साउनभित्र पाकेको ब्याज आम्दानीलाई गत वर्षकै ब्यालेन्ससिटमा देखाउन पाउने, यस्तो छ नयाँ व्यवस्था
काठमाडाैं । बैंकहरुले साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित नाफामा खर्च गरी नियमन कारी निकायमा जम्मा गनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका लागि मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८०/८१ मा प्रोदभावी आधारमा लेखांकन गरिएको व्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको व्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ,’ परिपत्रमा उल्लेख छ । यस्तै, हालसम्म एनएफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको व्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसावमा आम्दानी जनाउन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
कर्णालीबाट सवा ४ अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात
कर्णाली । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट ४ अर्ब ११ करोड रुपैयाँको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्यांक सार्वजनिक गरिएको हो । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) २ अर्ब २६ करोड ६७ लाख ११ हजार रुपैयाँको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए । त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) १ अर्ब ८४ करोड ९० लाख ७० हजार रुपैयाँको निर्यात गरिएको उनले बताए । कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्यांकअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ संकलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए । यसैगरी गत आवमा ६ बैंक तथा ८ सहकारीबाट ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले ३ करोड ४० लाख २३ हजार रुपयाँ ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका ९ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए । कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए । कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधार, शीतभण्डार, संकलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उनले बताए ।
पर्सा ट्राफिक प्रहरीद्वारा २ करोड ७६ लाख राजस्व संकलन
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट एक वर्षमा २ करोड ७६ लाख ६१ हजार ९ सय ५४ रकम राजस्व संकलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार ३ सय ७२ सवारीसाधनलाई कारबाही गरेर सो राजस्व संकलन गरेको हो । आव २०७९÷८० को तुलनामा आव २०८०/८१ मा पर्सामा सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेर संकलन हुने जरिवाना वापतको राजस्व एकै वर्षमा ६६ लाख रुपैयाँले घटेको छ । पर्सामा अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेर न्यूनतम मात्रै जरिवाना गर्ने नियमका कारणले जरिवाना वापतको राजस्व घटेको कार्यालयले जनाएको छ । यसअघि ट्राफिक नियम उल्लंघन गर्दा अधिकतम जरिवानाबाट सुरु गर्ने गरिन्थ्यो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भास्कर खतिवडाले पर्सा ट्राफिकले गत वर्षदेखि अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागु गरेकाले पनि राजस्वमा प्रत्यक्ष असर देखिएको बताए । ‘विगतका वर्षमा फिल्डमा खटिने ट्राफिक प्रहरीले म्यानुअल ढङ्गबाट अधिकतम जरिवाना लगाउने गर्थे, जसको कारणले पनि जरिवाना वापतको राजस्व संकलन धेरै हुने गथ्र्यो,’ उनले भने, ‘अहिलेको ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमले न्यूनतम खालको ट्राफिक जरिवानाबाट सुरुवात गर्नुपर्ने भएकाले पनि जरिवाना राजस्व रकम केही घटेको देखिन्छ ।’ कार्यालयले आव २०७९/८० मा ३५ हजार ५ सय ३४ ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेर ३ करोड ४२ लाख ६५ हजार रुपैयाँ जरिवाना संकलन गरेको थियो । कार्यालयले आव २०८०/८१ मा १० हजार ७ सय ५२ ट्रकका चालकलाई कारबाही गरेर १ करोड ५४ लाख ५१ हजार ५१ रुपैयाँ रकम जरिवाना संकलन गरेको छ । त्यस्तै सोही आवमा २ हजार १ सय ६७ जीप, कार र भ्यानका चालकलाई कारवाही गरेर २० लाख २१ हजार ७ सय ५२ जरिवाना वापतको राजस्व संकलन गरेको छ । गत आवमा १२ हजार ७ सय ७४ मोटरसाइकलका चालकलाई कारबाही गरेर ८८ लाख ७८ हजार ५ सय ५१ रुपैयाँ जरिवाना राजस्व संकलन गरेको छ । त्यस्तै, सोही आवमा दुई सय ३८ बसका चालकलाई कारबाही गरेर २ लाख ३८ हजार रुपैयाँ जरिवाना संकलन गरेको छ । यहाँ २१ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि काजमा ५८ जना खटिरहेका छन् ।
नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रूपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रुपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो । नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार सोमबार काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको हो । सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’ लगायतका कार्गो ढुवानी गर्दै आइरहेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई धन्यवाद दिए ।
बढी पढेलेखेकाको रोजाइमा छैन विदेश, स्वदेश फर्केका अधिकांशको आम्दानी ४० हजार बढी
काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा हासिल गरेकाहरुको रोजाइमा विदेश नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपाय सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै उच्च शिक्षा हासिल गर्ने व्यक्तिहरुको वैदेशिक रोजगारीमा आकर्षण न्यून रहेको देखिएको हो । सामान्य लेखपढ वा निरक्षर व्यक्ति समेत वैदेशिक रोजगारीमा संलग्न रहेको प्रतिवेदन देखाएको छ । राष्ट्र बैंकले कुल ३८५ व्यक्तिमध्ये १४.३ प्रतिशतको शैक्षिक योग्यता कक्षा १२ वा सोभन्दा बढी रहेको छ भने १४ प्रतिशतले सामान्य लेखपढ गर्न मात्र जानेका छन् । सर्वेक्षणबाट अधिकांश व्यक्ति (४५.२ प्रतिशत) ९ देखि १२ कक्षासम्मको अध्ययन सम्पन्न गरी वैदेशिक रोजगारीमा जाने गरेको देखिएको छ । वैदेशिक रोजगारीमा सहभागीमध्ये कृषि पेशामा रहेका व्यक्तिहरूको संख्या सबैभन्दा बढी अर्थात २९.९ प्रतिशत रहेको छ भन ेत्यसपछि विद्यार्थी २४.४ प्रतिशत रहेका छन् । यस बाहेक बेरोजगार १४.५ प्रतिशत र जागिरेको संख्या १४.३ प्रतिशत रहेको छ । यसको अतिरिक्त विभिन्न व्यवसाय छोडेर पनि वैदेशिक रोजगारीमा जानेको संख्या ४.७ प्रतिशत रहेको छ । यस्तै, स्थलगत सर्वेक्षणमा समेटिएका कुल ३८५ व्यक्तिहरुले विभिन्न ३० मुलकहरुलाई रोजगारीको गन्तव्य बनाएको देखिन्छ । यसमध्ये १२.५ प्रतिशत भारत जान लागेको वा फर्किएका छन् । बाँकी ८७.५ प्रतिशतले भारत बाहेक अन्य मुलुकहरुमा जान लागेको वा फर्किएको उल्लेख गरेका छन् । भारत बाहेक अन्य मुलुकहरुमा रोजगारीमा जान लागेका वा फर्किएका मध्ये सबैभन्दा बढीको गन्तव्य मलेशिया रहेको छ भने त्यसपछि कतार, साउदी अरब, युएई र कुवेत लगायतका मुलुकहरु रहेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका वा विगतमा कम्तीमा एक पटक गएका २७० व्यक्ति मध्ये १८.५ प्रतिशतको आय २० हजार रुपैयाँभन्दा कम रहेको छ भने करिब ५५ प्रतिशतको ४० हजार रुपैयाँभन्दा बढी रहेको छ । करिब एक चौथाईको आम्दानी २० देखि ४० हजार रुपैयाँ रहेको छ । स्थलगत सर्वेक्षणको क्रममा २० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेमध्ये अधिकांश भारततर्फको रोजगारीमा रहेका छन् । नेपाल सरकार र राष्ट्र बैंकले विगतदेखि विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन गरिरहेको प्रयासको परिणाम स्वरुप सर्वेक्षणमा समावेश वैदेशिक रोजगारीमा रहेका जम्मा २७० व्यक्ति मध्ये ९२.२ प्रतिशतले विप्रेषण आय बंैक तथा वित्तीय संस्था र रेमिट कम्पनीहरु मार्फत नेपाल पठाएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये ७.८ प्रतिशतले मात्र साथी मार्फत्विदेशी मुद्रा पठाएको उल्लेख गरेका छन् ।
सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ, तर नेपालमा यो दर कायम हुन सकेको छैन, सुर्तीजन्य पदार्थको कर बढाएर, यसको प्रचार र विज्ञापनमा नियन्त्रण गरेर, आम नागरिकलाई धुम्रपानको जोखिमबाट सुरक्षित बनाएर, प्याकेजिङ र लेबलिङमा चेतावनी सन्देश राखी जनतामा यसको चेतना बढाएर नियन्त्रण गर्न सकिन्छ ।’ मन्त्री पौडेलले सुर्तीजन्य उत्पादन नेपाल सरकारले बन्द गरेमा बजारमा सुर्तीजन्य पदार्थ हालभन्दा उच्च दरमा बिक्री हुने जोखिम रहने बताए । उनले भने, ‘यसबाट हुने रोगको रोकथामका लागि विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार सुर्तीजन्य पदार्थको नियन्त्रणमा जोड दिन जरुरी देखिन्छ, यसका लागि यसको माग घटाउने सबैभन्दा प्रभावकारी विधि भनेको कर बढाउने नै हो ।’ नयाँ पुस्तमा सुर्तीजन्य पदार्थको प्रयोगको प्रवृत्ति बढ्दै गएको र यसको प्रयोग हुनबाट जोगाउन पाठ्यक्रममार्फत नै चेतना फैलाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो । बिमित व्यक्तिहरूले सरल ढंगबाट सेवा पाउन नसकेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई प्राथमिकतामा राखेर यससम्बन्धी ऐनलाई परिवर्तन गरी व्यवस्थित र सरलीकरण गर्न जरुरी रहेको बताए ।
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेएको नेपाल पन्छीविद् संघले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए । स्पोटेड फ्लाइक्याचर अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए । समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए । उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए । धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ । जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए । ‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ’, वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।’ नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए । रासस
भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल, पत्थरीको शल्यक्रिया गर्न १४ महिनापछि पालो
चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल भएको छ । बिरामीको चापकै कारण अस्पतालको अर्थोपेडिक विभागमा सोमबार दुई सय ५० जनाले मात्रै बहिरङ सेवामा टिकट पाएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद पौडेलले सोमबार बिहान मातहतका कर्मचारीलाई दुई सय ५० जनाभन्दा धेरै जनाको टिकट नकाट्न निर्देशन दिए । हिजो टिकट काटेका एक सय जनाभन्दा धेरै बिरामी उपचार नलिई फर्किन परेकाले बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुने उनको भनाइ छ । स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सय जनाभन्दा धेरै बिरामी आउने बताउँदै डा। पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे । डा. पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि १४ महिनापछिको पालो दिनुपर्ने अवस्था छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए ।