स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार, अब सातैबाट प्रदेश सेवा दिने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सातै प्रदेशमा पुगेकाे छ । शनिबार कर्णाली प्रदेशकाे वीरेन्द्रनगर र आइतबार सुदूरपश्चिमकाे धनगढीमा एकैसाथ दुईवटा नयाँ शाखाकाे उद्घाटन भएकाे हाे । उक्त शाखा कार्यालयसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सातैवटा प्रदेशमा बिस्तार भएकाे छ । नेपाल राष्ट्र बैंककाे एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा शाखा कार्यालय खाेल्नुपर्ने हुन्छ । दुवै शाखाकाे उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयहरूकाे स्थापनाले वीरेन्द्रनगर र धनगढीकाे आर्थिक विकासका लागि थप अवसर सिर्जना गर्ने विश्वास लिएकाे छ । नेपालमा एक मात्र अन्तराष्ट्रिय बैंककाे रूपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न सेवा प्रदान गर्दै आइरहेकाे छ ।
यी हुन् एनपीएलका ८ महँगा खेलाडी, कुन टिममा को परे ?
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिगको अक्सन आइतबार भइरहेको छ । अहिलेसम्मको अपडेटअनुसार ८ वटा खेलाडी १५ लाखमा बिक्री भएका छन् । अहिलेसम्म पाँचवटा टिमले ए ग्रेडका खेलाडी १५ लाखमा पाएका छन् । यी हुन् १५ लाखमा बिक्री हुने खेलाडीः प्रतिश जिसी– १५ लाख– विराटनगर किङ्स लोकेश बम– १५ लाख– विराटनगर किङ्स सूर्य तामाङ– १५ लाख– लुम्बिनी लायन्स विवेक यादव– १५ लाख– लम्बिनी लायन्स अनिल कुमार साह– १५ लाख– जनकपुर बोल्डस् ललित नारायण राजबंशी– १५ लाख– जनकपुर बोल्डस् सागर ढकाल– १५ लाख– पोखरा एडभेन्चर्स शाहब आलम– १५ लाख– काठमाडौं गोर्खाज
क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स विट्साको कोषाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार (असोज १८) आर्मेनियाको येरेभानमा भएको विट्साको महाधिवेशनबाट पोदार सन् २०२४–२६ कार्यकालको निम्ति कोषाध्यक्षमा निर्विरोध चयन भएका हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो अनुभव सँगालेका पोदारले २०७९ पुसदेखि क्यान महासंघको नेतृत्व गर्दै आएका छन् । विट्सामा कोषाध्यक्ष पदमा निर्वाचित भएपछि पोदारले भने, ‘विट्साको प्रतिनिधित्व गर्दा विश्वभरिका ८० भन्दा बढी सूचना प्रविधि संस्थाहरूसँग सहकार्य गरेर प्रविधिको विकासमा योगदान दिने अवसर पाएको छु । सूचना प्रविधि क्षेत्रमा नेपाललाई विश्वव्यापी मञ्चमा स्थापित गर्ने प्रयास गर्नेछु ।’ यसलाई आफूले क्यान महासंघको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र भूमिकाको स्पष्ट प्रमाणका रूपमा हेरेको पोदारले बताए । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पोदारको सफल नेतृत्वले क्यान महासंघलाई विश्वव्यापी स्तरमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘विट्सामा उहाँको प्रतिनिधित्वले नेपालमा प्रविधिको पहुँच र डिजिटल अर्थतन्त्रलाई थप सबल बनाउने हाम्रो प्रयासमा सहयोग पुर्याउनेछ’, उनले भने । विट्साको नवगठित २० सदस्यीय समितिमा विश्वका पाँच महादेशबाट प्रतिनिधिहरू छन्, जसमा मलेसिया, ब्राजिल, नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, जापान लगायतका देशका सूचना प्रविधि विशेषज्ञहरू रहेका छन् । विट्सामा यसअघि दुई पटकसम्म क्यान महासंघका पूर्वअध्यक्ष हेमन्त चौरासियाले कोषाध्यक्षका रूपमा सफल कार्यकाल निभाएका थिए ।
दशैंमा रंगिन माटोबाट अतिरिक्त आम्दानी
महोत्तरी । दशैंपर्वमा रंगिन माटो बेची मधेशका गरिब तथा श्रमजीवी वर्गले अतिरिक्त आयआर्जन गर्ने गरेका छन् । दशैं पर्वका अवसरमा महोत्तरीको विपन्न बस्तीका गरिब श्रमिक माटो बेचेर अतिरिक्त आम्दानी गर्दैछन् । यसै अवसरमा विभिन्न रगका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने मधेशको स्थापित परम्पराले अहिले गरिब बस्तीका श्रमिक माटो खन्न टाढाटाढासम्म पुग्ने गरेका छन् । यो कार्यमा महिला बढी देखिने गरेका छन् । अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पाहाडका रातो माटोका थुम्का खोस्री रहेका भेटिन्छन् । दशैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि विशेषगरी गरिब बस्तीका महिला अहिले विभिन्न रङ्गका माटो खन्ने, ओसार्ने र मागकर्ताकहाँ पुर्याउने काममा लागेका छन् । मधेशका अधिकाङ्श भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैं, तिहार र छठ पर्वअघि माटोले पोतेर रङ्गाउने चलनले यी पर्वमा विभिन्न रंगका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले अतिरिक्त नगद जोहोमा प्रयोग गर्ने गरेका हुन् । अहिले फरक–फरक रंगका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ’ पर्वकाबीच भङ्गाहा–४ पलारबस्ती नजिकैको रातु कान्लामा पहेँलो र कमेरेमाटो खन्दै गरेकी पलार बस्तीकै सियानकीदेवी बाँतरले भनिन्,’यही मेहनतले आफ्नो घर पोत्न र दशैं खर्चको नगद जोहो गर्न माटो लगिन्छ । करिब ४० केजीको एक बोरा माटो लान सके आफ्नो घर पोतेर पनि एक/दुई हजार रुपैयाँ नगद बनाइ गर्जो टार्न सकिन्छ की भनी यसरी काम गरिरहेकी छु ।’ चाडपर्व सुरु भइसकेको अवस्थामा परिवारका सदस्यको सहयोग लिएर गरिब बस्तीका महिला माटो सङ्कलन तथा बिक्रीवितरणमा व्यस्त छन् । ‘हेर्नोस न, दशैंले छोपी त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई/चार पैसाको मुख देख्न पाइने छ नि !’ यसैगरी भङ्गाहा–६ जमुनियाँकी प्रेमकली चौधरी भन्छिन्, ‘यसले घरका नानीहरुको फर्माइस पूरा गर्न सघाउँछ ।’ मधेशका खासगरी थारू बस्तीमा अहिले माटो सङ्ग्रहको होड छ । थारु महिला विभिन्न रङ्को माटोले घर पोत्न, कुन रङ्को माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । ‘हेर्नोस् न, हाँस/कुखुरा र परेवा पनि घरघरैजसो पालैकै हुन्छन्, तर थारू बस्तीका घर पुग्दा भूइँमै बसौंबसौं लाग्ने चिटिक्क देखिन्छ’ भङ्गाहा–४ थारूटोल बनराका विष्णुबहादुर बुढाथोकी भन्छिन्, ‘घर सरसफाइ, रङ्गरोगन र सजावटमा थारू महिला सधैँ उम्दा देखिन्छन् ।’ दसैँमा थारू महिलाको साथसङ्तले अन्य जाति–समुदायका गरिब महिला पनि अहिले माटो सङ्ग्रहमा लागेका छन् । माटो जम्मा गर्नसकै मेलामा रमाउन र स–साना नानीहरुको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने यस काममा लागेका श्रमिक महिलाको भनाइ छ । मधेशका ग्रामीण बस्तीमा बाँसका कच्ची घर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दशैं, तिहार र छठमा घर पोत्ने चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर दुई/चार रुपैयाँ आर्जनको अवसर बनेको हो । अहिले सङ्ग्रह गरिएको माटो तिहार र छठमा पनि बिक्री हुने श्रमिक महिला बताउँछन् । रासस
नेपाल लाइफ इन्साेरेन्सको टिकटक प्रतिस्पर्धा घोषणा, प्रथम हुनेलाई तीस हजार नगद
काठमाडौं । नेपाल लाइफ इन्साेरेन्सले बडादशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । इन्साेरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने इन्स्याेरेन्सले जनाएकाे छ । उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने बताइएकाे छ । विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ । यस प्रतिस्पर्धामा कार्तिक २४ गतेसम्म सहभागी हुन सकिनेछ । साथै इन्स्योरेन्सले सबैमा दशैंकाे शुभकामना पनि टक्र्याएकाे छ ।
सेयर बजारमा हरियाली, उकालो लाग्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१५ प्रतिशत अर्थात् ५६.०९ अंकले बढेको हो । गत साता बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको थियो । नेपालीहरूको महानपर्व दशैंको लागि खर्च नजिकै आएकाले सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन् । आजसम्म सेयर कारोबार गरेमा दशैं अगाडि नै नगद रकम पाइने भएकाले बजार बढेको उनीहरूको भनाइ छ । साथै विगतमा पनि दशैंको समयमा सेयर बजार बढ्ने गरेको इतिहास रहेको उनले बताए । नेप्सेका अनुसार आज ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६९ हजार ८६० पटक खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बुधबारका दिन ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.२० प्रतिशत, विकास बैंक समूह २.२२ प्रतिशत, फाइनान्स समूह ६.३० प्रतिशत, होटल तथा पर्यटन समूह १.७१ प्रतिशत, जलविद्युत समूह २.७३ प्रतिशत, लगानी समूह १.९९ प्रतिशत, जीवन बीमा समूह १.३४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१२ प्रतिशत, लघुवित्त समूह १.४७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, अन्य समूह १.६२ प्रतिशत र व्यापार समूह ०.९० प्रतिशत बढेको छ । आइतबार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३०.५० रुपैयाँ बढेर ३३५.६० रुपैयाँ पुगेको छ । यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावर कम्पनीको ९.६८ प्रतिशत, गुडविल फाइनान्सको ९.२७ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ८.१४ प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २५ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर १४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कृषि तथा घरेलु उद्यमी मेला जारी, स्थानीय खानाका परिकार, अल्लो र ढाकामा आकर्षण
काठमाडौं । संघीय राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ जारी छ । प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । यस्तै, प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरूले मन पराएका छन् । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको राष्ट्रिय सभागृहको परिसरमा असाेज १६ देखि सञ्चालित मेला २४ सम्म चल्नेछ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको बताए । काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको प्रदर्शनीमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरूको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको जनाइएकाे छ । प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।
अध्ययन भन्छ- पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी । काठमाडौं । पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए । गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गर्भधारण गरेका र सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरूको जोखिम अझ बढी हुने बताए । उनका अनुसार विकसित देशहरूमा करिव १० प्रतिशत सुत्केरी महिलाहरूमा मानसिक समस्या देखिने गरेको छ । नेपालजस्ता न्यून आय भएका देशहरूमा २० प्रतिशत महिलालाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताए । उनले सुत्केरी पश्चात एक वर्षभित्र मृत्यु हुने महिलाहरूमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको बताए । उनले नेपालको अवस्थामा १०९८, २००८ र २०२१ को मातृ मृत्युसम्बन्धी अध्ययनमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको जानकारी दिए । सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानीजानी गरिएको आत्महत्याबाट हुने गरेको तथ्यांकले देखाएको उनले बताए । निर्देशक अधिकारीले गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने जानकारी दिए । उनले मानसिक समस्याहरूको समयमै पहिचान गरे भएका साधनस्राेतबाट उपचार सम्भव रहेको बताए । नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने ब्लड स्पट टेस्टलाई न्यु बर्न स्क्र्यानिङ टेस्ट भनिन्छ । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखी मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजिज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजिज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिँदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरू देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरू बताउँछन् । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरूमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरूमा विभिन्न किसिमका वंशाणुगत रोगहरू देखिएको निर्देशक अधिकारीले बताए । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरूको परीक्षण गरेको उनले जानकारी दिए ।