पर्यटक भिसामा आएर अवैध कफी सप चलाउने जापानी नागरिक नियन्त्रणमा
काठमाडौं । भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । नेपालमा अनुमति नलिई छ वर्षसम्म गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरेको र स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको विभागले जनाएको छ । नेपाली महिलासँग विवाह गरेका नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने जापानी नागरिक, निजले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माइन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका थिए । सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत चार वर्षदेख ललितपुरको झम्सिखेलमासमेत कफी सप सञ्चालन गरिरहेका थिए । उक्त कफी सप दर्ताविना सञ्चालन गरिरहेको विभागले जनाएको छ । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले विदेशी लगानी स्वीकृत गरी व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्ने वा काम गर्ने भएमा ‘वर्किङ’ भिसा लिएको हुनुपर्छ । भिसाको उद्देश्यविपरीत क्रियाकलापमा संलग्न बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ । नेपालमा भिसाको उद्देश्य विपरित बसेका वा शंकास्पद गतिविधिमा संलग्न निज विदेशी नागरिकलाई अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । विभागले उक्त नागरिकको नाम भने खुलाएको छैन ।
मधेस प्रदेश सभा सदस्य पदमा राप्रपाकी ठाकुरले लिइन् सपथ
काठमाडौं । निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिता कुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ९१० बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई सोमबार (आज) मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए । जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै जनताको सेवा तथा प्रदेशको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले मधेस प्रदेशको विकास, सुशासन तथा जनताको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।
बीपी राजमार्गलाई दुई लेनको बनाइँदै, रातको समयमा आवागमन बन्द
काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ । हाल दुई स्थान चारसयबेँसी र बोक्सेकुनामा अस्थायी रुपमा पुरानै सडकबाट गाडी सञ्चालन गर्न सकिने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए। उनका अनुसार रोशी खोलामा बाढी आए पुरानै सडकबाट यातायात सञ्चालन गरिनेछ । सम्भावित जोखिम तथा निर्माणलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको योगेशले बताए । ‘सडक पूर्वाधार स्वरूप आरसीसी पर्खाल तथा प्लम पर्खाल निर्माण भइरहेको छ, वर्षा नहुँदा निर्माण कार्यमा निकै सहज भएको छ’, उनले भने । उनका अनुसार राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न हुने र राजमार्गबाटै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माणको गति अघि बढाइएको छ । यसअघि रोशी खोलामा बाढी आउने वित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ । सो पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कूल २५ प्रतिशत काम भएको छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चारमध्ये बाँकी एक खण्ड वर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक निर्माण जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माण गर्दैछ । क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको डिभिजनल प्रमुख योगशले जानकारी दिए । यस्तै, डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । गतवर्ष र यसवर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका स्थानमा संरचना बनाइ कालोपत्र गरिने जनाइएको छ । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, उनले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी-एवन-कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ । चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनःनिर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, नेपालथोकदेखि वर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनःनिर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ । क्षतिग्रस्त कूल २९ दशमलव ५ किमी सडकमध्ये वर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर - नेपाल’ बन्यो सिटिजन लाइफ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औं इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर नेपाल’ को उपाधि हात पारेको छ । इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंककमा आयोजित एक भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो । सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पु‍र्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको कम्पनीले जनाएको छ । कम्पनीले विगतका दिनहरूमा झैं आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने जनाएको छ।
अनुगमन सकारात्मक भए पनि सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिले नहेरियोस् : फेकन
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको प्रहरी अनुगमन तथा अनुसन्धान प्रक्रियालाई सकारात्मक रूपमा लिँदै सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिकोणबाट नहेर्न आग्रह गरेको छ । फेकनले विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र विद्यार्थीमैत्री बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको जनाएको हो । संघका अनुसार केही विकृति र अस्वस्थ अभ्यास देखिए पनि सम्पूर्ण क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्तिले इमानदार व्यवसायी र विद्यार्थी दुवैमा नकारात्मक असर पार्न सक्छ । विज्ञप्तिमा विदेश अध्ययनका क्रममा विद्यार्थीले बुझाउने शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत सम्बन्धित शैक्षिक संस्थामा पठाइने भएकाले धरौटी वा अतिरिक्त शुल्कका विषयमा भ्रम सिर्जना गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ । यद्यपि, कतिपय संस्थाले अनुचित गतिविधि गरेको गुनासो आएकाले आफ्ना सदस्य संस्थालाई निरन्तर सचेत गराउँदै सुधारका पहल गरिरहेको फेकनले जनाएको छ । संघले हाल भइरहेको अनुगमनका क्रममा कतिपय शैक्षिक परामर्श संस्थाले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको भए पनि सम्बन्धित निकायबाट समयमै नवीकरण वा स्वीकृति नपाउँदा समस्या भोग्नुपरेको दाबी गरेको छ । यस्तो अवस्थामा आवश्यक अध्ययन र समन्वयबिनै कडाइका साथ कारबाही गर्दा व्यवसायीहरू अन्यायमा पर्ने खतरा रहेको फेकनको भनाइ छ । फेकनले अनुसन्धान तथा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरूको व्यक्तिगत विवरण, तस्बिर र संस्थागत पहिचान सार्वजनिक गर्दा गोपनीयता, प्रतिष्ठा र मनोबलमा गम्भीर असर पर्ने भएकाले यस्ता विषयमा संवेदनशील बन्न प्रशासन र सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ । संघले शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय र व्यवसायीसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।
नेक्साले भन्यो– दर्ता नभएका कन्सल्टेन्सीलाई कारवाही हुनैपर्छ
काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ । संघले दर्ताविहीन रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही हुनु स्वाभाविक भए पनि सामान्य प्रशासनिक त्रुटिलाई समेत अपराधको रूपमा व्याख्या गर्दै सञ्चालक तथा प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु न्यायोचित नभएको जनाएको हो । संघले सोमबार विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक निर्देशन दिई सुधारको अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । हरेक सानो त्रुटिमा समेत नियन्त्रणात्मक कारबाही अघि बढाउँदा व्यवसायीमा निराशा बढेको र यसले शैक्षिक परामर्श व्यवसाय नै धराशायी हुने अवस्था सिर्जना हुन सक्ने नेक्साको भनाइ छ । विज्ञप्तिमा शिक्षा मन्त्रालयलाई कन्सलटेन्सी दर्ता प्रक्रिया सरल, सहज र व्यवहारिक बनाउन आग्रह गरिएको छ । दर्ताबिना सञ्चालन हुने कार्यलाई निरुत्साहित गर्न स्पष्ट र प्रभावकारी मापदण्ड आवश्यक रहेको संघले जनाएको छ । नेक्साले अनुसन्धान प्रक्रिया अघि बढाउँदा निष्पक्षता अपनाउन पनि सरकारसँग माग गरेको छ । अनुसन्धानपछि सबुत प्रमाणका आधारमा दोषी देखिएकामाथि मात्रै पारदर्शी ढंगले कारबाही गर्नुपर्ने संघको भनाइ छ । संघले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा उत्तरदायी बनाउन शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने
काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । एमाले स्रोतका अनुसार पार्टीको संगठित सदस्यता नवीकरण अभियानअन्तर्गत भण्डारीको सदस्यता पनि नवीकरण गर्न लागिएको हो । राष्ट्रपति बनेपछि सक्रिय पार्टी राजनीतिबाट अलग रहेकी भण्डारीको सदस्यता नवीकरणलाई एमालेभित्र चासोका साथ हेरिएको छ । पार्टी नेताहरूले भण्डारी एमालेको पुरानो तथा वैचारिक रूपमा आबद्ध नेता भएकाले संगठनात्मक प्रक्रियाअनुसार सदस्यता नवीकरण गर्न लागिएको बताउँछन् । यस विषयमा औपचारिक निर्णय भने सम्बन्धित पार्टी कमिटीबाट हुने जनाइएको छ ।
नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार (भोलि) देखि चीनको दुई दिने आधिकारिक भ्रमणमा जाँदैछन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत शनिबार यसबारे जानकारी दिँदै यो राजकीय भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको बताएका थिए । क्रेमलिनले पनि यसअघि नै एक विज्ञप्ति जारी गर्दै पुटिनको चीन भ्रमणको पुष्टि गरिसकेको थियो । यसअघि ट्रम्पले मे १३ देखि १५ सम्म चीनको आधिकारिक भ्रमण गरेका थिए, जुन भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । किनभने करिब एक दशकमा कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण थियो । बेइजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङ यद्यपि यस भ्रमणमा ट्रम्प अमेरिकका शीर्ष प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगै पुगेका थिए । तर, भ्रमण सकिएपछि पनि कुनै सम्झौताको बारेमा घोषणा भने भएन । यसको ठीक तीन दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्ने, चीन र रुसबीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे कुरा गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने उल्लेख गरिएको छ । दुवै देशले एउटा संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाएका छन् । यसबाहेक चीन र रुसका राष्ट्रप्रमुखहरू ‘चीन–रुस शिक्षा वर्ष’ को उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास रुसले पुटिनको चीन भ्रमण असल छिमेकी र मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर भएको २५औं वर्षगाँठको अवसरमा हुन लागेको जनाएको छ । यो सन्धि सन् २००१ मा मस्कोमा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन और पुटिनबीच भएको थियो । पुटिन र सी जिनपिङबीच यसअघिको भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो, त्यति बेला दुवैले सांघाई सहयोग संगठन (एससीओ) को वार्षिक शिखर सम्मेलनमा सहभागी भएका थिए । त्यसपछि उनीहरू जापानविरुद्धको प्रतिरोधात्मक युद्धमा विजयको ८०औं वर्षगाँठको अवसरमा सेप्टेम्बर ३ मा आयोजित सैन्य परेडमा सामेल हुन बेइजिङ गएका थिए । उक्त परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र इरानी राष्ट्रपति मसूद पेजेसकियान पनि उपस्थित थिए । गत मे महिनामा सी जिनपिङले पनि पुटिनको निमन्त्रणामा मस्कोको चार दिने राजकीय भ्रमण गरेका थिए र सोभियत संघको ‘महान देशभक्तिपूर्ण युद्ध’ मा विजयको ८०औं वर्षगाँठको समारोहमा भाग लिएका थिए । राष्ट्रपति बनेपछि सी जिनपिङको यो रुसको ११औं भ्रमण थियो र रुस नै उनले सबैभन्दा बढी भ्रमण गर्ने देश हो । त्यस समयमा सी जिनपिङले भाषण दिँदै भनेका थिए कि चीन र रुस ‘यस्ता असल छिमेकी हुन् जसलाई अलग गर्न सकिँदैन, यस्ता साँचो मित्र हुन् जसले सुख–दुःख बाँड्छन् र यस्ता असल साझेदार हुन् जो एक(अर्काको सफलतामा भागीदार बन्छन् ।’ रोयटर्सका अनुसार पुटिन र सी जिनपिङले पछिल्ला केही वर्षहरूमा ४० पटकभन्दा बढी भेट गरिसकेका छन् । दुवै नेताले फेब्रुअरी २०२२ मा ‘असीमित’ रणनीतिक साझेदारीमा पनि हस्ताक्षर गरेका थिए, जुन रुसले युक्रेनमाथि आक्रमण गर्नु ठीक अघि भएको थियो । रुस-युक्रेन युद्ध सुरु भएपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र एक्लोपन बढ्यो, तर चीनले न त रुसको सार्वजनिक आलोचना गर्यो न त प्रतिबन्धहरूको समर्थन नै गर्यो। दुवै देशले राजनीतिक र आर्थिक सहयोग जारी राखे र चीनमाथि रुसको आर्थिक निर्भरता लगातार बढ्दै गयो । चीन र रुसले गत सेप्टेम्बरमा मंगोलिया हुँदै ‘पावर अफ साइबेरिया २’ प्राकृतिक ग्यास पाइपलाइन निर्माण सुरु गर्नका लागि कानुनी रूपमा बाध्यकारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए र अन्य दुई मार्गबाट प्राकृतिक ग्यास आपूर्ति बढाउन सहमतिसमेत जनाएका थिए । रुसी सरकारी सञ्चारमाध्यम आरटीका अनुसार रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन सन् २०२६ मा दुई पटक चीन जाने अपेक्षा गरिएको बताएका छन् । नोभेम्बरमा शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनका लागि पनि उनको अर्को भ्रमण तय भइसकेको छ । चीन–अमेरिका बैठकमा रुसको नजर रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले चीन र अमेरिकाबीच ‘खुट्टा राख र राज गर’ को रणनीति नअपनाउने बताएका छन् । उनले भने, ‘यदि चीन र अमेरिकाबीच कुनै सम्झौता भएको छ वा हुन गइरहेको छ भने यो हाम्रा चिनियाँ मित्रहरूको हितमा छ र हामी यसमा खुसी हुनेछौं ।’ ‘चीन र रुसको सम्बन्ध परम्परागत सैन्य र राजनीतिक गठबन्धनभन्दा पनि बढी गहिरो र बलियो छ । यो एउटा नयाँ सम्बन्ध हो जसले अन्य कुनै पनि कारकभन्दा बढी वैश्विक राजनीतिक र आर्थिक स्थिरता सुनिश्चित गर्न सक्छ,’ उनले थपे । पुटिनको चीन भ्रमणको समयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ । ‘साउथ चाइना मर्निङ पोस्ट’ ले स्रोतहरूलाई उद्धृत गर्दै यो पुटिनको नियमित भ्रमण भएको र कुनै ठुलो सैन्य परेड वा भव्य स्वागत समारोहको अपेक्षा नगरिएको जनाएको छ । साउथ चाइना मर्निङ पोस्टले चीनले एकै महिनामा दुई देशका नेताहरूको आतिथ्य गरिरहेको पहिलो पटक भएको पनि जनाएको छ । यसले चीनले दुवै देशसँगको सम्बन्धलाई सन्तुलित राख्न प्रयास गरिरहेको बुझिन्छ । साथै ऊ कठिन मोडबाट गुज्रिरहेको विश्वमा आफूलाई एउटा महत्त्वपूर्ण शक्तिका रूपमा स्थापित गर्ने कोसिस गर्दैछ । राजनीतिक संस्कृतिका विद्वान एवं समसामयिक मामिलाका टिप्पणीकार हुआङ वेइगुओ चीन, अमेरिका र रुसको सम्बन्धमा फरक प्रकारको शक्ति प्रतिस्पर्धा चलिरहेको र ट्रम्पको चीन भ्रमणबाट चीन–रुस सम्बन्ध प्रभावित नहुने उल्लेख गर्छन्। उनले भने, ‘सतही रूपमा अमेरिका र रुस विरोधी देखिन्छन्, तर अमेरिका रुस–युक्रेन युद्धमा भूमिका खेल्न चाहन्छ र आफूलाई शान्ति स्थापना गर्ने देशका रूपमा प्रस्तुत गर्न सक्छ ।’ उनको विचारमा यी तीन देशहरूमा यतिबेला चीनसँग सबैभन्दा बढी विकल्पहरू छन् । हुआङ वेइगुओले भने, ‘ट्रम्प पुनः सत्तामा आएदेखि अमेरिका र युरोपेली देशहरूको सम्बन्ध तनावपूर्ण भएको छ । हामी देखिरहेका छौं कि युरोपेली देशहरू पनि लगातार चीन भ्रमण गरिरहेका छन् र केही हदसम्म कम टकरावको सम्बन्ध कायम राखिरहेका छन् ।’ अपेक्षाकृत अराजक वातावरणमा चीनले कूटनीतिमार्फत केही पश्चिमी देशहरूसँग सम्बन्ध स्थापित गर्न सक्ने र ‘विरोधी पक्षका सहयोगीहरूलाई आफ्नो पक्षमा ल्याउन सक्ने’ उनको ठहर छ । ट्रम्पको भ्रमणमा चासो अर्कोतर्फ ट्रम्पले चीन भ्रमण पूरा गरेपछि सी जिनपिङलाई सेप्टेम्बरमा ह्वाइट हाउस आउन निमन्त्रणा दिए । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सी जिनपिङ यसै वर्ष अमेरिका जाने पुष्टि गरेका छन् । पुटिनको चीन भ्रमणको खबर ट्रम्पको चीन भ्रमण सकिएको २४ घण्टाभन्दा कम समयमै बाहिर आएको हो र पुटिनको भ्रमण ट्रम्पको भ्रमणको एक हप्तापछि हुँदैछ । रुसी सरकारी समाचार एजेन्सी तासले राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै क्रेमलिनले अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणसँग सम्बन्धित मिडिया रिपोर्टहरूलाई नजिकबाट नियालिरहेको र रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणका क्रममा यसबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अपेक्षा गरेको जनाएको छ । उनले आगामी चीन(रुस बैठकमा दुवै पक्षले चीन र अमेरिकाका नेताहरूबीच हालै भएको कुराकानीबारे पनि विचार आदानप्रदान गर्ने जानकारी दिए । पेस्कोभले भने, ‘विश्वका दुई ठुला अर्थतन्त्रका शीर्ष नेताहरूबीचको सीधा संवादले स्वाभाविक रूपमा रुससहित सबै देशहरूको ध्यान आकर्षित गर्नेछ ।’ (बीबीसीबाट अनुदित तथा सम्पादित) इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति सुनमा ब्रेक, रुपैयाँमा दबाब