विकासन्युज

इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते

बेरुत । लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् । बिहीबार मध्यरातमा कुनै चेतावनी बिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो । सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो । यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो । प्रत्यक्षदर्शीहरूले आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे । लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ । यसैबीच, चिकित्सा स्रोतहरूले गाजा पट्टीमा बिहीबार इजरायली हवाई आक्रमणमा ६३ जनाको मृत्यु भएको जनाएको छ ।

जनकपुरमा अष्टमीको दिन ३ करोडको लड्डु बिक्री

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई रु तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए । हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्तिपीठमा प्रसादका रूपमा चढाउन बजारमा फरकफरक प्रकारका लड्डुको बिक्री भएको बताए । यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उनले जानकारी दिए । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री हुने गरेको गुप्ताले बताए । जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल रहेका छन् । बजारमा बुधबार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने बिहीबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

९ महिनामा मुस्ताङमा एक लाख पर्यटक, सार्क राष्ट्रबाट धेरै

म्याग्दी ।  गएकाे ९ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए । उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए । आठ हजार तीन सय ९७ जना मनाङ हुँदै पाँच हजार चार सय मिटर अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन् । हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।

पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

कटारी । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए । “आज बिहानै पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ”, उनले भने, “स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेका छौँ ।” कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उनले बताए । सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।

किन घट्दैछ पठन संस्कृति ? व्यापारी भन्छन्- नयाँ पाठक बनेकै छैनन्

काठमाडौं । रसुवाका रितेश गुरुङ एभिड रिडर (अत्यधिक बुक पढ्ने व्यक्ति ) हुन् ।  दिनभरि जति व्यस्त भए पनि  उनी पढ्नलाई रातको समय छुट्याउँछन् । हरेक वर्ष दशैंमा ट्रेकिङमा जानुका साथै पुस्तक पढ्दै आएका उनी यो वर्ष पढेरै दशैं मनाउने योजनामा छन् । ‘अहिले बाटोघाटो राम्रो छैन, ट्रेकिङ पनि गइँदैन होला,’ विकासन्यूजसँग कुरा गर्दै उनी भन्छन्, ‘म दशैंको बिदामा मात्र पढ्छु भन्ने होइन, पुस्तक जहिले पनि पढ्छु । अझ भन्ने हो भने त दशैंमा रमाइलो गर्ने हो ।’  दशैंमा पढ्न भनी उनले दुईवटा पुस्तक पनि किनिसकेका छन् । नेपाली उपन्यासभन्दा विदेशी उपन्यास पढ्न धेरै रुचाउने रितेश एक्सपेरिमेन्टल, म्याजिकल रियालिजम खालका किताब रुचाउँछन् । उनले अमेरिकन- क्यानडियन ‍राइटर रुथ ओजेकीको ‘अ टेल फर द टाइम बिइङ’ र हंगेरियन राइटर लास्ज्लाे क्राश्जनहाेर्काइको ‘अ माउन्टेन टु द नर्थ, अ लेक टु द साउथ’ पढ्ने योजना बनाएका छन् । भन्छन्, ‘मलाई पुस्तक पढ्न आदत जस्तो भइसक्यो । एउटा सकिनेबित्तिकै अर्को पुस्तक चाहिन्छ, बरु समय लगाएर पढ्छु ।’ नेपालमा खासै एक्सपेरिमेन्टल उपन्यास नभएको र भएका किताबको पनि विषयवस्तु पनि लगभग सबै उस्तै भएकाले पढ्न खासै उत्साह नलाग्ने उनको भनाइ छ । ‘मलाई विदेशी भाषामा लेखिएका किताबको अंग्रेजी अनुवाद पढ्न लाग्छ,’ रितेश थप्छन्, ‘विदेशी पुराना लेखकले लेखेका किताब नेपालमा अहिलेका लेखकहरूले पनि लेख्न सकेका छैनन् । कसैले नयाँ गर्न खोजीहाल्यो भने पनि शैली उही परम्परागत हुन्छ ।’ उनी नेपाली लेखक अझै विधवा, द्वन्द्व, बाढीपहिरो लगायतका कथामै अड्किरहेको बताउँछन् । फुर्सदिलो समय दशैंतिहारमा मीठो मसिनो खाई आफन्तहरूसँग भेटघाट गरी मनाइन्छ । यो बेला स्कुल-कलेजको लामो समय बिदा हुन्छ । विद्यार्थी वा कर्मचारीसँग फुर्सदको समय हुन्छ । यही मौकामा धेरैले पुस्तक पनि अध्ययन गर्छन् । पढ्न मन भएका तर सधै व्यस्त रहनेहरू मिलेको यो समयको सदुपयाेग गर्छन् । नेपाली र अन्य भाषाका आफूलाई मनपर्ने कथा, जीवनीलगायतका विभिन्न पुस्तकहरू नेपाली युवाहरूको रोजाइमा हुन्छन् । पुस्तक विक्रेताका अनुसार आजभोलि प्रेरणादायी किताबहरू बढी बिक्री भइरहेका हुन्छन् । विशेषगरी अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’, सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ यस्तै उपन्यास बढी बिक्री भइरहेका छन् । पुस्तक व्यवसायीहरू भने पछिल्लो समय पुस्तक किनेर पढ्ने मान्छेमा कमी आएको बताउँछन् । आजभन्दा ९, १० वर्ष पहिले जति व्यापार हुन्थ्यो, अहिले त्यो व्यापार घटेको उनीहरू बताउँछन् । छैन व्यापार काठमाडौंको भोटाहिटीमा रहेको जननी बुक्स एण्ड स्टेशनरीका सञ्चालक पृथ्वीचन्द्र सुवेदी आजभोलि पुस्तक किनेर पढ्नेहरूको जमात घटेको बताउँछन् । १५ वर्ष अगाडि पोखराबाट आएर पुस्तक पसल सञ्चालन गरिरहेका उनी कोभिडपछि यो संख्या ह्वातै घटेकाे बताउँछन् । ‘शिक्षकहरू कलेजमा विद्यार्थी छैन भन्छन्, शैक्षिक संस्था नै रित्तिन थालेको बेला पुस्तक पढ्ने को आउँछ?,’ उनी भन्छन्, ‘पढ्ने जमात विदेशतिर लाग्यो, रहेकाहरू पनि इन्टरनेटमै सर्च गर्छन् पढ्छन् । अब पुस्तककै लागि भन्दै पसलमा आउनेहरूको संख्या घट्न थाल्यो ।’ उनले पुस्तक बिक्री नहुँदा व्यापार नहुने र व्यापार नहुँदा अब भाडा तिर्नै गाह्रो भएको सुनाउँछन् । भोटाहिटीमै रहेको हेरिटेज बुक्स ट्रेडर्सका सञ्चालक बाबुराम गौतम पनि किताब किनेर पढ्नेहरूको संख्या घटेको बताउँछन् । उनी कथा उपन्यास मात्र पढ्नेको संख्या नभइ विद्यालयमै पनि किताब किनेर पढ्नेहरू कम भएको बताउँछन् । भन्छन्, ‘पहिले किताब किन्ने पढ्ने ट्रेन्ड थियो, अहिले बेसिक बुक नकिनेर, टेस्ट बुक नकिनेर गेसपेपर र सोलुसन बुक मात्र किन्छन् ।’ पहिले दशैं आउँदा बजारमा नयाँ पुस्तक के आयो भन्दै खोज्न आउनेहरूको संख्या पनि घटेको उनी बताउँछन् । मोबाइल प्रविधिको विकासले गर्दा पुस्तक पसलमा आएर किताब किन्नेहरू घटेको उनकाे भनाइ छ । ‘पहिलेदेखि किन्ने बानी लागेकाहरू अहिले पनि किन्नुहुन्छ तर, लकडाउनपछि सबै जना मोबाइलतिर लागे,’ उनी भन्छन्, ‘अहिले सबै मोबाइलमा ब्यस्त भए, अहिले नयाँ पाठक बनेको छैनन् ।’ पाठककाे राेजाइमा कस्ता बुक ? पाठकहरूको ढाँचा (प्याटर्न) परिर्वतन भएपनि धेरैजसो प्रेरणा प्रदायक कथाहरू रोजाइमा परिरहेका छन् । अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’ सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ नयाँ किताब बजारमा आएका छन् । पाँच वर्षदेखि हेरिटेज बुक्स ट्रेडर्श स्टेशनरीमा काम गर्दै आएका हेमन्त विष्ट भने अहिलेका नयाँ पुस्तकभन्दा पनि पुरानै किताब पाठकको रोजाइमा परेको बताउँछन् । अहिले पनि ‘सेतो धर्ती’, ‘इजोरिया’ ,‘फिरफिरे’, ‘समरलभ’, ‘पल्पसा क्याफे’ पुस्तकहरूको खोजी बढी हुने गरेको छ । अहिलेको मदन पुरस्कार पाएको मोहन मैनालीको ‘मुकाम रणमैदान’ भने खासै पाठकले खोजी गरेका छैनन् । हेमन्त भन्छन्, ‘पहिले राम्रो जान्थ्यो, अहिले किताब पढ्नेको क्रेज घट्यो ।’ किन घट्न थाले पाठक ? पुस्तक व्यवसायीहरूले पाठकको संख्या घटेको बताइरहेका बेला रितेश भने पढ्नेहरूको संख्या घटेको नभइ पढ्ने किताबहरू फेरिएको हुनसक्ने बताउँछन् । उनी नेपाली युवाले फरक कुराहरू पढ्न खोजेको तर नेपाली लेखकले त्यो दिन नसकेका कारण पनि संख्या घटेको हुनसक्ने बताउँछन् । उनी प्रविधिको पहुँचसँगै किताब पढ्नेहरू कम भएभन्दा पनि राम्रो बुकहरू नहुँदा पढ्नेको संख्या घटेको दाबी गर्छन् । शिक्षाविद् डा. विष्णु कार्कीको मत पनि यही छ । उनी पाठक घटेको नभइ पढ्ने विषयलाई किताबमा मात्र केन्द्रित गर्दा यसको असर देखिएको बताउँछन् । ‘आजभोलि विभिन्न प्रविधिले पढ्ने मापदण्डलाई व्यापक बनाइसक्यो, हामी अझै पुस्तकमा अल्झेका छौं,’ उनी भन्छन्, ‘पुस्तक पसलेहरूले पनि पुस्तक बिक्री नहुँदा पढ्ने बानी हरायो भनिरहेका छन । यसो होइन, सामग्री र पढ्ने माध्यम फरक भएको हो ।’ यो समस्या आउँदा दिनमा अझ थप देखिने विज्ञहरू बताउँछन् । अहिले पहिलेजस्तो छैन, समय फेरिएको छ । मान्छेको पहुँच सजिलै प्रविधिसँग पुगेको छ । विद्यार्थी पनि अहिले प्रविधिबाट प्रभावित भएकाले अब लेखकहरूले पाठकलाई बुझेर लेख्नुदिनुपर्ने उनीहरू बताउँछन् । ‘पढ्ने बानी घटेको होइन, पढ्ने माध्यम फरक भएको हो, लेखकले यसलाई आत्मसाथ गर्नुपर्‍याे, यो परिवर्तन हो,’ डा. कार्की भन्छन्, ‘विद्यार्थी वा पाठकसामु कुनै कुरा पुर्‍याउनु छ भने कसरी नयाँ माध्यमबाट दिने भन्ने सोच्नुपर्‍याे । अब पुस्तक पल्टाएर कोही बस्दैनन् ।’ उसो त अब पाठकहरू नेपाली लेखकमाथि नै प्रश्न उठाउन थालेका छन् । किन यसो भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा त अंग्रेजीको प्रभाव पनि हो, अर्को लेखकले प्रस्तुत गर्ने शैली र उनीहरूले उठान गरेका विषयवस्तु पनिले हो ।’ स्वाद नै फरक पुस्तक पसलमा नेपालीभन्दा अंग्रेजी पुस्तकहरूको खोजी बढी हुन्छ । अंग्रेजी अध्ययन गरिरहेका पाठकहरू पनि विदेशी लेखकहरूको किताबमा फरक स्वाद हुने बताउँछन् । ‘म पनि कहिलेकाहीं अध्ययन गर्छु, मलाई पनि यो महसुस हुन्छ,’ डा. कार्की भन्छन्, ‘गम्भीर रूपमा अध्ययन गर्ने मान्छेले पनि विदेशी पुस्तक खोजी-खोजी पढ्छन्, जसले फरक-फरक धारका कुराहरू दिन्छन् । नेपाली उपन्यास , कथाहरू पढ्दा स्टोरी र विषयवस्तु फरक भए पनि प्रस्तुती र लेखनशैलीमा एकै किसिमको समानता पाइन्छ ।’ विदेशी लेखकले उठान गर्ने तरिका फरक हुन्छ । उनीहरूको लेखाइ र प्रस्तुतिमा पनि फरक स्वाद हुन्छ, जसका कारण आकर्षण बढेको हो । ‘अब लेखकहरूले पनि आफूलाई भर्सटायल बनाउनुपर्‍याे, नयाँ ढंगले नयाँ विषयवस्तुहरू ल्याउनुपर्‍याे,’ उनी भन्छन्, ‘त्यही गरिबी, लोककथामा आधारित रहेर लेख्ने विषयहरू, समसामयिक कुराहरू पुरानो भयो, हाम्रा कथा उपन्यास अहिले भइरहेका टेक्नोलोजीलाई समेट्दै भविष्यमा यस्तो हुन सक्छ भनेर कल्पना गर्दै लेख्नुपर्‍याे ।’ लेखकले परिवारका झगडा विभेदका कुराहरू बोकेर हिँड्ने कुरा पुरानो भएको बताउँदै डा. कार्की लेखकहरूलाई अबको ५०, सय वर्षपछि कस्तो हुन्छ, अबको परिवार, समाज कस्तो हुन्छ भन्ने विषयमा कल्पना गरेर लेख्न सुझाव दिन्छन् ।

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । ‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ,’ उनले भने । क्लबका सचिव दिनेश खवासले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए । ‘क्लबले लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष क्लबले यस्तो गर्दै आएको छ,’ उनले भने । यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुआत गरिएको क्लबका अभ्यक्ष काफ्लेले बताए । सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन् । यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छभने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । स्थानीय विवश लिम्बू आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको बताउँछन् । ‘लिङ्गेपिङको रौनक र मज्जाले दसैँलाई अझ विशेष बनाउँछ । दसैँको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ,’ उनले भने । लिङ्गेपिङले दसैँको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको उनको भनाइ छ । वीरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर दसैँलाई अझै उल्लासमय बनाउने प्रयास गरेको क्लबका अध्यक्ष काफ्लेले बताए । समाजमा रहेका पुराना संस्कार, परम्परा र खेलको जगेर्ना तथा स्थानीय खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको सचिव खवासको भनाइ छ ।

अमेरिकी डलरबाहेक अधिकांश देशको मुद्राको भाउ घट्यो, कुनको कति ?

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.५९ रुपैयाँ र बिक्रीदर १४७.२४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.९३ रुपैयाँ र बिक्रीदर १५६.६३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०७ रुपैयाँ र बिक्रीदर ९०.४७ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४७ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९९ रुपैयाँ र बिक्रीदर ४.०१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३८ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९२ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८९ रुपैयाँ र बिक्रीदर १२.९५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६५ रुपैयाँ र बिक्रीदर १९.७४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२५ रुपैयाँ र बिक्रीदर १७.३३ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३५ रुपैयाँ र बिक्रीदर ४३९.३० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५८ रुपैयाँ र बिक्रीदर ३५७.१७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

जब भगवान् शिवले देवीलाई ‘ए काली’ भने…

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो । दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन चौथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो । यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा मङ्गलबार स्कन्दमाताको पूजा आराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ ।