विकासन्युज

थापाथली अस्पतालमा मानसिक स्वास्थ्य सेवा र विकलांग पहिचान गर्ने सेवा सुरु

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मानसिक स्वास्थ्य सेवा र बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरेको छ । आइतबार एक कार्यक्रमकाबीच आयतबार थप दुई सेवा विस्तार गरेको जनाएको छ । जसमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवार बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा रहेको अस्पतालले जनाएको छ । दुवै सेवाको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन् ।   अस्पतालका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारीले महिलाहरुहरुमा सुत्केरी तथा गर्भवती अवस्थामा मानसिक स्वास्थ्यको समस्या बढी देखिने भएकाले सहजताको लागि सेवा सुरु गरेको बताए । यो कुरा विभिन्न अध्ययनहरुबाट पत्ता लागेको बताउँदै उनले मानसिक तनाव, एन्जाइटी, उदासिनता जस्ता समस्या गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने बताए । ‘यस्तोबेला हुने मानसिक तनाव तथा गम्भीर खालको स्वास्थ्य समस्या निम्त्याउँछ,’उनी भन्छन्, ‘ यी समस्याको राम्रो हुन्छ, यही सेवा दिन अस्पतालले सेवा विस्तार गरेको हो।’ नेपालमा २० प्रतिशत गर्भवती तथा सुत्केरीमा यस्तो समस्या देखिन्छ । विकसिक मुलुकको तथ्यांकमा करिब १० प्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेकामा नेपाल जस्तो न्यून आय भएका मुलुकका करिब २० प्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरुमा मानसिक स्वास्थ्य देखिने गरेको विज्ञहरु बताएका छन् ।

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग

काठमाडौं । नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासका क्रममा देखिएका व्यवहारिक समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पटकपटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिए । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायत उपस्थित रहेको थियो ।

विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिरहेको ऊर्जामन्त्री खड्काको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका हुन् । उनले अन्य छिमेकी राष्ट्रहरूले आफै विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्तत: राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्न नहुने उल्लेख गरे । मन्त्री खड्काले भने, ‘बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौं । तपाईंहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरूले किन नकिन्दिने भनेर आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन । जलविद्युतमा व्यक्ति, संस्था, निजी जसले लगानी गरेपनि २५/३५ वर्ष पछाडि मुलुकको हुने हो ।’ उनले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडालिटी बनाउनुपर्ने पनि बताए । पैसा नहुनेहरूले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ ।

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

चितवन । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताए । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताए । यसका लागि आफुहरु सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । उनले डकुमेन्टस पुरा भएका विद्यार्थीहरूले प्रभु बैंकको सेवा लिन समेत आग्रह गरे । प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बताए । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको बताए । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिए । प्रभु बैंकको नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्टस पुरा भएका अधिकतम पाँच दिन भित्र लोन स्वीकृति हुने जानकारी दिए । यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत उनले जानकारी दिए । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरु गसिकेको छ ।

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु, खाद्यले १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । नेपालीहरूकाे महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै बिक्री सुरु गरेको हो खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । उनले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौंडा र दाङबाट ल्याइएको जानकारी दिइन् । उनले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताइन् । उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर बिक्री गरिरहेकाे उल्लेख गरिन् । प्रमुख थापाले एक जनालाई एउटाभन्दा बढी उपलब्ध नगराइएको पनि बताइन् । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । खाद्यसँगै अरू निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाडाैंमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।

इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरु बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरू बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताए । नेपालमा ठूला ड्यामहरू बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एशोसिएशनसँग सहयोगको सम्झौता गरिएको बताए । ‘इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच आज सम्झौता भयो, प्रत्येक वर्ष क्यानडामा पनि यो कार्यक्रम हुन्छ, नेपालमा पनि हुन्छ’, उनले भने । उनले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरुको आवश्यक पर्ने भन्दै नेपालले उनीहरुबाट धेरै अनुभव लिनसक्ने जानकारी दिए ।

नेक्सजेनको साधारणसभा सम्पन्न, सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

  काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । शनिबार बसेकाे कम्पनीकाे साताैं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पास गर्दै लाभांश घोषणा गरेकाे हाे । सभामा कम्पनीकाे नाम परिवर्तन गरी नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स प्रालि राख्ने निर्णय भएको अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए । कम्पनीले भविष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको कामसमेत गर्ने योजना बनाएको छ । त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरू मर्जर गर्ने निर्णय गरेको छ । साथै सोही सभाले आगामी चार वर्षका लागि देवेन्द्रप्रताप शाह, रमेशकुमार भट्टराई, बलराम विष्ट, अजयकुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ । सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरूले एक मतले अध्यक्षमा देवेन्द्रप्रताप शाहलाई र रमेशकुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे । प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे । एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख रुपैयाँ र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो । त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।