अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ८२ र अन्य देशका ११ हजार चार सय छ जना छन् । अगष्टमा सार्क क्षेत्रका तीन हजार तीन सय ८३ र अन्य मुलुकका दुई हजार नौ सय ३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए । जुलाईमा सार्क क्षेत्रका तीन हजार तीन सय ५० र अन्य मुलुकका एक हजार आठ सय ९३ जनाले भ्रमण गरेका थिए । एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् । गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिएभने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना थिए ।
बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै
धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे-कानपुर-कोटतेमाल-पोखरी नारायणस्थान-मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ-सिन्दुरेटार-मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बिपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए । बिपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मंगटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए ।
अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित
काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो । कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौंमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे । लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन् । ‘म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु’, उनले भनिन् । बलुन नेपाल प्रालिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो । क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको बो । कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ । साथै, गैर आवासीय नेपाली समाज (एनआरएनए) बाट पनि यस कार्यक्रमको प्रवर्द्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशक समेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन सञ्चालन गरिनेछ। स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भैरहेको कम्पनीका निर्देशक बिबि ढकालले जानकारी दिए । महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ। महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रुपमा समावेश गरिएको कम्पनीले जनाएको छ । रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लोलगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ । सन २०१८ बाट बेलुन नेपालले हट अयर बेलुन उडान सेवा पोखराबाट दिँदै आएको छ ।
बाढी पहिरोपीडितका लागि बीवाईडीले दियो ५१ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी-पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमकाबीच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकताअनुसार सहयोग गर्न प्रतिबद्ध छौ । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौं ।’ यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रूपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरूपता प्रदान गरेको कम्पनीले बताएको छ ।
स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न एक हजार रुपैयाँ खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । ‘यो दसैँमा नुनको अभाव हुने छैन, ‘ उनले भने । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिए ।
मनसुन क्रमश क्षीण हुँदै, यी प्रदेशमा वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ ।
त्रिभुवन विमानस्थलमा थप २ वटा एटीएम मेसिन जडान गरिने, भाडा ७६ लाख ८० हजार रुपैयाँ
काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयल गौचरले अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन परिसरमा एटीएम मेसिन सञ्चानलका लागि बोलपत्र आह्वान गरेको हो । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ अध्यागमन परिसरमा राष्ट्रिय वाणिज्य बैक नजिकै पूर्वतिर तोकिएको स्थानमा एटीएम मेसिन जडान गरिनेछ । प्रत्येक एटीएमको लागी ३.०१ वर्गमिटर क्षेत्रफलको दरले जम्मा ६.०२ वर्ग मिटर क्षेत्रफलमा २ वटा फरक फरक बैंकको एटीएम राखिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको भाडामा दिइने भएकाले ईच्छुक बैंकले बोलपत्र दाखिला गर्नुपर्नेछ । बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको छ । एटीएम मेसिनको भाडा ५ वर्षका लागि ७६ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।
अमेरिकी डलरको मूल्य स्थिर, यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.८९ रुपैयाँ र बिक्रीदर १४८.५६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.४७ रुपैयाँ र बिक्रीदर १५८.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७२ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.९१ रुपैयाँ र बिक्रीदर ९९.३५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३१ रुपैयाँ र बिक्रीदर १०३.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०४ रुपैयाँ र बिक्रीदर १३.१० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८३ रुपैयाँ र बिक्रीदर १९.९२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१२ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.४८ रुपैयाँ र बिक्रीदर ३५७.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।