विकासन्युज

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा अवुरुद्ध हुने भएको छ । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले सेवा अवरुद्ध हुने भएको हो । टेलिकमका अनुसरा बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले आज (साउन १७ गते) राति ११ बजेदेखि ४ घण्टासम्म सेवा अवरुद्ध हुनेछ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेइरी सेवाहरू प्रभावित हुने टेलिकमले जनाएको छ । ११ बजे अगाडि नै ब्यालेन्स रिचार्ज र प्याकेज खरिद गर्न कम्पनीले आग्रह गरेको छ । तर, उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस र पीएसटीएन तथा एफटीटीएच, भ्वाइस, डाटा, आईपीटीभी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । रिचार्ज तथा प्याकेज सब्स्क्रिप्सन वा अन्य सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर चार लाख १८ हजार रुपैयाँ झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो । विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनानारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिए । प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए । बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ । मल्लिकले प्रधानाध्यापक र लेखापाल दुबैको कीर्ते हस्ताक्षर गरेको पाइएको छ । मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनाधिकृत रुपमा चेक काट्ने गरेका थिए ।

सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले यस्तो आशंका गरेका हुन् । उनले स्थानीय सरकारको गठनपश्चात सहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीयस्थल लगायतका सार्वजनिक स्थलहरूमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सीसीटिभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए । काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरूमा जडान भएका सडक बत्तीहरूको बिलसमेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरूको महसुलको विषय केन्द्रिय सरकार र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताए । उनले आव २०८०/८१ सम्मको बिल भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थ मन्त्री वर्षमान पुनवाट प्रतिबद्धता व्यक्त भएको अवगत गराउँदै आव २०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्वन गरिएको मोडल (स्थानीय तहबाट ६०) र (नेपाल विद्युत प्राधिकरणबाट ४०) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महसुल भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरूमा झैं विद्युत काटिदिन सक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए । उनले विद्युत काटिएको खण्डमा आन्दोलन सुरु हुने समेत बताए । ‘आर्थिक वर्ष २०८०र२०८१ सम्मको बिजुली बत्तीको तिर्नुपर्ने पैसा कहिलेदेखि सुरु भयो भन्ने थाहा नै छैन, यति पैसा ललितपुर महानगरपालिकाले तिर, यति पैस चन्द्रागिरीले तिर भनेको छ, त्यति त तिर्न पनि सक्दैनौँ हामी, तिरेकै खण्डमा पनि भोलि त्यो बेरुजु निस्किन्छ,’उनले भने, ‘कहिले देखिको बिजुलीको बत्तीको शुल्क तिर्ने भन्ने कुराको डिफाइन गरिएको छैन, त्यो कुरालाई लिएर गएको आर्थिक वर्ष २०८०/०८१ सम्मको हामीले सबैलाई तिर्न नपर्ने गरिदिने र त्यसपछि हामी पैसा तिर्छौं, तर तिर्ने फर्म्याट के त ६० प्रतिशत हामी तिर्छौं, ४० प्रतिशत सरकारले तिर्नुपर्छ, पछिल्लो कालखण्डमा गएर केही बत्तीहरू काटेको सुन्नमा आयो, त्यसपछि प्रधानमन्त्रीज्युलाई आग्रह गरेका थियौँ, यसलाई टुंग्याइदिनुपर्छ, सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटे जस्तै हामीतिर पनि काट्यो भने लडाइँ हुन्छ, यो त राम्रो हुँदैन ।’ मेयर महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको बताए ।

भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको सयुक्त आयोजनामा यही भदौ २१, २२ र २३ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै लैजाने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुनेछ । विद्युतीय उपकरणहरुलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनिका विधुतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने समस्थ व्यक्तिहरुले लाभ उठाउन सकिने आयोजकको दाबी छ । नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ विधुतीय सामानहरु खरिद गर्ने चलन रहेको तथा नेपालीहरुको महान पर्व दशैंको केहि हप्ता अगाडि आयोजना हुने यस प्रदर्शनीले ग्राहकहरुलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएको छ ।

‘सिधा कुरा’ अवहेलना प्रकरणमा प्रधानन्यायाधीशको नेतृत्वमा बृहत इजलास गठन

काठमाडौं । सिधा कुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध दायर भएको अवहेलना मुद्दा सुनुवाइका लागि प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा ९ न्यायाधीश संलग्न इजलास गठन भएको छ । सर्वोच्च अदालतले अन्तिम सुनुवाइ गरी फैसलाका लागि प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल संलग्न न्यायाधीशको बृहत् इजलास गठन गरेको हो । सिधा कुरा अवहेलना प्रकरणमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो । यसअघि गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले नौ न्यायाधीश संलग्न बृहद इजलास गठनका लागि आदेश दिएको थियो । उक्त इजलासमा सुनुवाइ चलिरहेको छ । सिधा कुराले ‘स्टीङ अप्रेसन’ को नाममा अदालत, न्यायाधीश र कानुनव्यवसायीका बिषयमा प्रसारण गरेको अडियो ‘फेक’ पुष्टी भएपछि मिडियाप्रति सर्वोच्च कठोर बन्ने संकेत देखिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा करियर कन्क्लेभ हुँदै

काठमाडौं । माध्यमिक तहको (२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न साउन १९ गते अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । ‘करियर कन्क्लेभ’ नेपालमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर गर्न लागिएको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ। प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा हुन लागेको युवा सम्मेलन ‘करियर कन्क्लेभ’ले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा फस्टाउन र विकसित व्यावसायिक परिदृश्यमा अनुकूलन गर्न सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । सम्मेलनमा विद्यार्थीहरुलाई नेपालको सूचना प्रबिधि क्षेत्र र व्यवस्थापन क्षेत्रका अग्रणी व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपालको अग्रणी डिजिटल वाल्ट ई सेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सीईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक सन्जोग कोइराला, कोड हिमालयका सह संस्थापक ईस्मरण दवाडी, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा प्यानलमा बहस गर्नेछन् । उक्त प्यानलको मध्यस्थता माइण्सेट क्युबका संस्थापक राजन कोइरालाले गर्नेछन् । कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् भने नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति हुनेछ । यस्तै हास्य कलाकार सुमन कार्कीले पनि प्रस्तुति दिनेछन् भने अन्य थुप्रै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ। सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ । यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजनना गरेका छन् ।

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित, २३ जनालाई सोधियो स्पष्टीकरण

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधी) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए । उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो । ‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उनले भने । बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए ।  यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । पौडेलले भने ‘काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।’ रासस

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बिहीबार पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४९ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।