मापदण्ड पुगेका नर्सिङ कलेजलाई तत्काल सम्बन्धन दिन समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ । शिक्षा मन्त्रीको उपस्थितमा समितिकाे बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र काुननी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्नेगरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को संरचनामा सुधार गर्नुपर्ने बताइन् । उनले सिटिभिटी कार्य सम्पादनविरुद्ध धेरै विद्यार्थीको उजुरी आएको बताउँदै यसलाई सधार्नु अनिवार्य रहेको सुनाइन्। समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए । ‘हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्नुहुँदैन,’ उनले भने, ‘कानुन बमोजिम प्रक्रिया पूरा गरेका संस्थाहरूले तुरुन्तै कक्षा सञ्चालन गर्न पाउनुपर्छ ।’ लामो समयदेखि नर्सिङ कलेज सञ्चालन गर्न कानुनी र व्यावहारिक जटिलताले सास्ती खेपेको भन्दै समितिमा शैक्षिक संस्थाहरूबाट निवेदन परेको थियो । बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच समस्यामाथि छलफल भएको थियो । निवेदक शिक्षण संस्थाले कानुनी मापदण्ड पूरा गर्दा पनि नर्सिङ कक्षा सञ्चालन गर्न परिषद्बाट स्वीकृत नपाएको गुनासो पोखेका थिए । परिषद्ले भने आयोगले स्वीकृत दिन रोक लगाएको आरोप लगाएको थियो । आयोगले परिषदमा कानुन बमोजिमा कार्य नभएको बाउँदै आएको छ ।
नेपाल एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यावसाय प्रवर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुविधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
कतारमा रहेका नेपालीले ग्लोबल रेमिटमार्फत पैसा पठाउन सक्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउने सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपालभरि रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिने बैंकले बताएको छ । साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।
लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् । तर, असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । श्रीलंकाबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवं प्रकृतिप्रेमीसँग अनुरोध गरे । बर्सातपछि छर्लंग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ । प्रायः असार–साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरु देखिने गरेको मायादेवी मन्दिरमा वर्षौंदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउँछन् । बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवद्र्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भने, ‘समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचारप्रसार हुन सकेको छैन, भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदी किनारमा रहेको बताउनुभएको सन्दर्भमा बुद्धसँग हिमाललाई समेत जोडेर पर्यटन प्रवर्द्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।’ तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार–साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् ।
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने बैंकले बताएको छ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि व्यावसायिक कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । ‘विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।
नेपालले सटही सुविधा नदिँदा ६ दर्जन भारतीय टीभी च्यानल बन्द
काठमाडौं । नेपालले रोयल्टी भुक्तानीका लागि सटही सुविधा नदिँदा करिब ६ दर्जन भारतीय टीभी च्यानल बन्द भएका छन् । बुधबार रातिदेखि नेपालमा प्रसारण हुँदै आएका ७० वटा भारतीय च्यानल बन्द भएका हुन् । केबुल टेलिभिजन महासंघका अनुसार सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट) लागु गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका कारण टेलिभिजनहरूले पैसा पठाउन नसकेका कारण यी ७० वटै भारतीय च्यानल काटिएको जनाएको छ । नेपालले सेवा प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क तिर्न नसकेका कारण भारतका मुख्य चार टिभी च्यानल प्रसारण कम्पनीहरू स्टार, सोनी, जी र कलर्सबाट आउने सबै च्यालन काटिएको महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । यी काटिएका ४ वटा भारतीय च्यानलमा कलर्सको ८ वटा, जीको १२ वटा, सोनीको १८ वटा र स्टारको ३२ वटा च्यानल नेपालमा प्रसारण हुन्थ्यो । डिस्ट्रिब्युटरले सटही सुविधा नपाउँदा पैसा बाहिर लैजान नपाएको कारण भारतीय टेलिभिजन च्यानल बन्द भएको संघले जनाएको छ । सरकारले २०७९ चैत १५ बाट अलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरे पनि वितरकहरूले विदेशी टीभी च्यानललाई रकम भुक्तानी गर्नका लागि हालसम्म सटही सुविधा भने पाएका छैनन् । हाल वितरक, सेवा प्रदायक केबुल कम्पनी र सरकारबीच अलाकार्ट कार्यान्वयनबारे विवाद जारी छ ।
निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन महासंघको माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता आवश्यक भएको बताएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामाग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्ने लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ । जवाफमा मन्त्री भण्डारीले समय सापेक्ष ऐन नियम नहुँदा निर्माण उद्योगमा समस्या देखिएको बताए । निर्माण व्यवसायीहरूको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताउँदै मन्त्री भण्डारीले मौद्रिक नीति पनि निर्माण व्यवसायी मैत्री रुपमा आएको बताए । निर्माण व्यवसायीहरूसँग निरन्तर संवादमा रही यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता मन्त्री भण्डारीले व्यक्त गरे । समृद्धिको महत्वपूर्ण पाटो मानिने निर्माण व्यवसायको विकास विस्तारमा सरकार संवेदनशील रहेको भन्दै मन्त्री भण्डारीले नेपालका निर्माण व्यवसायीहरूले विदेशमा समेत गर्व गर्न लायक काम गरेको बताए । वर्तमान सरकारको गठनसँग आम मानिसमा रहेको निराशा अन्त्य हुँदै गएको दाबी मन्त्री भण्डारीले गरे । महासंघ प्रतिनिधिमण्डलले मन्त्री भण्डारीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटलले घोषणा गर्यो ५२.५३ प्रतिशत लाभांश
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५२.५३ प्रतिशत (कर सहित) का दरले १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले भदौ ११ गते आठौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाइएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।