काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका मालिक ठूलो आर्थिक संकटमा परेको विषय विकासन्युजले यसअघि पनि प्रकाशित गरिसकेको थियो । सौर्य एयरका अध्यक्ष दिपक पोखरेल आर्थिक संकटमा परेर व्यवाय नै अगाडि बढाउन नसक्ने अवस्थामा पुगेको बुझिएको छ ।
जेट जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयर विगत दुई÷तीन वर्षदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको बुझिएको छ । मेडिकल व्यवसायीका रुपमा रहेका पोखरेल नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण नदिएपछि विदेशी कम्पनीसँग ऋण मागेका पनि बुझिएको छ ।
यसअघिको समाचार तयार पार्दा सौर्य एयरका उपमहाप्रबन्धक उमेश आचार्यले नेपाली बैंक तथा वित्तीय संस्थाहरुले आफूहरुलाई नपत्याएको गुनासो गरेका थिए । जहाजको सञ्चालन खर्च महँगो भएपछि एटीआर जहाज ल्याउने तयारी थालिएको पनि उनले बताएका थिए ।
‘अहिले हामीलाई नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराएका छैनन्, नेपाली बैंकबाट ऋण नपाएपछि हामीले अन्तर्राष्ट्रिय कम्पनी मार्फत नै ऋणमा एटीआर जहाज ल्याउने तयारी थालिसकेका छौँ ।’
निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीले समेत विदेशी कम्पनीसँग ऋण लिएको भन्दै सौर्यले त्यसको सिको गर्दै ऋण लिने तयारी गरेको थियो । तर, बैंकले ऋण नदिएको बुझिएको छ ।
अध्यक्ष पोखरेल अहिले भद्रपुरको पाथीभरा अस्पतालका सञ्चालक हुन् भने झापाका विभिन्न ठाउँमा चिया बगान समेत सञ्चालन गर्दै आएका छन् ।
खर्च धान्न नसकेपछि कर्मचारी कटौती
तीन वर्षदेखि कम्पनी नोक्सानीमा सञ्चालित भएको भन्दै सौर्यले ३४ जना कर्मचारीलाई हटाएको पनि थियो । कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको थियो । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ ।
‘अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रो जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो,’ एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले भनेका थिए ।
उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको थियो । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भनेका थिए ।
स्रोतका अनुसार सौर्य एयर बन्द हुनेसम्मको हल्ला बजारमा चलेको थियो ।