काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्यूनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । बिहीबार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् ।
आफूले पाइलट शाक्यलाई भेटेको र उनको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताए । विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताए ।
नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताए । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए । अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको जानकारी दिए ।
‘पुर्खाहरुले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ’, उनले भने ।
यता, अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताइन् । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने जानकारी दिइन् ।
‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो’, उनले भनिन् ।
उनले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताइन् । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।