प्रतिनिधि सभाले किन धेरै विधेयक पारित गर्न सकेन ?
काठमाडौं । सांसदहरूले सरकारको स्थायित्व नभएका कारण प्रतिनिधि सभाबाट जनअपेक्षा अनुरूपको सङ्ख्यामा विधेयक पारित गर्न नसकिएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले सरकार अस्थिर भएका कारण विधेयक निर्माणमा समस्या भएको बताएका हुन् । सांसदहरूले आजसम्म सरकार परिवर्तनको खेल मात्रै भएको भन्दै विधेयक निर्माण गर्न शीर्ष नेता र पार्टीहरूको ध्यान नपुगेको बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार परिवर्तनको कारणले प्रतिनिधि सभाको धेरै समय खेर गएको बताए । उनले आगामी दिनमा विधेयक पारित गर्न समितिले क्रियाशीलता देखाउनुपर्ने बताए । सरकारले तदारुकता देखाउनुपर्ने र सभामुखले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले समितिका सांसदहरूले पनि उच्च रूपमा क्रियाशीलता देखाउनुपर्ने बताए । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेसका सांसद रामहरि खतिवडाले समितिको बैठक नियमित रूपमा बस्न नसकेको बताए । उनले दिन बिराएर संसद् र समितिको बैठक सञ्चालन गर्नका लागि सभामुखसँग आफूहरूले कुरा राखेको जानकारी दिए । उनले संसदमा बिजनेशको अभाव भएर आकस्मिक, शून्य र विशेष समयमा अल्मल्लिइ रहनुपरेको भन्दै अब भने स्थिर सरकार भएका कारण विधेयकहरू अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेकपा (एमाले)का सांसद रघुजी पन्तले विगतमा मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकलाई समितिमा छलफल गराउन र पारित गराउन चासो नदेखाएका कारण विधेयकहरू धेरै आउन नसकेको बताए । उनले संसद्लाई बिजनेस दिने काम सरकारको भएको भन्दै यसमा सरकारले ध्यान पुर्याउनुपर्ने बताए । महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहेका एमालेका सांसद किरणकुमार साहले सरकार अस्थिर भएका कारण विधेयक आउन नसकेको बताए । उनले सांसदहरुको मुख्य काम विधेयकको भएपनि सरकारको अस्थिरताको कारण द्रुत गतिमा हुन नसकेको बताए । उनले आफ्नो समितिमा अहिलेसम्म एउटा विधेयक पनि नआएको भन्दै विधेयक शून्यताको अवस्थामा रहेको बताए । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले मुख्य दल र नेताहरूको ध्यान सरकार बनाउने र सरकार फेर्नमा मात्र केन्द्रित हुँदा संसद् बरालिएको बताए । उनले संसद् बैठक चलाउन बिजनेसको अभाव रहेको बताए । संसद्को मुख्य काम कानुन निर्माण भएपनि सन्तोषजनक र प्रभावकारी नभएको उनको भनाई छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संविधानलाई कमजोर बनाउन चाहने पात्रहरूको प्रतिनिधि सभामा बहुमत भएका कारण विधेयकहरू बन्न नसकेका बताए । त्यसकारण संविधानको रक्षा र संविधानको सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐन, कानुन निर्माणमा समस्या पैदा भएको उनको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकार परिवर्तन भइरहेका कारणले नै अपेक्षाकृत रूपमा विधेयकहरू निर्माण हुन नसकेको बताए । नयाँ सरकारले पुरानो सरकारले ल्याएको विधेयकको स्वामित्व नलिने गरेको पनि उनको भनाई छ । त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका जनमत पार्टीका सांसद अब्दुल खानले संसद् बैठक र समिति बैठकको तालमेल नमिलेका कारण पनि समितिमा भएका विधेयकहरू छलफलमा ढिलाइ भइरहेको बताए । उनले मन्त्रीहरूको फेरबदल भइरहेका कारण विधेयक द्रुत रूपमा पारित हुन नसकेको बताए । सांसद खानले पछिल्लो समयमा संसदबाट कुनै न कुनै विधेयक पारित भइरहेको बताए ।
सेयर बजारले ३२ सय बिन्दु पार गरेर कहिले रच्छ नयाँ रेकर्ड ?
काठमाडौं । पछिल्लो समय बढ्दै गइरहेको सेयर बजारले लगानीकर्ता हौसिएका छन् । मौद्रिक नीतिमार्फत् सेयर बजार लक्षित केही खुकुलो नीति राष्ट्र बैंकले अगाडि सारेपछि सेयर बजार निरन्तर उकालो यात्रामा छ । यसले लगानीकर्तामा खुसी ल्याइरहेको छ । उनीहरू अब सेयर बजारले नयाँ रेकर्ड कायम गर्ने बताइरहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रूपैयाँको सीमा खारेज गरिने बताए । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि यस्तो व्यवस्था लागु भएको हो । तर, व्यक्तिगत सेयर कर्जाको सीमा भने १५ करोड रुपैयाँ यथावत रहेको छ । त्यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङ १.२० बाट घटाएर १.१० प्रतिशतमा झारेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको २०८१ असार मसान्तसम्म पाकेको ब्याज २०८१ साउन मसान्तसम्म प्राप्त भएमा त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले लिएको यी नीतिहरूका कारण अब सेयर बजार क्रमश सुधारको बाटोमा रहेको र निरन्तर बढ्ने सेयर लगानीकर्ताहरूले बताएका छन् । लगानीकर्ता तारा फुलेलका अनुसार हाल बैंकहरूमा पैसा थुप्रिएको, अर्थतन्त्र चलायमान भएको, राष्ट्र बैंकले लिएको दरिलो नीति खुकुलो बनाउँदै गएकोले अब क्रमश: सेयर बजार सुधारको बाटोमा रहेको उनी बताउँछन् । ‘अहिले जुन किसिमले दुई ठूला दल मिलेर सरकार बनेको छ, राष्ट्र बैंकले लिएको दरिलो नीतिलाई क्रमश खुकुलो बनाउँदै लगेको छ, बजार पनि चलायमान बन्दै गएको छ र बैंकहरूमा पैसा पनि थुप्रिएको छ । यी सबैकुरालाई नियाल्दा अब सेयर बजार केही समय निरन्तर बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘लगानीकर्ताहरूमा आशा पलाएको छ त्यसैले अब सेयर बजारले छिट्टै नयाँ रेकर्ड बनाउँछ ।’ सबै कुराहरूले गर्दा लगानीकर्तामा आशा पलाएको भन्दै अब सेयर बजार छिट्टै ३२ सय पार गरेर नयाँ रेकर्ड बनाउँने उनी बताउँछन् । लगानीकर्ता छोटेलाल रौनीयार पनि सेयर बजार अब छिट्टै ३२ सय बिन्दु पार गरेर नयाँ रेकर्ड बनाउने बाटोमा रहेको बताउँछन् । ‘सेयर बजार केही हदसम्म सुधारको बाटोमा आइसकेको थियो, राष्ट्र बैंकको नीतिको पर्खाइमा मात्रै थियो, मौद्रिक नीतिमार्फत खुकुलो नीति लिएसँगै अब करिब ३ बर्ष निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार उकालो लाग्छ,’ उनी भन्छन्, ‘रेकर्ड भनेको ब्रेक गर्नको लागि हो अहिलेको बजारले पहिलेको रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गर्छ ।’ अहिले बैंकहरूमा पैसा थुप्रिएको छ, जुन पैसा बजारसम्म ल्याउन बैंकहरूलाई सकस परिरहेको अवस्था रहेको उनी बताउँछन् । ‘अहिले बजार बढ्नको लागि सबै कुराहरूको तालमेल मिलेको छ, त्यसैले पनि बजारले नयाँ रेकर्ड राख्नेमा विश्वस्त छौं,’ उनी भन्छन्, ‘सगरमाथा चढ्न भनेर हिडेको मान्छे कुदेर गयो भने पुग्दैन । तर, बेस क्याम्पमा बस्दै गयो भने केही ढिलो पुगिएला । तर, अवश्य पुगिन्छ सेयर बजार पनि त्यस्तै हो । बिचमा केही करेक्शन होला । तर, अब बजार उकालो यात्रामा जान्छ ।’ सेयर बजारले रातारात नयाँ रेकर्ड नबनाउने भएपनि ढिलोचाँडो ३२ सय पार गर्दै नयाँ रेकर्ड कायम गर्ने उनी बताउँछन् । मौद्रिक नीति मार्फत सेयर बजारमा सुधारको बाटो लिएसँगै केहीदिन यता सेयर बजार निरन्तर बढिरहेको छ । संस्थागत लगानीकर्ताले नाफा कमाउँदा त्यसबाट सरकारले ३० प्रतिशत कर पाउने भएकाले संस्थागत लगानीकर्ताले पाउने कर्जाको सीमा हटाइएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले लिएको यस किसिमको नीतिले धितोपत्र बजारमा सकारात्मक पार्ने लगानीकर्ताको भनाइ छ । त्यस्तै व्यक्तिहरूले पनि कम्पनी दर्ता गरी संस्थागत रुपमा लगानी गर्न सक्ने भएकाले यसलाई पनि सकारात्मक रुपमा लिइएको लगानीकर्ता बताउँछन् । बैंकबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्ने उद्देश्यसहित खुलेका संस्थागत लगानीकर्ता कति छन् र उनीहरुले कति रकम कर्जा लिएका छन् भन्ने यकिन तथ्याङ्क नेपाल राष्ट्र बैंकसँग छैन । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा ८७ अर्ब ११ करोड रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा २४ प्रतिशतले कम हो । तर, यस्तो कर्जा व्यक्तिको नाममा कति छ र संस्थागत कर्जा कति छ भनेर वर्गिकरण नभएको राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाबाट सेयरधनीले पाउने लाभांश बढ्न मद्दत पुग्ने र बैंकहरूको सेयर मूल्य बढ्न योगदान पुग्ने देखिएको छ । सार्वजनिक मौद्रिक नीतिले लघुवित्त संस्थाहरूले लिन पाउने अधिकतम ब्याजदर १५ प्रतिशतमा पुनरावलोकन गर्ने भनेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा गणनाको विधिलाई पनि यथावत राखेको छ । यी धेरै नयाँ व्यवस्थाले सेयर बजारलाई राहात मिलेको छ । अब सेयर बजारले छिट्टै नयाँ उचाइ हासिल गर्नेमा लगानीकर्ता विश्वस्त छन् ।
मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न
काठमाडौं । मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौंमा आज आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जना मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो । अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै मिस यूनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए । अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । आजको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धिको नतिजा ३ दिन पश्चात मिस यूनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइनेछ । मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।
नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा भण्डारी नियुक्त
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् । इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिबृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गरेएका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए । ‘कलेजको शैक्षिक कृयाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उनीहाँ सक्षम छन् भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विस्वस्त छौं ।’ नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए । पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले कलेजमा समय सापेक्ष नयाँ कार्यक्रम थप गर्ने, प्रशासनिक, भौतिक र आर्थिक समस्याहरु सुधार्ने, शिक्षक कर्मचारीको वृत्ति विकासमा आफू कलेजका सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडी बढ्ने बताए । ‘प्राचार्य पदको दायित्व र जिम्मेवारी बोध हुँदैगर्दा यो कलेजलाई कसरी अगाडी बढाउने अध्ययन गरेको छु । अहिलेको ज्वलन्त समस्या शिक्षाको गुणस्तर नै हो । अध्ययनरत विद्यार्थीहरुको लागि शिक्षाको गुणस्तर सुधार्नु हाम्रो दायित्व हो । अहिलेको अवस्थामा विद्यार्थीहरु नेपालमा अध्ययन नगरी बाहिर जाने फ्लो बढेको छ । यसबाट हाम्रो कलेज पनि मारमा परेको छ । यी सबै विषयहरुमा सञ्चालक समिति, विद्यार्थी, शिक्षक र कर्मचारीसँग हातेमालो गरेर म अगाडी बढ्नेछु ।’ पदभार ग्रहण गर्दै प्राचार्य भण्डारीले भने । कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको बताए । ‘कलेजको सर्वोत्तम हितमा प्राचार्य भण्डारी र उहाँको टीमले गरेको हरेक निर्णयलाई सञ्चालक समितिले स्वीकार गर्ने उनको भनाई छ । शिक्षक कर्मचारीका तर्फबाट बोल्दै सह–प्राध्यापक यमकृष्ण पौडेलले प्राचार्यको नियुक्तिसँगै कलेजमा रहेको द्विविधा हटेर गएको भन्दै आउँदा दिनहरुमा कलेजलाई सौहार्दपूर्ण रुपमा अगाडी बढाएर लैजाने सवालमा साथ र सहकार्य रहने बताए ।
प्रभु बैंकले बागलुङमा एकै दिनमा सञ्चालनमा ल्यायो ४ वटा शाखा
काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लामा एकैदिन चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउपालिका -५, निसी, वडिगाड गाउँपालिका- २, खरबाङ र वडिगाड गाउँपालिका-७, भिमगिठेमा ४ वटा शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संस्थापक अध्यक्ष तथा सांसद देवी प्रकाश भट्टचनले गरेका हुन् । कम्पनीले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताएको छ । यसका साथै कम्पनीले यस प्रकारको अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएको छ । सञ्चालनमा आएका बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकले बताएको छ ।
उज्वेकिस्तानको अन्न उत्पादन ६ महिनामा ६.६ प्रतिशतले बढ्यो
काठमाडौं । सन् २०२४ को पहिलो ६ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ । कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ । देशको अनाज उत्पादन २०२३ मा पहिलो पटक ८.२ मिलियन टन पुगेको छ । एजेन्सी
एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले
काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको आफ्नो प्रतिवद्धताबमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको बताएको छ । लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो भन्दै कम्पनीले यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको जानकारी दिएको छ । एनसेलले यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो भन्दै ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको बताएको छ । लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्मदेखि टिभी सो, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरु रहेका छन् । लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।
गड्डाचौकी हुँदै ६ महिनामा भित्रिए साढे ४ सय पर्यटक
कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा ४ सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको संख्या १५ मात्रै रहेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ । ‘नेपालका केही सीमानाकामात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ ।’ ‘नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन,’ उनले भने, ‘नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।’ यसैकारणले पर्यटकलाई प्रस्थान ९डिपार्चर० दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ । सीमानाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन् । ‘भारतमा ६ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘ती विदेशी पर्यटक ६ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन् ।’ भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए । विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार ५ सय २७ डलर राजस्ववापत संकलन गरेको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म ५ सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।