नेप्से ३२ अंकले बढ्यो, लगानीकर्ताको आकर्षण माइक्रोफाइनान्समा
काठमाडौं । बुधबार दोहोरो अंकले घटेको सेयर बजारमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा अडिएको छ । यस दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको घट्यो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बिहीबार माइक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण बढेको देखियो । माइक्रोफाइनान्स उपसूचक ६.८३ प्रतिशतले बढेको छ । यस दिन ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेययर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भयो । बिहीबार सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सले सेयर कारोबार गर्याे । यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टले २३ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार गर्यो । यस दिन सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, एशियन हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए भने गणपति लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । बिहीबार सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।
१२ लाख खर्चेर बाँझो जग्गामा फलफूल रोपेर हराभरा बनाउँदै विदेशी
गलकोट । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् । विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती र टिमुरलगायतका फलफूलका बिरुवा विदेशी स्वयंसेवीहरुले बाँझो जग्गामा लगाइरहेको काठेखोला–२ भीमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए । आयआर्जन बढाउने र वातावरण संरक्षण गर्नेगरी फलफूल रोप्ने काम चलिरहेको छ । सडक सुविधा नपुगेको र बसाइँसराइका कारण जमिन बाझिँदै गएपछि विदेशीको सहयोगमा अहिले आठ सय फलफूलका बिरुवा लगाइसकेको शर्माले बताए । उनले एक हजार दुई सय ओखर, एभोकाडोलगायत फलफूलका बिरुवा लगाउने योजनाअनुसार अहिले डोहेरी गाउँ र धम्जाको माझकटेरामा स्थानीयको सहयोगमा फलफूलका बिरुवा रोप्ने कार्य चलिरहेको शर्माको भनाइ छ । ‘अहिले १४ जना विभिन्न देशका विदेशी नागरिक फलफूलका बिरुवा रोप्न खटिनुभएको छ, स्थानीयले सघाइरहेका छन्, हालसम्म ४८ विदेशी स्वंसेवक बिरुवा लगाउन परिचालन भइसक्नुभएको छ, उनीहरु आफै खाल्टो खन्छन्, आफै बिरुवा रोप्छन्’, शर्माले भने, ‘वडा कार्यालयको निरन्तरको समन्वय र सहकार्यमा बाँझो जग्गा छिट्टै फलफुल बगैँचामा परिणत हुनेछ ।’ ओखर र टिमुर लगाउने काम अन्तिम चरणमा पुगेको छ भने एबोकाडा र कागतीका विरुवा लगाउने तयारी भइरहेको छ । विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपालमार्फत बिरुवा खरिददेखि रोपणसम्मको सम्पूर्ण खर्च व्यहोर्नेगरी बाँझो जग्गा सदुपयोग भइरहेको छ । बिरुवा रोप्नका लागि तीन महिना अघि नै कम्पोष्ट मल तयार गरिसकेको र अहिले बाँझो जग्गालाई सरसफाइ गरेर खाल्टा खनिरहेको डोहेरीका स्थानीय प्रेमप्रसाद न्यूरेले बताए । डोहेरी गाउँमा २२ घरपरिवार रहे पनि अहिले आठ घरमा मात्रै मानिस बस्दै आएका छन् । केही घर खण्डहर भएर भत्किएका छन् । बसाइँसराइका कारण उजाड बनेको गाउँ हरियाली बनाउने वडा कार्यालयको योजनाले उत्साहित बनेको न्यूरेको भनाइ छ । ओखर, कागती, टिमुर र एभोकाडोका लागि आवश्यक सिँचाइ पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ । न्यूरले आफ्नो दुई रोपनी जग्गामा सल्लाका बोट, निगालो र ऐँसेलुको झाडी फाडेर ५५ ओखर र दुई सय टिमुरका बिरुवा लगाएका छन् । कागती र एभोकाडो लगाउनका लागि अन्य जग्गाको तयारी थालिएको जनाउँदै न्यूरेले गाउँभरमा एक हजार दुई सयभन्दा बढी बिरुवा लगाउने काम अन्तिम चरणमा पुगेको बताए । वडाको उच्च स्थानमा रहेको डोहेरी गाउँका स्थानीयलाई आय आर्जनसँग जोड्नका लागि ओखरलगायत बिरुवा रोप्न थालिएको बताउँदै उनले एक हजार दुई सय बिरुवा लगाउन १२ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए । केही फलफूलका बिरुवा काठेखोला–३ माझकटेरामा लगाउन थालिएको छ । रासस
‘विद्यार्थीलाई सहज रूपमा जीवन जिउने सिकाइ चाहिन्छ’
नेपालको सामुदायिक विद्यालयको सिकाइ प्रक्रियाबारे बेलाबखत प्रश्न उठ्ने गर्छ । सामुदायिक विद्यालयमा पढाइने किताबी ज्ञान विद्यार्थीको जीवनसँग मेल खाएन भनेर धेरैले टिप्पणी गर्ने गरेका छन् । विद्यार्थीहरू व्यवहारिक ज्ञान र सिपमा अब्बल हुन सकेनन् भन्ने बहस पनि हुने गरेको छ । सामुदायिक विद्यालयको सिकाइ प्रक्रिया, विद्यार्थीको आवश्यकता र वर्तमान शिक्षा प्रणालीको विषयमा विकासन्युजका लागि इन्द्रसरा खड्काले काठमाडौं विश्वविद्यालयका प्राध्यापक टीकाराम पौडेलसँग कुराकानी गरेकी छन् । नेपालका सामुदायिक विद्यालयको शिक्षा सिकाइ प्रक्रिया कस्तो छ ? पहिलेभन्दा अहिले केही सुधार भएको छ । १० वर्षयताको मात्र हेर्ने हो भने सिकाइमा सुधार भएको छ । काठमाडौं महानगर, बुटवल महानगर लगायत केही ठाउँमा विद्यालयलय तहको शिक्षा राम्रो भइरहेको छ । ती ठाउँका विद्यार्थीको एसईईको नतिजा पनि राम्रो आएको हामीले पायौं । तर, केठी ठाउँका विद्यालयमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन । अब यसमा पनि के गर्न सकिन्छ भने जुन–जुन स्थानीय तहका विद्यालयले राम्रो नतिजा ल्याएका छन् त्यो स्कुलको सिकाइ प्रक्रिया अथवा त्यो मोडललाई अन्य कमजोर विद्यालयमा लागु गर्न सकिन्छ । यसो गर्दा एक विद्यालयको सिकाइ अर्को विद्यालयले ग्रहण गर्ने र शिक्षामा अझ राम्रो हुन सक्छ । हामीले अपेक्षा गरे जति सुधार नभए पनि बिस्तारै सिकाइमा सुधार आउँदैछ । तपाईंहरूले सोचेको र अपेक्षा कस्तो हो ? हाम्रो निर्देशिका, नीति नियममा विद्यार्थीले यो कक्षामा पुगिसकेपछि यतिसम्मको सिकाइ सिक्नुपर्छ भनेर तोकेको छ । जस्तै, १० कक्षा पुगिसकेपछि यति सफ्ट स्किल यतिसम्म भाषाको ज्ञान हुनुपर्छ, गणित, सामाजिक ज्ञान हुनुपर्छ भन्ने छ । तर, त्यो अनुसारको ज्ञान सिप हुन सकेको छैन । शिक्षा पाउनुको अर्थ भनेको बाँच्नको लागि जीवनलाई सजिलो बनाउनु हो । तर, त्यो ज्ञान अहिलेको अवस्थामा धेरै विद्यार्थीहरूले लिन नसकेको अवस्था छ । मैले गरेको अपेक्षा भनेको परिक्षा दिएर पास गर्नुलाई मान्दैन । हालसालैको एसईईको नतिजालाई हेर्ने हो भने ५२ प्रतिशत विद्यार्थी फेल भन्ने जुन किसिमको हामीले अवधारणा बनाएका छौं, यो गलत हो । उनीहरूले पनि स्कुलमा आएर केही न केही त सिकेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । एउटा विद्यार्थीले ३५ प्रतिशत पायो, अर्को विद्यार्थीले ३४ प्रतिशत पायो भने ३४ प्रतिशत पाउने विद्यार्थी एकदमै कमजोर त हैन यसलाई पनि राम्रो नजरले हेर्नुपर्छ । राष्ट्रको लगानीमा उसले पनि भाषा सिकेको छ, सामाजिक कुरा सिकेको छ, सांस्कृतिक ज्ञान सिकेको छ । त्यसलाई पनि हामीले सकारात्मक रूपले लिनुपर्छ । मैले भन्न खोजेको जस्तो ३५ प्रशितको सट्टा ६० प्रतिशत ल्याइदिए हुन्थ्यो भन्ने अपेक्षा भयो । तर, त्यो हुन सकेन । त्यसैले यस्तो सिपलाई बढाउनुपर्यो । तपाईंको जस्तो चिन्ता चासो सबैले राख्नु हुन्छ । नेपालमा कस्तो किसिमको सिकाइ हुनुपथ्र्यो ? चिन्ता गर्नु राम्रो हो । तर, चिन्ता गरेर मात्र हुँदैन के गर्दा उपयुक्त हुन्छ भन्ने सोच्नु अहिलेको आवश्यकता हो । मुलुकमा भइरहेको नराम्रो कुरा भनेको अरुलाई दोष दिने हो । अहिले एसईईको नतिजा नराम्रो हुँदा पनि धेरैले सरकार, शिक्षक र समाजलाई दोष दिरहेका छन् । मलाई यो मन पर्दैन । अब हामीले के सोच्नुपर्छ भने म विश्वविद्यालयमा पढाउँछु भने मेरो पनि त केही जिम्मेवारी छ नि । एउटा कुनै स्कुलमा पढाउने प्रधानाध्यापक छ भने उसको पनि जिम्मेवारी हुन्छ । उनीहरूले पनि नतिजा राम्रो ल्याउन, सिकाइलाई राम्रो बनाउन केही गरिरहेकै छन् । यसका लागि सरकार, तपाईं हामी, समाज सबैको जिम्मेवारी उत्तिकै छ । एउटा विद्यार्थीलाई स्कुलको पाठ्यक्रम भन्दा बाहिरको विषयलाई कसरी सिकाउन सकिन्छ ? धेरै तरिकाले सिकाइन्छ र केही विद्यालयले सिकाइ पनि रहेका छन् । एउटा प्रोजेक्टमा हामीले काठमाडौं महानगरसँग काम गरेका थियौं । उहाँहरूले एउटा राम्रो काम गरिरहनुभएको रहेछ । अहिले काठमाडौं महानगरमा शुक्रबारलाई ‘बुक फ्री फ्राइडे’ भनेको छ । शुक्रबारमा विद्यार्थीले स्कुल जाँदा किताब लिएर जानुपर्दैन । कहिले गार्डेनमा रहेका विभिन्न किसिमका बिरुवाबारे अध्ययन गर्न सकिन्छ । हामीले किताबको पानामा बगैँचा र विरुवाको कुरा सिकाउनुभन्दा बगैँचामा गएर पढाउँदा धेरै अन्तर हुन्छ । त्यसै गरी कहिले मन्दिर कहिले बारीमा लिएर यसरी फरक तरिकाले पनि विद्यार्थीलाई पढाउन सकिन्छ । कहिले एक स्कुलको विद्यार्थीलाई, अर्को विद्यालयमा गएर एकअर्का स्कुलले दिँदै आएको सिकाइका विषयमा ज्ञान आदान–प्रदान गर्न सकिन्छ । अहिले काठमाडौं महानगरले ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारा दिएर विद्यलयको सिकाइलाई जोड दिइरहेको छ । हामीले यस्तो खालको शिक्षा दिनुपर्यो जसले जीवन बाच्न सजिलो होस् । यसका लागि सरकार, समुदाय शिक्षक विद्यार्थी कसको भूमिका के हुन्छ ? यो समाजको दायित्व हो । सरकार पनि समाजभित्रकै अंग हो । शिक्षक, विद्यार्थी अभिभावक सबै समाजका पात्र हुन् । आजका विद्यार्थीलाई हामीले राम्रो शिक्षा दियो भने भोलिको भविष्य उज्यालो हुन्छ । हामीले यो अवधारणाबाट अगाडि बढ्नुपर्यो । अहिले म कार्यरत काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनको समन्वयमा विभिन्न ठाउँमा कामहरू भइरहेका छन् । विद्यार्थीलाई किताबमा घोकाउने मात्र नभएर उनीहरूको ज्ञानलाई त्यो समाजसँग कसरी जोड्न सकिन्छ भन्ने कुरामा ध्यान दिरहेका छौँ । पहिले अंग्रेजी पढाउने शिक्षकलाई नेपाली विषयको विषयमा खासे ज्ञान हुँदैन थियो । अहिलेको हकमा हामी के भनिरहेका छौ भने एउटा शिक्षकले गणीत पनि जान्नुपर्छ उत्तिकै विज्ञान, अंग्रेजी पनि जान्न सक्ने हुनुपर्छ । अर्को कुरा हामीले पढाउने विषयलाई विषय र भाषाको समन्वय कसरी हुन्छ भन्ने कुरा पनि सानैबाट सिकाउनुपर्छ । कतिपय विद्यालयमा आफ्नो विषयपनि राम्रोसँग पढाउन नसक्ने शिक्षकहरू पनि हुनुहुन्छ नि ? यो मैले भनेको कुरा भर्खरै लागु हुँदैछ । परिवर्तन हुन समय लाग्छ । जुन रूपमा पहिले हाम्रा शिक्षकले काम गरिरहनुभएको थियो त्यसलाई परिवर्तन गर्न केही समय लाग्छ । म एउटा उदाहरण पनि दिन्छु । धेरै विद्यालयले अंग्रेजीमा पढाउँदा विद्यार्थी आउने, नेपालीमा पढाउँदा कम आउने गरेपछि कतिपय विद्यालयले अंग्रेजी माध्यममा पढाउन सुरु गरेको पनि पाइन्छ । यो विस्तारै हुने कुरा हो । तर, एउटा शिक्षकले ४० वर्षदेखि नेपालीमा पढाइरहेको थियो भने अब भोलिदेखि अंग्रेजीमा पढाउ भन्दा उसलाई गाह्रो हुन्छ । यो स्वाभाविक हो । अब हामीले छान्ने शिक्षक चाहिँ यस्तो हुनुपर्छ भन्ने मेरो मत हो । तर, अहिले केही सरकारी स्कुलहरूले पनि राम्रो शिक्षा रहेको अवस्था छ । सुधार कसरी गर्ने ? विद्यार्थीको सिकाइको कुरा गर्दा ७७ वटै जिल्लाका विद्यार्थीलाई एकै किसिमको सिकाइ सिकाउन गाह्रो हुन्छ एउटा दुर्गममा पढ्ने विद्यार्थी र काठमाडौंमा पढ्ने विद्यार्थीको रेस एउटै हुँदैन । यसको एउटा कारण भाषा हो । बझाङबाट एसईई दिएर काठमाडौं अध्ययन गर्न आएको विद्यार्थीलाई काठमाडौं आएर पढ्दा सुरुको दिनमा निकै गाह्रो हुन्छ । गाउँमा बस्दा मोबाइल नहोला, पाठ्यपुस्तक नै नहोला अरू एक्सपोजरहरू नहोला । उनीहरूका बुबाआमा शिशिक्ष नहोलान् । काठमाडौंमा मैले देखेको छु, बच्चाहरू सानै हुँदा उनीहरू बुबाआमा अंग्रेजीमै बोल्छन् । विद्यालयबाट घर फर्केपछि बच्चाहरूलाई ट्युसन पढाउँछन् । तर, अशिक्षित बाआमाले यस्तो गर्न सक्दैनन् । नेपालको एउटा जेनेरेसनमात्रै शिक्षित हुँदैछ, त्योभन्दा अगाडिको थिएन । १९५१ मा नेपालको साक्षरता दर नै ९ प्रतिशत मात्र थियो भने अहिले ७०/७१ प्रतिशतमा पुगिसक्यौं । यो ठूलो उपलब्धि हो । यसलाई हामीले सुधारको रूपमा लिनुपर्यो र जहाँ–जहाँ सुधार गर्नुपर्ने छ त्यहाँ काम गर्दै जानुपर्छ । राम्रो सिकाइका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको भूमिका के हुन्छ ? बच्चाहरूको पहिलो शिक्षक आमाबुवा हुन् । उसको स्कुल घर हो । त्यसैले पनि विद्यार्थीको सिकाइमा अभिभावकको भूमिका सबैभन्दा पहिलो र ठूलो हुन्छ । मेरो बच्चा स्वस्थ्य छ कि छैन, उसले राम्रोसँग खाना खाइरहेको छ कि छैन, उसको लागि लुगा छकि छैन, किताब कापी छ कि छैन घरदेखि स्कुलको दुरी कति छ ? उ कसरी स्कुल गइरहेको छ, कसरी उसलाई स्कुल पुर्याउने यो सबै रोल अभिभावकको हुन्छ । सँगै विद्यालय, शिक्षक व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका हुन्छ । घरबाट जसरी अभिभावकले विद्यालय सुरक्षित ठानेर पठाउँछन् त्यसरी सुरक्षित बच्चाहरू राख्ने जिम्मा विद्यालयको हो । विद्यालय बच्चाको दोस्रो घर हो । विद्यालयमा आएका बच्चाहरूलाई रिसाएर हैन कसरी माया गरेर सिक्षा दिनुपर्ने हो त्यो सिप शिक्षकमा हुन आवश्यक छ । यस्तो वातारण तयार पार्ने जिम्मा विद्यालय व्यवस्थापन समितिको हो । एउटा शिक्षकले हँसिलो मुहार लिएर कक्षाभित्र पस्छ भने त्यहाँ विद्यार्थीले धेरै कुराहरू सिकिसकेको हुन्छ । तपाईंले नेपालमा मात्र होइन विभिन्न देशमा गएर अध्ययापन गराएको अनुभव छ, नेपाल र विदेशको सिकाइमा के फरक छ ? सिकाइ बाहिर र यहाँकोमा धेरै फरक छ । मैले जर्मन गएर केही वर्ष पढाएको थिएँ । त्यहाँ कक्षा ५ सम्म बेसिक ब्याकग्राउण्ड भन्छन् । कक्षा ५ मा राम्रो ग्रेड ल्याउने विद्यार्थीमात्र कक्षा ६ मा जान्छ । जो विद्यार्थी सिकाइ जतिसम्मको छ त्यस्तै खालको तालिम, सिप विद्यार्थीलाई दिइन्छ । जस्तै, कक्षा ५ मात्र पास गरेकोले उसको सोच कौसलले कत्तिको विकास गरेको छ, त्यही अनुसारको रोजगारी सिर्जना गर्ने शिक्षामा उनीहरू लैजान्छन् । कक्षा १० मा पुग्दा राम्रो नम्बर ल्याउन सकेन बी प्लससम्म पनि ल्याउन सकेन भने त्यस्ता विद्यार्थीलाई इन्टर्नसिप तिर लैजान्छन् । जस्तै, बसको ड्राइभर हुने, गाह्रो लगाउने जस्तोतर्फको शिक्षा दिइन्छ । यस्तै १२ कक्षा पास गर्न सकेन भने फेरि जाँच हुन्छ, त्यो राम्ररी पास गर्न सक्यो भने मात्र विद्यार्थीले युनिभर्सिटीमा जान पाउँछ । तर, नेपालमा यस्तो छैन । हाम्रो यहाँ एसईई पास गरिसकेपछि जस्तो नम्बर ल्याएको विद्यार्थी अभिभावकको रुचि उच्च विषयमा जान्छ । अर्को समस्या भनेको जो विद्यार्थी पढ्न आउनुहुन्छ त्यसमा विद्यार्थीको रुचिभन्दा अभिभावकको रुचिको विषय पढ्ने हुन्छन् । फेरि अभिभावकको पहिलो रुचि भनेको डाक्टर र इन्जिनियर हुन्छ । शिक्षाको मापन के हो ? शिक्षालाई मापन गर्ने प्रणली फरक हुन्छन् । नेपालको हकमा शिक्षाको मापन ३ घण्टे परिक्षालाई मानिएको छ । तर, हामीले यसरी मापन गर्दैनौँ । हाम्रो विद्यार्थी स्कुलहरूमा जान्छन्, त्यहाँ गएर अवलोकन गर्छन् । शिक्षकले कसरी पढाउँछन, प्रधानाध्यापकले कसरी काम गर्नुहुन्छ , विद्यालय र समुदायको सम्बन्ध कस्तो हुन्छ भन्ने विषय हाम्रा विद्यार्थीले हेर्नुहुन्छ । यति जानिसक्यो भने उहाँहरूलाई भोलिको दिनका लागि पनि सहज हुन्छ । तर, नेपालमा विद्यार्थीको मापन एसईईमा मात्र बढि हुन्छ । अहिले ५२ प्रतिशत फेल भनेर चर्चा भएसँगै विद्यार्थीलाई कक्षा १ देखि यसरी नै मापन गर्न सकेको भए यो अवस्था आउने थिएन । कक्षा १० सम्म हामीले कक्षामात्र बढाउँदै लग्यौँ कक्षा १०मा पुगेर मापन गर्दा परिणाम यस्तो आएको हो । अब कसरी अगाडि जाँदा प्रभावकारी सिकाइ बनाउन सकिएला, यहाँको अनुभवले के भन्छ ? मेरो विचारमा एउटा बालबालिकालाई उसैको घरको भाषाबाट विद्यालयमा पनि सिकाउँदा राम्रो हुन्छ । किन कि उसले घरमा एउटा विद्यालयमा जाादा अर्को भाषा सिक्नुपरेन । हाम्रा धेरैजसो बालबालिकाको समय अर्को भाषा सिक्दै जान्छ । जस्तो अंग्रेजीको कुरा गरौँ हाम्रो मानसिकता के भयो भने अंग्रेजी राम्रो बोल्छ भने उसकोे गुणस्तरीय शिक्षा भएको मान्छौँ । जसले नेपालीमा राम्रो बोल्छ जे काम पनि गर्न सक्छ उसलाई कमजोर मान्छौँ यो गलत हो । अर्को कारण हाम्रा धेरै विद्यार्थी गाउाको वातावरणबाट शहरमा आउन थाले । गाउँको परिवेशबाट अचानक नयाँ ठाउँमा आउँदा वातावरण, भाषा, शिक्षक, सब नयाँ हुन्छ यसले पनि सिकाइमा केही प्रभाव पर्छ । अर्को आर्थिक स्थितिले पनि सिकाइमा प्रभाव पार्छ । पढेर जागिर नपाउँदा पनि आफैं काम गरिखाने विद्यार्थी कसरी उत्पादन गर्ने ? हरेक मान्छेमा केही न केही क्षमता हुन्छ । त्यसको पहिचान गरी त्यही अनुसारको सिप दिन हामीले सक्नुपर्छ । हाम्रै कुरा गर्ने हो भने हामीले सिलाइकटाई, शैलुन लगायतको सिप पनि सिकाउँदै लगेका छौँ । यस्तो सिप हरेक विद्यालयमा सिकाउने हो भने विद्यार्थीले आफ्नो जीवनमा अप्ठ्याराे पर्दा आफूले सिकेको सिप काम लाग्न सक्छ । तर, नेपालमा यस्तो छैन । हाम्रो सामाजिक मानसिकता पनि कपाल काटेर, जुत्ता सिलाएर व्यवसाय गर्ने हो भने उसको परिवारलाई पनि मन पर्दैन । एउटा व्यक्तिले पढेर पनि जागिर खान नसकेको बेला उसलाई गरी खान सक्ने बनाउने भनेको सिप हो । यसका लागि सरकारले विद्यालयमा यस्ता कार्यक्रम सुरु गर्न र मान्छेले सोच बदल्न आवश्यक छ ।
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राजदूतको जिम्मेवारीमा रहेर सम्झन लायक केही गर्ने लक्ष्य लिएको थिएँ । म हरेक दिन दैनिक प्रक्रियाको सुरुआतमा स्थानीय पत्रिका पढ्ने गरेको छु । एक दिन पत्रिका पढ्ने सिलसिलामा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियामा पाँच वर्ष रोजगारी गरेर नेपालमा आफ्नो गृहनगर गुल्मी फर्किएका पाल्पा र गुल्मीको सीमा नजिकै गौरव डेरी तथा प्रशोधन कम्पनी स्थापना गरेका रविलाल पन्थका बारेमा प्रकाशित लेख पढेर धेरै खुसी मिल्यो । त्यतिबेला म नेपाल आएको दुई हप्ता मात्र भएको थियो । नेपालका लागि कोरियाली राजदूतको भूमिकामा रहेर दुई देशबीचको सहकार्य विस्तार क्षेत्रका बारेमा सोच्दै थिएँ । त्यो लेख पढेपछि विदेशमा काम गरेको अनुभव भएका व्यक्तिले आफूले सिकेको सीप तथा पुँजी सदुपयोग गरेर स्वदेशमा नै व्यवसाय सुरु गरेका व्यवसायीहरुको सफलताका कथाहरू खोज्ने तथा उक्त माध्यमबाट नेपालमा रोजगारी सिर्जनाका लागि प्रेरणादायी भूमिका खेल्ने राजदूतका रुपमा आफ्नो परिचय दिने योजना बनाए । नेपालमा उद्यमशीलताका जटिलता व्यवसाय सुरु गर्नु भनेको एक कठिन निर्णय हो भन्ने लाग्छ । यद्यपि, एउटा भनाइ छ : जीवनमा ‘नो–रिस्क नो–रिवार्ड’ व्यवसाय सुरु गर्नु एक कला हो जसमा विभिन्न स्रोतः पुँजी, अनुभव, जनशक्ति, सुविचार र मार्केटिङ क्षमता पनि चाहिन्छ । जुनसुकै क्षेत्रमा व्यवसाय थालनी गरेका व्यवसायीले तीन वर्षभित्र धेरै व्यक्तिहरुले निराशाको अनुभव गरेका उदाहरणहरु रहने गरेका छन् । त्यसैगरी, सफल व्यवसाय पनि तीन वर्षको अवधि पार गरेपश्चात् गन्तव्य निर्धारण हुने तथा समाजमा आफ्नो प्रस्तुति दिएका हुन्छन् । उद्यमी विकासका लागि समूहमा काम गर्ने क्षमता (टिम वर्क) समन्वय गर्ने भाषाको कला, समस्या समाधान गर्ने क्षमता, नेतृत्वदायी क्षमता, रचनात्मक चिन्तन, उद्देश्य केन्द्रित झुकाव, व्यावसायिक योजना बनाउने सीप, लगनशीलता तथा धैर्यता, व्यवस्थापन क्षमता, आर्थिक व्यवस्थापन, व्यापारिक सीप, जोखिम उठाउने क्षमता आदिले व्यवसायमा सफलता हासिल गर्न भूमिका खेल्दछ भन्ने गरिएको छ । सरकारी नीति निर्माता तहबाट आफ्नो भिजनमा स्टार्टअपलाई कसरी लिएर जाने र दूरदर्शिता कस्तो राख्ने भन्ने दृष्टिकोण निर्माण नगर्दा नेपालको स्टार्टअपको परिदृश्य प्रस्ट हुँदैन भन्ने लाग्छ । नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्ष पार गरेको छ । यसबीचमा नवउद्यमी तथा युवा उद्यमीले नवप्रवर्तनलाई व्यवसायका रूपमा जोगाउँदै सफल उद्यमका रूपमा स्थापित गरेका केही उदाहरण छन् । नेपाल सरकारले सन् २०३० सम्म स्टार्टअपका माध्यमबाट एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानअनुसार सन् २०२७ सम्ममा नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग मन्त्रालय तथा विभिन्न सरोकारवालालाई समावेश गरेर ‘स्टार्टअप २०–३०’ को भिजन बनाएका बारेमा मलाई जानकारी रहेको छ । सो भिजनमा कर छुट, स्टार्टअपलाई सहुलियपूर्ण कर्जा वितरण, स्टार्टअप कोष तथा बोर्ड गठनलगायत विषय समावेश छन् । त्यो नीति कार्यान्वयन भएको खण्डमा स्टार्टअपलाई विकसित रुप दिन सकिन्छ भन्ने लाग्छ । अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ, त्यसको अध्ययन गरेर लागू गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा साबित हुनेछ । अबको समय भनेको स्टार्टअपकै हो । नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई ‘स्टार्टअप नेसन’ बनाउने र अन्तर्राष्ट्रियजगत्मा नेपालको परिचय दिने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय नीतिअन्तर्गत कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने लाग्छ । प्रविधिको युगमा आवश्यक जनशक्ति जुनसुकै देशबाट पनि हायर गर्न सकिन्छ । अतः प्रविधिको दायरा फराकिलो भएको छ । नेपालभित्रै गुणस्तरीय उत्पादन आउन थाले भने अहिले आयात भइरहेको वस्तु विस्थापित हुनेछन् । नवप्रवर्तनले उत्पादकत्व बढाउनाका साथै आयातलाई प्रतिस्थापन गरी निर्यातसमेत बढाउनेछ । नेपालमा व्यवसाय सुरुआती चरणमा पुँजी व्यवस्थापन, सीमित अवधिका लागि कर छुट, बैङ्कको सहुलियत ब्याज दरमा कर्जा व्यवस्थापनलगायत पक्ष सरकारी नीतिमा स्पष्ट हुनुपर्ने देखिन्छ । त्यसैगरी, सम्भावना भएका व्यवसायको पहिचान गरी प्रोत्साहन गर्ने निति अवलम्बन हुनुपर्ने देखिन्छ । उद्यमशीलतालाई प्रोत्साहन उद्योग स्थापना गर्न सजिलो छैन तर उद्योगबिना राष्ट्रको अर्थतन्त्र उकास्न सहज हुँदैन । त्यसैले सरकारले स्वदेशी कम्पनी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ । नेपाल सरकारले हाल ठूलो मात्रामा आयात भइरहेको कृषि जन्य व्यवसाय, सञ्चार प्रविधि व्यवसाय प्रवद्र्धन गर्नेतर्फ केन्द्रित गरेमा अर्वौं रुपैयाँको आयातलाई विस्थापन गर्न सक्नेछ । सूचना प्रविधिको क्षेत्रमा नेपाल सरकारले वार्षिक रु २० अर्बभन्दा बढीको सेवा खरिद गर्ने गरेको देखिन्छ । नेपाली उद्यमीले सफ्टवेयरमा सेवा दिन सक्छन् भन्ने मेरो बुझाइ छ । नेपाली कम्पनीलाई विश्व बजारसम्म पुग्ने आधार तय गर्नका लागि सुरुमा देशभित्रै सेवा गर्ने अवसर दिनुपर्दछ । बहुसङ्ख्यक देशहरुले विभिन्न सहज नीतिमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेका छन् । दक्षिण कोरियाले पनि विभिन्न उद्यमशीलता नीतिहरू अवलम्बन गर्दै आएको छ । स्टार्टअप नीतिका दुई मुख्य पक्षमध्ये उद्यमशीलताको भावना विकास गर्ने र स्टार्टअप पूर्वाधार विस्तार गर्ने रहेको छ । उद्यमशीलतालाई बढावा दिनका लागि शैक्षिक संस्था वा निजी संस्थाले प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कलेजका विद्यार्थी, सामान्य वयस्क र इन्जिनियरहरूलाई उद्यमशीलतासँग सम्बन्धित शैक्षिक अवसरहरू उपलब्ध गराउँदै आएको छ । स्टार्टअप प्रतियोगिता आयोजनामार्फत विजेतालाई आफ्नै व्यवसाय सुरु गर्न आवश्यक सहयोग गर्ने गरेका छन् । स्टार्टअप पूर्वाधार विस्तार गर्नका लागि लगभग दुई सय ५० स्टार्टअप इन्क्युबेसन सेन्टरहरू निर्धारण गरिएको छ । विश्वविद्यालय वा अन्य अनुसन्धान संस्थालाई नवीनतम् व्यवसाय प्रवद्र्धन गर्ने संस्थाका रुपमा सञ्चालनमा मा ल्याइएको छ । कोरिया सरकारले व्यापार वा व्यवसाय सुरु गर्ने प्रारम्भिक चरणहरूमा सम्भावना देखिएका व्यवसाय छनौट गरेर सुरुआती चरण तीन वर्ष स्टार्टअप पुँजीका रुपमा न्यूनतम् ब्याजदरमा आवश्यक पुँजी उपलब्ध गराउँदै आएको छ । व्यवसाय सुरु गर्नु भनेको एक प्रक्रिया हो, जसमा उद्यमशीलताको भावना भएको व्यक्तिले निर्णय लिन्छ र जोखिम लिन्छ । यद्यपि विभिन्न स्टार्टअपका लागि सरकारी स्तरको सहयोग पर्याप्त नहुन सक्छ । तर सरकारी सहयोगले स्टार्टअप प्रक्रियाका लागि तयारी गर्न र सफलताको सम्भावना बढाउन तथा जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख गरेअनुसार आर्थिक वर्षमा सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनाका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अवस्था छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनाका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्ने कार्यक्रम आउनु सुखद पक्ष हो भन्ने लाग्छ । प्रदेश र स्थानीय तहलाई पनि उक्त कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीतिले नयाँ स्टार्टअपका लागि सकारात्मक भूमिका खेल्ने देखिन्छ । उद्यमशीलता प्रवद्र्धनका लागि कोरियाको सहकार्य मैले ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपतिलाई नेपालमा उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिबद्धतासहितको परिचय दिएको थिएँ । नेपाललगायत विकासोन्मुख देशहरूले ओडिएमा केन्द्रित विकास साझेदारी परियोजनाहरूका लागि बाह्य सहयोग प्राप्त गर्न आवश्यक भए तापनि आफैँले आफ्नो विकास र उत्पादन वृद्धि क्षमता विस्तार गर्न प्रयत्न गर्नु सकारात्मक पक्ष हो भन्ने लाग्छ । कोरिया र नेपालबीच विकास साझेदारी परियोजना सन्दर्भमा नेपाललाई विगत १५ वर्षदेखि निरन्तर प्रमुख विकास साझेदार राष्ट्रको सूचीमा समावेश गरेर परियोजना सञ्चालन हुँदै आएको छ । यहाँ केही स्टार्टअप सम्बन्धित परियोजनाहरुका बारेमा सामान्य जानकारी दिन चाहन्छु । कोइकाले नेपाली श्रम मन्त्रालय, उद्योग मन्त्रालय तथा स्विस सरकारसँगको सहकार्यमा सन् २०२३ बाट कोरियामा रोजगारको अनुभव लिएर स्वदेश फर्किएका आप्रवासी कामदारको स्थिर बसोबास, उद्यमशीलता विकास परियोजनालाई प्रवद्र्धन गर्दै आएको छ । हाम्रो लक्ष प्रवासी श्रमिकहरूले विदेशमा श्रम गर्ने अवधिमा तयारी, वित्तीय शिक्षा, र उद्यमशीलता विकास प्रशिक्षण गर्दै आएका छौँ । विदेश जानुपूर्व, विदेशमा श्रम गर्ने चरण, स्वदेश फिर्ताको चरणसहित प्रत्येक चरणका लागि उद्यमशीलता विकास प्रदान गरी स्टार्टअप नवीनतम् व्यवसाय सञ्चालनका बारेमा प्रोत्साहन गरिरहेका छौँ । त्यसैगरी, नेपाली वित्तीय संस्थासँगको संयुक्त लगानीबाट स्वदेश फर्केका कामदारलाई कम ब्याजदरमा स्टार्टअप पुँजी उपलब्ध गराउने योजना पनि कार्यान्वयन चरणमा छौँ । कोइकाको सहयोगमा एक प्रसिद्ध कोरियाली पशुपालन कम्पनीले गोर्खाको पालुङटार क्षेत्रमा बङ्गुर तथा कुखुरापालनका लागि व्यावसायिक इन्क्युबेसन सेन्टर निर्माण गरेर पशुपालन क्षेत्रमा सीप हस्तान्तरण गरिरहेको छ । उक्त बङ्गुर तथा कुखुरापालनको लागि स्टार्टअपका रुपमा प्राविधिक ज्ञान हस्तान्तरण र नेपालमा आधुनिक पशुपालन व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ । त्यसैगरी, कोरियाको हान्दोङ युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालय ग्रेजुएट स्कूल अफ बिजनेससँग सहकार्य गर्दै १० वर्षदेखि सामाजिक उद्यमशीलता प्रर्वद्धनका साथै स्टार्टअपका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्ष दूतावासले कोरियामा रोजगारीको अनुभव भएका र नेपालमा फर्किएर सफलतापूर्वक व्यवसाय गरिरहेका २६ जना व्यवसायीको वास्तविकतामा आधारित सफल व्यावसायिक कथाहरू समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशित गरेको छ । हामीले ती स्टार्टअप सफलताका कथाहरूले प्रवासी श्रमिकका लागि विदेश जानुपूर्व तथा स्वदेश फर्केका विदेशमा रोजगारीको अनुभव भएका कामदारहरुका लागि उद्यमशीलता प्रोत्साहनको अपेक्षा लिएर दूतावासबाट प्रकाशित पुस्तक निःशुल्क रुपमा वितरण गरेका छौँ । वैदेशिक रोजगारीको अनुभव लिएका र नेपाल फर्किएका धेरै व्यक्तिले नेपालमा नै व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना होस् भन्ने लक्ष्य लिएर सहकार्य गर्दै आएका छौँ र भविष्यमा पनि निरन्तरता दिनेछाैँ । हामी निकट भविष्यमा नै नेपाल समृद्ध राष्ट्र भएको हेर्न चाहना लिएर विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रममा हातेमालो गर्दै आएका छौँ । अन्त्यमा अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्ष उमेर समूहका मानिसको समूहलाई भनिन्छ । नेपालको परिवेशमा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार कूल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । त्यसैगरी, करिब ५६ लाख युवा वैदेशिक श्रम बजारमा रहेको देखिन्छ । नेपाल युवा राष्ट्र हो । सम्पूर्ण जनसङ्ख्याको औसत उमेर २० को हाराहारी रहेको छ । नेपालमा स्टार्टअप इकोसिस्टमलाई विस्तार गर्न उत्प्रेरणा गर्ने लक्ष्यका साथ नेपालका युवालाई उद्यमशीलताका लागि आवश्यक समन्वय गर्न प्रयत्नरत छौँ । नेपालमा स–साना स्टार्टअपको माध्यमबाट रोजगारी सिर्जना होस् भन्ने हाम्रो चाहना छ । सुरुआत सानो भए पनि हरेक व्यवसायको वृद्धि क्षमता असीमित हुन्छ । कोरियाको बहुराष्ट्रिय कम्पनी साम्सङ एउटा सानो चामल पसलका रूपमा भएको थियो । त्यसैगरी, हुन्डाई मोटर्सले अटोमोबाइल मर्मत गर्ने सानो व्यवसाय सुरु गरेर आज विश्वव्यापी कम्पनीका रूपमा स्थान लिन सफल भएको छ । यी र यस्तै ठूला कम्पनीहरु कोरियाको उद्यमशीलता आर्थिक गतिशीलताको महत्वपूर्ण स्रोत बनेका छन् । नेपालमा पनि सुरुआती चरणमा स–साना व्यवसायबाट सुरुआत भएका धेरै स्टार्टअपले भविष्यमा नेपालको प्रतिनिधित्व गर्दै विश्वमा परिचय दिन सक्नेछन् । मेरो एक वर्षको अनुभवले वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिहरुले नेपालमा कृषि, उत्पादनमूलक क्षेत्र, सेवा क्षेत्र आदिमा व्यवसाय सञ्चालन गरेर धेरै व्यक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेको र भविष्यमा पनि यो सङ्ख्या बढ्ने अपेक्षा लिएको छु । रासस (नेपालका लागि गणतन्त्र कोरिकाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)
हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन् । उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताए । षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए । पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि जानकारी दिए । ‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण शतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ’, उनले भने । अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।
काभ्रेमा नक्कली नागरिकता लिएका २६ जनाविरुद्ध मुद्दा, ९ वटा रद्द
काभ्रेपलाञ्चोक । काभ्रेमा एक वर्षमा झुटो विवरण पेस गरी नागरिकता लिएका २६ नागरिकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षभन्दा दोब्बरबढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो । कार्यालयका अनुसार आव २०७९/८० मा नागरिकताका १० मुद्दा दर्ता भएको थियोभने आव २०७८/७९ मा ६ मुद्दा दर्ता थिए । जिल्लामा झुटो विवरण पेस गरी नागरिकता लिने बर्सेनि बढ्दै गएको घटनाक्रमले देखाएको हो । हाल नागरिकताको विषयमा पेस हुन आएका कागजातलाई गम्भीरतापूर्वक हेरेर र कतिपयको हकमा प्रहरी प्रतिवेदनसमेत मगाएर मात्रै प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार गत वर्षमा भएका घटनाले प्रशासकलाई थप गम्भीर बनाएको छ । नयाँ नागरिकतामा पनि प्रशासनले प्रहरी प्रतिवेदन खोज्ने गरेको पाइएको छ । कार्यालयले १ वर्षको अवधिमा जिल्लाबाट १० हजार ४ सय २९ नयाँ नागरिकता जारी गरेको जनाएको छ । नयाँ नागरिकताका लागि १ हजार २ सय ७३ सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै, नागरिकको गोप्य चालचलनका लागि १ हजार १० सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भने एक वर्षमा ९ हजार २ सय २४ पुराना नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै आमाको नामबाट १२ र ७ अङ्गीकृत नागरिकता वितरण गरिएको छ । यस अवधिमा ५५ ले नागरिकता त्यागेका छन्भने ५३ गैरआवासीय नागरिकता जारी भएको छ । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिएका १९ हजार ७ सय ७५ मध्ये १ हजार ९ सय ३४ वितरण भएका छन् । १७ हजार ९ सय ३ ले राहदानीका लागि कार्यालयमा आवेदन दिएका थिए । ५ सय तीन दलित–जनजाति तथा ७ सय २४ ले नाबालक परिचयपत्र लिएका छन् । यसैबीच, एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी नौवटा नक्कली नागरिकता रद्द गरिएको हो । तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भुपेन्द्र पाण्डेय तथा नायब सुब्बा अधिकृत रामचन्द्र अर्याल भएका बेला जारी गरेका ११ थान नागरिकता रद्द गरिएको हो । उनका अनुसार रद्द गरिएका सबै नागरिकता २०७३/७४ मा जारी भएको पाइएको हो । खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामा नै रहेको बुझिएका छ । यस्तै नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भुपेन्द्र पाण्डेय भने गत चैतमा धरौटीमा छुटेका थिए ।
धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द
काठमाडौं । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।’
चीनबाट आएका १५० कन्टेनर नाकामै राेकिए, सामान बिग्रिने चिन्तामा व्यापारी
रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ । गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ । सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौंका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् । अन्तर्राष्ट्रिय व्यापार व्यवसाय गराउने प्रमुख मार्गलाई तत्काल मर्मत गरि सञ्चालन गरिदिन व्यवसायीले अनुरोध गरेका छन् । ठूलो पानी परे पूरै क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै वैकल्पिक मार्गका लागि बोगटीटार–बनुवा र आम भञ्ज्याङ सिम्ले, तारूके हुँदै धारापानीको ग्रामीण सडक मर्मत गरी यातायात सञ्चालनमा सहज पारिदिन स्थानीयले सुझाव दिएका छन् । रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इञ्जिनियर सुवोध देवकोटाले पहिरो स्थलमा प्राविधिक अध्ययन सुरु भइसकेको, एक/दुई दिनमै सबै खाले सवारी साधन सञ्चालन गराउने जनाउँदै वैकल्पिक मार्गका रूपमा पहिलो चरणमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक सञ्चालन गराउन आजैदेखि मर्मत सुरू गरिएको बताए ।