प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर धम्की दिने भण्डारीलाई कारबाही गरिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नाम दुरुपयोग गरेर धम्की दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने भएको छ । 

दैलेख दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषामा धाकधम्की दिएका थिए । अडियो रेकर्डप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आपत्ति जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

सुशासनको साझा महाअभियानमा कुनै पनि प्रकारको सम्झौता नहुने र विधिको शासनलाई चुनौती दिने जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता कार्यालयले गरेको छ ।

कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्री तथा सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न र सोको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन कार्यालयले अनुरोध गरेको छ ।  

‘यस्ता प्रकृतिका सम्भावित दुरुपयोग र भ्रमबाट बच्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण (भेरिफिकेसन) गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीहरूमा विशेष आग्रह गरिन्छ,’ प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Share News