विकासन्युज

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौँ । जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्छन्। यसाे हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड थियाे। उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताए । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने । मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् । जलवायु परिवर्र्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ । –––

बन्दीपुरमा पर्यटकको चहलपह

दमौली । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, सहिद स्मारक उद्यानलगायत १७ गन्तव्यको सूची अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायत सात भाषामा तयार पारेको छ । यो याममा यहाँ आउने अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । बन्दीपुर जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड,स्वीटजरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटकको रोजाइ बनेको अध्यक्ष प्रधानले बताए। अन्नपूर्ण, माछापुछ्रे, धौलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।

सुक्खा पहिरोका कारण अवरुद्ध बनेकाे अरनिको राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको बताए । सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थिए । शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

हेटौँडा-काठमाडौँ यात्रा गर्दा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताइन् । कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उनले जानकारी दिइन्।

घरेलु तथा साना उद्योहरू अर्थतन्त्रको खम्बा

काठमाडौं । देशको अर्थतन्त्रलाई आत्मनिभर बनाउन घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरूले यस्ता उद्योगहरूको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रवद्र्धन गर्नुपर्ने बताइन् । स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवद्र्धन गर्नुपर्छ, साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई कमी ल्याउनेछ,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी बन्ने यात्रामा लागेका उद्यमीहरूले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी कजारीकरण गर्ने, कसरी ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्न विभिन्न माध्यमको आवश्यकता छ ।’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएकोले यस्ता उद्योगहरूको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । काठमाडौं महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिने उनले बताए । लघु, घरेलु तथा साना उद्योगीहरूको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल र सहकार्यबाट अगाडि बढ्ने उनको भनाइ छ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर बहादुर बीसीले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासमा राज्यले नीतिगत रुपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताए । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भएपनि यसका लागि धेरै काम हुन नसकेको उनको भनाइ छ । ‘नेपाली रैथाने उत्पादनलाई नेपालीहरूले प्रयोग गर्ने गरी आन्तरिक बजारमा स्थापित हुन सक्दैनन् तबसम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन सक्दैन,’ उनले भने । काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समिक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन र बजारीकरणमा सघाउन प्रदर्शनी गर्नु परेको बताए । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय सभागृह परिसरमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ को समापन गरिएको छ । १० दिनसम्म सञ्चालन रहेको प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतका वस्तु राखिएका थिए । यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता राखिएका थिए ।

भारतीय बजारलाई टक्कर दिँदै, सीमा नाकामा कर्णालीको स्याउ

काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए । उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए । ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ,’ अध्यक्ष कँडलेलले भने । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए । वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० रुपैयाँदेखि २५० र चीनको स्याउ प्रतिकिलो १६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए । दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए । मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए ।

गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीका कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको असोज १८ गते बसेको सञ्चालक समिति बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको वरिष्ठ प्रबन्धक दिपक न्यौपानेले जानकारी दिए । सहायक महाप्रबन्धक रहेका श्रेष्ठले असोज २३ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सम्हालेका हुन् । यस्तै, ४ वर्ष नपुग्दै कम्पनीबाट बाहिरिएका सन्तोष कुमार घिमिरेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ । वि.सं २०७८ माघ १९ गते कम्पनीको सीईओमा नियुक्त भएका घिमिरे ४ वर्षे कार्यकाल पुरा नहुँदै कम्पनीबाट बाहिरिएका हुन् ।

दुर्गा भवानीको ६ सय दुर्गा मूर्ति सेलाइँँदै

काठमाडौं । बाँकेमा विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए । घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात आज सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उनका अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ । मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले बाँकेमा करिब ६ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए ।