विकासन्युज

राजमार्गका होटलमा बासी खानेकुरा बिक्री गरेपछि…

काठमाडौं । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ,’ उनले भने । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । ‘फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ, बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने । पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडौं चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ । समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताए । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने पनि उनले जानकारी दिए । जरिवानामा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको प्रमुख गौतमले बताए । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो ।

साउनमै ऋण उठाउँदै सरकार, १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । साउन १६ गतेका दिन बोलकबोल हुने ऋणपत्र साउन १७ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

सडक पेटी अतिक्रमण गरी बनाईएका संरचना ७ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र सडक पेटी अतिक्रमण गरी बनाईएका संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिका नयाँबजार जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका सडक पेटी अतिक्रमण बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । ‘केही जग्गाधनी तथा मोहीहरूले सडकको दाँयाबाँया सडक पेटी अतिक्रमण गरी स्थायी÷अस्थायी संरचना निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू ७ दिन भित्र हटाई दिनुहुन अनुरोध छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यदि उक्त अवधिमा ती संरचना नियमानुसार अघि बढ्ने बताइएको छ ।

युरो र पाउण्डको मूल्य घट्यो, डलर र खाडी मुलुकको मुद्रा स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (साउन १५ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.५३ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ तोकिएको छ । हिजो सोमबार युरोपियन युरो एकको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६२ रुपैयाँ र बिक्रीदर ९७.०५ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ तोकिएको छ ।

सुरु भयो लाभांश सिजन, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सकिएपछि लाभांश सिजन सुरु भएको छ । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि अब कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने चासोको विषय बन्न थालेको छ। यही बीचमा आर्थिक वर्ष सकिएको १५ दिनमै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई प्रतिफल बाँड्न थालिसकेका छन् । लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखा परिक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २१ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

आज खिर खाएर साउन १५ मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १ सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

काठमाडौं । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ रुपैयाँ पुगेको छ । सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ९८ लाख ९७ हजार ७४८ रुपैयाँ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम ८ करोड ३४ लाख ५९ हजार ६७० रुपैयाँ रकम बक्यौता कायमै छ । कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । ‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोड रुपैयाँभन्दा बढी छ, निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि ४ करोड रुपैयाँ हाराहारीमा छ,’ उनले भने । कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता १ करोड ८४ लाख ७८ हजार ९७० रुपैयाँ छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता १ करोड रुपैयाँभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार ४१७ रुपैयाँ छ । जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार ४४७ रुपैयाँ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए । ‘खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर, अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ,’ उनले भने । कार्यालयका अनुसार आव २०८०/८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार १३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।

ब्रिफिङ लिएको एक दिनमै प्रधानमन्त्रीले गरे २१ सचिवको सरुवा, अर्थसचिव बने घिमिरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग छलफल गरेको एक दिनमै सरुवा गरेका छन् । उनले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् । हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् । यस्तै, भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव अर्जुन प्रसाद पोखरेल बनेका छन् । उनी हाल राष्ट्रिय तथ्यांक कार्यालयमा थिए । हाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्यांक कार्यालय पुगेका छन् ।