स्वास्थ्यमन्त्रीले भेटे विमान दुर्घटनामा ज्यान गुमाएकाको परिवार (तस्बिरहरू)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीबार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि बताए । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकताक छिटै पत्ता लाग्ने पनि बताए । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्ने जानकारी दिए ।
सिटिजन्स बैंक र दूषित थानी हिमालयनबीच समझदारी, १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र दूषित थानी हिमालयन रिर्सोट धुलिखेलबीच समझदारी भएको छ । बैंक र धुलिखेलको काभ्रेपलान्चोकमा रहेको दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
संखुवासभामा डेंगी र स्क्रब टाइफसका बिरामी बढे, भुइँमै राखेर उपचार
किमाथांका । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेंगीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छौँ ।’ जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए । उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेंगीका २७ जना बिरामी भेटिएका छन् । गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेंगु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए । विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् ।
ग्लोबल आइएमई बैंकको सञ्चालकमा भट्टराई नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । साउन १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निणर्य गरेको हो । ‘बैंक सञ्चालक समितिको ४४३ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त काठमाडौंमा बस्ने श्रीमति भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं’, नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन् । दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । ‘अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ’, उनले भने, ‘शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।’ उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
तोलामा २४ सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।
हैजाबाट बच्न पानीको शुद्धता र खानपानमा ध्यान दिनुपर्छ
काठमाडौं उपत्यकामा हैजाको संक्रम पुष्टि भएको छ । हरेक विपद, पानीजन्य रोग र मौसमअनुसार हैजाको प्रकोप देखा पर्छ । काठमाडौंमा हैजाको संक्रमण पुष्टिसँगै यतिखेर नागरिकमा त्रास छाएको छ । एक जनामा पुष्टि भइसकेको र अन्य व्यक्तिलाई पनि संक्रमण भएको हुन सक्ने आशंकापछि फेरि महामारीको रूप लिने त होइन भन्ने त्रास जनमानसमा छ । वर्षायाममा झाडपखाला, आउँ, हैजा लगायतका पानीजन्य रोगको संक्रमण बढिरहेको बेला विशेषगरी हैजाबाट कसरी बच्ने र यसको जोखिम कम गर्न कस्ता काम गर्नुपर्छ भनेर हामीले संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ । उपत्यकामा हैजाको जोखिम कित्तिको छ ? काठमाडौं उपत्यकामा हैजा पुष्टि भइसकेको अवस्था छ । हरेक वर्ष हैजा देखिँदै आएको थियो र सम्भावना पनि हामी व्यक्त गर्दे आएका थियौँ । हामी सजग रहनुपर्छ भन्दाभन्दै पनि हैजा पुष्टि नै भइसकेको छ । पानी पर्ने क्रम निरन्तर जारी रहँदा हामीले पिउने पानी प्रदूषित भइरहेको छ । यसले गर्दा हैजाको अझै हैजाकाे जोखिम बिढरहेकाे छ । हरेक वर्ष बर्सातकाे समयमा हैजा देखिनुको कारण पानी मात्रै हो कि अरू पनि छन् ? मूख्यतः पानी नै हो । विशेषगरी गर्मीयाममा बाढीपहिरो लगायतका घटनाहरू भइरहेका छन् । काठमाडौंमा पनि धेरै वर्षा भएको छ । केही समयअघि खोला बढेर बस्तीहरूसम्म पानी पसेको थियो, यो भनेको फोहोरपानी हो । बस्तीसम्म मात्र होइन त्यो हाम्रो खानेपानीसम्म पनि पुगेको हुनुपर्छ भन्ने मेरो अनुमान हो । यसैलाई आधार मानेर केही समय अगाडि मैले पानीजन्य रोगको सम्भावना छ पनि भनेको थिएँ । हैजाको जिवाणु यसै पनि लामो समयसम्म रहिरहेको हुन्छ । जब त्यो फोहोर पानी घर, भान्सा र कोठासम्म आइपुग्छ अनि संक्रमण हुन्छ । यसबाट कोही व्यक्ति संक्रमण हुन्छ र त्यो व्यक्तिको दिसा व्यवस्थित शौचालयमा भएन अथवा शौचालय राम्रो भए पनि त्यसको ढल हाम्रो खानेपानीमा मिसिन पुग्यो भने त्यसपछि एक व्यक्तिबाट अर्को, अर्को व्यक्तिबाट अर्को हुँदै जान्छ । अहिले जुन व्यक्ति भर्ना भएका छन् उनमा कडा खालको लक्षण देखा परेको भन्न सकिन्छ । त्योभन्दा बाहेक लक्षण नदेखिएका अरु धेरैलाई पनि हैजा भएको हुन सक्ने र फैलिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । दिशामा हुने कोलिफर्म बेलाबेला पानीमा देखिएको कुरा आइरहन्छ, वर्षामा अझ बढी पानीमा जिवाणु देखिनुको कारण मुहान स्रोत मात्रै हो ? पानीको उपभोग अथवा माग यो बेलामा ह्वातै बढेको हुन्छ । जब बढी उपभोग गरिन्छ, त्यसको जोखिम पनि बढ्दै जान्छ । जति जोखिम बढ्दै जान्छ रोगको संक्रमण देखिने सम्भावना पनि बढ्छ । र, अर्को कुरा वातावररण पनि यसका लागि अनुकुल हुनु पनि अर्को पक्ष हो । अर्को भनेकाे जब गर्मी हुन्छ तब जिवाण सक्रिय हुन थाल्छ । हैजाले विशेषगरी कस्तो मान्छेलाई बढी असर गर्छ ? यसको संक्रमण जोसुकै व्यक्तिलाई पनि हुन सक्छ । तर, जोखिमको कुरा गर्दा बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, जेष्ठ नागरिकलाई बढी हुन्छ । हामीले यसो भन्दै गर्दा युवाहरूलाई नहुने भन्ने होइन । अहिले जसलाई हैजा पुष्टि भएको छ उहाँ १६ वर्षको युवा नै हुनुहुन्छ । अस्पतालमा गएर हेर्दा पनि अरुलाई हुन सक्ने शंका गरिएको छ । उहाँहरू पनि २० देखि ४० वर्षभित्रकै हुनुहुन्छ । यसले दूषित पानि पिउने युवा उमेरका बढी रहेछन् भन्ने पनि देखाउँछ । उनीहरू बाहिर साथीभाइसँग जाने खाने, बाटोमा राखिएको खानेकुरा खाने गर्छन् । यसले पनि जोखिम हुन्छ । यदि कसैगरी हाम्रो घरको धारामा यसको संक्रमण आइपुग्यो भने जोकोहीलाई पनि संक्रमण हुन्छ । अझ बालबालिका र जेष्ठ नागरिकलाई बढी जोखिम हुन्छ । भनेपछि सरसफाइमा ध्यान नदिने व्यक्तिलाई संक्रमण हुने रहेछ हो ? खानपान, सरसफाइमा ध्यान दिइएन भने संक्रमण सबैलाई हुन सक्छ । तर, अहिले बाहिर जथाभावी खाने समूह बढी जोखिममा देखिएको छ । हरेक वर्ष यही मौसममा हैजाको जिवाणु आयो भन्ने सुनिन्छ, यही समयमा रोकथामको पनि बढी चर्चा हुने गर्छ, के अघिपछि यो देखिँदैन ? हैजाको संक्रमण जहाँ पानी लामो समयसम्म स्थिर रहन्छ । तर, जब वर्षा लाग्छ तब एक ठाउँबाट अर्को ठाउँ जान सुरु हुन्छ । हामी यसमा काठमाडौंमा हजा पुष्टि भएकै कुरालाई लिन सकिन्छ । ठाउँ-ठाउँमा बाटोभरि पानी थियो, त्यो पानी कतिपय ठाउँमा ढल फुटेको होला, कति ठाउँमा खानेपानीको पाइप फुटेको होला । त्यो पानी कतिपयको घरको धारासम्म पनि आइपुग्यो होला । अर्को यो समयमा पानीको माग पनि बढी हुन्छ । यस्तो बेला कतिपय व्यापारीले प्रशोधित नगरी जारमा पानी बजारमा ल्याइदिन्छन । यस्तो कारणले पनि यो समस्या हुन्छ । विगतमा हामीले यस्तो भेटाएका पनि छौँ । अहिले अनुगमनको पाटो शून्य छ । जसका कारण वर्षामा यो समस्या देखिने गर्छ । एउटा व्यक्तिलाई पखाला चल्यो तर त्यो हैजा हो कि होइन भनेर उसले कसरी छुट्याउन सक्छ ? लक्षण के हुन्छन ? यसको लक्षण धेरै त अरु संक्रमणसँग मिल्दोजुल्दो हुन्छ । तर, १/२ कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरो हैजा हुँदा कुनै पीडा बिना पातलो दिसा एकदम धेरै जान्छ । अझ सजिलो गरी भन्दा चामलको माड अथवा चौलानीपानी जस्तो दिसा भयो भने यो हैजा हो भनेर बुझन सकिन्छ । कसैले आफूलाई हैजा भयो कि भन्ने शंका गर्छ भने यो कुरामा ध्यान दिनुपर्छ । अर्को सँगै बान्ता पनि हुन सक्छ । अर्को महत्वपूर्ण कुरा भनेको मांशपेशी बाउँडिन्छ । विशेषगरी खुट्टाको पिडौँला फर्किन्छ । दिसाको प्रकृति, छिनछिनमै ट्वाइलेट गइरहनुपर्ने र मांशपेशी बाउँडिने र बान्ता हुने भयो भने यो हैजाको लक्षण हो । यस्तो देखियो भने हामीले घरमा कुरेर बस्न हुँदैन । हामी तुरुन्त अस्पताल पुग्नुपर्छ । यस्तो बेला हामीले घरमै गर्न सकिने उपचार के हो ? ४, ५ घण्टाको अन्तरालमा दिसा भइरहेको छ , बान्ता पनि भएको छैन तर पातलो दिसा भइरहेको छ भने जीवनजल खान सकिन्छ । तर, छिनछिनमै पातलो दिसा भइरहेको छ बान्ता पनि भइरहेको छ भने तुरुन्त अस्पताल जानैपर्छ । कडा खालको हैजा १० जनामध्ये १ जनामा हुन्छ । र, यसको समयमै उपचार पाएन भने मृत्युसमेत हुन सक्छ । कुनैबेला हैजा विश्वभरि महामारी जस्तो नै थियो, नेपालमा पनि १५ वर्ष अघि जाजरकोटमा धेरैको मृत्यु भएको थियो, नेपालमा अहिलेको अवस्था कस्तो छ ? विश्वभरिको कुरा गर्दा हैजाबाट झण्डै डेढलाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांकले भन्छ । नेपालको हकमा हरेक वर्ष हैजा देखिरहन्छ । केही वर्ष पहिले मात्र नवलपरासीमा आधा दर्जनको हाराहारीमा मानिसको मृत्यु भयो । उनीहरूको मृत्युको कारण भने समयमै अस्पताल पुग्न नसक्नु थियो । नेपालमा अझ गाउँघरभन्दा बढी जोखिम काठमाडौंमा हुन्छ । शहरमा संख्याको हिसाबले बढी संक्रमण भए पनि मृत्यु हुने सम्भावना कम हुन्छ । यहाँ नजिकै अस्पताल हुन्छ, बिरामी हुनासाथ अस्पताल जान सजिलो छ । तर, गाउँमा संक्रमण पनि कम र मृत्युको संख्या बढी हुन सक्छ । किनकि त्यहाँ अस्पताल नजिक छैन , अस्पताल पुग्नै समय बढी लाग्दा मृत्यु हुन्छ । फेरि कतिपय ठाउँमा एक परिवार अथवा एक गाउँमा हैजा देखा पर्यो भने सहयोग गर्नुको साटो हच्किने गरेको पाइन्छ । तर, यसो गर्न हुँदैन किनकि यो दिसामार्फत देखापर्ने जिवाणुको संक्रमणबाट सर्ने हो । यसका लागि सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्यो । कुनै पनि बिरामीलाई हेरचाह गरिरहेका छौं भने साबुनपानीले हात अनिवार्य धुनैपर्छ । हैजा नियन्त्रण गर्न र घटाउन सकिन्छ ? विकसित देशलाई हेर्ने हो भने झाडापखाला र हैजालाई कतिपय देशले रोक्न सकेका छन् । केही दशक अगाडि आफ्नै देशको तुलना गर्ने हो भने अहिले कम भएको छ । १८/१९ वर्ष अगाडि टेकु अस्पतालकै कुरा गर्ने हो भने पनि घण्टैपिच्चछे दर्जनौं मान्छे भर्ना हुने गर्थे । भर्ना गर्ने र डिस्चार्ज गर्ने दिनमा सयौं हुन्थे । तर, अहिले त्यस्तो अवस्था छैन । यसलाई राम्रो मान्न सकिन्छ तर जोखिम अहिले पनि छ । अन्त्यमा, यहाँको विचारमा हैजा मुक्त गाउँठाउँ बनाउन के गर्नुपर्ला ? यसमा सबैको हातेमालो आवश्यक पर्छ । एक व्यक्ति , संस्थाले मात्र काम गरेर पुग्दैन । यो एकै पटकमा धेरै ठाउँ फैलन सक्ने रोग हो । यसलाई सामुदायिक समस्याका रूपमा लिन सकिन्छ । जनस्वास्थ्यसँग सम्बन्धित समस्या भएकाले यसमा व्यक्ति, समाज, स्थानीय सरकार, प्रदेश लगायत सबैको सहकार्यको आवयश्यक्ता पर्छ । यसका लागि व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्यो। खानपानमा ध्यान दिनुपर्यो । सम्बन्धित निकायले अनुगमनमा ध्यान दिनुपर्यो । यति गर्दा कसैलाई लक्षण देखा पर्यो भने अस्पताल जान सल्लाह दिनुपर्यो । सँगै यस्ता कुरामा जनचेतना पुर्याउने काम गर्यो भने जोखिम कम गर्न सकिन्छ ।
ग्लोबल आइएमई बैंकको सीईओ बने रेग्मी, भेट्रान बैंकर बज्राचार्य बाहिरिए
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् । बैंकिंङ क्षेत्रमा ३५ बर्ष अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उनले ग्लाेबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसकेका छन् । उनी यसअघि उनी २०७८ साउनमा वरिष्ठ डीसीईओमा नियुक्त भएका थिए । रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बैंकिङ् क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा पनि अब्बल मानिन्छन् । हालका बैंकका सीईओ तथा भेट्रान बैंकर रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिने भएका छन् ।