स्कुलमा खाजा खान पाएपछि नियमित आउन थाले विद्यार्थी
फाइल फाेटाे कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो । आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । ‘कक्षा दोहर्याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो’ विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, ‘दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’ उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए । ‘कुन बार कस्तो खाने कुरा खुवाउने भन्ने बारे ‘मेनु’नै बनाएका छौं’ उनले भने, ‘त्यसै अनुरुप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ ।’ विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबा खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रवार फलफुल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ । विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए । खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलब सात हजार रुपैयाँ व्यहोरिदै आएको छ । यो संगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर (फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ । दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ । दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए । ‘खाजा खुवाउदा विद्यार्थीलाई बस्नका लागि असहज हुदै आएकाले आगामी वर्ष आवश्यक बेन्चहरु निर्माण गर्ने योजना बनाएका छौं’ उनले भने, ‘बेन्चका लागि आवश्यक पर्ने काठका लागि सामुदायिक वन र निर्माण गर्दा लाग्ने खर्चका लागि वडा कार्यालयलाई गुहार्छौ ।’ विसं २०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रति विद्यार्थी १५ रुपैयाँका दरले उपलव्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नु पर्ने विद्यालयका शिक्षहरुले जनाएका छन् । विद्यालयमा दिवा खाजा कार्यक्रमसंगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए । ‘विद्यालर्थीलाई पोषणयुक्त खाजाको व्यवस्थापनको कार्य गर्नु चुनौतिपूर्ण रहेपनि विद्यालयले गरेर देखाएको छ’ उनले भने, ‘व्यवस्थापन गरे जस्तो सुकै चुनौती भएपनि कार्य गर्न सकिदो रहेछ भन्ने उदाहरण यस विद्यालयको दिन सकिन्छ ।’ विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । ‘अनुगमन संयन्त्रले विद्यालयमा दिवा खाजाको अवस्था, ‘मेनु’ अनुसार खाजा खुवाए नखुवाएको, भान्सा सरसफाइको अबस्था लगायत बारे जानकारी लिने छ’ उनले भने, ‘मापदण्ड विपरित खाजा खुवाइएको पाइए सम्बन्धित विद्यालयलाई सचेत गर्ने र सचेत गर्दा समेत नटेरेमा नियम अनुसार कारवाही हुने छ ।’ दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले वर्षमा जम्मा एक सय ८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ । दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनु पर्छ । प्रति विद्यार्थीलाई दिवा खाजा एक सय ५० देखि दुई सय ग्राम सम्म उपलव्ध गराउनु पर्ने प्रावधान रहेको छ । नगरपालिकामा ६५ बालविकास केन्दमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन । रासस
माग्दीको विकट पात्लेगाउँमा विद्युतसेवा विस्तार, स्थानीयबासी भए खुसी
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा विद्युतीकरण भएको हो । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका एक सय २० घरमा केन्द्रिय प्रशारण लाइनको विजुली बलेको जानकारी दिए । दसैको समयमा गाउँमा बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए । मालिका –३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रिय लाइनका बिद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए । विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ । यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका –३ को लुप्सीपार, खतेन र मालिका– ४ को ओखरबोटका पाँच सय घरमा केन्द्रिय लाइनको बिद्युत सुविधा विस्तार भएको थियो । जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७।६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र/ढुंगाना जेभीसँग तीन करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरीङको काम उपभोक्ता आफैले गरेका हुन् । धवलागिरी गाउँपालिका–२ खोरीया, लमसुङ र लुलाङमा तिहार अघिनै विद्युतीकरणको तयारी गरेको रविन्द्र/ढुङगाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले बताए । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका थिए । हालसम्म म्याग्दी बितरण केन्द्र अन्तरर्गत करिब २३ हजार विद्युतका ग्रहाक छन् । रासस
६२० वटा शाखारहित बैंकिङ सेवा बन्द
काठमाडौं । गत असोज २३ गतेदेखि कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गर्याे । रुपन्देहीको देवदह नगरपालिका ८ स्थित देवदह मोबाइल एण्ड कम्प्युटर पसल, लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजार स्थित ईशानेश्वर इलोक्ट्रोनिक्स, नवलपरासीको कावासोती नगरपालिका १० मगरकोट स्थित विपिन अर्यालसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ । यस्तै चितवनको राप्ती नगरपालिका ८ स्थित सुप्रिया थोक तथा खुदा किराना पसल, इलामको रोङ गाउँपालिका ६ सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन र मोरङ्गको मिक्लाजुङ गाउँपालिका ३ धोबेनी बजार स्थित सिमन इन्टरप्राइजेजसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकको भनाइ छ । यस्तै गत साउन १७ गते ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गर्याे । बैंक सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सेवा बन्द गरेको जनाएको छ । उक्त स्थानका ग्राहकहरूलाई नजिकैका शाखा कार्यालयबाट बैंकिङ सेवा लिन बैंकले आग्रह गरेको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भई शाखारहित बैंकिङ प्रतिनिधि (बीएलबी एजेन्ट) को रुपमा काम गर्दै आएकोमा सम्झौता रद्द गरी व्यावसायिक प्रतिनिधि खारेज गरिएको र उक्त प्रतिनिधि (बिएलबि एजेन्ट)हरू मार्फत कुनै पनि बैंकिङ कारोबार नगर्न बैंकले अनुरोध गरेका छन् । माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय बैंकहरूले धमाधम शाखारहित बैंकिङ सेवा बन्द गरिरहेका छन् । विगतको तथ्याङ्क अध्ययन गर्दा ४ वर्षको अवधिमा ६२० वटा शाखारहित बैंकिङ सेवा बन्द भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ हजार १०७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकका १ हजार ९० वटा र विकास बैंकका १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । ४ वर्षअघि अर्थात् वि.सं २०७८ साउनमा १ हजार ७२७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । उक्त संख्या क्रमशः घट्दै वि.सं २०७९ साउनमा १ हजार ५४८, वि.सं २०८० साउनमा १ हजार ३०६ र वि.सं २०८१ साउनमा १ हजार १०७ वटामा झरका छन् । तर, शाखारहित बैंकिङ सेवाको संख्या घटेको भएपनि कारोबार रकम भने बढेको नै देखिन्छ । वि.सं २०७८ को साउनमा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै वि.सं २०७९ को साउनमा १ अर्ब ६५ करोड १० लाख रुपैयाँ, वि.सं २०८० को साउनमा १ अर्ब ७७ करोड ३० लाख रुपैयाँ र वि.सं २०८१ को साउनमा १ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउन शाखारहित बैंकिङ सेवाको विस्तार गरिएको हुन्छ । महानगरपालिका तथा उपमहानगरपालिका बाहेक बैंकको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी बैंकिङ सेवा दिने व्यवस्था नै शाखारहित बैंकिङ सेवा हो । बैंकको पहुँच बढाउन तथा ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा दिन यस्तो अवधारणा अघि सारिएको हो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स-सानो ऋण लगानीलगायत सेवा दिइन्छ । यस्तो बैंकिङ सेवा सुगमभन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालन गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । शाखा नपुगेका ग्रामीण भेगमा वित्तीय सेवा पर्याउने उद्देश्यले खोलिएका शाखारहित बैंकिङ सेवालाई बैंकहरूले पछिल्लो समय विस्तारै घटाउँदै लगेको तथ्याङ्कले देखाउँछ । साथै शाखारहित बैंकिङमार्फत रकम हिनामिना भएको, सेवा व्यवस्थापन प्रभावकारी हुन नसकेको, नीति निर्देशन विपरित सेवा सञ्चालन भइरहेकाले उक्त सेवा विस्तारै घटाउँदै लगिएको बैंकरहरू बताउँछन् । पछिल्लो समय वित्तीय पहुँचको माध्यम पनि बदलिएको र डिजिटल माध्यमको तिव्र विकास भइरहकोले पनि शाखारहित बैंकिङ सेवालाई निरूत्साहित गरिरहेको बैंकरहरूको भनाइ छ । विगतमा शाखारहित बैंकिङको राम्रो प्रभाव रहेपनि पछिल्लो समय घट्दै गएकाले बैंकहरूले प्राथमिकतामा राख्न छाडेको हुन् ।
हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
राजविराज । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ । लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गरे । जिल्लाको सदरमुकाम राजविराजसमेत जोडने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उनले सुनाए । तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताए । ‘सामान्य वर्षा भए पनि खोलाबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी आउनेजानेक्रम पूर्ण रुपमा बन्द हुने गरेको छ । राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र राजमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा अवरोध हुन्छ’, उनले भने । यस्तै, यस आसपास जोडिएको करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुनसकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गरे । यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न ढिलाइ भएको छ ।
बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा सास्ती
ढोरपाटन । बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो । जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि अविरल वर्षाका कारण खुलाउन नसकिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । अध्यक्ष घर्ती भन्छन्, ‘गाउँपालिकाभित्रका सबै सडक दसैँमा सञ्चालन गर्ने योजना थियो तर अविरल वर्षाका कारण केही सडक खुलाउन सकिएन । अब केही दिनमा सञ्चालन हुने गरी काम गर्छौं ।’ बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दसैँअघिको वर्षाले बडिगाडमा ठूलो क्षति पुर्याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकिएको बताइन् । पालिकाले वर्षात्का कारण अवरुद्ध सडक खुलाउनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकिएको उनले बताए । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ । दसैँमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नुपरेको स्थानीय चन्द्रकान्त बुढामगरले गुनासो गरे । साउन महिनामा पहिरोले सडकको ट्र्याक नै बगाएपछि यातायातका साधान चल्न छोडेको भन्दै दसैँमा टाढाटाढाबाट आउने आफन्तहरुले सास्ती खेप्नुपरेको उनको भनाइ छ । ‘साउनदेखि नै समस्या थियो तर दसैँमा त समस्या समाधान होला सोचेका थियौँ, यहीबेला वर्षाले धेरै ठाउँमा पहिरो गएर थप समस्या भयो । सडक नखुल्दा दसैँसमेत खल्लो हुनुपुग्यो’, बुढामगरले भने । रासस
नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरु हतारहतार हिँडिरहेका छन् । मङ्गलबारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दसैँको दक्षिणा ‘शिक्षामा लगानी’
काठमाडौं । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् । ‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु, सपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु,’ उनले भनिन् । कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् । ‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु,’ उनले भनिन् । कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन् । ‘के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु,’ उनले भनिन् । हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । ‘एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।’ टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । ‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ,’ उनले भने ।
जुम्लामा दसैँमा मात्रै साढे १६ करोडका भेडा र खसी बोकाको कारोबार
काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै साढे १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर ७ हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजार रुपैयाँका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा ४८७ खसी, ३ वटा राँगा र ८२ वटा भैँसी रहेका छन् । स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्यूनतम १० हजार रुपैयाँ रहेकामा औसत मूल्य १९ हजार रुपैयाँ तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम ८ हजार रुपैयाँ रहेकामा औसत १६ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार रुपैयाँ र न्यूनतम २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभँैसी औसत ३८ हजार रुपैयाँमा बिक्री भएका थिए । वि.सं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।