मेटलाइफ नेपालले बाढी पीडितलाई दियो २५ लाख रुपैयाँ
काठमाडौं । मेटलाइफ नेपालले प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग गरेको छ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको हो । यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य मेटलाइफ नेपालले राखेको छ । मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भने, ‘अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’
सानिमा बैंकमा खातावालालाई १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए । सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
एनएमबि बैंकले उद्धार कोषलाई दियो ५१ लाख, प्रधानमन्त्री ओलीले समाते चेक
काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकका उच्च पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरे । बाढी पहिरोबाट प्रभावित समुदायहरूलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।
पठाओमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग
काठमाडौं । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको छ । कार्यक्रममा कम्पनीले फरक क्षमता भएका चालकहरूलाई उनीहरूको साहस र योगदानका लागि सम्मान समेत गरेको कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले बताए । मानिसको दैनिकी तथा जीवनयापनमा सहज बनाएको भन्दै पठाओलाई विभिन्न व्यक्तित्वहरू मार्फत धन्यवाद आइरहेको उनले बताए । उनले यसको सबै श्रेय आफ्ना मेहनती तथा लगनशील चालक, क्याप्टेन तथा हिरोहरुलाई जाने बताए । पठाओ नेपालले उत्कृष्ट चालकहरूलाई विभिन्न वर्गमा सम्मानित गरेको छ । सबैभन्दा कान्छा चालक सुमन बाबु मगरातीले ‘द राइजिङ राइडर अवार्ड’ पाएका छन् । यस्तै प्रेम बहादुर खड्काले बेस्ट पफर्मर भई ‘द स्टार मेल राइडर अवार्ड’ पाएका छन् । तीर्थ बहादुर बिष्टले हाइएस्ट राइड लिएका कारण द टायरलेस राइड अवार्ड पाएका छन् । कम्पनीका अनुसार सुदन अधिकारीले सबैभन्दा बढी रेटिङ पाएर ‘युजर्स फेभराइट राइडर अवार्ड’ पाएका छन् । बिमल श्रेष्ठले द लङ्गेस्ट इन प्ल्याटफर्म भएका कारण ‘द भेटेरन राइडर अवार्ड’ पाएका छन् । साथै श्यामबहादुर चौधरीले नो सस्पेन्सनका कारण द अनरेबल राइडर अवार्ड पाएका छन् । यस्तै सुमन खड्कीले मस्ट एक्टिभ डेज अर्थात् सबैभन्दा धेरै सक्रिय भएका कारण ‘द डेडिकेटेड राइडर अवार्ड’ पाएका छन् । महिलातर्फ बेस्ट राइडरका रूपमा ओम कुमारी चेम्जोङले ‘द स्टार फिमेल राइडर अवार्ड’ पाएकी छिन् । यस्तै पोषबहादुर खत्रीले ओल्डेस्ट राइडरका रूपमा ‘द सेनियर राइडर अवार्ड’ पाउँदा ४७ वर्षकी महिला राइडर सरस्वती महर्जनले ‘सोसल कज’ अन्तर्गत ‘द हेल्पङ ह्यान्ड अवार्ड’ पाएकी छिन् । उनीहरूलाई कम्पनीका निर्देशक शशांक शमशेर थापाले सम्मानित गरेका थिए । कम्पनीले चालकहरूलाई जस्तै आफ्ना क्याप्टेनलाई पनि विभिन्न किसिमका सम्मान तथा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत किशोर गिरीले सबैभन्दा कम उमेरको क्याप्टेन भई द राइजिङ क्याप्टेन अवार्ड पाएका छन् । यस्तै तुलाबहादुर श्रेष्ठले बेस्ट पफर्मर भई ‘द स्टार मेल क्याप्टेन अवार्ड’ पाएका छन् । यस्तै खड्कबहादुर ढकालले सर्वाधिक राइड राइड लिएर ‘द टायरलेस क्याप्टेन अवार्ड’ पाउँदा कैलाश ढुंगेलले सर्वाधिक रेटिङ पाएर ‘युजर्स फेभराइट क्याप्टेन अवार्ड’ पाएका छन् । पश्चिनारायण तामाङले सर्वाधिक सिआर कायम गरी द एनर्जेटिक क्याप्टेन अवार्ड पाएका छन् । यस्तै जनकलाल श्रेष्ठले लङ्गेस्ट अन प्लेटफर्म भएका कारण द भेटरान क्याप्टेन अवार्ड पाउँदा राजेश तामाङले नो सस्पेन्सनका कारण अवार्ड पाएका छन् । करुणा तामाङ भण्डारीले बेस्ट फिमेल क्याप्टेन भई द स्टार फिमेल क्याप्टेन अवार्ड पाएकी छिन् । यस्तै बोलबहादुर खड्काले ओल्डेस्ट क्याप्टेनका रूपमा द सेनियर क्याप्टेन अवार्ड पाएका छन् । कम्पनीले पठाओ हिरोहरूलाई समेत अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत नरेन्द्रकुमार तामाङले बेस्ट पर्फर्मेन्स पठाओ हिरो भई द स्टार मेल पठाओ हिरो अवार्ड पाएका छन् । सञ्जय खवासले बेस्ट पर्फर्मिङ पठाओ हिरो अन बाइक भई द टप पठाओ हिरो अवार्ड पाएका छन् । केदार बहादुर लुङ्गेली मगरले बेस्ट पफर्मिङ पठाओ हेरो अन साइकल भई द बेस्ट पफर्मिङ पठाओ हिरो अवार्ड पाएका छन् । राजन ढुङ्गानाले बेस्ट कम्युनिकेसनका कारण द सुपरस्टार पठाओ हिरो अवार्ड पाएका छन् । यस्तै गाजल अमिनले बेस्ट फिमेल पठाओ हिरो भई द स्टार फिमेल पठाओ हिरो अवार्ड पाएकी छन् । रमेश थापा मगरले हाएस्ट अर्डर पूरा गरी द टायरलेस पठाएर अवार्ड पाउँदा बमबहादुर बुढाले हाइएस्ट सिआर कायम गरी अवार्ड पाएका छन् । यस्तै गोपालराज बिकले लङ्गेस्ट इन प्लेटफर्म भई द भेटरान पठाओ हिरो अवार्ड पाउँदा गङ्गाबहादुर राईले हाएस्ट एक्टिभ डेज पूरा गरी द डेडिकेटेड पठाओ हिरो अवार्ड पाएका छन् । यस्तै कृष्णराज गुरुङले हाइएस्ट रेटेड पठाओ हिरो भई ‘युजर्स फेभराइट पठाओ हिरो अवार्ड पाएका छन् । लोगराज शर्माले पुरुषतर्फ सर्वाधिक फुड अर्डर पठाओ हिरो वाकर भइ ‘द जोय गिभर मेल पठाओ हिरो अवार्ड पाउँदा महिलातर्फ पूजा अवस्थीले हाइएस्ट अर्डर पठाओ हिरो वाकर भई ‘द जोय गिभर फिमेल पठाओ हिरो अवार्ड’ पाएकी छन् । कम्पनीले फरक क्षमता भएका राइडर पुनम मिश्र, बलराम तामाङ र राजेन्द्र मगरलाई सम्मान तथा प्रोत्साहनका लागि रेजिलिन्स अवार्ड प्रदान गरेको छ। यस्तै कार्यक्रम सञ्चालक जय प्रधानले पछिल्लो ६ वर्षमा पठाओका समर्थकहरुले दिएको उल्लेखनीय योगदानले पठाओको वृद्धि र सफलतालाई कसरी अगाडि बढाएको छ भन्ने कुरामा जोड दिएका थिए । १५ जनाले पाए पठाओ बेनिफिट कार्यक्रमबाट सहयोग कार्यक्रममा पठाओ बेनिफिट प्रोग्रामको लाभ उठाउन योग्य भएर स्कलरशिप र बेडरेस्ट एलोभेन्स पाएका चालकहरुलाई पठाओ नेपालका निर्देशक जेनिस रन्जितले सम्मान गरेका थिए । जसमा चालकहरु चोकबहादुर किंगरिङ, ज्ञानबहादुर चौहान, निर्मल सापकोटा, सुशील कुमार लिम्बु, बुद्ध घले, निर्मल तामाङ, ज्ञानप्रसाद राजठाला, घनश्याम खत्री, पन्चे विश्वकर्मा र श्यामकुमार ठोकर जनही १०र१० हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्राप्त गरे । यस्तै चालक चन्द्रबहादुर श्रेष्ठ, राम महर्जन, भीमबहादुर लिम्बु र मुकुन्दराज थापाले प्रतिव्यक्ति २०र२० हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्राप्त गरे । यस्तै कम्पनीले पठाओ क्याप्टेन पासाङ तामाङलाई २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिएको छ । जसले पठाओको चालकको शिक्षामा लगानी गर्ने प्रतिबद्धतालाई प्रष्ट पारेको कम्पनीले जनाएको छ । पठाओ नेपालले आफ्नो फुड डेलिभरीमा सहकार्य गर्ने रेस्टुरेन्टहरुलाई समेत सम्मान तथा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत फति’ज् बिर्यानी झम्सिखेल्ले हाइएस्ट अर्डर पूरा गरेकाले ‘अर्डर च्याम्पियन अवार्ड’ पाएको छ । यस्तै केएफसीले हाइएस्ट अर्निङ गरी रेभिन्यु रोयल्टी अवार्ड पाएको छ। यस्तै ला पिज्जा पिज्जाले हाइएस्ट रेटिङ लिएर फाइभ स्टार फियस्ट अवार्ड पाएको छ । यस्तै स्यानको कट्टी रोलले लोएस्ट क्यान्सलेसन भएर सिमलेस सर्भिस अवार्ड पाएको छ । पठाओ नेपालले विभिन्न पार्सल मर्चेन्टलाई समेत अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत नेप एसेन्थेटिक प्रालिले बेस्ट कन्ट्रिब्युट भएर टप पार्टनरसिप अवार्ड पाएको छ । यस्तै सेभेन मल्टी ट्रेडिङ प्रालीले आउटस्ट्यान्डिङ सर्भिस रेकर्ड गरेर सर्भिस एक्सलेन्स अवार्ड पाएको छ। यस्तै गुण परि नेपाल प्रालीले एक्सेप्सनल क्यान्सलेसन कन्ट्रोल गरी अप्रेसनल एक्सलेन्स अवार्ड पाएको छ । सो अवार्ड पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले प्रदान गरेकी थिइन् । पार्सल हिरोहरूमा सुवास देवान, खड्ग बहादुर खड्का र राजेन्द्र मगरले ओल्डेस्ट ईन प्लेटफर्म भई द भेट्रान पार्सल हिरो अवार्ड पाएका छन् । कम्पनीले इन्सुरेन्स पार्टनर हिमालयन इन्सुरेन्स, पेमेन्ट पार्टनर छिटो पैसा प्रालि र यो आर्थिक वर्षको आफ्नो टु ह्विलर पार्टनर स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई सम्मान गरेको छ । कार्यक्रमको एउटा भावुक क्षणमा श्याम चौधरीलाई सम्बोधन गरिएको थियो । जसले आफ्नो कार्यकालमा दुर्घटना भएको बेला पठाओ बेनिफिट प्रोग्राम अन्तर्गत आर्थिक सहायता प्राप्त गरेका थिए । कार्यक्रममा बस्न्यातले स्टार्टअपबाट सुरु भएको यस कम्पनी अहिले राम्रो व्यवसाय बन्न सफल भएको बताए पठाओ नेपालले हालै सुरु गरेको आफ्नो नयाँ सेवा पठाओ किराना, पठाओ खाजा र पठाओ गेम्स बारे समेत उनले जानकारी दिए । उनका अनुसार कम्पनीले छिट्टै पठाओ रेन्टल पनि सुरु गर्ने तयारी गरेको छ ।
सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’
सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये उनले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।’ यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’ यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गरेका थिए । उनले भने, ‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।’ बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ । धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्यांक संकलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले १९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ ।’ रासस
एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंकको साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । साथै बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको पनि निर्वाचन गरेको छ । सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि, संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको गरेको छ ।
३ लाख ६३ हजारले काठमाडौं छाडे, हवाई टिकट पाउन मुस्किल
फाइल फाेटाे काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म ३ लाख ६३ हजार १६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४६५ जना काठमाडौंबाट बाहिरिएका छन् । दसैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् । बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौं बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए । ‘बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ,’ उनले भने । दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् । यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौंबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए । ‘वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु,’ उनले भने । उनीजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ । विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ । यसैगरी आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ती प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।