भदौमा बीमा प्राधिकरणले कार्यकारी निर्देशक पाउने, यी हुन् निर्देशक बन्ने मुख्य दाबेदार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ महिनाभित्र कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । दुई महिनासम्म रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पद लोक सेवा आयोगबाट सहमति पाएपछि भदौभित्र नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । गत जेठ ११ गते कार्यकारी निर्देशक (ईडी) पदबाट राजुरमण पौडेलले अवकाश पाएपछि दुई महिनादेखि प्राधिकरण कार्यकारी निर्देशकविहीन छ । तर, त्योबेला आवश्यक प्रक्रिया नपुगेको भन्दै प्राधिकरणले कार्यकारी निर्देशक नियुक्त गर्न आनाकानी गरेको थियो । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार कार्यकारी निर्देशक नियुक्त गर्न लोक सेवा आयोगको सहमतिका लागि पत्र पठाइसकिएको छ । एक/दुई दिनभित्र लोक सेवा आयोगको सहमतिपत्र पाएपछि कार्यसम्पादन फाइल खोल्ने तयारी रहेको उनको भनाइ छ । ‘कार्यकारी निर्देशक नियुक्तिका लागि लोक सेवा आयोगबाट सहमति लिनुपर्ने हुन्छ, पद रिक्तबारे लोक सेवा आयोगलाई प्राधिकरणले जानकारी गराइसकेको छ, अब एक/दुई दिनभित्र सहमतिपत्र पाएपछि प्रक्रिया अघि बढ्छ,’ उनले भने । उनका अनुसार भदौमा अन्य तहका कर्मचारी पनि भर्ना गरिने भएका छन् । प्राधिकरणले रिक्त रहेका दरबन्दीमा कर्मचारी भर्ना एकैपटक नियुक्त गर्ने तयारी गरेको उनले बताए । ११४ जना कर्मचारीको दरबन्दी रहेको बीमा प्राधिकरणमा ७/८ जना कर्मचारी भर्ना गर्नुपर्ने छ । कुन-कुन पदमा रिक्त ? बीमा प्राधिकणमा अध्यक्षपछि दोस्रो वरियतामा कार्यकारी निर्देशक पद हुन्छ भने तेस्रो वरियतामा निर्देशक हुन्छ । प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार हाल निर्देशक रहेका व्यक्तिहरूबाटै कार्यकारी निर्देशक छनोट गर्नुपर्ने व्यवस्था छ । बीमा प्राधिकरणमा ४ जना निर्देशक रहने व्यवस्था छ । तर, गत जेठ ३२ गते दिनेशकुमार लाल अवकाश भएर बाहिरिएपछि प्राधिकरणमा हाल ३ जना निर्देशकमात्रै कार्यरत छन् । निर्देशकहरू कमलप्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुङ्गेल अधिकारीमध्ये एक जना प्राधिकरणको कार्यकारी निर्देशक बन्ने छन् । यी तीन जनामध्ये एक जना कार्यकारी निर्देशक बनेपछि निर्देशक पदमा २ जना रिक्त रहनेछन् । रिक्त रहेको निर्देशक पदमा पनि आन्तरिक प्रक्रियाबाटै बढुवा गर्नुपर्ने प्रावधान छ । उपनिर्देशकमा कार्यरत वरिष्ठ उपनिर्देशकलाई बढुवा गरेर निर्देशक नियुक्त गरिनेछ । दुई जना निर्देशक बन्ने र गत जेठमा कुशुम शर्माले अवकाश पाएपछि उपनिर्देशकमा पनि ३ जनाका लागि ठाउँ खाली हुनेछ । कमर्चारीहरू लबिङ गर्दै प्राधिकरणको कार्यकारी निर्देशक (ईडी) बन्न तीन जना निर्देशकबीच प्रतिस्पर्धा हुनेछ । कर्मचारी विनियमावलीअनुसार प्राधिकरणको कार्यकारी निर्देशक बन्न कम्तीमा पाँच वर्ष निर्देशक पदमा काम गरेको अनुभव हुनुपर्छ । महिला र समावेशीको हकमा भने चार वर्ष काम गरेको भए पुग्छ । राजुरमण पौडेलले अवकाश पाउँदा कमलप्रसाद रेग्मी र पुजन ढुङ्गेल अधिकारीमात्रै कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा थिए । यदि प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चाहेको भए पौडेलले अवकाश पाएको दोस्रो दिन नै रेग्मी र ढुङ्गेलमध्ये एक जना कार्यकारी निर्देशक बन्ने थिए । किनभने रेग्मी निर्देशक बनेको ८ वर्ष बढी भइसकेको थियो भने ढुङ्गेल महिला कोटाबाट पनि कार्यकारी निर्देशक बन्न सक्थिन् । तर, अध्यक्ष सिलवालले नचाहेका कारण विभिन्न बहाना देखाएर कार्यकारी निर्देशक नियुक्त प्रक्रिया पछि धकेलेका हुन् । अब रेग्मी र ढुङ्गेलबीचको प्रतिस्पर्धामा सुवेदी पनि थपिएका छन् । उनी प्रतिस्पर्धाको लाइनमा मात्रै नभइ अबको सम्भावित कार्यकारी निर्देशक पनि हुन् । स्रोतका अनुसार सुवेदी कार्यकारी निर्देशक बन्ने प्रबल सम्भावना छ । ‘प्राधिकरणका अध्यक्ष सिलवाल र सुवेदीको ट्यूनिङ मिल्छ, यदि प्रक्रियाअनुसार अघि बढेको भए उतिबेलै प्राधिकरणले कार्यकारी पाउँथ्यो, तर अध्यक्षज्यूको चाहना सुवेदीजीलाई कार्यकारी निर्देशक बनाउने थियो, त्यसैले त्यतिबेला विभिन्न कारण देखाएर प्रक्रिया पछि धकेल्नुभयो,’ प्राधिकरण स्रोतले दाबी गर्यो । गत साउनमा सुवेदीको पाँच वर्ष निर्देशकका रूपमा कार्यानुभव पुगेको छ । निर्देशक बन्न तीन जना प्रतिस्पर्धी प्राधिकरणको कार्यकारी निर्देशकसँगै भदौमा अध्यक्ष सिलवालले निर्देशक र उपनिर्देशक नियुक्त गर्नुपर्ने छ । रिक्त रहने दुई जना निर्देशक पदका लागि तीन जना उपनिर्देशक कुन्दन सापकोटा, ध्रुव तिमिल्सिना, शम्भराज लामिछाने प्रतिस्पर्धामा छन् । यी तीन जनामध्ये दुई जना निर्देशक बन्नेछन् । निर्देशक बन्न तीनै जना अध्यक्ष सिलवालसँग लबिङ गरिरहेको प्राधिकरण स्रोतको दाबी छ । यस्तै, दुई जना निर्देशक बन्ने र गत जेठमा शर्माले अवकाश पाएपछि उपनिर्देशक पदमा तीन जना रिक्त रहनेछन् । त्यसैले अध्यक्ष सिलवालले भदौमा उपनिर्देशक पनि नियुक्त गर्नेछन् । उपनिर्देशक बढुवाका लागि पनि चार जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सहायक निर्देशक प्रदीप गौतम, शम्भु मिश्र, जमुना अर्याल आचार्य र गिता आचार्यमध्ये उपनिर्देशक बन्नेछन् । प्राधिकरणको अब बस्ने सञ्चालक समिति बैठकमा कर्मचारी नियुक्तिसम्बन्धी प्रस्ताव पेस गर्ने स्रोतले बतायो ।
चीनमा चालकविहीन सवारीसाधनबाट सडकको सरसफाइ
काठमाडौं । जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाइ सवारी साधनहरू खटाइएको छ । चालक बिहीन सरसफाइका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ । सरसफाई, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाइ कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ । चीनले सन् २०२२ देखि चालकबिहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर भने सरसफाइमा खटाएको हो । आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पुर्याउने बताइएको छ ।
सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द
मंगलबारे । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ । नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौं उडान भर्दैआएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उनले बताए । हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् ।
भरत महर्जन र जीवी राईदेखि देव नेपालीविरुद्ध रेड नोटिस जारी, यी हुन् विदेशबाट समात्नैपर्ने १८ सहकारी सञ्चालक
काठमाडौं । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकपछि समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए । उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि उनीहरू विदेशमा भएकाे हुँदा सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए । उनले बचतकर्ताहरूको दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताए । उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतमलाई स्वदेश झिकाउन निर्देशन दिएको बताए । यस्तै, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिमका सुवास केसी, कान्तिर सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको उनले बताए । अध्यक्ष थापाले भने, ‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ, यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं, यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’ यस्तै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको उनले बताए । उनले भने, ‘यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको छ ।’
सफल हुन के गर्ने ?
‘के छ हालचाल ?’ भनेर कसैले सोध्यो भने हामीले तयारी जवाफ दिन्छौँ ‘ठिकै छ’ । कसैले ‘खतम छ’ पनि भन्ला । तर यी जवाफ प्रस्ट भएनन्, सोलोडोलो खालका भए । यी र यस्ता प्रश्नको यकिन र प्रस्ट जवाफ दिन सकेमा हाम्रो जीवन नै बदलिन सक्ने दाबी मनोविज्ञानवेत्ताहरुको रहेको छ । आफूमा वा अरूमा तत्काल रहेको संवेगलाई राम्रोसँग बुझ्नु भनेको हामी कसरी सिक्ने, कसरी निर्णय गर्ने, कसरी अरूसँग व्यवहार गर्ने भन्ने विषयमा प्रस्ट हुन सरल हुन्छ भने अन्ततोगत्वा व्यक्तिगत उन्नतिका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । संवेगहरुको आफ्नै पहिचान र महत्व रहेको हुन्छ । संवेगलाई शरीरको बुद्धि पनि भनिन्छ । संवेगहरु जीवशास्त्रीय तत्व हुन् । यसलाई हाम्रो शरीर र दिमागले काम गर्ने रसायन पनि भन्ने गरिन्छ । भनिन्छ कि हामीमा आउने संवेग हामीलाई केही न केही सुनाउन उपस्थित भइरहेको हुन्छ । संवेग सिर्जना गर्ने उद्वीपकलाई हामीहरु आन्तरिक र बाह्य भनेर हेर्न सक्छौँ । आफैँभित्र सिर्जित कुनै विचार वा भौतिक अनुभूतिलाई आन्तरिक उद्वीपक भनिन्छ भने कसैसँग भएको भेट वा कुनै घटना भने द्वित्तीयक उद्वीपकमा पर्दछन् । संवेग र विचार एकले अर्कोलाई प्रभाव पार्ने हुन्छ । साथै संवेगले हाम्रो शरीरमा पनि असर पर्दछ । यसको ज्ञानबाट व्यक्तिलाई अवसर र चुनौतीका लागि तयारी हालतमा राख्दछ । शरीरमा रहेका आधारभूत क्रियाहरु जस्तैः मुटुको धड्कन, रगतको प्रवाह, पाचन क्रिया, रोगसँग लड्ने क्षमता, मांसपेसीमा रहने लचिलोपन र शरीरको तापक्रममा घटबढ हुने गर्दछ । त्यसैले भनिएको छ कि के कस्तो शारीरिक अवस्था छ भन्नेबाट पनि कस्तो संवेग पैदा भएको छ भन्ने थाहा लाग्दछ । संवेग पहिचान गर्ने र सोहीअनुसार व्यवहार गर्ने अभ्यास गर्दै जाँदा मन्दखालको अनुभूति चिनेर कडा र घातक प्रतिक्रिया पैदा नहुँदै व्यवस्थित गर्न सम्भव हुन्छ । हाम्रो शरीरको अवस्था जान्नका लागि शरीर–मस्तिष्क–हृदयको ‘स्क्यान’ गर्नुपर्ने अनि मात्र पूर्णरुपमा जानकारी पाउन सकिने भनिएको छ । भौतिकरुपमा अनुभूत भएका कुराहरु जस्तैः चिन्ता, मुस्कान, मांसपेसीको लचकता छ वा छैन भन्नेबाट शारीरिक अवस्था थाहा लाग्दछ भने कस्तो विचार आइरहेको छ रु ध्यान केन्द्रित भएको छ वा भङ्ग भइरहेको छ अवलोकन गर्ने गर्दा मस्तिष्कको अवस्था थाहा लाग्दछ भने शान्त छ वा झोँक चलेको छ वा खुसी वा चिन्तित वा उत्साहित के छ भन्ने जानकारीबाट हृदय पढ्न सकिने देखिन्छ । लेखक रोबर्ट प्लुटचकका अनुसार खुसी, आश्चर्य, रुचि, नरुचाउनु वा घृणा गर्नु, चिन्ता, डर छ आधारभूत संवेगमा पर्दछन् । त्यसैगरी, आठवटा आधारभूत संवेगमा रिस र विश्वाससमेत थपिन्छन् । समूहमा सँगै बसेर घटनाक्रम र भएको अनुभूति साटासाट गर्ने क्रममा कुन संवेगले काम गरेको भनेर अनुमान लगाउन सक्छन् र कस्तो संवेगका बखत के कस्तो व्यवहार वा क्रियाकलाप गर्नु उचित हुन्छ र के कस्तो गर्नु हुँदैन भन्ने सिकाइसमेत हुन्छ । हाम्रो दिमागमा रहने ‘हाइपोथ्यालामस’ त्यस्तो चीज हो, जसलाई संवेगको रसायन रहने कारखाना नै भन्न सकिन्छ । प्रोटिनबाट बनेका धागोजस्तो वस्तुबाट बन्ने त्यस्ता संवेगका रसायनहरु दिमाग हुँदै पिटुटरी नली हुँदै रगतमा प्रवाह हुने गर्दछन् । यसबाट पनि के बुझ्न सकिन्छ भने संवेगात्मक अनुभूतिको प्रभाव प्रत्येक जीवित कोषमा पर्न जान्छ । संवेगसम्बन्धी रसायन शरीरभरि पुग्न छ सेकेन्ड लाग्ने बताइएको छ । किन आवश्यक छ संवेग व्यवस्थापन अहिलेको मान्छेमा र अहिलेको सम्बन्धमा देखिएको बेचैनी, बेखुसी, अशान्ति र विरोधाभासको पिँधमा पुगेर हेरियो भने संवेगलाई पढ्न नसक्नु र संवेग नबुझी व्यवहार गरिनुमा पुगिन्छ । आधुनिक दुनिया जति नै नजिकका व्यक्तिहरुबीचमा पनि अनुभूतिमा आधारित संवाद कम वा दुर्लभ हुन्छ । एकै परिवारका सदस्यहरुबीच, एउटै टोलीमा काम गर्ने भनिए पनि वा एउटै सङ्गठनमा समेत एकले अर्काको संवेग बुझेर हैन कि आफ्नो संवेगलाई सबैथोक ठाने जसरी बोलिन्छ, जसबाट अरूलाई हित नगर्न सक्छ । अझ यसरी भनौँ प्रत्येक छलफलमा शान्ति वा आत्मीयता प्रवद्र्धन गर्ने वा द्वन्द्व वा हिंसा बढाउने भन्ने छनोट हामीले नै गर्ने हो अरू कसैले गरिदिँदैन । एकता प्रकाशनले सन् २०२० मा बजारमा ल्याएको ‘माई इमोसन म्याटर’ नामक पुस्तकमा संवेगको परिचय तथा आधारभूत पक्षहरुका सम्बन्धमा चर्चा गर्दै सकारात्मक व्यवस्थापनका बारेमा मार्गदर्शन गरिएको छ । संवेगलाई चिनाउने संवेगात्मक साक्षरता र संवेगात्मक बौद्धिकताबाट सन्तुलित र प्रभावकारी जीवन जिउने कलाको विकास हुन्छ । यो कौशलबाट कुनै पनि कामको नतिजाको प्रभावकारिता बढ्ने, निर्णय निर्माणमा सुधार आउने, स्वस्थकर रहने र आपसी सम्बन्ध प्रगाढ राख्न सहयोगी हुन्छ । भनिएको छ कि संवेगलाई बुझ्नेहरु अनुभूति व्यवस्थापनमा चुस्त हुन्छन् र त्यसैगरी आफ्नो काममा पनि निपूर्ण उत्रिन्छन् । उनहरु खुसीमा मात्तिने र दुःखमा आत्तिने नगरी एकखालको सन्तुलित व्यवहार प्रदर्शित गर्न सक्छन् । संवेग व्यवस्थापन कला दिनभरि गरिएका कामलाई फर्केर हेर्दा खुसीको पल र दुःखको पल कुन थियो ? गत हप्ताभरिको सुनाउनयोग्य कुनै क्षण कुन थियो ? यस्ता प्रश्नहरु व्यक्तिको संवेगसँग सम्बन्धित हुन्छन् । कुन घटना वा क्षणमा के कस्ता अनुभूति भए भन्ने तहमा व्यक्तिले जवाफ दिन सकेमा मात्र उल्लिखित प्रश्नको जवाफले अर्थ राख्दछ । यसरी मनका अनुभूतिहरु व्यक्त गर्ने अवसर पाउँदा मान्छे नजिक भएको महसुस गर्दछ । हामीमा सिर्जना हुने वा हाम्रो व्यवहारलाई प्रभावित गर्ने आधारभूत संवेगहरुको जानकारी गराएपछि माथि उल्लेख भएका प्रश्नहरुको उत्तर दिन सरल हुन्छ । अभ्यास गर्दै जाँदा सुनाएका क्षण वा संवेगहरु वा व्यक्तिले महसुस गरेका प्रतिक्रियाहरु कुन संवेगसँग सम्बन्धित छ भनेर सुनाउने व्यक्तिले नै भन्न थाल्दछन् । एउटा परिवारमा रहने व्यक्तिहरु कमसेकम साँझको १५ मिनेट सँगै बसेर दिनभरिमा के कसो भयो भनेर आ–आफ्नो अनुभूति सुनाउने संस्कारको विकास गर्नु सकियो भने कस्तो परिस्थितिमा कुन संवेग प्रभावी भएर आयो भन्ने खुल्दै जान्छ । आफू स्वयम् र अरू कुनै व्यक्तिको सम्बन्धमा पनि के कसरी व्यवहार गर्दा उसको संवेगमा अनावश्यक उतरचढाव आउँदैन भनेर बुझ्नका लागि पनि आफू वा अरू कसैलाई कुन खालको घटनाले प्रभाव पार्दछ भन्ने बुझ्नु आवश्यक हुन्छ । यसबाट नै पारिवारिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । त्यस्तै मूल्यमा आधारित शिक्षाको पाटोका रुपमा संवेगसम्बन्धी सिकाइबाट व्यक्ति, विद्यालय र अन्य सङ्गठनलाई संवेगात्मक बौद्धिकताको सहयोगबाट अन्तरवैयक्तिक सम्बन्धमा रहेका समस्या हल गर्ने विश्वास गर्न सकिन्छ । घरपरिवारको सदस्य, विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यालयका स्टाफ वा कुनै टोलीका सदस्यहरुलाई संवेगसम्बन्धी साक्षरता आवश्यक पर्दछ । सुरुमा उत्सुकता, खुसी र डरलाई बुझाउन क्रमशः कोपिला, फूल र काँडाद्वारा चिनाउन सकिँदोरहेछ । अनि एकले अर्कोलाई तिम्रो आजको फूल के हो भनेर जिज्ञासा राख्न पनि मिल्दोरहेछ । कसैले भन्ला कि आज धेरै वर्षपछि मेरो मिल्ने साथीसँग भेट भयो त्यसैले आजका लागि मेरो फूल यही भेट हो भनेर । अनि आउने हप्ता पोखरा घुम्न जाने योजना बन्नु कुनै विद्यार्थीका लागि कोपिला हुन सक्छ । संवेगलाई मसिनोसँग चिनेपछि व्यवहार गर्न पनि सरल हुँदै जानु स्वाभाविक नै हो । हामीहरु जटिलताले भरिपूर्ण समयमा बाँचिरहेका छौँ । पहिलेपहिले नभएका र शीघ्र सुधार भइरहेका सञ्चारमाध्यम तथा सामग्रीको बाढी नै लागेको छ तर पनि व्यक्तिहरु एकलकाँटे देखिन्छन्, खुसी देखिन्नन्, सम्बन्धहरु पनि टिकाउ भइरहेका छैनन् । तनावको तह बढिरहेको छ । यी कारणको परिणामस्वरुप व्यक्तिहरु अस्थिर, अधैर्य, आपसमा भिड्ने, भाग्ने, निष्क्रिय रहने क्रम बढेको छ । सारमा भन्नुपर्दा हामीले व्यक्तिगत र सामूहिक रुपमा भोग्नुपरेका समस्याको समाधान जटिल बन्दै गइरहेको छ । हाम्रो परिवेश र कार्यशैलीका कारण संवेगात्मक चुनौती बढेको हो । बालबालिका, किशोरकिशोरी पनि तनावको भुमरीमा छन् । अहिलेको जटिल जीवनशैलीयुक्त समाजमा व्यक्तिले आफ्नो र अरूको पनि संवेग बुझेर व्यवहार गर्नुपर्ने भएको छ । क्यालिफोर्नियामा कार्यालय रहेको गैरसरकारी संस्था सिक्स सेकेन्ड्स त्यस्तो संस्था हो जसले संवेगलाई व्यवहारमा प्रयोग गर्न सक्नेगरी प्रक्रिया विकास गरेको दाबी गरेको छ । संवेगात्मक बौद्धिकताको सही अभ्यासबाट विश्वमा अर्बौंको सङ्ख्यामा रहेका मानिसलाई सन्तुलित व्यवहार गर्न सक्षम बनाउँदै शान्त, समृद्ध र अझ राम्रो विश्व निर्माण गर्ने भिजन उक्त संस्थाको रहेको छ र संवेग सम्बन्धमा थुप्रै सामग्रीहरु प्रयोगकर्तालाई उपलब्ध समेत गराएको छ । ‘जोन’ नामक विद्वानका अनुसार यदि कुनै व्यक्तिले संवेगसँग स्वस्थ र खुला सम्बन्ध राख्न सक्षम भयो अनि आफूमा आएको संवेगलाई पहिचान गर्न स्वीकार गर्न र सम्मान गर्न सक्यो भने र ती संवेगलाई जागृतिको औजारका रुपमा लिन सक्यो भने मात्र त्यो क्षमताले जीवनका विभिन्न मोडमा आवश्यक पर्ने निर्णय लिने कार्य सरल भएर जन्छ । संवेगको सम्बन्धमा साक्षर हुनु भनेको संवेग के के हुन्छ भनेर बुझ्नुमात्र कदापि होइन । तत्काल आफूमा के कस्तो संवेग अनुभूति भइरहेको छ अवगत हुनु, अरू व्यक्तिको अनुहार हेरेर वा स्वर सुनेर उसको संवेग पहिचान गर्नु पनि हो । यदि अनुमान लगाउन सकिएन भने संवेग पढ्न नसकेको नै मानिन्छ । त्यस्तै, कुनै घटना वा परिस्थितिको सम्बोधन गर्ने कि प्रतिक्रिया मात्र व्यक्त गर्ने, जीवनमा कुनै लक्ष्य वा उद्देश्य लिएर त्यसैमा केन्द्रित हुनु वा निरुद्देश्य भड्किरहनु, कुनै जिज्ञासामा जवाफ दिन हतार गर्नु वा केहीबेर रोकिएर जवाफ दिनु, अरूले राखिरहेको विषय सुन्न तयार नहुनु वा ध्यान दिएर सुन्नु, आफ्नो मूल्यमान्यता बारेमा नै अनभिज्ञ हुनु वा मूल्यमान्यता पछ्याउनु, कुनै कार्यपश्चात् पृष्ठपोषण नलिनु वा पृष्ठपोषणप्रति खुला रहनु जस्ता परस्पर विपरीत व्यवहार संवेगप्रति साक्षर हुँदा वा नहुँदा देखा पर्दछन् । वास्तवमा व्यक्तिमा देखापर्ने जुनसुकै खालको संवेगको जिम्मेवारी उक्त व्यक्तिकै हुन्छ । आफ्नो संवेगका कारण भएको नतिजाका लागि जिम्मेवारी नलिने तर अरूलाई आरोप भने लगाइहाल्ने प्रवृत्ति पनि संवेगको व्यवस्थापन कला नभएकै परिणाम हो । संवेगको साक्षरता वा संवेगात्मक बौद्धिकता राम्रो भएको खण्डमा आफ्नो वा संलग्न समूहलाई पूर्णरुपमा जागृत राख्न सहयोग पुग्दछ । संवेगात्मक अनुभूतिहरुलाई बेवास्ता गर्ने अभ्यास बढ्दै गयो भने त्यस्ता अनुभूतिसँग मुकाबिला गर्ने विषय चुनौतीपूर्ण हुँदै जान्छ । संवेगका सङ्केतहरुप्रति सचेत भइयो भने एउटा वा एकभन्दा वढी संवेगले शरीर र व्यवहारमा ल्याउन सक्ने प्रतिकूल परिणामबाट बच्न सकिन्छ । शरीरमा पैदा हुने संवेगहरुमध्ये सबैभन्दा बढी प्रभावमा रहेको संवेग प्रस्ट देखिन्छ । रिसलाई सबैभन्दा सशक्त संवेग मानिएको छ । जस्तो कुनै व्यक्ति रिसाएको बखत एकान्तपन, आशावादिता, केही गर्न उत्साहित पनि हुन सक्दछ । एउटा संवेगलाई अरू सबै संवेगलाई हटाइहाल्न नसक्ने हुँदा कुनै संवेग अनुभूत भइरहेको बेला अरू कुनै अनुभूति पनि छ कि भनेर ‘स्क्यान’ गर्नुपर्ने हुन्छ । अर्कोतिर संवेगात्मक अनुभूतिहरु सङ्क्रामक हुने बताइएको छ । हामीमा आउने संवेगले हाम्रो कार्यव्यवहारलाई त असर गर्दछ नै यसले हाम्रो वरपर रहेका र हामीसँग सरोकार राख्ने व्यक्ति वा समूहलाई समेत असर गर्दछ । विवाद समाधानका क्रममा विवादका कारण तथ्य हो वा सम्बन्ध हो पहिल्याउनुपर्ने देखिन्छ । कारणको सही पहिचान भयो मात्र समाधान सरल बन्दछ । त्यस्तै, हामी उच्च शिक्षासम्म अध्ययन गर्दा पनि धेरै खालका तथ्याङ्कसँग चल्दछौँ तर संवेग वा सम्बन्धका बारेमा कमै मात्र अध्ययन हुन्छ । आपसी सहयोगका सम्बन्धमा कम र प्रतिस्पर्धामा ज्यादा जोड दिएका हुन्छौँ । फलस्वरुप हामी संवेग सम्बन्धमा कमै मात्र जानकार हुन्छौँ । सङ्गठनभित्र रहेका कर्मचारीहरुको संवेगात्मक अवस्था र कार्यसम्पादनमा त्यसको सम्बन्धको विश्लेषण गरी सोहीअनुसार व्यवहार गर्ने र परामर्श उपलब्ध गराउन सकेमा कार्यालयकै कार्यसम्पादन वृद्धि हुन्छ । यो विषयलाई मनन गरी संवेगात्मक साक्षरता र संवेगको सुव्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । (लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुन्)
अमेरिकाको ऋण पुग्न लाग्यो ३५० खर्ब डलर
काठमाडौं । विश्वको सबैभन्दा ठूलो र बलियो अर्थतन्त्र भएको अमेरिकाको ऋण दिनहुँ बढिरहेको छ । अमेरिकी संघीय सरकारको ऋण ३ सय ५० खर्ब डलर पुग्न २५ अर्ब डलरमात्र बाँकी छ । सन् २०१९ पछि यो १ सय ३० खर्ब डलरले बढेको छ, जुन भारतीय अर्थव्यवस्थाको आकारको लगभग तीन गुणा हो । देशको ऋण-जीडीपी अनुपात १ सय २२ प्रतिशत पुगेको छ । पछिल्लो पाँच वर्षमा १९ प्रतिशतले बढेको छ । संघीय सरकारको ऋणमा यति तीव्र वृद्धि अमेरिकाको इतिहासमा पहिले कहिल्यै देखिएको थिएन । यो ऋणको ब्याज तिर्न अमेरिकाले आफ्नो अन्य खर्चमा कटौती गर्नुपर्ने अवस्था आएको छ । अमेरिकाको ऋण हरेक तीन महिना करिब १० खर्ब डलरले बढिरहेको छ । यस वर्ष जनवरी ४ मा यो ३ सय ४० खर्ब डलर पुगेको थियो । यसअघि यो गत वर्ष सेप्टेम्बर १५ मा ३ सय ३० खर्ब डलर र जुन १५ मा ३ सय २० खर्ब डलर पुगेको थियो । ३ सय १० खर्ब डलरबाट ३ सय २० खर्ब डलर पुग्न आठ महिना लाग्यो । अमेरिकी ऋण भनेको अमेरिकी संघीय सरकारले आफ्नो खर्च धान्नका लागि लिने रकम हो । अमेरिकाको ऋण यही गतिमा बढिरह्यो भने सन् २०५४ सम्म देशको अर्थतन्त्रको १ सय ६६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसबाट अमेरिकामा सरकारको आम्दानी घट्ने र खर्च बढ्दै गएको स्पष्ट हुन्छ । विज्ञहरूका अनुसार यो देशको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि राम्रो कुरा होइन । अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलर ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यदि यस्तो भयो भने ऋण चुक्ता हुने बित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कुल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्ने छ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेको र बेरोजगारी न्यून रहेका बेला अमेरिकाको ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया जब अर्थतन्त्र कमजोर हुन्छ, सरकारले वृद्धिदर बढाउन खर्च बढाउँछ । एजेन्सी
मुक्तिनाथ कृषि कम्पनीद्वारा मन्त्री अधिकारी समक्ष १० बुँदे सुझाव पेस
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसमक्ष १० बुँदे सुझाव पेस गरेको छ । कम्पनीका अध्यक्ष सिताराम काफ्ले, प्रबन्ध सञ्चालक भरतराज ढकालसहितको टोलीले अधिकारीसमक्ष लिखित सुझाव पेस गरेको हो । देशभरको उपस्थिति, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका सुझावहरू पेस कम्पनीले बताएको छ । यस्ता छन् सुझावहरु : १. कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय मातहत एकीकृत कृषि विकास प्राधिकरणरनिकायरकेन्द्र’ को स्थापना गर्ने । २. सरकारले खरिद सुनिश्चितता गर्न सक्ने उद्योग संरचनाहरूको विकासमा लगानी गरी निजी क्षेत्रलाई प्रतिस्पर्धात्मक रूपमा सञ्चालन र व्यवस्थापनको लागि जिम्मेवारी दिने । (उदाहरणको लागि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल १० मा स्थापित आधुनिक पशुवधशाला) ३. बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, उत्पादन क्यालेन्डरको विकास र खरिद सुनिश्चितताको व्यवस्था मार्फत सामूहिक तथा व्यावसायिक उत्पादनलाई प्रोत्साहित गर्ने । ४. स्थानीय सम्भावनामा आधारित ‘एक स्थानीय संरचना (निकाय), एक कृषि परियोजना’ को विकास गरी ग्रामीण क्षेत्रका स्थानीय पालिकाहरूलाई उत्पादन प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन र सहरी क्षेत्रका स्थानीय पालिकाहरूलाई भण्डारण तथा वितरणमा अभिमुखीकरण गर्ने । ५.उद्यमशीलता केन्द्रमार्फत युवाहरूलाई कृषि उद्यममा आकर्षित गर्ने । ६. ‘उत्पादनमा सहकारी, बजारीकरण प्रभावकारी’ कार्यक्रम सञ्चालन गर्नको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रहरूको विकास गर्ने । ७. कृषिमा संस्थागत परामर्श केन्द्रहरूको स्थापना र सञ्चालनको लागि नीतिगत व्यवस्था गर्ने । ८. उपभोक्ताहरूलाई स्वस्थ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन ‘खाद्य साक्षरता’ अभियानलाई राष्ट्रिय रूपमा सञ्चालन गर्ने । ९. जलवायु अनुकूल तथा उत्थानशील प्रविधिहरूको विकास र प्रवर्द्धन तथा कार्बन फार्मिङलाई कार्बन व्यापारमा जोड्दै साना कृषकहरूको क्षमता अभिवृद्धि गर्ने । १०. कम्बाइन हार्भेष्टरको आयात गर्दा वातावरण प्रदूषण नगर्न व्यवस्था गरिएको ‘वेलरसहित आयात’ मात्रै नभई वेलर वा ब्रसकटर भन्ने शब्दावली राख्नको लागि पहल गर्ने जसले माटोमा प्राङ्गारिक तत्त्व बढाउनको साथै कृषकहरूको लागतमा पनि न्यूनीकरण गर्न मद्दत गर्दछ ।
बंगलादेशमा विद्यार्थीको अन्तिम चेतावनीलाई प्रशासनद्वारा बेवास्ता, थप आन्दोलनको घोषणा
बंगलादेश । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विदार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बंगलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको छ । एएफपीलाई प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तंथ्याकअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थीहरूले जुलाइमा गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा कैयौँ प्रहरी अधिकारीसहित कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो भिडन्त हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब घटना थियो तर सरकारले सेना परिचालन गरेर, कर्फ्यु लगाएर र देशव्यापी रूपमा इन्टरनेट बन्द गर्दै सम्भावित उथलपुथल हुनबाट रोकेको छ । सुरुमा विरोध प्रदर्शन गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का कम्तीमा आधा दर्जन नेतालाई प्रहरीले हिरासतमा लिएपछि हजारौँ विद्यार्थीले उनीहरूको आन्दोलनमा सहभागिता जनाएका थिए । ‘सरकारले हाम्रो आन्दोलनप्रति पूर्ण असंवेदनशीलता देखाइरहेको छ,’ समूहका संयोजक अब्दुल कादरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भने, ‘हामीले देशभर विरोध र्यालीको आह्वान गरेका छौं । हामी बंगलादेशका सबै नागरिकलाई हाम्रो मागप्रति ऐक्यबद्धता जनाउन र हाम्रो आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।’ विद्यार्थी अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूले आइतबार साँझसम्म प्रहरीले आफ्ना नेताहरूलाई रिहा नगरे एक हप्ता लामो आन्दोलन स्थगनको कार्यक्रमलाई सोमबारदेखि नै जारी राख्ने अन्तिम चेतावनी दिएका थिए । यस समूहको मागमा हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, उनका कैयौँ मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने र अशान्तिको उत्कर्षमा रहेका देशभरका विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्नुपर्ने पनि समावेश छ । बंगलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार अशान्ति सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ । सैनिकहरूले अझै पनि सहरी क्षेत्रमा गस्ती गरिरहेका छन् र राष्ट्रव्यापी कर्फ्यु जारी छ तर गत हप्ताको सुरुदेखि यसलाई क्रमिक रूपमा खुकुलो पारिएको छ । बंगलादेशमा जारी अशान्तिको चरमोत्कर्षमा रहेको बेला देशव्यापी रूपमा अवरूद्ध गरिएको मोबाइल इन्टरनेट सञ्जाल ११ दिनपछि आइतबार पुनः सञ्चालनमा आएको छ । सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने योजना पुनः लागू गरिएको विरोधमा यसै महिना प्रदर्शन सुरु भएको थियो । सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बंगलादेशीहरू बेरोजगार रहेको समय आएको यस कदमले गम्भीर रोजगारी संकटटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ । आलोचकहरूका अनुसार यो योजना सत्तारुढ अवामी लिगका वफादारहरूलाई भर्ना गर्न दुरूपयोग गरिएको छ । सर्वोच्च अदालतले गत हप्ता आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर कोटा पूर्ण रूपमा खारेज गर्ने प्रदर्शनकारीहरूको मागलाई बेवास्ता गरेको थियो । सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले ‘वास्तविक विपक्षी दल’को सहभागिता नभएको गत जनवरीमा भएको चुनावमा लगातार चौथो कार्यकालका लागि अनुमोदित भएका थिए। उनको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।