जुम्लामा १६ करोड बढीको भेडा र खसीको कारोबार
जुम्ला । यस वर्षको दसैँमा यहाँ १६ करोड रुपैयाँ मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ । सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको भेडा र खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिए । यहाँका भेडापालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा र खसी किनबेच भएका हुन् । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भने , ‘१५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजार रुपैयाँका राँगा भैसी खरिद बिक्री भएका छन् ।’ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्युनतम १० हजार रुपैयाँ भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधितम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम मूल्य आठ हजार रुपैयाँ भएकामा औसत मूल्य १६ हजार रुपैयाँ निर्धारण गरिएको थियो । अधिकतम् मुल्य ५० हजार रुपैयाँ र न्युनतम मुल्य २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभैँसीको औसत मुल्य ३८ हजार रुपैयाँ निर्धारण गरी कारोबार मूल्यांकन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ । विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा र खसी मात्रै बिक्रीवितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरुमा पनि भेडा र खसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा र खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
काठमाडौं उपत्यकामा चहलपहल बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ । दशैंमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सोमबार उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दशैं अवधिमा काठमाडौं उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । उनले भने, ‘अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।’ अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ । दशैंका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौं फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?
काठमाडौं । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ । युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ विवरण पत्ता लगाउन अनुमति दिनेछ । यसमा वैज्ञानिकहरूले यसको बर्फिलो सतहमुनि तरल पानीको महासागर हुनसक्ने विश्वास गरेका छन् । फ्लोरिडाको केप क्यानाभरलबाट शक्तिशाली स्पेसएक्स फाल्कन हेभी रकेटमा ‘सोमबार, अक्टोबर १४ भन्दा अघि नहुने’ गरी प्रक्षेपण तालिका बनाइएको नासाले विज्ञप्तिमा बताएको छ । ‘युरोपा पृथ्वी बाहिर जीवन खोजी गर्ने सबैभन्दा आशाजनक स्थानमध्ये एक हो’, नासाकी अधिकारी जिना डिब्रासियोले गत महिना पत्रकार सम्मेलनमा भने । मिसनले सीधै जीवनको संकेतहरू खोज्ने छैन बरु ‘के युरोपामा जीवन उपस्थित हुन दिने तत्वहरू छन् ?’ भन्ने प्रश्नको जवाफ खोज्नेछ । यदि छ भने अर्को मिसनले त्यसपछि यसको पत्ता लगाउने प्रयास गर्न यात्रा गर्नुपर्नेछ । ‘यो हाम्रा लागि मङ्गल ग्रहजस्तै अर्बौं वर्षअघि बसोबासयोग्य हुनेसक्ने संसारको अन्वषेण गर्ने अवसर होइन’, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक कट निबुरले गत महिना पत्रकारहरूसँग भने, ‘तर एउटा संसार जो अहिले नै बसोबासयोग्य हुनसक्छ ।’ यान अन्तरग्रहीय अन्वेषणका लागि नासाले अहिलेसम्म डिजाइन गरेको सबैभन्दा ठूलो हो । बृहस्पतिसमम पुग्ने कमजोर प्रकाश समात्न डिजाइन गरिएको ३० मिटर चौडा यसका विशाल सौर्य प्यानलहरू पूर्ण रूपमा विस्तारित हुन्छन् । आदिम जीवन युरोपाको अस्तित्व सन् १६१० देखि थाहा भए पनि पहिलो नजिकका तस्बिरहरू सन् १९७९ मा भोयेजर यानहरूले लिएका थिए । यसले सतहमा रहस्यमय रातो रेखाहरू क्रस गरेको देखाएको थियो । बृहस्पतिको बर्फिलो चन्द्रमामा पुग्ने अर्को यान सन् १९९० को दशकमा नासाको ग्यालिलियो यान थियो । उक्त यानले चन्द्रमामा एउटा महासागर हुने सम्भावना अधिक रहेको पत्ता लगाएको थियो । यसपटक युरोपा क्लिपर यानले क्यामेराहरू, एउटा स्पेक्ट्रोग्राफ, राडार र चुम्बकीय शक्तिहरू मापन गर्न एउटा म्याग्नेटोमिटरसहित परिष्कृत उपकरणहरू बोक्नेछ । मिसनले युरोपाको बर्फिलो सतहको संरचना, यसको गहिराइ र यसको महासागरको लवणतासमेत निर्धारण गर्न प्रयास गर्नेछ । जीवनका लागि आवश्यक पानी, ऊर्जा र केही रासायनिक यौगिकहरू जस्ता तीन तत्व उपस्थित छन् कि छैनन् भनेर बुझ्नु पनि यस मिसनको उद्देश्य हो । यदि यी अवस्थाहरू युरोपामा अवस्थित छन् भने जीवन आदिम ब्याक्टेरियाका रूपमा महासागरमा पाइन सक्ने मिसनकी उपपरियोजना वैज्ञानिक बोनी बुरट्टीले बताए । ‘यदि युरोपा बसोबासयोग्य छैन भने रु भन्ने प्रश्नले हामीले किन यस्तो सोच्यौँ र यो किन त्यहाँ छैन ? भन्नेबारे प्रश्नहरूको समृद्धि खोल्नेछ”, नासाकी सहयोगी प्रशासक निक्की फक्सले भने । ४९ फ्लाइबा यानले बृहस्पतिसम्मको यात्रामा दुई अर्ब ९० करोड किलोमिटर यात्रा गर्नेछ र सन् २०३० अप्रिलमा आइपुग्ने अपेक्षा गरिएको छ । मुख्य मिसन अर्को चार वर्षसम्म चल्नेछ । यानले युरोपामाथि ४९ वटा नजिकका फ्लाइबाहरू बनाउनेछ र सतहबाट २५ किलोमिटर माथिसम्म आइपुग्नेछ । यसले प्रत्येक पासमा करोडौँ छातीको एक्स–रे बराबर तीव्र विकिरणको सामना गर्नेछ । करिब एक दशकदेखि पाँच अर्ब २० करोड डलरको मिसनमा करिब चार हजारले काम गरिरहेका छन् । नासाले सङ्कलन गरिने डाटाको महत्त्वले यो लगानीलाई न्याय दिने बताएको छ । ‘यदि हाम्रो सौयमण्डलमा दुई बसोबासयोग्य संसार (युरोपा र पृथ्वी) को घर हुन पुग्यो भने यस नतिजालाई यस आकाशगङ्गाका अर्बौं अन्य सौयमण्डलमा विस्तार गर्दा त्यसको अर्थ के हुन्छ भनेर सोच्नुहोस्’, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक निबुरले भने, ‘युरोपामा ‘के जीवन छ ?’ भन्ने प्रश्नलाई एकातिर राख्दा, बसोबासयोग्यताको प्रश्नले आफैँमा आकाशगंगामा जीवनको खोजीका लागि एउटा विशाल प्यारा–डाइम खोल्छ ।’ युरोपा क्लिपरले युरोपियन स्पेस एजेन्सी (इएसए) को ज्युस यानसँगै काम गर्नेछ । उक्त यानले बृहस्पतिका अन्य दुई चन्द्रमा गानिमेड र क्यालिस्टोको अध्ययन गर्नेछ । रासस
मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने
मुग्लिन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।
ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । सादा पोसाकको घुमुवा प्रहरीका रुपमा रौतहट जिल्लामा ठगी धन्धामा संलग्न बैठाको साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स–एक बोतल, मोबाइल एक थान, नगद १७ हजार ९०० रुपैयाँ र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । आपाराधिक गतिविधिमा संलग्न बैठालाई अहिले इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरी कार्यालयले जनाएको छ ।
संकटमा पनि राम्रा र अनुकरणीय अभ्यास गरिरहेका सहकारी (सूचीसहित)
सहकारीमा बचतकर्ताको बचत रकम दुरुपयोगका विषयहरू सार्वजनिक भएसँगै सिङ्गो सहकारी क्षेत्रको साख नै सङ्कटमा परेको छ । समुदायमा आधारित भई सहकारीको आधारभूत मूल्य, मान्यता र मर्मअनुरूप राम्रा चलेका सहकारी संस्थाहरू माथि समेत शङ्काको दृष्टिले हेर्न थालिएको छ । सहकारीमा बचतकर्ताहरूले सहकारी संस्थाबाट बचत फिर्ता माग गर्न थालेका छन् । एउटा प्रभावकारी राष्ट्रिय प्रयास नहुने हो भने सहकारी क्षेत्र पुरानै अवस्थामा फर्कनै नसक्ने त होइन भन्ने जोखिम र एक प्रकारको संशय समेत पैदा भएको छ । यद्यपि समुदायमा आधारित भई सञ्चालन भएका सहकारीहरूले राम्रोसँग संस्था चलाएका मात्र छैनन्, सहकारीका नमूना समेत प्रस्तुत गरेका छन् । बचत रकम र वित्त परिचालनका आधारमा आकार सानो वा ठूलो होला, सहकारी संस्थाहरूले नमूना साबित गरेका थुप्रै दृष्टान्त छन् । कुनै समय २२ हजार सेयर सदस्य भएको गुण सहकारी सहित १० वटा सहकारी चलाएका राजेन्द्र शाक्यलाई एकै पटक बचतकर्ताको बचत रकम फिर्ता माग आयो । एकै पटक ठूलो बचत रकम फिर्ताको माग आउँदा उनलाई समस्या त भयो नै तरपनि उनले आफ्नै समुदायमा सहकारी सदस्यहरूसँग सहयोग मागे । उनको भनाइलाई विश्वास गरेर ज्यापु समाज फिर्ता गर्नुपर्ने ठूलो रकमका लागि जमानी बसिदियो । क्रमशः बचत फिर्ता गर्दै जाँदा उनले समस्याको समाधान गरे । एक जना बचतकर्ताले पनि कानूनी कारबाहीको बाटो रोजेनन् । सहकारीका मूल्यमध्ये केही मूल्यलाई अङ्गिकार गरेकाले उनलाई समस्या समाधान गर्दै सहज बन्यो । ‘सहकारीको विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता, संरचना र अभ्यासमा स्पष्ट र सुसङ्गत रूपमा सञ्चालनमा रहेका सहकारीहरूमा खास समस्या छैन, देशैभरी राम्रोसँग सञ्चालनमा रहेका सहकारीहरूको सङ्ख्या धेरै छ । त्यसैले सर्वत्र समस्या छ र बर्बाद नै भयो भन्ने तथ्य होइन । सिद्धान्तबाट विचलित भएर गैरसहकारी क्रियाकलाप गर्दै बचत सङ्कलन एवं दुरुपयोगमा लागि परेका केही गलत नियत बोकेका सहकारीहरूमा भने समस्या देखिएको छ । तिनीहरूमा आज एक प्रकारले भागाभागको स्थिति छ । २०४६ सालमा बहुदलीय प्रजातन्त्र आउँदा २०० वटा सहकारी (रेकर्डमा ८००) क्रियाशील रहेकोमा हाल करिब ३१ हजार सहकारी मध्ये १०० हाराहारी मात्रै समस्यामा देखिन्छन् । करिब ४०० वटा विभिन्न कारणले बिग्रने पङ्क्तिमा रहेका छन् । यसरी कूल मिलाउँदा ५०० भन्दा कम सहकारी समस्यामा परेका छन् । २०५८ मा ११२ वटा सहकारी समस्या देखिएको थियो, २०६६ सालमा ओरियन्टल सहकारी लगायत १३३ वटा समस्यामा परेका थिए । सहकारीमा बचत गर्ने कतिपय शेयर सदस्यहरू पनि आफैमा इमान्दार छैनन् । जुन सहकारीले बढी ब्याज दिने भन्छन् त्यसकै प्रलोभनमा परेर बचतकर्ताहरू पनि ठगीमा परेका छन् । सहकारी मूल्य मान्यतालाई राम्ररी पालना गरेका सहकारी संस्थाहरू पनि प्रशस्त रहेका छन् । समितिले अध्ययन र छाननबिनकै क्रममा राम्रो सुशासनमा चलेका सहकारी संस्थाहरू, महिला सहकारीकर्मीहरूले चलाएका सहकारी संस्थाहरू र सानाकिसान सहकारी संस्थाहरूसँग प्रतिनिधिमूलक रूपमा छलफल समेत गरेको थियो । ती छलफलबाट नेपालमा सहकारी क्षेत्रबाट प्रशस्त योगदान अपेक्षा र अर्थतन्त्रको खम्बा बनाउन सक्ने सम्भावना अझै छ भन्ने आशा गर्न सकिने अवस्था छ । ती सहकारी स्स्थाहरूले खासगरी ग्रामीण समुदायमा वित्तीय पहुँच पुयाउन अपेक्षित योगदान दिइरहेका छन् र प्रगतिउन्मुख अवस्थामा रहेका छन् । केही खराब र व्यक्तिकेन्द्रित सहकारी संस्थाको छविका कारण हजारौं सदस्यकेन्द्रित सहकारी संस्था र तीनका सदस्यहरूले समस्या भोग्नु परेको अवस्था समेत छ । राज्यको दृष्टि नपुगेका कतिपय क्षेत्रमा सहकारी संस्थाले आम नागरिकको सेवा पुर्याइरहेका छन् । यस परिच्छेदमा केही राम्रा चलेका सहकारी संस्थाहरूको वित्तीय विवरण प्रस्तुत गरिएको छ । समस्यामा रहेका सहकारी संस्थाहरू र ती संस्थाको सूचकमा आधारित अनुपात हेर्दा समस्याको पहिचानमा समेत सहयोग पुग्दछ । समितिले सुशासनमा चलेका सहकारी संस्थाहरू, महिला सहकारीकर्मीहरूबाट मात्र सञ्चालनमा रहेका सहकारी संस्थाहरू र साना किसान कृषि सहकारी संस्थाहरूसंग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारी संस्थाहरू र केही थप सक्रिय सहकारी संस्थाहरू गरी कूल १२० वटा सहकारी संस्थाहरूको विवरण अध्ययन गर्दा देहायको अवस्था प्राप्त गर्न सकिन्छ । सदस्यहरूसम्म वित्तीय पहुँच विस्तार समुदायमा आधारित र सदस्यकेन्द्रित भई चलेका केही प्रतिनिधि सहकारी संस्थाको वित्तीय स्थिति विवरणमा संलग्न सहकारी संस्थाहरू आफ्नो स्थापनाकालदेखि नै समुदायमा आधारित रही सञ्चालनमा रहेका छन् । सदस्यहरूको सेवा नै आफ्नो कर्तव्यका रूपमा बोध गर्दै दिगो सेवाका लागि यी संस्थाहरूमध्ये केहीले नेपाल राष्ट्र बैंकबाट सीमित कारोबारको स्वीकृति लिई सञ्चालनमा रहेका थिए भने २०५७ सालदेखि उल्लिखित संस्थाहरूमध्ये धेरैले सूचकमा आधारित स्तरीकरण कार्यक्रममा सम्बद्ध रही आफ्नो परीक्षण गराई निरन्तर सुधारमा रहेको पाइन्छ । सञ्चालन क्षमता, वित्तीय व्यवस्थापन, सुशासन र प्रभावकारी सेवाका लागि विषयगत संघहरूले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी र सार्थक देखिएको पुष्टि यी प्रतिनिधि संस्थाहरूको कारोबारको वर्तमान २०८१ असार मसान्तको वित्तीय स्थितिमा आधारित यो अवस्थाले पुष्टी गरेको छ । समुदायमा आधारित र सदस्यकेन्द्रित भई चलेका केही प्रतिनिधि सहकारी संस्थाको वित्तीय स्थिति विवरणमा संलग्न सहकारी संस्थाहरू आफ्नो स्थापनाकालदेखि नै समुदायमा आधारित रही सञ्चालनमा रहेका छन्। सदस्यहरूको सेवा नै आफ्नो कर्तव्यका रूपमा बोध गर्दै दिगो सेवाका लागि यी संस्थाहरूमध्ये केहीले नेपाल राष्ट्र बैङ्कबाट सीमित कारोबारको स्वीकृति लिई सञ्चालनमा रहेका थिए भने २०५७ सालदेखि उल्लिखित संस्थाहरूमध्ये धेरैले सूचकमा आधारित स्तरीकरण कार्यक्रममा सम्बद्ध रही आफ्नो परीक्षण गराई निरन्तर सुधारमा रहेको पाइन्छ । सञ्चालन क्षमता, वित्तीय व्यवस्थापन, सुशासन र प्रभावकारी सेवाका लागि विषयगत संघहरूले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी र सार्थक देखिएको पुष्टि यी प्रतिनिधि संस्थाहरूको कारोबारको वर्तमान २०८१ असार मसान्तको वित्तीय स्थितिमा आधारित यो अवस्थाले पुष्टी गरेको छ । (सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल
फुुङ्लिङ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । दशैंको अन्तिम समयमा सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उनीहरूको सुविधाका लागि तयारी गरिरहेका छन् । लगातारको वर्षाका कारण यही असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो । रमिते र राजदुवाली खण्डमा पहिरोले सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएपछि यातायात र व्यापार–व्यवसायले गति लिन थालेको छ । नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घटेको थियो । सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
काठमाडौं । नेपाल मेडिकल कलेजमा फुटबल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटबल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् । उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् । ‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.वेश अन्सारीले भने,‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा। अन्सारीलाई कलेजका रेजिडेन्ट डा. विधान र डा. हेमन्तले साथ दिएका थिए । असोज १७ गते बिहीबार विहान माकलबारीस्थित मनकामना फुटसलमा फुटबल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए । परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए । डा. अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो । ‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटबल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उनका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुने केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ । दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ।’ डा. अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो । आफ्नो छोराको मिर्गौला नै सिलाउनु पर्ने भएपछि चिन्तित आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिए । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा. साबहरुले गरेरै देखाउनु भयो । मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’ कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा। वेश अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा. वेश अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिइरहेका छन् ।