विकासन्युज

हवाई एवं सडक दुर्घटना न्यूनिकरणका लागि सरकार गम्भीर बन्नुपर्छ : उपसभापति खड्का

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्यूनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । बिहीबार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् । आफूले पाइलट शाक्यलाई भेटेको र उनको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताए । विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताए । नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताए । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए । अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको जानकारी दिए । ‘पुर्खाहरुले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ’, उनले भने । यता, अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताइन् । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने जानकारी दिइन् । ‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो’, उनले भनिन् । उनले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताइन् । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

पाँच कम्पनीमा सर्किट लागेको सेयर बजार ५ अंकले घट्यो, लाइफ इन्स्योरेन्समा झुमिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.२४  अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा नयाँ रेकर्ड कायम भएको सेयर बजारमा बिहीबार पनि दिनभरि ३३२ कम्पनीको २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन रकम बुधबारको कारोबार रकमको हाराहारी हो । बुधबार दिनभरि ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । यसअघि २०७८ सायन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूह ३.६९ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये ६ समूहमा हरियाली छाउँदा बाँकी अन्य समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूह ३.५४ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा यस दिन पनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख रुपौयाँको सेयर कारोबार भएको छ । बिहीबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, नेपाल हाइड्रो, सुभम पावर, सिटी होटल र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

करोडका आयोजनामा अर्बौं रकमान्तर, कुनमा कति ?

काठमाडौं । असारमा मात्रै एक करोडभन्दा बढीको आयोजनामा ११ अर्ब ३७ करोड रुपैयाँको रकमान्तर भएको छ । अर्थमन्त्रालयले असारमा मात्रै १ करोड बढीको आयोजनामा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ बजेट रकमान्तर भएको बताएको हो । विभिन्न मन्त्रालयका विभिन्न निकायमार्फत् ठूलो रकम रकमान्तर भएको देखिएको छ । सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो रकम रकमान्तर गर्ने गरेको विगतको प्रवृतिअनुसार गत वर्षको असारमा पनि सो बजेट रकमान्तर गरेको देखिएको हो । सरकारी निकायको खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा बर्सेनि अनियमित तरिकाले रकमान्तर हुने छ । विभिन्न मन्त्रालयहरूले कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गर्ने, लेख्नुपर्ने लेखा नराख्ने लगायत कारण खर्च नभएर अन्ततः रकमान्तर गर्ने प्रतवृति बढ्दै गइरहेको हो । अर्थमन्त्रालयका अनुसार सबैभन्दा ठूलो बजेट रकमान्तर अर्थमन्त्रालयमार्फत् भएको छ । अर्थमन्त्रालयले जेठ महिनामा १ करोडभन्दा बढी रकमका आयोजनामा २ अर्ब ५९ करोड रुपैयाँ रकमान्तर भएको थियो । विभिन्न ४३ वटा कार्यक्रम तथा आयोजनाका लागि ३ अर्ब २८ करोड ३८ लाख रुपैयाँ थप निकासा पनि गरेको जानकारी दिएको छ । यस्तै, आव २०८०/८१ मा ७ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको पनि जानकारी दिएको छ । [pdf id=501239]

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारीले फेरि गरे आन्दोलन

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् । युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो । आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का उपाध्यक्ष ली ह्युन–कुकले बताए । युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो । सामसुङ इलेक्ट्रोनिक्सको हडतालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोष्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए । युनियनले कम्पनीले हडतालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए । यसैबीच सामसुङले बुधबार श्रमिक युनियन हडताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ । आन्दोलनरत नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एक चौथाई अर्थात् करिब ३६ हजार सदस्य रहेका दावी गरिएको छ । कम्पनीमा श्रम संगठन गर्न वर्जित गरिएको छ । दुई वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी तीनवटा थप बिदाहरू थप्न सफल भएको थियो ।

सौर्य एयरलाइन्सका क्याप्टेन शाक्य डिस्चार्ज हुँदै

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिषरत्न शाक्य डिस्चार्जको तयारीमा रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले जनाएको छ । अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । अस्पतालकी डाइरेक्टर डा मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको जानकारी दिइन् । ‘उपचार त उहाँको जारी रहन्छ, तर अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन, घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ,’ उनले भनिन् ।

खल्तीबाट अर्को खल्ती अकाउन्टमा १०० रुपैयाँमाथि पैसा पठाउँदा सेवाशुल्क लाग्ने

काठमाडौं । डिजिटल वालेट खल्तीले दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँमाथिका कारोबार गर्दा शुल्क लिने भएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी यस्तो व्यवस्था सुरु गरिएको जानकारी दिएको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआरमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’लाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क परिवर्तन गरेको कम्पनीले उल्लेख गरेको छ । ‘यही मिति २०८१ साउन १७ बाट लागु हुने गरी एक खल्ती प्रयोगकर्ताले अर्को खल्ती प्रयोगकर्तालाई गर्ने १०० रुपैयाँसम्मको फन्ड ट्रान्सफर सेवा निःशुल्क रहने, साथै एक दिनमा अधिकतम तीन पटक र महिनाको ३० पटकसम्म गरिने फन्ड ट्रान्सफर सेवा पनि निःशुल्क रहने जानकारी गराउन चाहन्छौं,’ कम्पनीले जारी गरेको सूचनामा छ । यसअन्तर्गत १०० रुपैयाँसम्मका सबै कारोबार निःशुल्क हुनेछन् । एक दिनमा १०० रुपैयाँ बढीका तीन ओटा कारोबारमा कुनै शुल्क लाग्ने छैन । तर, त्यसभन्दा माथिका कारोबारमा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

डिआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् । बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन् । उनले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए । केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए । सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरे । ‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ’, उनले भने । गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिवद्ध छ रहेको बताए । सदाचार नीति अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तःशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार, ब्याज ६ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ ३ करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ १ करोड ९२ लाख ८४ हजार र अन्य २ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । आव २०८०/८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८.०२ प्रतिशत राजस्व संकलन भएको उनले बताए । आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनको भनाइ छ । आव २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा अन्तःशुल्कतर्फ मात्र ३६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो । खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए । ‘जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तःशुल्कको रहेको छ, यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन,’ उनले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रूपमा यो सकारात्मक परिणाम हो ।’