डेढ लाख घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ
चितवन । घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको जनाइएको छ । भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले औषधी आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस मागेको जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई २ करोड बढी राहत प्रदान
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई २ करोड २ लाख १७ हजार ७ सय २ रुपैयाँ राहत प्रदान गरिएको छ । निकुञ्जले ८ सय १३ वटा घटनाका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गरिएको हो । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई १ करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार १ सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई २ लाख ४५ हजार ४ सय ६८ रुपैयाँ हस्तान्तरण गरिएको छ । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए । यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा १ सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार ७ सय १० रुपैयाँ राहत रकम प्रदान गरिएको छ । भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोवापत ९१ हजार रुपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्याएको उनले बताए । घरगोठ क्षतिवापत ५ लाख ३५ हजार ९ सय ७५ रुपैयाँ राहत वितरण गरिएको छ । अन्नबालीमा ५ सय २४ पटक क्षति भएको र ३६ लाख ९ हजार ३ सय ७५ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।
‘कुलमानले गलत हिसाब निकाले, धनी छन् भनेर पैसा लिन खोजियो’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बिद्युत बक्यौतामा गलत हिसाब निकालेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै कुलमानले गलत गरेको धारणा राखेका हुन् । ‘उद्योगीहरुले हामीले बिजुली प्रयोग गरेको पैसा मात्रै तिर्छौं भनेका छन्, पैसा दिँदैनौं नै भनेका छैनन्, तिमी धनी छौ, मलाई यति चाहिन्छ तिमिले दिनै पर्छ भनेर हुँदैन, बिजुली नदिएर पैसा उठाएर हुँदैन, प्राधिकरणका एमडीले गलत हिसाब देखाए,’ ओलीले भने । उनले उद्योगसँग २४ घण्टाको सम्झौता गरेर लोडसेडिङ गर्न नहुने पनि बताएका छन् । उद्योग बन्द गरेर समस्याको समाधान नहुने उनको भनाइ छ । ‘प्राधिकरणका एमडीलाई बोलाएर उद्योगी, मुख्य सचिव र सचिव लगायत सबैलाई राखेर छलफल गरेँ, कुरा बुझ्दा गलत हिसाब निकालेको देखियो, अब छानबिन गर्नु पर्ने देखियो, उद्योग बन्द गरेर पैसा आउँदैन, यो विवाद ९ वर्ष अगाडिदेखिको हो, पहिलो पटक बिजुली काटिएको पनि होइन, बिचमा कुनमा के मिलाएर फेरि जोडियो के काटियो,’ उनले प्रश्न गर्दै भने, ‘६ वटा उद्योगको लाइन काटेर अरुको किन नकाटेको ?’
नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच सम्झौता
काठमाडौं । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चिन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको छ । पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान–प्रदान तथा पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनको प्रचार लगायतका विषयमा अहिलेसम्मको ठूलो सम्झौता भएको हो । पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सम्झौता भएको संघका अध्यक्ष निमा निरु शेर्पाले जानकारी दिए । हाल पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगै पदयात्रा तथा आरोहणका लागि जाने कतिपय पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार यसका लागि ‘हाई अल्टिच्युड म्याउन्टेन रेस्क्यू सेन्टर’ स्थापना गर्ने र हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपतकालीन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ । यसका लागि हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम स्थापना गर्ने सहमति भएको छ । त्यस्तै, दुवै निकाय मिलेर संयुक्त रूपमा ‘हिमालयन माउन्टेरिङ कल्चर सेन्टर’ को निर्माण गर्ने सहमति भएको पनि उनले बताए । जसअनुसार दुवै निकायले दुवै पक्षको आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने र प्रवर्द्धनका लागि मद्दत गर्नेछन् । त्यसैगरी पर्वतीय वातावरणको संरक्षणका लागि सहकार्य गर्ने सहमति भएको छ । उनका अनुसार विशेषगरी दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई प्राथमिकता दिएर काम गर्ने सहमति भएको हो । यस्तै अन्य हिमाल चढ्न जानेहरूलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणको काम गरिनेछ । सहमतिअनुसार आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिइनेछ । यसका लागि सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि आरोहीलाई नेपाल पठाउनेछ । यी सम्झौताहरू कार्यान्वयनका लागि संघले सबै निकायका प्रतिनिधि रहने गरी प्रस्ताव अघि सारिएकाे छ । प्रस्तावमा चीनको तर्फबाट सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वातारोहण संघको प्रतिनिधि रहने अध्यक्ष शेर्पाले बताए ।
ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो । यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एबम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेेछ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । ‘यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ’ इशान अस्पतालका निर्देशक प्रोे.डा. रामनन्दन पि. चौधरीले भने । चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले, ‘इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने’ विश्वास बैंकले लिएको जानकारी दिए । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
इराकले टर्कीबाट विद्युत् आयात गर्ने
इराक । इराकले आइतबार टर्कीबाट नयाँ विद्युत् लाइनमार्फत उसको उत्तरी प्रान्तमा विद्युत् ल्याउने बताएको छ । दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न मुलुकको ऊर्जा स्रोतहरूमा विविधता ल्याउने लक्ष्य रहेको अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री कार्यालयको विज्ञप्तिअनुसार एक सय १५ किलोमिटर लाइन मोसुलको पश्चिम किसिक विद्युत् संयन्त्रसँग जोडिएको छ र टर्कीले इराकको उत्तरी प्रान्तहरू निनवेह, सलाह अल–दिन र किर्कुकमा तीन सय मेगावाट विद्युत् उपलब्ध गराउनेछ । प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले नयाँ लाइन इराकलाई छिमेकी मुलुकहरूसँग जोड्ने ‘रणनीतिक’ कदम भएको बताए । विद्युत् मन्त्रालयका प्रवक्ता अहमद मौसाले लाइन आजदेखि सञ्जालनमा आएको जानकारी दिए । दशकौँको युद्धले इराकको पूर्वाधारलाई दयनीय अवस्थामा छाडेको छ । भीषण गर्मीमा तापक्रम प्राय ५० डिग्री सेल्सियससम्म पुग्दा विद्युत् कटौतीले अवस्था अझ खराब हुन्छ । कतिपय घरमा प्रतिदिन केही घन्टाका लागि मात्र विद्युत् हुन्छ र खर्च गर्न सक्नेहरूले फ्रिज र एयर कन्डिसनर चलाउन निजी जेनेरेटरको प्रयोग गर्दछन् । विशाल तेल भण्डारका बाबजुद इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर छ । इराक ऊर्जा आयातका लागि विशेषगरी छिमेकी इरानमा निर्भर छ तर इरानले नियमितरूपमा आपूर्ति कटौती गर्दछ । प्रधानमन्त्री सुदानीले बारम्बार विद्युत् कटौतीलाई कम गर्न इराकले ऊर्जा स्रोतहरूमा विविधता ल्याउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । इरानी ग्यासमा आफ्नो निर्भरतालाई कम गर्न बगदादले खाडी मुलुकहरूसँग आयातलगायत धेरै सम्भावनाको खोजी गरिरहेको छ । मार्चमा जोर्डनबाट इराकको दक्षिण–पश्चिममा अल–रुतबासम्म विद्युत् ल्याउनका लागि तीन सय ४० किलोमिटर विद्युत् प्रसारण लाइनको सञ्चालन सुरु भएको छ । रासस
ओलीलक्षित माधवको टिप्पणी : सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मत सम्बन्धि प्रश्ताव माथिको छलफलमा भाग लिँदै उनले मध्य रातमा दुई दलले अपारदर्शी ढंगबाट बनाएको नयाँ गठबन्धनको संकेत राम्रो नभएको बताए । प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सत्ता प्राप्तिका लागि अनेकौं खेलोफड्को गर्ने काम किमार्थ स्वीकार्य नहुने जानकारी दिए । अध्यक्ष नेपालले संसदीय व्यवस्थामा दुई ठूला दल मध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने र अर्को दलले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्नेमा दुवै दल मिलेर सरकार बनाउने कुरा उचित नभएको बताए । ‘सत्ता प्राप्तीका लागि अनेकौ खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिनेकुरा किमार्थ उचित होइन, फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ, हो सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औं प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धि प्रश्तावमा छलफल गर्दैछौं’, उनले भने । अध्यक्ष नेपालले जनता विपदमा हारगुहार गरिरहेका बेला नयाँ सरकार बनाउनुपर्ने आवश्यकता किन प¥यो भनि प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गरे ।
नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उक्त अवार्डबाट सम्मानित भएको हो । बैंकले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोमा आईक्यानले बैंकलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे लाई उक्त अवार्ड प्रदान गरेका थिए ।