विकासन्युज

मानव बस्ती नभएको स्थानमा सडक पुग्यो, मुस्ताङ र डोल्पा जोडिदा राजधानीसम्मको दूरी कम

काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ-मुस्ताङ-डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए । ‘जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ, गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ,’ उनले भने । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताए । सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । २२ करोड रुपैयाँको लगानीमा पाक्लिङबाट ५६.५ किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताए । ‘हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्, छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन्,’ उनले भने । डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ । सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताए । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उनले बताए । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।

सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए । उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो । बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए । उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताए । पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । ‘हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ,’ उनले भने । उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए । संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताए । गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१.५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म २४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, ९ बालक र ७ बालिकाको मृत्यु भएको हो ।

सांग्रिलाले दशैँ बिदामा यी शाखा खुला राख्ने, ५० हजार मात्रै झिक्न मिल्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले दशैँ बिदाको समयमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । साथै दशैँ काउन्टर अवधिभर प्रत्येक खाताबाट एक दिनमा ५० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने छ भने २ लाख रुपैयाँ जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

तीन दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर, यूरो, पाउण्डको भाउ घट्यो

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.१६ रुपैयाँ र बिक्रीदर १४७.८२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.८८ रुपैयाँ र बिक्रीदर १७६.६७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.२१ रुपैयाँ र बिक्रीदर १५६.९१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.११ रुपैयाँ र बिक्रीदर ९२.५२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.७६ रुपैयाँ र बिक्रीदर ९९.२० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९३ रुपैयाँ र बिक्रीदर १२.९९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५३ रुपैयाँ र बिक्रीदर ४४०.५० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.६० रुपैयाँ र बिक्रीदर ३५७.१९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

सिटिजन्स बैंक अझै गाभ्ने र गाभिने बाटोमा, विदेशीसँग रणनीतिक साझेदारीमा जान पनि इच्छुक

काठमाडौं । सिटिजन्स बैंकले मर्जर प्रस्ताव ल्याएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मर्जर तथा विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको हो । बैंकको १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बस्नेछ । बैंकको सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्ने, प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई सञ्चालकको बैठक भत्ता तथा सुविधा वृद्धि गर्ने गरी नियमावलीमा संशोधन प्रस्ताव पारित गर्नेछ । बैंकको संस्थापक सेयरधनीकोतर्फबाट सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्ति गरिएको निर्णय अनुमोदन गर्ने, संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

घटस्थापनादेखि आज पाँचौँ दिन, आज के को पुजा गर्नुपर्छ ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ६ः१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिए । दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।

यी ११ खेलाडी एनपीएलमा सबैभन्दा महँगो, ए ग्रेडका १० खेलाडी अनसोल्ड, को कतिमा बिक्री भए ?

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आइतबार भएकाे छ । कुल १६१ जना खेलाडी सम्मिलित अक्सनमा पहिलो चरणमा ए ग्रेडका ११ जना खेलाडी सबैभन्दा महँगो १५ लाखमा बिक्री भएका छन् भने ए ग्रेडका १० जना खेलाडी बिक्री हुन सकेनन् । एनपीएलमा प्रतिश जिसी, लोकेश बम, सू्र्य तामाङ, विवेक यादव, सन्दिप जोरा, ललित नारायण राजबंशी, अनिल शाह, गुल्सन झा, साहब आलम, भीम शार्की र सागर ढकाल सबैभन्दा महँगो खेलाडीका रुपमा बिक्री भएक छन् । उनीहरुले जनही १५ लाख रुपैयाँ पाउनेछन् । पहिलो चरणमा ९२ जना खेलाडी बिक्री हुन सकेनन् । [pdf id=515290]

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग, हालसम्मकै उच्च

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैँक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । यसैगरी आजै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले रु ५० लाख, एनएमबी बैँकका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गरे । उक्त रकमसहित प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु १० करोड २६ लाख भएको छ । सहयोग गर्ने सबै संस्थाहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताएका छन्र । आज नेपाल बैँक लिमिटेडबाट रु २ करोड, निर्माण व्यवसायी विकास परिषदबाट रु १ करोड, एमालेबाट रु ५० लाख, नेपाली काँग्रेसबाट रु ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु ५० लाख, एनएमबी बैँकबाट रु ५१ लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाखबाट रूपैयाँ सहयाेग प्राप्त भएकाे प्रधानमन्त्रीकाे सचिवालयले बताएकाे छ ।