इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति
इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख रुपैयाँ र दुहबी नगरपालिकामा एक करोड २० लाख रुपैयाँ र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै
काठमाडाैँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश घोषणा गरेको हो । समितिले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, ०.५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीको हाल ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस सेयरपछि यस लघुवित्तको पुँजी एक अर्ब नाघ्ने भएको छ । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।
१८ करोड खर्चेर म्याग्दीका ६ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार संघीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले १८ करोड रुपैयाँ लागतमा छ वटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८/८२ मा एक करोड ४५ लाख रुपैयाँको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार तीन सय ३५ रुपैयाँ भुक्तानी पाएको थियो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिए ।
फोहर व्यवस्थापन नगर्दा बुद्धमाई अस्पतालले तिर्यो एक लाख जरिवाना
काठमाडौं । काठमाडौ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ संकेतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा एक लाख रुपैयाँ जरिवाना गराइएको कामपाले जनाएको छ । अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द
मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए । दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौं र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौं प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
धरान । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् । सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएका छन् । भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएका छन् । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छन् भने सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ । उनले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गरेका छन् भने केही आफैँले पनि रोपेका छन् । उनले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए । एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा २० देखि २५ हजार रुपैयाँसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताए । एउटा नाङ्लो एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताए । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् । नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउँछन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गरेका छन् । नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस दुई सय रुपैयाँसम्म पर्ने गरेको जानकारी दिँदै उनले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताए । ‘आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,’ नाङ्लो बुनेर घरखर्च चलाउँदै आएका विक्रमले घरका सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भने ।
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले १६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको हो । यो सँगै अमेरिकाले जितका लागि १६५ रनको चुनौती पाएको छ । कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे । अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
अमेरिकीहरूसँग ४११ खर्ब डलर विद्यार्थी ऋण, थप साढे ४४ अर्ब डलर स्वीकृत
काठमाडौं । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् । पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्र्ने ह्वाइट हाउसले बताएको छ । ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार छिन् । उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्त्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ । पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन् । शिक्षक, नर्स र अन्य व्यक्तिहरूलाई समर्थन गर्ने कार्यक्रमको प्रतिबद्धतामा १० वर्षको सार्वजनिक सेवा र १० वर्षको भुक्तानीपछि विद्यार्थी ऋण माफी समावेश थियो । ‘धेरै लामो समयसम्म सरकारले आफ्नो प्रतिबद्धताहरू पूरा गर्न असफल भयो र केवल सात हजार मानिसले मात्र माफी पाएका थिए,’ बाइडेनले भने, ‘म उच्च शिक्षालाई किफायती बनाउन कहिल्यै काम गर्न रोक्ने छैन ।’ उपराष्ट्रपति ह्यारिसले उच्च शिक्षा जीवनभरको ऋण नभई आर्थिक अवसरको मार्ग हुनुपर्ने बताइन् । उनले पनि लागत कम गर्न, उच्च शिक्षालाई अझ किफायती बनाउन र विद्यार्थी ऋणको भार कम गर्न काम जारी राख्ने प्रतिज्ञा गरिन् । कोरोना भाइरस महामारीको समयमा पूर्वराष्ट्रपति ट्रम्पले लागू गरेका विद्यार्थी ऋण भुक्तानीको रोक्कापछि बाइडेनले लाखौँ अमेरिकीका लागि विद्यार्थी ऋण रद्द गर्ने प्रयासहरू सुरु गरेका छन् । अमेरिकीहरूसँग ४११ खर्ब डलर विद्यार्थी ऋण छ र केहीले जागिर र परिवार सुरु गर्दा दशकौँसम्म तिर्नुपर्ने हुन्छ ।