काठमाडौं । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ रुपैयाँ पुगेको छ ।
सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ९८ लाख ९७ हजार ७४८ रुपैयाँ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम ८ करोड ३४ लाख ५९ हजार ६७० रुपैयाँ रकम बक्यौता कायमै छ ।
कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए ।
‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोड रुपैयाँभन्दा बढी छ, निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि ४ करोड रुपैयाँ हाराहारीमा छ,’ उनले भने ।
कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता १ करोड ८४ लाख ७८ हजार ९७० रुपैयाँ छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता १ करोड रुपैयाँभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार ४१७ रुपैयाँ छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार ४४७ रुपैयाँ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए ।
‘खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर, अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ,’ उनले भने ।
कार्यालयका अनुसार आव २०८०/८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार १३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।