विकासन्युज

नारायणघाट-बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत, दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने

काठमाडौं । लामो समय निर्माण अलपत्र परेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।  आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।  महानिर्देशक डा. जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए । उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् । उनले भने, ‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ । भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरु सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरु, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ ।’ महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताए । दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको बताए । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए । नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए ।  उनले भने, ‘विगतको वर्षकोहरुको जस्तो वर्षामा समस्या हुँदैन । हामीले धेरैजस्सो कामहरु गरिसकेका छौँ । एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भईरहेको छ । जेठ १५ सम्म मुख्य कामहरु सकिन्छ । धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन ।’  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नागढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए । उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे । प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेको थियो ।      

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर धम्की दिने भण्डारीलाई कारबाही गरिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नाम दुरुपयोग गरेर धम्की दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।  दैलेख दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषामा धाकधम्की दिएका थिए । अडियो रेकर्डप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आपत्ति जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ । प्रधानमन्त्री बालेन्द्र शाह सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  सुशासनको साझा महाअभियानमा कुनै पनि प्रकारको सम्झौता नहुने र विधिको शासनलाई चुनौती दिने जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता कार्यालयले गरेको छ । कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्री तथा सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न र सोको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन कार्यालयले अनुरोध गरेको छ ।   ‘यस्ता प्रकृतिका सम्भावित दुरुपयोग र भ्रमबाट बच्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण (भेरिफिकेसन) गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीहरूमा विशेष आग्रह गरिन्छ,’ प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री बालेनले भने- से चिज, डीडीसीको चिज

काठमाडौं । शनिवार सामाजिक सञ्जाल स्क्रोल गरिरहेका धेरैको नजर एउटा तस्बिरमा अडियो । त्यो तस्बिरका पात्र थिए देशका प्रधानमन्त्री बालेन शाह । आफ्नै कार्यकक्षजस्तो देखिने स्थानमा बसेर दुग्ध विकास संस्थान (डीडीसी)को ‘याक चिज’ खाइरहेका थिए । टेबलमा काटिएको चीज, छेउमा अङ्गुर र केही ओखर देखिन्थे । कुनै औपचारिक कार्यक्रम थिएन, न त कुनै लामो सन्देश ।  मात्रै भनिएको थियो ‘से चिज, डीडीसीको चिज’ । पछिल्लो समय बालेन शाहका सामाजिक सञ्जाल पोस्टहरू केवल व्यक्तिगत अपडेटमा सीमित रहँदैनन् । उनले के लगाए, के प्रयोग गरे, के खाए भन्ने विषय नै सार्वजनिक बहस बन्न थालेको छ । यसपटक पनि त्यस्तै भयो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गर्ने ‘याक चिज’ सँग देखिएको उनको तस्बिरलाई धेरैले स्वदेशी उत्पादन प्रवर्द्धनको संकेतका रूपमा बुझेका छन् । डीडीसी पछिल्लो समय आर्थिक चुनौती र घट्दो व्यापारिक प्रभावका कारण दबाबमा रहेको चर्चा भइरहेका बेला प्रधानमन्त्रीकै तहबाट आएको यस्तो दृश्यलाई कतिपयले सकारात्मक सन्देशका रूपमा हेरेका छन् । ‘सरकारी उत्पादन प्रयोग गरौं’ भन्ने सन्देश प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा पुगेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको टिप्पणी छ । बालेन शाहको ‘ब्रान्ड प्रभाव’ अहिले बजारमा छुट्टै देखिन थालेको छ । केही साताअघि उनले सार्वजनिक कार्यक्रममा लगाएको सेतो सर्ट, ट्राउजर र जुत्तासमेत चर्चामा आएका थिए । सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्रीले नेपाली उत्पादन प्रयोग गरे बजारलाई ठूलो सहयोग पुग्छ भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले लगाएको शैलीसँग मिल्दोजुल्दो कपडा र जुत्ताको माग बजारमा अचानक बढेको व्यवसायीहरू बताउँछन् । यसपटक भने चर्चा फेसनभन्दा फरक स्वादमा केन्द्रित भयो । नेपाली दुग्ध उत्पादन, विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने याक चिजलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास भइरहेका बेला प्रधानमन्त्रीको टेबलमा त्यही उत्पादन देखिनु धेरैका लागि अर्थपूर्ण रहन्छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि केहीले यसलाई सामान्य व्यक्तिगत क्षण भनेका छन् भने केहीले ‘नेपाली उत्पादन प्रयोग गरौं’ अभियानसँग जोडेर हेरेका छन् । उनले मात्रै उल्लेख गरेका छन् । 

केन्द्रीय कारागारबाट भागिन् एक महिला कैदीबन्दी

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट एक महिला कैदीबन्दी फरार भएकी छन् । शुक्रबार राति कारागारबाट नुवाकोटकी २५ वर्षीया  सपना तामाङ फरार भएकी हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी प्रविण धितालले कारागारबाट महिला कैदीबन्दी फरार भएको जानकारी दिइन् । उनका अनुसार अपहरण शरीर बन्धक डाका र चोरी मुद्दा उनी कारागारमा थिइन् । २०७७ चैत ४ गते कारागार चलान भएकी थिइन् । कारागारको वाल नाघेर फरार भएकी हुन सक्ने उनले जनाए । ती महिलाको खोजी कार्य भइरहेको र थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।    

सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन् । त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो । बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ । रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बनेका छन् । हिमाली पदमार्गका उकालीहरु केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक पर्छ । चोपप्रसाद र छिरी शेर्पा यही साहस र आत्मविश्वासको उदाहरण बनेका हुन् । विगत केही वर्षदेखि पर्यटन क्षेत्रमा भरिया र होटल कुकका रूपमा संघर्षरत चोपप्रसादले हालै विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गर्दै नेपालको समावेशी पर्यटन यात्रामा नयाँ आशा देखाएका छन् । ५,१०६ मिटर उचाइसम्म पुग्ने कठिन मनास्लु पदमार्गमा उनले १५ दिने ट्रेक सम्पन्न गरेका हुन् । उनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, फरक क्षमता भएका समुदायका लागि प्रेरणादायी सन्देश पनि बनेको छ । चोपप्रसाद भन्छन्, 'नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रिय संघीय विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाबाट बहिरा युवाका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन हुने खबर पाएपछि म पनि सहभागी भएको थिएँ । तालिमअघि र तालिमपछि ट्रेकिङ अनुभवमा ठूलो फरक महसुस भयो । सिकाइले आत्मविश्वास बढायो, कठिन परिस्थितिमा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान दियो ।' तालिमपछि उनले सामाजिक सञ्जालमार्फत दुई जना फ्रेन्च पर्यटकसँग सम्पर्क गरेका थिए । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई लिएर मनास्लु सर्किट ट्रेकमा निस्किएका चोपप्रसादले यात्रालाई सफलतापूर्वक सम्पन्न गरे । ट्रेकका क्रममा उनलाई एक सहयोगीले साथ दिएका थिए । मनास्लु नेपालकै कठिन ट्रेकिङ रुटमध्ये एक हो । तर तालिमबाट प्राप्त ज्ञान, पर्वतीय सुरक्षा सम्बन्धी सीप र पर्यटकसँगको व्यवहारिक अभ्यासले यात्रा सहज बनाएको चोपप्रसादले बताएका छन् । 'यो ट्रेकपछि मभित्रको आत्मविश्वास अझै उचो भएको छ । अब नेपालको अन्य पदमार्गमा पनि ट्रेकिङ गर्ने इच्छा जागेको छ,' उनले भने । तालिममा पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, संकट व्यवस्थापन तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । चोपप्रसादको यात्राले बहिरा समुदायका लागि पर्यटन क्षेत्रमा सम्भावना विस्तार भइरहेको देखाउँछ । त्यही सम्भावनालाई व्यवहारमा उतारिरहेका अर्को उदाहरण हुन् छेरी शेर्पा । सोलुखुम्बुका छेरी शेर्पा लामो समयदेखि विदेशी पर्यटकलाई हिमाली पदमार्गमा यात्रा गराउँदै आएका छन् । उनी सांकेतिक भाषामार्फत पर्यटकसँग संवाद गर्छन् र भिडियो कलमार्फत ट्रेकिङ योजना बनाउनेदेखि यात्राको तयारीसम्म आफैं नेतृत्व गर्छन् । हालै उनले एक अमेरिकी नागरिक र उनकी बहिरा नेपाली श्रीमतीलाई लिएर गोक्यो, चोला पास (५,३७५ मिटर), एभरेष्ट बेस क्याम्प हुँदै लुक्लासम्मको ट्रेक सफलतापूर्वक सम्पन्न गराएका थिए । छेरी शेर्पाका अनुसार सांकेतिक भाषाले यात्रामा फरक किसिमको विश्वास र आत्मीयता निर्माण गर्छ । 'हामीले यात्राभर संकेतमार्फत संवाद गर्‍यौं । शब्दभन्दा व्यवहार र बुझाइ महत्वपूर्ण भयो,' उनले भने । पर्यटन क्षेत्रका सरोकारवालाले बहिरा युवाका लागि सुरु गरिएको ट्रेकिङ गाइड तालिमलाई नेपालको समावेशी पर्यटन विकासको महत्वपूर्ण पहलका रूपमा लिएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ४३ करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् भने ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन् । यस्तो अवस्थामा नेपालमा सुरु गरिएको यो पहल समावेशी पर्यटनको प्रभावकारी बनेकोमा दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले खुसी व्यक्त गरे । उनले भने, 'नेपालको पर्यटन अब केवल हिमाल र प्राकृतिक सौन्दर्यमा सीमित छैन । समावेशिता र समान अवसरको अभ्यासले पर्यटनलाई अझ मानवीय र व्यापक बनाउने संकेत देखिन थालेको छ ।' चोपप्रसाद र छेरी शेर्पाका अनुभवले पनि अवसर र तालिम पाए बहिरा समुदाय पनि पर्यटन क्षेत्रका सक्षम गाइड र प्रतिनिधि बन्न सक्छन् भन्ने देखाएको छ । उनीहरूले सरकार, पर्यटन व्यवसायी र सरोकारवालासँग बहिरा तथा फरक क्षमता भएका युवाका लागि थप रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।    

तेलको मूल्य बढ्दा विश्वभरका सेयर बजारमा गिरावट

काठमाडौं । विश्वभरका सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकासहित विश्वका प्रमुख सेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाको एस एन्ड पी ५ सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १.२ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क ५३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १.५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको सेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो । कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको सेयर मात्रै ४.४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको सेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै माइक्रोन टेक्नोलोजीको सेयर ६.६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको सेयर मूल्य अझै पनि करिब १५४ प्रतिशतले माथि रहेको बताइएको छ । विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्‍याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ । यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ । तेल ट्याङ्करहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ । तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जनाइएको छ ।

नेपाल प्रहरीका ४६ एसपी र १४९ डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एकै पटक ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा गरेको छ । शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले सरूवा सूची प्रकाशन गरेको हो । प्रहरीले एसपीतर्फ ४६ जनाको सरूवा गरेको छ ।  त्यस्तै डिएसपीतर्फ १४९ जनाको सरूवा सूची प्रकाशन गरेको छ ।  

वैदेशिक रोजगारले भन्यो : विभाग परिसरमा विरोध गर्नेलाई कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग परिसरमा विभिन्न माग राखेर भीडभाड गरेर सेवा प्रवाहमा अवरोध गर्नेलाई कारबाही गर्ने भएको छ ।  विभागले परिसरमा विरोध प्रदर्शन, हुलहुज्जत तथा गाली बेइजती गरे कानून बमोजिम फौजदारी कसुरमा कारवाही गरिने जानकारी गराएको छ ।  विभिन्न समूहहरुले हुलहुज्जत गरी विभागको सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको तथा त्यस्ता विषयले विभागको सुरक्षा सम्वेदनशीलता समेत बढेको विभागले जनाएको छ । विभागबाट प्रवाह हुने सेवासंग सम्बन्धित नरहेको व्यक्ति अन्य सेवाग्राहीको विषय लिई विभागमा आउने कार्य नगर्न विभागले अनुरोध गरेको छ  ।