विकासन्युज

सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी, नोएलले सम्हाले १ खर्ब ६५ अर्ब डलरको सम्पत्ति

काठमाडौं । १ खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ । बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो । ‘टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ,’ एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।’ नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताएका छन् । नोएल दशकौँदेखि समूहसँग जोडिएका छन् । यद्यपि उनी विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिन्छन् । टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ । टाटा सन्स समूहको रणनीतिको जिम्मेबारीमा छ र हाल अध्यक्ष एन चन्द्रशेखरनको नेतृत्वमा छ । उनलाई सन् २०१७ मा नियुक्त गरिएको थियो । टाटा ट्रस्ट्स टाटा सन्सको सबैभन्दा ठूलो सेयरधारक भएकाले यसको अध्यक्षले प्रभावकारी रूपमा विशाल साम्राज्यको निरीक्षण गर्दछ र चन्द्रशेखरनले सम्भावित उत्तराधिकारी निर्णय गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

दशैँमा राष्ट्रपति पौडेलको मन्दीर दौडाहा (फोटो फिचर)

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाएका छन् । बडादसैँको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । साथै आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा । उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्नुहुँदै । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्दै । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको नक्साल भगवती मन्दिरमा । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको नक्साल भगवती मन्दिरमा । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै। राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा ।

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा आजदेखि सञ्चालन गर्न सफल भएको हो । कार्यालयले आज बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २ सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ । ‘राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनमार्थ अस्थायी संरचना निर्माण गरिएको हो,’ उनले भने । धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ । रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब ८ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । जसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा १ सय मिटर, चौकीडाँडामा २ सय, कटुञ्जे घुमाउनेमा ५ सय, लास्कोट बेँसीमा २ सय, ४ सय बेँसीमा ५ सय, गिम्दीबेँसीमा ३ सय, खार्पाचोक बेँसीमा ३ सय र नार्केमा ८ सय मिटर सडक क्षतिग्रस्त भएको थियो । यस्तै, पिन्थलीबेँसीमा ४ सय, दाउन्नेमा ३ सय, मङ्गलटार बोक्सीकुनामा ६ सय, चिउरीबासमा २ सय, कालढुङ्गामा १ किलोमिटर, डालाबेँसीमा ८ सय, पिप्लको २ स्थानमा गरी ७ सय, बर्खेखोला ३ सय, चालिसेमा ४ सय र माम्तीमा ८ सय मिटर सडक पूर्णरुपमा क्षति भएको थियो । बाढीपहिरोले उक्त राजमार्गमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि भोलिपल्टैदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो । राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ । क्षति पुगेको करिब २ किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा २ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रमुख योगेशले बताए । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

चाडबाडको छेकोमा घुम्न सकिन्छ काठमाडौं उपत्यकाका यी गन्तव्य

काठमाडौं । ठूला चाडबाड सँघारमै आइसकेका छन् । अधिकांश पेसाकर्मी, जागिरे धेरैलाई दशैंतिहार, छठलगायत चाडमा फुर्सदिला हुन्छन् । किनभने सबैको लामो छुट्टी हुने गर्छ । यसैबीच नजिकका पर्यटन गन्तव्य घुम्ने सन्दर्भमा सबैका आ–आफ्नै योजना, अनुभव र सुझाव हुन सक्छन् । कसैले भन्लान्, ‘घर नजिक पनि कोही घुम्न जान्छ ?’ फेरि, कसैले भन्लान्, ‘नजिकको तीर्थ हेला गर्नुहन्न, त्यही भएर पहिला नजिकका गन्तव्य घुम्नुपर्छ ।’ यही मेसोमा काठमाडौं उपत्यका वरिपरि रहेका पर्यटन गन्तव्य छुटाउनै मिल्दैन । संघीय राजधानी काठमाडौं र सँगैका ललितपुर र भक्तपुर जिल्लाका पर्यटन गन्तव्यको सूची लामै हुन्छ । काठमाडौं उपत्यका वरिपरि धेरै नाम चलेका र स्थापित पर्यटन गन्तव्य छन् । ती गन्तव्यमा अधिकांश पर्यटक पुगेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका वरिपरि स्थापना भएका दर्जनौं पर्यटन गन्तव्यमा घुम्न जाने पर्यटकको घुइँचो बाह्रैमास देख्न सकिन्छ । यसको अर्थ के हो भने छोटो समयमा थोरै खर्चमा बढी रमाइलो गर्न सकिने गन्तव्यका रूपमा काठमाडौं उपत्यका वरिपरि धेरै ठाउँ स्थापित भइसकेका छन् । ती नयाँ पर्यटन गन्तव्य पुग्न आफ्नै सवारीसाधन हुनेलाई झनै सहज हुने गर्छ । स्कुटर, मोटरसाइकल वा चार पाङ्ग्रे साधन हुनेका सपरिवार सजिलै नयाँ पर्यटन गन्तव्य घुम्न जान सक्छन् । काठमाडौं वरपरि रहेका पर्यटन गन्तव्य घुम्न जाँदा घरबाटै खानेकुरा बनाएर लान पनि सकिन्छ । होइन, उतै गएर किनेर खाने इच्छा भए राम्रा रेस्टुरेन्ट र होटल पनि पर्याप्त उपलब्ध छन् । पछिल्लो पटक काठमाडौं उपत्यका वरिपरिका डाँडामा दर्जनौं नयाँ पर्यटन गन्तव्य स्थापना भएका छन् । ती गन्तव्यमा केबुलकारदेखि, ठूला होटल, पार्क, भ्यु टावर, शिशाको पुल, पिङमात्र नभई मिठा र गुणस्तरीय परिकार खुवाउने रेस्टुरेन्ट अनि सानोतिनो खर्चले धान्ने मध्यमस्तरका रेस्टुरेन्ट, पसल ठूलो संख्यामा पाइन्छन् । त्यसकारण ठूला चाडबाडको छेको पारेर घुम्न निस्किने योजनामा हुनुहुन्छ भने काठमाडौं उपत्यका वरिपरि स्थापना भएका केही पर्यटन गन्तव्य तपाईं र तपाईंको परवार, इष्टमित्र अनि साथीभाइलाई स्वागत गर्न आतुर छन् । यी हुन् काठमाडौं उपत्यकाका पर्यटकीय गन्तव्य चन्द्रागिरि काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि उपयुक्त गन्तव्य हो । समुद्र सतहबाट २ हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । चन्द्रागिरि जानका लागि काठमाडौं थानकोटदेखि केबुलकारको सुविधा पनि छ । यद्यपि, चन्द्रागिरि पुग्न थानकोटबाट पदयात्रा पनि गर्न सकिन्छ । विशेषगरी चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ । चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर पनि रहेको छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । अहिले चन्द्रागिरिमा सुविधा सम्पन्न होटलहरू बनिसकेका छन् । त्यहाँ पारिवारिक माहोलसहितका पूर्वाधारसमेत विकास गरिएको छ, जहाँँ बच्चादेखि वृद्धवृद्धासम्म रमाउन सक्छन् । त्रिभुवन पार्क यदि तपाईं दशैं बिदामा काठमाडौं वरिपरि नै घुम्ने योजना बनाइरहनुभएको छ भने तपाईंका लागि त्रिभुवन पार्क पनि उपयुक्त गन्तव्य हो । राजा त्रिभुवनको नामबाट नामाकरण गरिएको यो पार्क शान्त र रमणीय छ । यो पार्क कलंकीबाट ६ किलोमिटर दूरीमा रहेको छ । काठमाडौंको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको त्रिभुवन पार्कमा तपाईं परिवार र साथीभाइसँग गएर पिकनिक पनि मनाउन सक्नुहुन्छ । त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पटहरू छन् । जसमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता छ । हरियाली जंंगलभित्रका स–साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर/चिर्बिर आवाजले मनै आनन्दित बनाउँछ । यस स्पटमा पुग्न रत्नपार्क, कलंकीबाट सहजै सार्वजनिक गाडी पाइन्छ । स्वप्न बगैंचा (ड्रिम गार्डेन) यदि तपाईं दशैं बिदामा आफ्नो प्रेमी वा प्रेमिकासँग घुम्न जाने, समय बिताउने योजनामा हुनुहुन्छ भने पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधासम्पन्न पार्क छ- गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । यो उपत्यकाभित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । ६ ऋतुका नामबाट निर्माण गरिएका आराम गृह, पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा बस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएका छन् । यो युवाजोडीका लागि मात्र नभइ परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने ठाउँ हो । बालाजु पार्क बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्त्वको पर्यटकीयस्थल पनि हो । यद्यपि, यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ । बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो । यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गहिरो पनि बनाउन मद्दत गर्छ । नगरकोट काठमाडौंनजिकै रहेको अर्को पर्यटकीय गन्तव्य हो, नगरकोट  । काठमाडौंबाट ३५ किलोमिटर दुरीमा रहेको नगरकोट निकै चर्चित गन्तव्य हो । सार्वजनिक यातायात तथा आफ्नै निजी सवारी चढेर एक–डेढ घन्टामै नगरकोट पुग्न सकिन्छ । बिदाका बेला नगरकोट भरिभराउ नै हुने गर्छ । करिब २२ सय मिटर उचाइमा रहेको नगरकोटको टावरबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ  । शिवपुरी–चिसापानी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल चिसापानी । यस स्थानबाट प्रकृतिक सुन्दर हरियाली, सूर्योदय र हिमालको मनमोहक दृश्य अवलोकन गर्ने सकिन्छ । बिदामा हाइकिङ जान इच्छा राख्नेहरूका लागि चिसापानी उपत्यका नजिकैको उपयुक्त गन्तव्य पनि हो । परिवार तथा साथीभाइसँग जाँदा यो यात्रा रोमाञ्चक पनि हुन्छ । शिवपुरी निकुञ्जको घना जंगल छिचोल्दै चिसापानी डाँडामा पुगेपछि हिमालको दृश्यावलोकन गर्न पाइन्छ  । त्यहाँ खान र बस्नका लागि होटेलहरूको पनि व्यवस्था छ । २ हजार ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडाबाट हिमाली शृंखला, हरियाली घना जंगललगायत दृश्यहरू हेर्न सकिने हुँदा प्रकृतिप्रेमीहरूका लागि चिसापानी घुम्नका लागि उपयुक्त थलो हो । आफ्नो समयलाई अविस्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो । लाँकुरी भञ्ज्याङ ललितपुरमा रहेको लाँकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृंखला, गणेश हिमाललगायत हिमालहरू अवलोकनका लागि परिचित छ । साथ, लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीनवटै सहरको विहंगम दृश्य देख्न सकिन्छ । चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुँदै लाँकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याङ उपयुक्त छ । यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरू पनि प्रसस्तै छन् । गोदावरी प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दुरीमा रहेको गोदावरी यो एक उत्तम गन्तव्य हो । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ । पिकनिक र पारिवारिक रिफ्रेसका लागि गोदावरी उपयुक्त स्थान हो । यस क्षेत्रमा बस्नका लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ ।

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दशैं तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो । काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ । नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो । यहाँको रुपा गाउँपालिकाले दुुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले बताए । “पिर्के पिङप्रतिको आकर्षण बढाउन दुुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत रु १० हजार  प्रोत्साहन रकम दिने गरिएको छ”, उनले भने, “दुुई वर्ष अघि छ वटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ ।” कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ । २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको सकृयतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भुुवानीप्रसाद पौडेलले जानकारी दिए । “हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौँ”, अध्यक्ष पौडेलले भने, “त्यस यता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुनः पिङ हाल्न थालिएको हो ।” तात्कालीन समयमा पिङ हालेका अनुुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रुपा गाउँपालिका–४ ठकुरी गाउँमा पुुगेर पिङमा प्रयोग गरिने सामग्रीको नाप बारे जानकारी लिइएको उनले बताए । दसैंका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन् ।

दशैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, कता फर्किएर लगउने ?

काठमाडौँ । यस वर्षको दशैँका टीका लागाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । सनिबार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ। दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्। यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ। मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौँ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले  जानकारी दिए । “हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

भट-भटेनीका सञ्‍चालक गुरुङले दान दिएको जग्गामा एमालेको नयाँ कार्यालय बन्ने, शिलान्याश गरियो

काठमाडौं। एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित भवनको शिलान्याश गरिएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्याश गरेका हुन् । उक्त भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।