काठमाडौं । गत आर्थिक वर्षमा दार्चुलाबाट ६७४ किलोग्राम (केजी) यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयल गत वर्ष ८ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकामा व्यापारीले छोडपुर्जी बनाएर ६७४ किलोग्राम यार्सा काठमाडौं निकासी गरेको बताए ।
यसबापत संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व लिने गरेको र उक्त अवधिमा २ करोड ८९ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले बताए ।
कार्यालयका वार्डेन विनयकुमार झाले छिल्लो समय उत्पादन घटेका कारण तोकिएको लक्ष्यअनुसार यार्सागुम्बा सङ्कलन गर्न नसकिएको बताए । उनका अनुसार सङ्कलकहरूले विगत केही वर्षयता हिमाली क्षेत्रमा यार्सागुम्बा कम पाइन थालेको छ ।
‘बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नाका कारण पत्ता लगाउन जरुरी भइसकेको छ । अब यार्सा पाइने क्षेत्रहरूको अध्ययन-अनुसन्धान गर्ने योजनामा छौँ,’ उनले भने ।
दार्चुलामा विशेषगरी अपी हिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । यहाँका लोलु, अपी फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायत पाटनमा यार्सागुम्बा पाइने गर्छ ।
व्यापारी हरिश भट्टले पनि पछिल्ला वर्षमा यार्सा पाउने क्रम घट्दै गएको बताए । पछिल्लो समय यार्साको मूल्यसमेत घटेको उनको भनाइ छ ।
‘यहाँ सङ्कलकहरुसँग किन्नुपर्दा महँगोमा किन्नुपरेको छ । हामीले प्रतिकिलोग्राम १७ देखि १८ लाख रुपैयाँ खरिद गरेर काठमाडौंमा १४ देखि १५ लाख रुपैयाँ प्रतिकिलोग्राममा बेच्नुपर्ने माध्यता छ । यसले व्यापार गर्न निकै गाह्रो भइसक्यो,’ उनले भने ।
व्यापारीहरुले ‘ग्रेड’का आधारमा यार्सा खरिदबिक्री गर्ने गरेका छन् ।