१ सय रुपैयाँमै आँखुखोला जलविद्युतको साढे १७ लाख कित्ता किन्ने मौका
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले असोज ११ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६ गतेसम्म १ सेयर बराबर नयाँ १.५ सेयर (१ः१.५) को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज २० गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै, २४ घण्टामा यस्तो रहनेछ
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोरियन १ सय बराबर १०.१० रुपैयाँ, डलरको मूल्य घट्दा युरो र पाउण्डको बढ्यो
काठमाडौं । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३.६० रुपैयाँ र बिक्रीदर १३४.२० रुपैयाँ कायम भएको छ । बिहीबार यस मुद्राको मूल्य एकको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम थियो । युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४९.०७ रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ कामय भएको छ भने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ निर्धारण भएको थियो । बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कामय भएकामा आज एकको खरिदर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ । यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.६५ रुपैयाँ र बिक्रीदर १५८.३६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.१५ रुपैयाँ र बिक्रीदर ९१.५६ रुपैयाँ निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८.५७ रुपैयाँ र बिक्रीदर ९९.०१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.३९ रुपैयाँ र बिक्रीदर १०३.८६ रुपैयाँ कायम भएको छ । जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६० रुपैयाँ र बिक्रीदर ३५.७६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ कायम भएको छ । थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ कायम छ । साथै युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८८ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.१० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१६ रुपैयाँ र बिक्रीदर १३.२२ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९९ रुपैयाँ र बिक्रीदर २०.०८ रुपैयाँ छ । हङ्कङ डलर एकको खरिददर १७.१४ रुपैयाँ र बिक्रीदर १७.२२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.९५ रुपैयाँ र बिक्रीदर ४३९.९१ रुपैयाँ छ भने बहराइन दिनार एकको खरिददर ३५४.४९ रुपैयाँ र बिक्रीदर ३५६.०८ रुपैयाँ कायम भएको छ ।
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्मिनेछन् ।
पोखरामा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल हुने, ६ करोड ८२ लाख खर्च हुने अनुमान
काठमाडौं । नेपालमै पहिलो पटक पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल आयोजना हुने भएको छ । क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोना गर्न लागिएको बिहीबार काठमाडाैंमा कार्यक्रम आयाेजना गरेर जानकारी दिइएकाे हाे । बलुन नेपाल प्रालिले आयाेजना गर्न लागेकाे महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा हुनेछ । नेपाल बलुन प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए । ‘पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ,’ अध्यक्ष बाडेले भने । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा रहेकाे उनकाे भनाइ छ । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास व्यक्त गरिएकाे छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दै खुसी व्यक्त गरे । उनले भने, ‘एअर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरु भएका छन्, हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरे पनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन्, तसर्थ पोखरामा आयोजना हुन लागेको अन्तर्राष्ट्रय बलुन फेस्टिभलले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन नै टेवा पुर्याउनेछ ।’ विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् । उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ । त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन् । आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब ३ सय वटा गैर व्यावसायिक उडान हुनेछन् । फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । फेस्टिभल आयोजना गर्नका लागि ६ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीलगायतका हिमश्रंखलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ । विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पनन ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।
ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने, संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले यही असोज ११ गते (सेप्टेम्बर २७ तारिखका दिन) महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोष्टको सहकार्यमा आयोजना हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । विगतमा कर्मचारी सञ्चय कोष अगाडि मात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा केन्द्रित रहनेछ । जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुरकला, पर्यटन मार्गमा चङ्गाहरूले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा साङ्गीतिक दबूः, टयाटु उत्सवलगायत कार्यक्रम गरिने परिषद्ले जनाएको छ । ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक ढङ्गले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताए । उनले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरे । रेष्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवका लागि करिब रु १८ लाख खर्च लाग्ने तथा १० हजार बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पर्यटकीय याम सुरु भएका सन्दर्भमा महोत्सवलगायत गतिविधिले मुलुकको पर्यटन बढोत्तरीमा टेवा पुग्ने जनाइएको छ ।
धरहरा खुलेको दिन आज चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ । सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए । ‘अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै एक हजार दुई सय जानाले धरहरा चढेको आधिकारिक रेकर्ड छ,’ उनले भने । उनका अनुसार कतिपय मानिसहरू बिना टिकट नै धरहरा चढेका थिए । उनले भने, ‘आज अत्यधिक भिड भयो । भोलिदेखि व्यवस्थितरूपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौं ।’ सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो । विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको समुद्घाटन भएको थियो । धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ । विसं १८८२मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो । त्यसैगरी, विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता पोखरामा हुँदै
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । प्रतियाेगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका १६ जना राष्ट्रियस्तरका बाइक रेसिङ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएकाे छ । समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टसजस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुग्ने छ। असोज ४ गते प्राक्टिस राउन्डको आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुने आयाेजकले जनाएकाे छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई कप र नगद पुरस्कार प्रदान गरिनुका साथै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। प्रतियाेगिताका चार उत्कृष्ट खेलाडीहरूले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउने आयाेजकले जनाएकाे छ । खेलकुद मन्त्रालयसँगको सहकार्यमा याे प्रतियोगितामा हुन लागेकाे हाे ।