निर्वाचन आयुक्तमा सिफारिस प्रधानको अनुमोदनबारे निर्णय लिन बोलाइएको बैठक सर्यो
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो । प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए । समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो । पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित भनाइ राखेकी थिइन् । पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए ।
चेम्बरको साइबार सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साइबार सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबार सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन् । अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साइबार सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन साथै इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् । चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले साइबार सुरक्षाको विषयमा आवश्यक सहयोग, सुझाव पाउने विश्वास लिएको उल्लेख गरेका छन् । चेम्बर अफ कमर्शका आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ रहेका छन् ।
इजरायलमा श्रमिक पठाउने सम्झौतप्रति जेटीयूसीसीको आपत्ति, तत्काल फिर्ता लिन माग
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले युद्धग्रस्त मुलुकहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटीयूसीसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदुत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाए । उनले रोजगारीको नाममा जान्दाजान्दै पनि युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति दिँदै श्रमिक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताए । उनले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीलाई फर्काउन नसकेको अवस्थमा पुनः युद्धग्रस्त देशमा श्रमीक पठाउने कुरा जायज नरहेको बताए । उनले युद्धग्रस्त मुलुकमा श्रमिक पठाउने विषय संवेदनशील रहेको भन्दै युद्धग्रस्त देशमा श्रमीक पठाउन हतार गर्न नहुने बताए । अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भए पनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमिक पठाउन सकिने बताए । श्रमिकहरूले मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा श्रमिक पठाउनु उचित हुने बताए । सकेसम्म देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आफूहरूको माग रहेको पनि उनले बताए ।
राष्ट्र बैंकमा गुणाकरलाई शक्तिशाली विभाग, पौडेललाई प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले आइतबार उनलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । यसअघि डा. भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा. भट्टलाई जिम्मेवारी दिइएको हाे। भट्टले यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन् । डा. भट्ट यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । भुक्तानी प्रणाली विभागमा भने वरिष्ठ निर्देशक विनोदराज आचार्यलाई कायमुकायमको जिम्मेवारी दिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई आज (साउन १४ गते) देखि लागु हुने गरी राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेका छन् । साथै, उनले बैंक सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, दर्जन बढी विद्यार्थी घाइते
काठमाडौं । विद्यार्थी बोकेर स्कुल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा पोखरामा एक महिलाको मृत्यु भएको छ । ती महिला सोही बसको कर्मचारी भएको बताइएको छ । बसमा २२ विद्यार्थीसहित २४ जना सवार थिए । दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले बताए । घरबाट विद्यार्थी लिएर स्कुल जादै गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रेखोलानेर दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । घाइते विद्यार्थीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : कालिमाटीमा ५५० वृक्षरोपण
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको हो । सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ । अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको साइमेक्स इंकले जनाएको छ । नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिने कम्पनीको भनाइ छ । कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ । त्यसैगरी १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुने कम्पनीको भनाइ छ । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौ’, साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो । यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि गर्नुभएको अमूल्य सहयोगप्रति द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं. १३ लाई हामी कृतज्ञता व्यक्त गर्दछौ ।’ ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरुको लामो समय देखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ । ‘हामीले वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किरा फट्याङग्राहरुको बासस्थान हुनेछ । बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौ’, द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले भने । वृक्षरोपणमार्फत समग्र र प्रभावकारी वन जंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ । घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने छ । अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने छ । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान यही लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण पाइला हो, जसले हाम्रो वातावरणलाई संरक्षण र पुनस्र्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नेछ ।
मिस माल्टाको टोलीलाई ढाका टोपी र पञ्चेबाजाले एयरपोर्टमा गरियो स्वागत
काठमाडौं । मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरिएको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिए । हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ । ‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरुलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरुले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरुमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरुपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’ मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारी,एनआरएनए माल्टाका रेम्स खनाललगाएतको पहलमा अहिले नेपाल भ्रमण गराइएको हो । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ । मिस माल्टालाई स्वागत गर्न एनआरएनए माल्टाका रेम्स खनाल,एनआरएनए अभियन्ता सोम सापकोटालगायत विमानस्थलमा सहभागी भएका थिए ।
हिमालयन बैंकको बनेपा शाखा पनौतीमा स्थानान्तर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका-७ को पनौती बसपार्कमा स्थानान्तर गरेको छ । यही साउन १३ गते आइतबारबाट नियमित रुपमा बैंकले पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरु उपस्थित थिए ।