विकासन्युज

डलरविरुद्ध भारत–रूसको संयुक्त मोर्चा ? पुटिनको यात्रा भू–राजनीतिक खेल बदल्ने संकेत

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४–५ मा छिमेकी मुलुक भारत आउन लागेका छन् । उनी नयाँ दिल्लीमा हुने २३औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन भारत आउन लागेका हुन् ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो यात्रा अत्यन्त महत्त्वपूर्ण मानिएको छ, जसले एक निर्णायक भू–राजनीतिक क्षण उत्पन्न गर्न सक्छ । विश्लेषकहरूका अनुसार यो भेटघाटको मुख्य एजेन्डा डलरको प्रभुत्व कम गर्ने (डी–डलराइजेशन) प्रयास हुन सक्छ । भू–रणनीतिकार डा. ब्रह्मा चेलानीका अनुसार यो यात्रा केवल कूटनीतिक भ्रमण मात्र होइन, विश्व दुई प्रतिस्पर्धी गुटमा विभाजित भइरहेका बेला दिने एउटा ‘शक्तिशाली भू–राजनीतिक सन्देश’ हो ।  शिखर सम्मेलनमा नयाँ भुक्तानी प्रणालीसहित स्वीफ्ट प्रणालीलाई बाइपास गर्ने र अमेरिकी डलरको प्रभाव कम गर्ने महत्त्वपूर्ण सम्झौता हुनसक्ने जनाइएको छ । स्वीफ्ट विश्वव्यापी भुक्तानी सन्देश प्रणाली हो, जसमार्फत बैंकहरूले अन्तर्राष्ट्रिय कारोबार गर्छन् । अमेरिका र उसका सहयोगीले यही प्रणाली प्रयोग गरेर अन्य देशमाथि प्रतिबन्ध लगाउने गर्छन् । भारत र रूस यस्तो विकल्प बनाउन चाहन्छन्, जसले उनीहरूलाई यी प्रतिबन्धबाट बचाउन सकोस् । यस्तो कदमले विश्व अर्थतन्त्रमा डलरको एकाधिकारलाई चुनौती दिन सक्छ । दुवै देश अमेरिकाको नेतृत्वमा चल्ने प्रतिबन्ध र डलर–केन्द्रित व्यापार प्रणालीबाट स्वतन्त्र वित्तीय संरचना बनाउन खोजिरहेका छन् । तर भारतको डी–डलराइजेशन नीति सन्तुलित छ । भारत डलर हटाउने पक्षमा छैन, न त नयाँ प्रतिस्पर्धी मुद्रा ल्याउन चाहन्छ । उसको लक्ष्य भारतीय रुपैयाँको अन्तर्राष्ट्रिय उपयोग बढाउनु हो । डा. चेलानीका अनुसार पश्चिमी मुलुकले वित्तीय प्रणालीलाई राजनीतिक दबाबका लागि प्रयोग गर्न थालेपछि भारतलाई रणनीतिक रूपमा असहज भएको छ । स्वीफ्टजस्ता प्रणालीलाई ‘हतियार’ को रूपमा प्रयोग गरिनु भारतका लागि चिन्ताको विषय हो । उनी भन्छन्, ‘पश्चिमी प्रतिबन्धहरूले रूसलाई चीनतर्फ अझै धकेल्यो, जुन भारतले सकारात्मक रूपमा देख्दैन ।’ तर पुटिनको भारत यात्रा रूस चीनको मात्र भरमा छैन भन्ने संकेत पनि हो । रूस आफूलाई चीनको ‘जुनियर पार्टनर’ बनाउने मनसायमा छैन । भारतले पनि यसलाई आफ्नो रणनीतिक स्वतन्त्रता देखाउने अवसरको रूपमा प्रयोग गरिरहेको छ । डा. चेलानीले डोनाल्ड ट्रम्पको कार्यकालमा भारत–अमेरिका सम्बन्ध बिग्रिएको उल्लेख गरेका छन् । ट्रम्प प्रशासनले भारतमाथि चीनभन्दा बढी ट्यारिफ थपेर ‘नराम्रो व्यवहार’ गरेको उनको टिप्पणी छ । पुटिनलाई भारतले दिएको उच्च सम्मान पश्चिमले बनाएको ‘हाम्रो साथ वा हाम्रो विरुद्ध’ भन्ने दबाबलाई अस्वीकार गर्ने संकेत हो । साथै भारतले रूसलाई नअलग्याउने स्पष्ट रूपमा बताइसकेको छ । यो शिखर बैठक भारत–रूस सम्बन्ध झनै मजबुत हुँदै गएको प्रमाण पनि हो । दुवै देश वैश्विक वित्तीय प्रणालीमा बढी स्वतन्त्रता खोज्दैछन् । मंगलबार अन्तरबैंक विदेशी मुद्रा बजारमा भारतीय रुपैयाँ डलरको तुलनामा ३८ पैसा घटेर इतिहासकै न्यून स्तर ८९.९१ मा पुगेको छ । डलर माग बढ्नु यसको प्रमुख कारण हो । भारु लगातार कमजोर हुनुको कारण व्यापार घाटा बढ्नु, भारत–अमेरिका व्यापार सम्झौतामा ढिलाइ हुनु र केन्द्रीय बैंकको सीमित हस्तक्षेप हुनु हो । यसअघि २१ नोभेम्बरमा पनि रुपैयाँ ८९.६६ को स्तरमा झरेको थियो, त्यतिबेला एकैदिन ९८ पैसा घटेको थियो । सम्बन्ध मजबुत हुनु मुख्य कारण– ऊर्जा साझेदारी भारत–रूस सम्बन्ध मजबुत हुनुको अर्को ठूलो कारण दुबै देशबीच बढ्दो ऊर्जा साझेदारी पनि हो । पश्चिमी प्रतिबन्धका कारण रूसले विश्व बजारमा आफ्नो तेल बेच्न कठिनाइ भोगिरहेको बेला भारत रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बनेको छ । यसले भारतलाई निकै सस्तो दरमा कच्चा तेल उपलब्ध गराउँदै आएको छ, जसले घरेलु मुद्रास्फीति नियन्त्रण गर्न, पेट्रोलियम भैरहन सुनिश्चित गर्न, र व्यापार घाटा त्यसैगरी न्यून पार्न मद्दत गरिरहेको छ । यद्यपि युक्रेन युद्ध सुरु भएयता अमेरिकाले भारतलाई बारम्बार रूसबाट सस्तो कच्चा तेल खरिद नगर्न चेतावनी दिँदै आएको छ । तर भारतले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै सबै चेतावनीलाई बेवास्ता गर्दै रूसी तेलको ठूलो खरिदकर्ता रहँदै आएको छ । अमेरिकाको तर्फबाट दिइने चेतावनीहरू मुख्यतः कुटनीतिक बयान, जी सेभेनका निर्णय र अमेरिकी वित्त मन्त्रालयको वक्तव्यमार्फत आएका छन् । अमेरिकाको भनाइ छ कि रूसी तेल किन्ने देशहरूले अप्रत्यक्ष रूपमा युक्रेन युद्धलाई सहयोग गरिरहेका छन् किनकि तेल बिक्रीबाट जुटेको रकम रूसले सैन्य अभियानमा प्रयोग गर्छ।

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

काठमाडौं । पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्पताल परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । त्यस अवसरमा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान गर्वित रहेको बताउँदै यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहने जनाए ।   

मधेश प्रदेशसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

काठमाडौं । मधेश प्रदेशसभा बैठक केही समय बसेर दिउँसो दुुई बजेसम्मका लागि स्थगित भएको छ ।  मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको हो ।  नेकपा एमालेका प्रदेशसभा सदस्य हरि नारायण महतोका अनुसार मुख्यमन्त्री यादवसँगको छलफलपछि बैठक स्थगन गरीएको हो ।  प्रदेशसभामा आज मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेश अनुसार विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्री यादव निकट स्रोतका अनुसार यादव केही विपक्षी दलहरूसँग संवादमा रहेकाले बैठक स्थगन गरिएको हो ।

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, सुन तोलामा दुई लाख ५४ हजार पुग्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मोल ११० रुपैयाँले बढेर तोलामा तीन हजार ६५५ रुपैयाँ निर्धारण भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।  

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट  २२ अर्ब ९० करोड रुपैयाँ र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाएको छ ।  कार्यालयले चालु आवको चार महिनामा  फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड रुपैयाँ,  कपडाबाट चार अर्ब २५ करोड रुपैयाँ, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।  इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।  

सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।  

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, दैनिक १० जीबी डेटा उपहार

काठमाडौं । एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड सङ्ख्या एक करोड नाघेको छ । एक करोड नाघेको अवसरमा कम्पनीले १० दिने ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ । मंगलबारदेखि सुरु भएको योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० जीबी डेटा निःशुल्क प्राप्त गर्ने एनसेलले जनाएको छ । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहकहरू पुरस्कारका लागि योग्य हुनेछन् । विजेताले प्राप्त गर्ने डेटा १० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।  एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजका अनुसार एक करोड डाउनलोडको उपलब्धिले एनसेल एप ग्राहकहरूको डिजिटल दैनिकीको अभिन्न हिस्सा बनेको प्रमाणित गरेको छ । उनले सरकारको डिजिटल नेपाल अभियान तथा कागजरहित सार्वजनिक सेवा प्रवाहलाई यस उपलब्धिले टेवा पु–याएको उल्लेख गर्दै ग्राहकप्रति आभार व्यक्त गरे । एनसेल एपमार्फत ग्राहकले सेन्टर वा पसलमा नगईकनै रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, गुनासो दर्ता, सेवा सक्रिय र निष्क्रिय गर्ने जस्ता सुविधा लिन सक्छन् । विदेशमा रहेका नेपालीले पनि यही एप प्रयोग गरी रोमिङ सेवा व्यवस्थापन तथा रिचार्ज गर्न सक्ने गरेका छन् । गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध एनसेल एप प्रयोगकर्ताको सहजता र प्रयोगअनुकूलता ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।