विकासन्युज

मौद्रिक नीति पास गर्न राष्ट्र बैंकले दिवाभोजसहित डाक्यो बोर्ड बैठक, यी हुन् प्राथमिकतामा राखेका विषय

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक डाकेको छ । राष्ट्र बैंक गभर्नर कार्यालयले शुक्रबार बिहान ८ बजेका लागि सञ्चालक समितिको बैठक डाकेको बुझिएको हो । सञ्चालक समितिले मौद्रिक नीतिको मस्यौदालाई पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि सञ्चालकहरुबीच राष्ट्र बैंकमै दिवाभोजको कार्यक्रम आयोजना गरिएको बुझिएको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेपनि अन्तिम आवरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट रोक्ने निर्देशन आएपछि एक साता पछि धकेलिएको हो । राष्ट्र बैंक स्रोतका अनुसार यस पटक राष्ट्र बैंकले गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि कम्पनी स्थापना गर्ने विषय मौद्रिक नीतिमार्फत् घोषणा गर्नेछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दै गएकोले त्यो सम्पत्ति व्यवस्थापनका लागि राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) स्थापना गर्नका लागि नीतिगत बाटो खुला गर्ने बुझिएको हो । मौद्रिक नीतिको मस्यौदामा सो विषय उल्लेख भएको पनि बुझिएको छ । सञ्चालक समितिले सो विषयलाई नचलाएमा भोलि सार्वजनिक हुने मौद्रिक नीतिमा एएमसीको व्यवस्था आउनेछ । ‘अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहेको छ, खराब कर्जाबापतको ठूलो रकम प्रोभिजनिङ गर्न पनि बैंकहरुलाई समस्या भइरहेको छ, त्यसले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता ह्रास हुनुका साथै व्यवसाय विस्तारमै असर गरिरहेको छ, बैंकहरुमा गैर–बैंकिङ सम्पत्ति बढेको बढ्यै छ, त्यसैले पनि यस पटक सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषयलाई मौद्रिक नीतिमा प्राथमिकताका साथ राखिएको छ,’ स्रोतले भन्यो । उसो त विगतका वर्षहरुमा पनि एएमसीको विषयमा मौद्रिक नीतिमा केही उल्लेख हुँदै आएको थियो । तर, उक्त व्यवस्था कार्यान्वयन हुन सकेको थिएन । अब कार्यान्वयन नै गर्ने किसिमले काम भइरहेको स्रोतको दाबी छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता भएपनि कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकले मौदिक नीति मार्फत् कर्जा प्रवाह हुन सक्ने केही नीतिगत व्यवस्था गर्न लागेको पनि स्रोतको भनाइ छ । राष्ट्र बैंकले नीतिगत दरहरु केही चलाउन सक्ने सम्भावना छ । यस्तै, अहिले निर्माण क्षेत्र सुस्त गतिमा छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा व्यवसायीहरु समस्यामा छन् । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्न लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले निर्माण क्षेत्रमा जाने ऋणलाई केही सहज र लचिलो बनाउन लागेको स्रोतको दाबी छ । उसो त राष्ट्र बैंकले निर्माण व्यवसायीको समस्या समाधानका लागि अर्थमन्त्रालय समक्ष पनि केही सुझावहरु पेस गरिसकेको छ । राष्ट्र बैंकबाट हुन सक्ने केही नीतिगत व्यवस्था गरेर निर्माण क्षेत्रलाई चलायमान बनाउने प्रयत्न भइरहेको स्रोतको भनाइ छ । पछिल्लो समय ठूला सहकारीको नियमनको विषयलाई पनि राष्ट्र बैंकले चासोका साथ हेरेको छ । ठूला वित्तीय सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने नीतिगत व्यवस्था नै भइसकेको छ । त्यस कारण यस पटक राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नै ठूला वित्तीय सहकारीको नियमनको विषयमा मौद्रिक नीतिमार्फत् कुनै व्यवस्था गर्न सक्नेछ । सरकारले सहकारी क्षेत्रको नियमनका लागि प्राधिकरण निर्माण गर्ने तयारी गरिरहेको भएपनि राष्ट्र बैंकले पनि केही निश्चित सहकारीको नियमन गर्ने विषय मौद्रिक नीतिमार्फत् घोषणा गर्नेछ भने दोस्रो तहको नियामकको विषयमा मौद्रिक नीतिमै उल्लेख गर्ने तयारी पनि छ । यस्तै, लघुवित्त क्षेत्रलाई बलियो बनाउन थप नीगित व्यवस्था गर्ने तयारी राष्ट्र बैंकको छ । स्रोतका अनुसार लघुवित्तमा तोकिएको १५ प्रतिशतको ब्यादरको सीमामा पुनरावलोकन गर्न सक्ने किसिमले राष्ट्र बैंकले तयारी थालेको छ । मौद्रिक नीति लेखन समितिले यो विषयमा पनि गम्भीर छलफल गरेको स्रोतको दाबी छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् युवाका लागि विशेष कार्यक्रम ल्याउने तयारी पनि थालेको बुझिएको छ । युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै उद्यम गर्न सक्ने वातावरण सिर्जना गर्नको लागि राष्ट्र बैंकले विशेष व्यवस्था गर्न लागेको बुझिएको हो । राष्ट्र बैंकले युवाहरूका लागि बैंकमार्फत् सहुलियत ब्याजदरमा कर्जा दिन सक्ने किसिमको कार्यक्रम ल्याउन लागेको हो । त्यसका लागि बैंकहरूसँग पनि छलफल भइसकेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले यसअघि पनि युवालाई कृषिमा प्रोत्साहन गर्नका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन । राष्ट्र बैंकले युवालाई व्यावसायिक कृषिमा जोड्नका लागि सहुलियत ब्याजमा ऋण प्रदान गर्ने बताउँदै आएको थियो । तर, बैंकले सो कार्यक्रमा लगानी गर्न इच्छा नदेखाएपछि त्यसको प्रभावकारिता देखिएको छैन । अब राष्ट्र बैंकले युवालाई निश्चित रकम ऋण प्रवाह गर्नैपर्ने व्यवस्था गर्न लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ । घरेलु तथा साना उद्योग, लघु उद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइने राष्ट्र बैंक स्रोतको दाबी छ ।

संसदीय समितिद्वारा नागढुंगा-सिस्नेखोला सुरुङमार्गको स्थलगत अनुमगन

काठमाडौं । मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा–सिस्नेखोलाको भौतिक निर्माणबारेमा संघीय संसद्को भौतिक पूर्वाधार विकास समितिले बिहीबार स्थलगत अनुमगन गरेको छ । सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुंगा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ । मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समिति समक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर ९आरएसएस० निर्माणलगायत केही चुनौती बाँकी छन् । हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए । सुरुङ सञ्चालनका लागि झण्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ । गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ब्रेक थ्रू गरेक थिए। सुरुङमार्गको दुरी दुई हजार ६ सय ८८ मिटर रहेको छ । संसदीय समितिले नागढुंगादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिए ।

कीर्तिपुरका नगर प्रमुख नकर्मीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ । नगर उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा नगर प्रमुख नकर्मीको उपचार भइरहेको छ । शाक्यले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिइन्। मिर्गौलामा समस्या देखिएपछि नकर्मीले नियमित डायलायसिस गराउँदै आउका छन् ।

अस्पतालले भन्याे- पाइलट शाक्यको ३ वटा करङ भाँच्चिएकाे छ

काठमाडौं । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा। मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएकी छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो । ‘क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ, उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ भाच्चिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ । अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हर्दिक समवेदना व्यक्त गरेको छ ।

ज्योति विकास बैंकले बालबालिकालाई कृत्रिम हात प्रदान गर्ने

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूका लागि सम्झौता गरेको छ । बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो । ज्योति विकास बैंकले शारीरिक तवरले फरक बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरूलाई थ्रीडी प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ । प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ । बैंकले यसअघि पनि ई-नेबल नेपालसँगको सहकार्यमा १५ जना बालबालिकालाई उक्त हात प्रदान गरेको थियो ।

राजस्व अनुसन्धान विभागद्वारा ७ जनाविरुद्ध मुद्दा दायर, साढे ३ करोड बिगो दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा साढे ३ करोड रुपैयाँ बढी बिगो दाबी गर्दै ७ जनाविरुद्ध उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले ३ करोड ५० लाख १५ हजार ५ सय ४१ रुपैयाँ बिगो कायम गरी दिनेश खरेल, अमोल विठ्ठल विभूते, गणेशदत्त बडू, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ (छ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो। उनीहरूलाई ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदाबी गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको डीईओ बने रामकुमार थापा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृत (डीईओ) मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णयअनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप-कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हाे । विसं. २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

त्रिविको अर्थशास्त्र विभाग हाँकेका अधिकारी बने योजना आयोगको उपाध्यक्ष

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई नियुक्त गरेकाे हो । उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए । उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका छन् ।