वीरगञ्ज । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ रुपैयाँ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नौ करोड ८९ लाख ३७ हजार तीन सय ८२ रुपैयाँ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए । ‘भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ’, उनले भने, ‘बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ ।’
सशस्त्र प्रहरी बल पर्साले आव २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ रूपैयाँ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।
सोही अवधिमा बिलबीजकअनुसार नभएका १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८० भने २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ रुपैयाँ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।