विकासन्युज

संविधान नेपाली जनताको लामो संघर्षको दस्तावेज हो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो संघर्ष र बलिदानको दस्तावेज हो भनेकी छन् । क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो संघर्ष गर्नुपरेको धारणा राखिन् । क्यानाडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा क्यानाडामा छिन् । मन्त्री डा राणाले भनिन्, ‘नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागितामा बनेको समावेशी र प्रतिनिधिमूलक संविधानसभाले निर्माण गरेको हो । त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण भएको संविधान हो ।’ “यसकारण पनि यो संविधानले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक भावनाको प्रतिनिधित्व गर्दछ र जसले समावेशी र लोकतान्त्रिक समाज निर्माणमा सहयोग पुर्याउँदछ”, परराष्ट्रमन्त्री डा राणाले बताइन् । विश्वव्यापी रुपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्वपूर्ण पक्ष हो भन्दै मन्त्री डा राणाले यो संविधान शान्ति र समावेशिताको प्रतीक रहेको उल्लेख गरिन् । नेपालको यो संविधानले नागरिक अधिकारको संरक्षण गर्दै कानुनी राज्यको मूल्यमान्यताअनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री डा राणाले स्पष्ट गरिन् । परराष्ट्रमन्त्री डा राणाले यो संविधानले मुलुकमा पछिपरेका तथा उपेक्षित अवस्थामा रहेका हरेक समुदायका नागरिक तथा महिलालाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराई उनीहरूको कानुनी अधिकार सुनिश्चितताको व्यवस्था गरेकाले विश्वकै लोकतान्त्रिक संविधानको एक दस्तावेज भएको उदाहरण पनि पेस गरिन् । उनले भनिन्, ‘मलाई लाग्छ हाम्रो संविधान विश्वकै एक समावेशी संविधान मध्येको एक हो, जसले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।’ यो संविधान कार्यान्वयनमा आएको करिब एक दशकमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता राज्यका उच्च निकायमा महिला पुग्न सफल भएको दृष्टान्त पेस गर्दै मन्त्री डा राणाले देशका निजामती कर्मचारी, सुरक्षा निकाय एवं अन्य क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गरिन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनको अभियानमा क्यानाडा सरकारले गरेको सहयोगको पनि सराहना गरिन् । प्रजातन्त्र, मानवधिकार र कानुनी शासनजस्ता आधारभूत विषयहरूमा दुवै देशको समान धारणा रहँदै आएको पनि उनले बताइन् । सो राष्ट्रिय दिवस समारोहमा क्यानाडाली र नेपाली समुदायका नागरिकहरू सहभागी थिए । क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले मन्त्री डा राणासहित समारोहमा सहभागीहरूलाई स्वागत गरेका थिए।

संसदीय समितिले गर्‍याे १६ देशका लागि प्रस्तावित राजदूतको नाम पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरूको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्ययोजना भनाइ सुनेर निर्णय लिइएको बताइन् । समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरू अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको उनले बताइन् । सभापति न्याैपानलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेकाे बताइन् । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताए । समावेशिता अझै अपूरो रहेको सांसदहरूको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको उनले बताए । उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको पनि बताए ।

अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माण गरिने

बायाँबाट क्रमश: उपप्रधान एवं अर्थमन्त्री विष्णु पाैडेल र स्वास्थ्यमन्त्री प्रदीप पाैडेल काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ । परामर्शदाताले नेपालको आवश्यकताअनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ । अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्नेगरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए । स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए । बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरूको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो। २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

आजबाट सञ्चालनमा आयो चाडपर्वलक्षित सुपथ मूल्य पसल

काठमाडौं । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । दशैंतिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्‍याइने कम्पनीले जनाएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो रु पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो रु सात छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो रु १० छुट दिइने कम्पनीले जनाएको छ । पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यन्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट व्यवस्थापन गरेको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका तथा तीन सय च्याङ्ग्रा काठमाडाैं ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार घटस्थापनादेखि नवमीको दिनसम्म खसीबोका तथा च्याङ्ग्रा बिकी गरिनेछ । नेपालीको प्रमुख चाड दशैं, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावण तयार गर्ने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनसँगै चाडपर्वका समयमा अस्वाभाविक बजार मूल्य नियन्त्रणमा सघाउ पुग्ने सरकारको विश्सास छ ।

दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बिहीबारको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र  प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले भने, ‘कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि पाँच हजार सुरक्षाकर्मी परिचालन गर्नका लागि व्यवस्थापन मिलाएका छौं । कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे कारबाही हुनेछ ।’ दरबारमार्गमा आज साँझ ४ बजेदेखि ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरिएको छ । उक्त कन्सर्टको सुरक्षा कमान्ड जिल्ला प्रहरी काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले गर्ने तथा कन्सर्ट स्थलमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । आज बेलुकी ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रसालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

खुल्यो धरहरा, दैनिक ६ सयले चढ्न पाउने

धरहरा । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज काठमाडौं । धरहरा खुलेको छ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे । ०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छेउमा अर्काे धरहरा बनाइएकाे हाे । साेही धरहरा सर्वसाधारणका लागि खुलेको हाे । संविधान दिवसकाे अवसर पारी धरहरा खुला पारिएकाे हाे । सहरी विकास तथा भवन निर्माण विभागले सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउने जनाएकाे छ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउने जनाइएकाे छ । यसैगरी, प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । ०७५ को कात्तिकमा धरहरा पुन:निर्माण सुरु भएकाे भएपनि पूर्णरूपमा अझै बनिसकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७८ काे वैशाखमा धरहरा नबन्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । धरहरा २ वर्षमै निर्माण सम्पन्न हुनेगरी पुन: निर्माण सुरु भएको थियो । नवनिर्मित धरहरा अहिले ४२ रोपनीमा फैलिएकाे छ । पहिला धरहरा पाँच रोपनी क्षेत्रफलमा फैलिएको थियाे । धरहराबाट खिचिएका तस्बिर   

४८ लाख खर्चेर बनेको जोमसोम बसपार्क सञ्चालनमा

म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो । यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिए । ‘पहिलो चरणमा सार्वजनिक यातायातका साधनहरु बसपार्कभित्र पार्किङ गराउने र छुटाउने व्यवस्था मिलाएका छौँ’, अध्यक्ष लालचनले भने, ‘बजारभित्र यात्रु चढाउने र ओराल्ने गरी निजी तथा पर्यटक सवारीसाधनलाई पनि अनिवार्य बसपार्कको प्रयोग गर्नुपर्ने नियम लागू गराएका छौँ ।’ गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई २० लाख रुपैयाँमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उनले जानकारी दिए । सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उनले बताए । जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले ४८ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एक सय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ । सहरी विकास तथा भवन आयोजना बागलुङले दुई करोड ५० लाख रुपैयाँको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एक सय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ । विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भई गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । ३० लाख रुपैयाँ लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताए । बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा २५ रुपैयाँ, हलुका सवारीसाधनलाई १५ रुपैयाँ र मोटरसाइकललाई १० रुपैयाँका दरले पार्किङ शुल्क तोकिएको छ । रासस

इतिहासलाई निरन्तरता दिने वीरेन्द्रभक्त  

काठमाडौं । साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जिब्रो छड्ने जात्रा प्रत्यक्ष रूपमा हेर्न नजिकैको घरको झ्यालबाट टाउको बाहिर निकालेर निकै उत्सुकताका साथ जिब्रो छेडेको हेर्न प्रतीक्षा गरिरहेकाे देखिन्थ्यो । राति ८ बजे बाँसको चिम्टी बजाउँदै एक हूल मानिस हातेसाङ्लो बनाएर दिगु भैरव अगाडिको मञ्चमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो । एकछिनपछि कर्मी नाइकेलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको पमानायो ७१ वर्षीय श्यामकाजी पमा श्रेष्ठ परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आए । त्यसपछि द्विगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–५ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठलाई परम्परागत पोसाक लगाएर डबलीमा ल्याइयो । यहाँका बासिन्दाले जयजयकार गरे । जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको १० इन्च लामो तीन मुख भएको सुइरो कर्मिनायले गए रातिको ८ बजे बालकरामको जिब्रो छेडिदिए । टाउकामा बाँधेको कपडामा सियो अड्काएर जिब्रो छेडेको सुइरोको तीनवटा टुप्पोलाई जिब्रोमै घुमाएपछि द्विगुभैरव अगाडिको डबलीमा हजारौंको जयजयकार गुञ्जियो । त्यसपछि सबैलाई नमस्कार गर्दै चन्द्राकारको भ्वाय् अर्थात् ४० किलो तौलको १७ वटा दीप रहेको महादीप बोकेर निस्किए वीरेन्द्रभक्त । उनलाई स्थानीय जात्रा व्यवस्थापन समिति, परिवार एवं टोलवासीले साथ दिइरहे । महादीप बोकेर उनले सुरु गरेकाे थिमिदेखि पशुपतिनाथसम्मको अविचलित यात्रा सफल पारेर इतिहासलाई निरन्तरता दिए । जात्रालाई विश्वव्यापी रूपमा ‘ब्रान्डिङ’ गर्न सकिन्छ: मन्त्री पाण्डे  पहिलोपटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुरथिमिको द्विगुली पुगेका मन्त्री पाण्डेले यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौं पर्यटक भित्र्याउन सकिने बताए । उनले स्थानीय जात्रा व्यवस्थापन समिति र नगरपालिकासँग भने, ‘नेपालको संस्कृतिमा पर्यटन मिसाउनु लैजानसके विकास सहज हुन्छ । यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ । संस्कृति र पहिचानलाई जीवन्त बनाएर संरक्षण गर्नु आवश्यक छ ।’ मन्त्री पाण्डे, प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जात्रास्थलमै पुगेर जिब्रो छेडेको प्रत्यक्ष अवलोकन गरेका थिए । वीरेन्द्रभक्तले दिए इतिहासलाई निरन्तरता  वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ण गणेश, सिद्धिकाली मन्दिर पुगे । निगु पुखुः, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामङ्गल, खहरेचोक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको सडक, गुह्येश्वरी मन्दिर हुँदै पशुपतिनाथ मन्दिर प्रवेश गरी पशुपतिनाथको परिक्रमा गर्दै दर्शन गरे । मध्यराति पशुपति मन्दिरमा वीरेन्द्रभक्तको जिब्रोमा मन्त्री पाण्डेले चाँदीको कचौरामा रहेको तेल सुनको चम्चाले झिकेर हालिदिए । पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कर्दै सानोथिमिस्थित तीनधारा ब्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भीमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कू हुँदै क्वालाखु हुँदै सयौं स्थानीयलाई अगाडि पछाडि लगाएर जय जयकार गर्दै १७ किलोमिटरको यात्रा पार गर्दै थिमि आएर बालकुमारी मन्दिरमा सियो झिकेर नित्यनाथको माटाे  जिब्रोमा राखेपछि मध्यराति करिब २ः३० बजे जात्रा सम्पन्न गर्दै वीरेन्द्रभक्तले थिमिको इतिहासलाई निरन्तरता दिए । उनको खाली खुट्टाको पैदल यात्रालाई जात्रा व्यवस्थापन समिति, परिवार तथा आफन्त, टोलवासी र मध्यपुरथिमिका सयौंले पशुपति मन्दिरसम्म जय जयकार गर्दै पैदल यात्रालाई साथ दिए । जात्रामा हौसला प्रदान गर्न मध्यपुरथिमि प्रमुख सुरेन्द्र श्रेष्ठदेखि उपप्रमुख विजयकृष्ण श्रेष्ठले समेत थिमिदेखि पशुपतिसम्म नै पुगेर साथ दिए । लोप भइसकेको जात्रालाई थिमिवासीले दिए पुनर्जीवन   यसअघि २०७५ मा जिब्रो छेडाएर आफ्नो टोल घुमेका बालकरामले गत वर्ष दोस्रोपटक जिब्रो छेडाएर इतिहास रच्न सफल भएका थिए । यस वर्ष वीरेन्द्रभक्तले आफ्नाे अठाेट पूरा भएकाे बताए । उनले भने, ‘थिमीको ऐतिहासिक यो जात्रालाई जीवन्त दिने अठोट गरे थिमिको इतिहासलाई निरन्तरता दिने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने अठोट गरेको थिएँ, त्यो अठोट पूरा गरें । मेरो आँटलाई सबैको सहयोग साथ र पशुपतिनाथ तथा बालकुमारीको शक्तिले मेरो यात्रा पूरा भयो ।’ देशमा आउन सक्ने कुनै पनि सङ्कट, प्राकृतिक प्रकोप, डर, त्रास, भय रोक्दै पुर्खाले सिर्जेको संस्कृतिलाई बचाउन आफूले जिब्रो छेडेर पशुपतिसम्मको यात्रा पूरा गरेको उनले बताए । पुर्खाले पूर्वमा काभ्रे पनौतीसम्म, उत्तरमा चाँगुनारायण मन्दिरसम्म र पश्चिममा पशुपतिनाथ मन्दिरसम्म जिब्रो छेडेर महादीप बोकेर गएको भन्ने सुन्दै आएको भए पनि यसपटक आफूले पशुपतिसम्मको यात्रा पूरा गरेर पुर्खाले गरेका कठिन यात्रा सम्भव थियो भन्ने सन्देश दिन पनि सफल भएको उनको भनाइ छ । दुई दशक रोकिएर लोपोन्मुख अवस्थामा पुगेको यो जात्रालाई २०७४ सालमा उहाँ वीरेन्द्रभक्तले नै जिब्रो छेडाएर पुनर्जीवन दिए र तर त्यो वर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा नगरी थिमि परिक्रमा गरिएको थियो । त्यसपछि २०७५ सालमा बालकरामले जिब्रो छेडाए । विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा २०७९ साल पुनः वीरेन्द्रभक्तले दोस्रो पटक जिब्रो छेडाएर पुनः निरन्तरता दिए। यसवर्ष तेस्रो पटक उनले जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म र पशुपतिदेखि मध्यपुरथिमिसम्मको यात्रा पनि पुरा गरे । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले वीरेन्द्रभक्तले कठिन यात्रा पुरा गरेको बताउँदै भने, ‘त्यति ठूलो सियोले जिब्रो छेडाएर काठ र बाँसबाट बनेको लहरै बलेको १७ वटा दीपसहितको करिब ४० किलोको महादीप बोकेर पशुपतिसम्म पुगेर फर्किनु कम चुनौती र कठिन काम होइन, यसलाई गतवर्ष बालकराम र यसवर्ष बीरेन्द्रभक्तले पूरा गरेर थिमिको शान उच्च राख्न सफल हुनुभयो । उहाँको यो साहसले भावी पुस्तालाई जात्राप्रति प्रेरित गर्ने र नयाँ पुस्तामा जात्रालाई निरन्तरता दिन आँट प्रदान गर्ने विश्वास लिएको छु, नगरपालिकाले यस्ता मूर्त–अमूर्त कला, संस्कृतिको संरक्षणमा नियमित सहयोग गर्नेछ ।’ नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने सफल भएको बताए । नेपालमा मात्रै नभएर विश्वमै अनौठो मानिने यो जात्रालाई यहाँको ठूलो विशेषता हो भन्दै उपप्रमुख श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि यो जात्रालाई निरन्रता दिन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । यस्तो छ पौराणिक कथन: परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दामा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिचासले दुःख दिए । यस्तो भयलाई पार लाउन एक तान्त्रिकले आराध्येदेवी श्री बालकुमारी माईको साधना गरी उनको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो । ती साहसिक व्यक्तिले आफ्नो बस्तीबाट भूत, प्रेत, पिचास भगाउन र बस्ती नजिकका अर्को बस्तीहरू चाँगुनारायण, गुह्येश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिऊन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महादीप बोकेर जाने गरेको पौराणिक कथन रहेको जात्राका नाय पमा श्यामकाजी पमा श्रेष्ठ बताउँछन् । यो ऐतिहासिक जात्रा २०२६ सालदेखि लोप भइसके पनि २०५० सालदेखि मध्यपुरथिमि चोडेटोल निवासी कृष्णनानी श्रेष्ठले तीनपटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गर्नु भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ बताउँछन् । जिब्रो छेड्ने जात्रामा थुप्रै व्यक्तिलाई आफैँले भोज खुवाउनुपर्ने सबै खर्च व्यवस्थापन आफैले गर्नुपर्दा हुने आर्थिक अभावले जात्रा लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ । विसं २०७४ देखि स्थानीय युवाहरु, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येँया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुरथिमि–४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले २०७४ र २०७९ सालमा जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएको उनले जानकारी दिए । जात्राका लागि एक महिनाअगाडि नै नातु (सुइरो) बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ । नकर्मीले तीन तिर भएको नातु बनाई एक महिना शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ । त्यसपछि जिब्रो छेड्नुभन्दा आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) दिइन्छ । जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर ल्याएको राज खड्गलाई जात्रामा डबलीमा राखिन्छ । इन्द्रजात्राको दिनमा बालकुमारीमा रातो भालेको बलि दिएर पूजा गरी भोज खाइन्छ । येँया पुन्हीको दिनमा दुतानं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिनु पर्छ । त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेसँगै जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । जात्राको दिन सयौं जनमानससामु जामनः गुरु, नायःपमा, नकर्मी नाइकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुइरो कर्मी नायाले जिब्रो छेडेर महादीप बोक्न लगाई उहाँको इच्छाअनुसार नगरपरिक्रमा गराउने प्रचलन छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिन्छ । मन्दिर परिसरमा ठोकेको सुइरोलाई हेर्दा यो जात्रा करिब ३५० वर्षभन्दा पुरानो हो भन्ने यकिन गर्न सकिने नाय पमा श्यामकाजी बताउँछन् । वर्षाैं पहिले एकै पटक १७ जना व्यक्तिले, एकै परिवारको छ जनालेसम्म जिब्रो छेडेको पाइएको उहाँ बताउँछन् । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने, भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोक्ने र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ । जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशदीप बोक्ने मानन्धरहरु नै हुनुपर्ने प्रचलन छ । यस्तै, नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेको छ । मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रासँग यो जात्रा मिल्दोजुल्दो जात्रा भए पनि यसको बाटो भने फरक रहेको छ ।