काभ्रेपलाञ्चोक । काभ्रेमा एक वर्षमा झुटो विवरण पेस गरी नागरिकता लिएका २६ नागरिकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षभन्दा दोब्बरबढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो ।
कार्यालयका अनुसार आव २०७९/८० मा नागरिकताका १० मुद्दा दर्ता भएको थियोभने आव २०७८/७९ मा ६ मुद्दा दर्ता थिए ।
जिल्लामा झुटो विवरण पेस गरी नागरिकता लिने बर्सेनि बढ्दै गएको घटनाक्रमले देखाएको हो ।
हाल नागरिकताको विषयमा पेस हुन आएका कागजातलाई गम्भीरतापूर्वक हेरेर र कतिपयको हकमा प्रहरी प्रतिवेदनसमेत मगाएर मात्रै प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार गत वर्षमा भएका घटनाले प्रशासकलाई थप गम्भीर बनाएको छ ।
नयाँ नागरिकतामा पनि प्रशासनले प्रहरी प्रतिवेदन खोज्ने गरेको पाइएको छ । कार्यालयले १ वर्षको अवधिमा जिल्लाबाट १० हजार ४ सय २९ नयाँ नागरिकता जारी गरेको जनाएको छ ।
नयाँ नागरिकताका लागि १ हजार २ सय ७३ सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै, नागरिकको गोप्य चालचलनका लागि १ हजार १० सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भने एक वर्षमा ९ हजार २ सय २४ पुराना नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै आमाको नामबाट १२ र ७ अङ्गीकृत नागरिकता वितरण गरिएको छ । यस अवधिमा ५५ ले नागरिकता त्यागेका छन्भने ५३ गैरआवासीय नागरिकता जारी भएको छ ।
यसैगरी राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिएका १९ हजार ७ सय ७५ मध्ये १ हजार ९ सय ३४ वितरण भएका छन् । १७ हजार ९ सय ३ ले राहदानीका लागि कार्यालयमा आवेदन दिएका थिए । ५ सय तीन दलित–जनजाति तथा ७ सय २४ ले नाबालक परिचयपत्र लिएका छन् ।
यसैबीच, एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी नौवटा नक्कली नागरिकता रद्द गरिएको हो ।
तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भुपेन्द्र पाण्डेय तथा नायब सुब्बा अधिकृत रामचन्द्र अर्याल भएका बेला जारी गरेका ११ थान नागरिकता रद्द गरिएको हो । उनका अनुसार रद्द गरिएका सबै नागरिकता २०७३/७४ मा जारी भएको पाइएको हो ।
खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामा नै रहेको बुझिएका छ ।
यस्तै नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भुपेन्द्र पाण्डेय भने गत चैतमा धरौटीमा छुटेका थिए ।