाको विद्युत खरिद बिक्री सम्झौता गर्ने चरणमा पुगेको छ। विद्युत खरिद सम्झौतापछि २०८१ को अन्त्यसम्ममा आयोजना निर्माणको चरणमा जाने छ । नेपालमा उत्पादित ऊर्जा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यका साथ २०७५ साल चैत्र ११ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड दर्ता भएको छ । यस कम्पनीमा पनि अपि पावरले १० लाख रुपैयाँ लगानी गरेको छ । यस कम्पनीले विद्युत ब्यापारको अनुमति पाएपछि अपिले आफ्नो लगानी बढाएर १ करोड पुर्याउने तयारी छ । यस कम्पनीले अपि पावरलाई वार्षिक ५ देखि १० प्रतिशत लाभांश दिने अनुमान छ । अपि पावरको भगिनी संस्थाको ‍रुपमा मकालु डेभलपर्स लिमिटेड र लटीनाथ कन्स्ट्रक्सन रहेको छ । यी कम्पनीले अपि पावरलाई आवश्यक पर्ने सिभिल तर्फको सामग्री उत्पादन गर्छ । मशिनरी बाहेक हाइड्रो निर्माणको लागि चाहिने मेकानिकल र सिभिल तर्फको सामान अपि पावर आफै उत्पादन गर्छ । आफैँले उत्पादन गर्दा जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने र खर्च पनि घटाउन सहयोग पुगेको कार्यकारी सञ्चालक न्यौपाने बताउँछन् । अबको लगानी पानी र अपार्टमेन्टमा शेयरधनीलाई बढी प्रतिफल दिन र लगानी विविधिकरण गर्नको लागि कम्पनीले पानी उत्पादन गर्ने र अपार्टमेन्ट निर्माण गर्ने तयारी पनि थालेको छ । अपि पावरले १ अर्ब ३५ करोड लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ नामको पानी बजारमा ल्याउने तयारी गरेको छ । दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ बाट पानी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । सो पानी सुदूरपश्चिमा नै खपत हुनेछ । हाल मिनरल वाटर र प्रोसेस्ड वाटर गरि दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीको तयारी छ । यो कम्पनीको संस्थागत सामाजिक कार्यको रुपमा पनि रहने र कम्पनीको ब्राण्ड बनाउन पनि सहज हुने कम्पनीको विश्वास छ । यस अलावा कम्पनीले ललितपुरको झम्सिखेलमा १२० करोडमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र २ वर्षमा लगानी सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीको रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाई छ । निर्माण सम्पन्न पश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड आम्दानी हुने कम्पनीको प्रक्षेपण छ । नियमित लाभांश हरेक वर्ष जसो लाभांश वितरण गर्नेमा कम्पनीमा अपि पावर पनि पर्दछ । कम्पनीले आर्थिक २०७२/७३ देखि नियमित रुपमा लाभांश वितरण गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत बोनस शेयर, आर्थिक वर्ष २०७३/७४ मा ८ प्रतिशत बोनस शेयर, आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत बोनस शेयर, २०७५/७६ मा ५ प्रतिशत बोनस शेयर तथा २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले अपर चमेलिया निर्माणको लागि विभिन्न ४ चरणमा हकप्रद पनि निष्काशन गरेको छ । कम्पनीको लाभांश र हकप्रद वितरणको विवरण   भावी कार्यक्रम पानी उत्पादन र अपार्टमेन्टमा लगानी बाहेक कम्पनीले भावी दिनमा बिजुलीको ब्यापार गर्ने गरि योजना बनाइ रहेको छ । कम्पनीले आन्तरिक तथा अन्तराष्ट्रिय रुपमा गरि दुईवटै तरिकाबाट विद्युत व्यापार गर्नको लागि सरकारसँग लबिङ गरिरहेको छ । कम्पनीले सुदूरपश्चिममा बनाएको चमेलियाको आयोजनास्थलबाट ४० किलोमिटर भारततर्फ लागेपछि भारतीय ग्रिड भेटिन्छ । साथै पुर्वमा पनि ५० किलोमिटर दुरीमा नै भारतीय ग्रिड रहेको र त्यहाँसम्म पुग्ने प्रसारण लाइन आफैले निर्माण गरेर भारतमा विद्युत व्यापारको ढोका खुल्नेमा कम्पनी आशावादी देखिएको छ । साथै कम्पनीले स्वदेशी तथा विदेशी कम्पनीसँगको साझेदारीमा १०० मेगावाट भन्दा ठुला आयोजना बनाउने लक्ष्य लिएको छ । साथै, नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि अपि पावरले सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने कम्पनीको तयारी छ । टेण्डर पाएको ६ महिनाभित्र निर्माण सुरु गर्न सकिने भएकोले ३० मेगावाटको सोलार आयोजना पनि २०८१ भित्र नै सुरु गर्ने कम्पनीको योजना छ । नियामक निकायको अनुमति पाएमा ग्रिन बोन्ड निष्काशन गरेर लगानी जुटाउने योजनामा कम्पनी छ ।

बनेपामा टीभीएसको नयाँ शोरूम

बनेपा । निर्वेद मोटर्स प्रालिले बनेपामा नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । साउन ६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए । निर्वेद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । बनेपामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता निर्वेद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले जनाए । जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

नेपाल लाइफले ग्लोबल कलेजमा सवा अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरे । नेपाल लाइफले प्रोफेसनल एडुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६०० लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए । कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरु जस्तैः जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउँदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको कुरा बताए । कम्पनीका सीईओ पराजुलीले जीवन बिमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा बताए । प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । यस सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्यातिप्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्नुहुने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । साथै उनले जीवन बीमा र शिक्षा को उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने कुरा बताए ।