विकासन्युज

भ्रष्टाचारका फाइल खोलेको जस हामीलाई चाहिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे । ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए । ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए । उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए । ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन ।’ सभापति लामिछानेले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे ।

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् । जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन् । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेकी थिइन् । उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको  आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन् । मन्त्री डा राणाले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।’ आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन् । यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला उनीसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन् । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहेका बिपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको जानकारी दिए । नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार बिहान साढे ११ बजेबाट अपरान्ह ५ बजेका लागि सारिएको थियो । प्रधानको पत्र साँझ ५ बजे बस्ने समितिको बैठकमा पेस हुने र त्यसपछि समितिले आवश्यक निर्णय गर्ने बताइएको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक यौन शोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो । ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि १ करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।

राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिएका हुन् । ‘राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा छौं । चलन चल्तीका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैनु’ अर्थमन्त्री पौडेलले भने ‘चलन चल्तीको अभ्यासबाट माथि उठौं, कमीकमजोरीको स्वमूल्यांकन गरौं, चुहावटलाई नियन्त्रण गरौं, राजस्व परिचालनमा कमजोरी हुन नदिऔं ।’ आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । उद्योगी व्यवसायी र करदातालाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आफ्नो कमजोरीसँग डराउने तर करप्रशासनसँग नडराउने गरी सबै करदातालाई बुझाउन जरुरी रहेको धारणा व्यक्त गरे । उनले कर तिर्न उत्प्रेरित हुने वातावरण तयार पारेर अघि बढ्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले राजस्व संकलन कसरी गर्ने भनेर स्पष्ट योजना बनाएर अघि बढ्न सुझाव दिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संरचना र स्रोतहरू बदलिएको राजस्व परिचालनलाई प्रभावकारी बनाउन नीतिगत परिवर्तनको आवश्यकता औंल्याए । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका गतिविधि सेवातिर अघि बढेकाले राजस्व संकलनमा त्यसक्षेत्रमा पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । राजस्व सचिव डा. रामप्रसाद घिमिरेले करदातालाई मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गरेर अघि बढ्नुपर्ने बताए । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १० खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको थियो । समीक्षामा राजस्व संकलनमा कमी हुनुमा आयातमा राजस्वको बढी निर्भरता भएकोले आयात घट्दा सोझो असर राजस्व परिचालनमा परेको, औद्योगिक, निर्माण र व्यापारमा देखिएको संकुचन राजस्वमा परेको, समग्र मागमा कमी आएको, केही नीतिगत परिवर्तनको प्रभाव परेको सरकारले उच्च लगानी गरेका क्षेत्रबाट राजस्व परिचालन हुन नसकेको लगायतका कारण प्रस्तुत गरिएको थियो ।

विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र 

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवा सुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् । निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उनको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उनीहरुले माग गरेका छन् । एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) का अध्यक्ष प्रभा कार्कीले जानकारी दिइन्। आफूहरु कर्मचारी सञ्चयकोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उनले बताइन् । नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिइन् । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रुपमा भेट गरेको हो । नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ (संशोधन सहित) अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीहरुभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीले बताइन् । एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रुपमा परिभाषित छन्भने विमान चालक (पाइलट) हरु ‘ककपिट क्रू’ का रुपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै मुलुकहरुमा पाइलट र एयरहोस्टेसलाई  ‘फ्लाइड क्रू’ का रुपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ । ‘निगमका पदाधिकारी, कर्मचारी, इन्जिनियर, पाइलट तथा अन्य विभागमा कार्यरत कर्मचारीको सेवा आकर्षक छ, बढुवाको र निवृत्तिभरणको व्यवस्था छभने दुर्घटनामा अशक्त वृत्तिको राम्रो प्रबन्ध छ । सेवाको प्रकृति अनुकूल हामीले विमानको व्यवस्थापनको महत्वपूर्ण सेवा गरेकाले हामीहरुलाई फरक व्यवहार गरिनु र सेवा सर्तका रुपमा ठूलो विभेदको सिकार हुनुले हामीलाई गम्भीर पीडा दिँदै आएको छ’, सुझावपत्रमा उल्लेख छ । ‘एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नुहनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रुपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने’ विनियमावलीको व्यवस्थाले पीडा दिएको उहाँहरुको गुनासो छ । एयरहोस्टेस विगत १७ वर्षदेखि एउटै पदमा  कार्यरत रहेका छन् ।

नेप्सेमा २० अंककाे गिरावट, फाइनान्समा झुमिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ । सोमबार ७० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२५ कम्पनीको १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ । लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सोमबार यस समूह १.८८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै ट्रेडिङ समूह ४.५४ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड १२७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सका लागनीकर्ताले ९.७७ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

अष्ट्रेलियामा कोभिड-१९ का कारण मृत्युदर अझै पनि उच्च

अष्ट्रेलिया । अष्ट्रेलियामा कोभिड-१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडले अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसहरूको मृत्यु भएको पत्ता लगाएको छ । अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् । अनुसन्धानअनुसार मृत्युको नवौं प्रमुख कारण रहेको कोभिडजन्य कारणबाट गत बर्ष करिब चार हजार ६०० जनाको मृत्यु भएको थियो । अनुसन्धान प्रतिवेदनमा कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएको उल्लेख गर्दै कोभिडलाई उच्च मृत्यु दरको सम्भावित कारकका रूपमा उद्धृत गरिएको छ । विज्ञहरूका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अतिरिक्त मृत्युदर भने कम थियो । विस्तारै कोभिड–१९ लहरले हाल अघिल्लो लहरको तुलनामा कम मृत्यु भएको बताउँदै एक्च्युरी इन्स्टिच्युटकी प्रवक्ता करेन कटरले आगामी वर्षसम्म पनि कोभिड मृत्युको कारण बन्ने बताए ।

सरकारले नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्बन गर्नुपर्छ : सांसद जबरा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे । विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाई थियो । उनले भने, ‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन रु अथवा डिजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन रु हामीले यो विभिन्न घटनाहरु हुन्छ । हामी सबैले संसदमा बोल्छौं । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् ’ सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको सो प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सक्ने पनि बताए ।