विकासन्युज

बैंकले २१ गतेभित्र ब्यालेन्ससिट सार्वजनिक गर्नुपर्ने, हिसाब साउनभरिको राख्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले साविकको व्यवस्थाअनुसार नै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विगतमा जस्तै साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्न आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । बैंक तथा वित्तीय संस्थाहरूले गत असारसम्म पाकेको ब्याज साउनमा उठाएमा विद्यमान लेखामानको अधीनमा रही सो ब्याज रकमलाई गत आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यससँगै साउनमा पनि ब्याज उठ्ने भएपछि वित्तीय विवरण सार्वजनिक गर्ने विषयमा बैंकरहरू दुविधामा थिए । तर, एक महिनाका लागि नीतिगत व्यवस्था नगरी पुरानै व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने डा.आचार्यको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउनेछन्,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेको छ । यस्तै, राष्ट्र बैंक नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु पौडेलका अनुसार वित्तीय विवरण सार्वजनिक गर्न समय लम्ब्याइएको छैन । अहिले सार्वजनिक गर्ने वित्तीय विवरण लेखापरीक्षण नगरिने भएकाले पुरानै व्यवस्था बमोजिम सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । ‘कुनै बैंकले असारमा पाकेको ब्याज साउनमा उठ्यो भने गत वर्ष वित्तीय विवरणमा जोड्न पाउँदिन भन्न पनि पाइन्छ । किनभने १३ महिना नभई १२ महिना हुने हो, अहिले राखियो भने चालु आर्थिक वर्षलाई घाटा पर्ने हो,’ उनले भने । उनका अनुसार २१ गतेभित्र आउने वित्तीय विवरण अपरिस्कृत हुने भएकोले पछि पनि त्यसमा समावेश गर्न पाइनेछ ।

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो पटक सहकारीमा सतप्रतिशत आयकर वृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत रहेको छ । महसंघले आर्थिक अध्यादेश पिच्छे सहकारीमा लाग्ने कर फरक फरक आउने गरेकोले सहकारी ऐन, २०७४ मा भएका करका व्यवस्था बमोजिम आर्थिक ऐनमा समेत स्पष्ट व्यवस्था हुनुपर्ने र कर अनुपालना वृद्धि गर्न कर सचेतना, कर तालिम कार्यक्रमहरु महासंघमार्फत गर्न बजेटको प्रबन्ध मिलाउने माग गरेको छ । उनले २०८१ साउन १५ गते राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा सो कुरा बताए । सहकारी अभियानको प्रवद्र्धन तथा शिक्षा तालीमका क्रियाकलापहरु अघि बढाउन र सहकारी ऐन नियमका प्रवर्द्धनकारी व्यवस्थाहरु कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रीत गर्ने बताए । सहकारी ऐन नियम र तिन खम्बे अर्थनीतिको भावना बमोजिम सहकारी अभियान अघि बढाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्रीले बताए । उनले वर्तमान अवस्थामा सहकारी खराब हो भन्ने भाष्य सिर्जना गर्न खोजिएकोले सहकारीकर्मीहरुलाई सजग हुन सचेत समेत गराए । उनले सहकारीका विकृति विसंगति चिरफार गर्न आवश्यक रहेको भन्दै भने ‘सिद्धान्तत सहकारी स्वनियमित अभियान भएकोले स्वनियमको मर्म नमर्ने गरी नियमनका प्रावधानहरु गम्भीरतापूर्वक छलफल गरी ल्याउनुपर्छ ।’ महासंघका अध्यक्ष ओमदेवी मल्लले अर्थमन्त्री पौडेललाई सहकारी क्षेत्रका समस्या र समाधानका सुझाव सहितको १८ वुँदे मागपत्र बुझाइन् । महासंघका सल्लाहकार तथा पूर्वमुख्य मन्त्री खगराज अधिकारीले सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले अभियानको प्रवर्द्धनका लागि उठाएका मागहरु शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले उत्पादन संकलन, वण्डरिङ, प्याकेजीङ लगायतका मूल्य शृंखलाका कार्यमा सहकारीलाई केन्द्रित गर्न सरकारको विशेष ध्यान जानुपर्ने बताए । महासंघका अध्यक्ष मल्लले सहकारी ऐन नियममा भएका प्रावधानहरु कार्यान्वयनमा नआउँदा सहकारीलाई व्यवसायीकरण गरी उत्पादन, प्रशोधन, रोजगार र्सिजना र गरिबी न्यूनिकरणका कार्यमा केन्द्रित गर्न नसकिएकोले सरकारले आवश्यक सहयोग गर्नुपर्ने कुरामा जोड दिइन् । अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डमा महासंघका उपाध्यक्षद्वय डिवी बस्नेत, इन्दिरा पन्त र सञ्चालकहरु टेकप्रसाद चौलागाइँ, परितोष पौडेल, काँशीचन्द्र बराल, सुमन नेपाल र नि.महाप्रबन्धक बावुल खनालको उपस्थिति थियो ।

कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन १५ गतेबाट नै कार्यभार सम्हाल्नेछन् ।

सुनचाँदीको असर्फी किन्न नागरिकता अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकतालगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्यूटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो । असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, विदेशी नागिरककाे हकमा भने पासपाेर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएकाे पनि बैंकले जनाएकाे छ ।

विद्युत प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षारोपण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मंगलबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरुमा वृक्षरोपण गरेका हुन् । कार्यालयहरुले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका फलफूल तथा अन्य प्रजातिका बिरुवाहरु रोपेका छन् । जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दिपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गरेका थिए । विद्युत नियम आयोगका अध्यक्ष राम प्रसाद धिताल, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्धय कपिल आचार्य तथा रतन बहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरुबाट बिरुवा रोपिएको छ । अब्बा, आँप, सुन्तला, हलुवावेद, वेलपत्रलगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएका छन् । कार्यक्रममा मन्त्री खड्काले जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षतिका न्यूनिकरणका लागि वृक्षरोपण महत्वपूर्ण कार्यक्रम भएको बताए । सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत निर्माणमा हाल बेहोरिहेका बाधाअवरोध हटाउन कानुन संसोधनलगायत कामहरु गर्न क्रियाशील रहने बताए । कार्यकारी निर्देशक घिसिङले जलविद्युत र प्रसारण लाइन आयोजनाहरु निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्ति बापत र रुख काट्ने मात्र हैन रोप्छौं भन्ने सन्देश दिन प्राधिकरण आफैंले पनि वृक्षरोपण सुरु गरेको बताए । घिसिङले नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशहरुमा निर्यात गर्न सफलता मिलिरहेको बताए ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डमा १० प्रतिशत बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बैंकले जनाएको छ ।

कृषिमन्त्रीको आग्रह- अन्नबालीमा विषादी प्रयोग नगरौँ

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्युनीकरण गर्न आग्रह गरे । विषादीको प्रयोग कम गरे रोगहरू घट्ने र सबैलाई फाइदा हुने उनले बताए । ‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ, विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन, मल प्रयोग नगरी सुख छैन, वस्तुको मलले फल्दैन, अवस्था अत्यन्त गम्भीर छ। विषादी सम्भव भएसम्म न्युनीकरण गरौँ, विषादी प्रयोग नगरौँ। हामीले यो कुरालाई तिव्रताका साथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ,’ उनले भने । साथै, मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्‍याउन पुग्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ थियो । ‘रोग धेरै घट्छ । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु,’ उनले भने । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा ३ लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो संख्या २ लाख ९९ हजार ४ सय १२ थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा २ लाख ७४ हजार २ सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २ लाख ७१ हजार ७ सय ३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए । आव २०७९/८० मा यो सङ्ख्या २३ हजार २५७ थियो । भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउने गरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जंगल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए । भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन् । दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।