स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्यो : योगेश भट्टराई

<p>काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धि कानून सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गरी न्युनिकरण [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धि कानून सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गरी न्युनिकरण गर्न आवश्यक रहेको बताए । सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे ।

उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रीपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानूनी व्यवस्था आवश्यक रहेको बताए । संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल सम्बन्धि रिपोर्ट दिँदै भ्रष्टाचारयुक्त मुलुकमा नेपाल ५० अंक भन्दा तल रहेको बताएको पनि जनाए ।

यस्तै, उनले स्वार्थको द्वन्द्वहरु बाझिँदा भ्रष्टाचार पनि बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र नियमन गर्ने कुराहरु कमजोर बनेको देखिएको बताए । राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानून आवश्यक देखिएको जानकारी दिए ।

‘स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रीपरिषद्ले रणनीतिक योजना बनाएको पाइन्छ । तर त्यो अगाडि बढेन, संविधान जारी भएपछि ट्रान्सफरेन्सी इन्टरनेशनलले नेपालसम्बन्धि रिपोर्ट दिँदै भ्रष्टाचार युक्त मुलुकमा नेपाल ५० अंक भन्दा तल छ’, उनले भने ।

उनले ड्राफ्ट भएर कानून मन्त्रालयमा रहेको कानूनलाई छिटो भन्दा छिटो संसदमा ल्याएर नेपाललाई लोकतान्त्रिक र सभ्य मुलुकको रुपमा विकास गर्न आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वको आचरणलाई नियमन गर्न स्वार्थको द्वन्द्व व्यवस्थालाई कानूनी ढङ्गले उपचार खोज्न आवश्यक रहेको जानकारी दिए ।

Share News