आज तीन प्रदेशमा वर्षा हुने, भोलि कस्तो छ मौसम ?
काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
टीका र जमरा थाप्ने क्रम जारी
काठमाडौँ । दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछिदेखि भने नवदुर्गाको प्रसाद लगाउन क्रम राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका र जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ । यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम मानिस काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा बढी चहलपहल देखिएको हो । महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा कम चहलपहल देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले बढी चहलपहल देखिन्छ । राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन पनि कठिन नभएको मान्यजन कहाँ आशीर्वाद लिन हिँडेकाको अनुभव छ । टीकाथलीमा आफन्त कहाँ जान लाग्नुभएका मङ्गलबहादुर श्रेष्ठ यो वर्ष सहजै सवारी पाइएको सुनाउनुहुन्छ । सवारीले स्टेशन नै पिच्छे पाँच÷सात मिनेट रोकेर भने ढिला गरेको उनले सुनाए ।
यी हुन् बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेका २८ महिला
काठमाडौं । नेपालको बीमा क्षेत्रमा महिलाहरुको सहभागीता बढ्दै गएको छ । सामान्य कर्मचारीदेखि उच्च व्यवस्थापनमा महिलाको उपस्थिति बाक्लो देख्न सहिन्छ । हाल १४ वटा निर्जीवन, १४ वटा जीवन बीमा, ७ वटा लघुबीमा र २ वटा पुनर्बीमा कम्पनी गरी गरी कुल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । निर्जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा महिलाको सहभागीता राम्रै देख्न सकिन्छ । तर, जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा भने महिलाको सहभागीता निर्जीवनको तुलनामा कम छ । निर्जीवन कम्पनीमध्ये एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला छिन् । त्यसैगरी, ३ वटा निर्जीवन बीमा कम्पनीमा नायब कार्यकारी अधिकृत महिला रहेकी छिन् । उपासना पौडेल: हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी सन् २०२३ को सेप्टेम्बरदेखि कम्पनीको सीईओमा नियुक्त भएकी हुन् । यसअघि उनी सोही कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिइन् । सन् २०१० मा भारतको कुमिन्स इन्डिया (रिकोन इन्डिया) मा काम गरेकी पौडेल त्यसपछि आईसीआईसीआई लोमबर्डमा काम गरेकी थिइन् । करिब ३ वर्ष उक्त कम्पनीमा काम गरेकी पौडेलसँग भारतकै अन्य विभिन्न जनरल इन्स्योरेन्समा काम गरेको अनुभव छ । उनी नेपाल फर्किएपछि साविक सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धक बनिन् । त्यसपछि उनी साविक यूनाइटेड इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त भइन् । पछि उनी सोही कम्पनीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनिन् । यूनाईटेड र अजोड मर्जरपछि भने उनी हिमालयन रिइन्स्योरेन्समा आएकी हुन् । अन्जु श्रेष्ठः हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ हुन् अन्जु श्रेष्ठ । गत असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएकी श्रेष्ठले साविकको हिमालयन जनलर इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेकी हुन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जपछि हिमालयन एभरेष्टमा पनि उनी डीसीईओ नै भएर काम गरेकी थिइन् । श्रेष्ठ पुनर्बीमा र निर्जीवन बीमामा अब्बल रहेको बुझिएको छ । बरिश्मा साउद आचार्यः दुई दशकभन्दा बढी नेपाली बीमा क्षेत्रमा कार्यरत बरिश्मा साउद आचार्य सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको)को नायब कार्यकारी अधिकृत हुन् । यसअघि उनी साविक लुम्बिनी जनरल इन्स्योरेन्सको डीसीईओ थिइन् । साविकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा आउनु अघि उनी शिखर इन्स्योरेन्समा कार्यरत थिइन् । शिखरमा उनले नायव महाप्रबन्धक (डीजीएम) भएर काम गरेकी थिइन् । सविता मास्केः शिखर इन्स्योरेन्सको नायब कार्यकारी अधिकृत (डीसीईओ)को भुमिकामा रहेकी सविता मास्केसँग बीमा क्षेत्रको २ दशक भन्दा बढी अनुभव छ । मोटर, अग्रिबीमा लगायत विभागको लामो समयदेखि नेतृत्व गरेकी मास्केले हाल अण्ड्ररराईटिङ्ग विभाग प्रमुख छिन् । उनी एसीआईआई चार्टर्ड समेत हुन् । सिरिशा मरुजोल्लाः सिरिशा मरुजल्ला द ओरिएन्टल इस्योरेन्स नेपालकी नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि ओरियन्टल इण्डियाको शाखाको शाखा प्रमुख थिइन् । बीमा क्षेत्रमा २ दशकको अनुभव हासिल गरेकी मरुजोल्लाले निर्जीवन बीमा क्षेत्रमा विभिन्न विभागमा काम गरिसकेकी छिन् । रेना रिजालः सानिमा जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धक (डीजीएम) रहेकी रेना रिजाल बीमा क्षेत्र प्रवेश गर्नुअघि बैंकिङ क्षेत्रमा काम गरिरहेकी थिइन् । बैंकिङ क्षेत्रबाट करियर सुरु गरेकी उनले १४ वर्ष कुमारी बैंकमा काम गरेपछि बीमा क्षेत्रमा प्रवेश गरेकी हुन् । साविक सानिमा जनरल इन्स्योरेन्समा डीजीएम भएर आएकी उनी जीआईसी इन्स्योरेन्ससँग मर्जपछि पनि सोही पदमा कार्यरत छिन् । उनले मार्केटिङमा एमबीए गरेकी छिन् । कविता जोशीः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत कविता जोशीसँग बीमा क्षेत्रको २८ वर्ष बढीको अनुभव छ । साविक प्रिमियर इन्स्योरेन्सबाट बीमा क्षेत्रको करियर सुरु गरेकी जोशीसँग पुनर्बीमाको अनुभव समेत छ । सिद्धार्थ र प्रिमियर मर्जपछि उनी पुनर्बीमा विभाग प्रमुख रहेर काम गरिरहेकी छिन् । उदिता जोशीः आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहायक महाप्रबन्धक हुन् उदिता जोशी । उनीसँग बीमा क्षेत्रको २ दशक बढीको अनुभव छ । सन २००४ मा साविकको यूनाईटेड इन्स्योरेन्सबाट बीमा क्षेत्र प्रवेश गरेकी जोशीले सो कम्पनीमा ४ वर्ष काम गरेपछि साविकको प्रुडेन्सियल इन्स्योरेन्समा प्रवेश गरेकी थिइन् । चिफ म्यानेजर भएर लामो समय काम गरेकी जोशी सन् २०२० मा भने सहायक महाप्रबन्धकमा बढुवा भएकी हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमबीएम गरेकी छिन् । सुलना श्रेष्ठ: सुलना श्रेष्ठ नेपाल इन्स्योरेन्सको प्रबन्धक (म्यानेजर) हुन् । अधिवक्ता समेत रहेकी श्रेष्ठले काठमाडौं स्कुल अफ ल बाट एलएलबी गरेकी छिन् । त्यसैले कम्पनीले उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिएको छ । साविक लक्ष्मी बैंकबाट करियर सुरु गरेकी श्रेष्ठले २ वर्ष ७ महिनपछि भने बीमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । सन् २०१९ मा काननु प्रबन्धक बनेर नेपाल इन्स्योरेन्समा प्रवेश गरेकी श्रेष्ठ सन् २०२३ देखि कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । डा.सृजना पन्थ र रजनी पौडेलः डा. पन्थ र पौडेल राष्ट्रिय बीमा कम्पनीको प्रमुख व्यवस्थापक हुन् । दुवै जनाले तत्कालीन राष्ट्रिय बीमा संस्थानबाट करियर सुरु गरेका हुन् । साथै दुवै जनाले सन् २०१० मा सहायक प्रबन्धकका रूपमा एकैदिन काम सुरु गरेका हुन् । डा. पन्थले बीमा विषयमा विद्यावारीधि गरेकी छिन् भने पौडेलले फाइनान्समा स्नातकोत्तर गरेकी छिन् । सुनिता पोखरेलः सुनिता पोखरेल नेपाल लाइफकी वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २००८ देखि नेपाल लाइफमा आवद्ध छिन् । एमबीएस गरेकी उनीसँग कम्पनीको विभिन्न विभागमा काम गरेको अनुभव छ । सुस्मिता राणाः नेशनल लाइफकी सुस्मिता राणा सहायक प्रमुख प्रबन्धक पदमा काम गरिरहेकी छिन् । उनी कम्पनीको गुनासो सुन्ने अधिकारी समेत हु्न् । उजीला मानन्धरः उजीरा मानन्धर एशियन लाइफको प्रबन्धक हुन् । उनी विगत १५ वर्षदेखि जीवन बीमा क्षेत्रमा काम गर्दै आएकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी मानन्धरसँग देश तथा विदेशमा आयोजित जीवन बीमा सम्बन्धी विभिन्न तालिमको अनुभव समेत छ । सुमना न्यौपानेः जीवन बीमा क्षेत्रमा करिब २ दशक अनुभव बटुलेकी सुमना न्यौपाने हाल सन नेपाल लाइफको वरिष्ठ प्रबन्धक हुन् । उनी कम्पनीको माइक्रो इन्स्योरेन्स विभाग प्रमुखको भुमिकामा छिन् । उनी सन २०२१ देखि सन नेपालमा आवद्ध भएकी हुन् । त्यसअघि उनी तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा थिइन् । उनले सन् २००८ देखि सन् २०२१ सम्म सूर्य लाइफमा काम गरेकी हुन् । मन्जु थापाः मन्जु थापा नेपाल पुनर्बीमा कम्पनीको प्रमुख पबन्धक हुन् । उनी विगत २ वर्षदेखि कम्पनीको प्रमुख प्रबन्धक रहेकी उनले संयुक्त राष्ट्र विकास कार्यक्रमबाट आफ्नो करियर सुरु गरेकी हुन् । थापासँग बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा समेत काम गरेको अनुभव छ । उनी प्राधिकरणमा सहायक निर्देशक थिइन् । सन् २०१९ देखि सामाजिक सूरक्षा कोषमा वरिष्ठ सहायक निर्देशक भएर काम गरेकी थापा सन् २०२२ मा नेपाल पुनर्बीमा कम्पनीम प्रवेश गरेकी हुन् । लक्ष्मी पौडेलः लक्ष्मी पौडेल नेपाल पुनर्बीमा कम्पनीको वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २०२२ देखि यस कम्पनीमा कार्यरत छिन् । यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीको सह व्यवस्थापकमा ६ जना महिला रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शान्ता पोखरेल, आशा कुमारी बस्नेत, शारदा पाण्डे लोहनी, शुलक्षणा पण्डित, दीपा अधिकारी र बिन्दु शर्मा कम्पनीको सह व्यवस्थापक पदमा कार्यरत छन् । रिता पाठक: जीवन बीमा क्षेत्रमा करिब २ दशकाे अनुभव बटुलेकी पाठक हाल सिटिजन लाइफ इन्स्याेरेन्समा वरिष्ठ प्रबन्धक छिन् । यस अघि उनले एक दसक भन्दा बढी मेट लाइफमा काम गरिन् । माइक्रो इन्सुरेन्स, वैदेशिक रोजगार बीमा, ग्रुप म्यादी बीमा विभागको हेड भएर काम गरेको अनुभव भएकी पाठक कर्पोरेट हेडको भूमिका निभाउदै आएकी छिन्। बीमाको अतिरिक्त उनकाे सहकारी क्षेत्रमा पनि लामो अनुभव रहेको छ । उनको सो बिषयहरुमा राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा विभिन्न तालिम लिएको अनुभव समेत रहेको छ । उनी लेखन रचनामा पनि उतिकै सक्रिय रहेकी छिन् । हालसम्म उनका दर्जनौ लेख समेत प्रकाशित भैसकेका छन् । हालसम्म हजारौ व्यक्तिहरुलाई बीमा सम्बन्धि प्रशिक्षण दिएकी पाठकले व्यवस्थापन बिषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् । विद्या श्रेष्ठ: विद्या श्रेष्ठ हिमालयन रिइन्स्योरेन्सको वरिष्ठ प्रबन्धक हुन् । उनी विगत २ वष ४ महिनादेखि हिमालय रिमा आवद्ध छिन् । उनीसँग बीमा क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ । श्रेष्ठले सन् २००१ मा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) बाट आफ्नो करिअर सुरु गरेकी हुन् । २१ वर्ष साे कम्पनीमा काम गर्दा उनले अण्डरराइटिङ विभाग र बजार विभागको प्रमुखको जिम्बेवारी समेत सम्हाललेकी थिइन् । उनले एमबीए गरेकी छिन् । एलआईसी नेपालमा प्रबन्धक समेत बनेकी श्रेष्ठले आफ्नो २१ वर्ष काम गरेको संस्थाबाट बाहिरिएर उनी २०२२ मा हिमालयन रिमा गएकी हुन् । उनी हिमालयनमा वरिष्ठ प्रवन्धक हुन् भने जीवन बीमा विभागको प्रमुख पनि हुन् । कविता शर्माः कविता शर्मा स्टार माइक्रो इन्स्योरेन्सको महाप्रबन्धक हुन् । विगत एक वर्षअघि कम्पनीमा आवद्ध हुनुअघि उनी विद्युत उत्पादन कम्पनीमा काम गर्थिन् । त्यसअघि उनले मेगा बैंकको रिलेसनसिप म्यानेजरको रुपमा काम गरेकी थिइन् । प्रबिना नेपाल: नेपाल माइक्रो इन्स्योरेन्सको जनरल म्यानेजर हुन् प्रविना नेपाल । उनी कम्पनीको तेस्रो नम्बरमा छिन् । सुनिता कोइराला: सुनिता कोइराला गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख प्रबन्धक हुन् । उनी स्वास्थ्य क्षेत्रबाट बीमा क्षेत्रमा आएकी हुन् । उनले दुई वटा विषयमा स्नातकोत्तर गरेकी छिन् ।
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय बीच लामो समयदेखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदायका बिचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ । सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कायर्वाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो । जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ । अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ । सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।
टीका लगाउन आउनेलाई ‘दूध-दही’ले स्वागत
चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो । कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उनले भने “पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।” उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए । गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे। उनले भने,“बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत ग¥यौँ । उनले भने “बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही,मोही नै रुचाए ।” विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न जानुभएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउनुहुन्छ । कृषिमा स्नातकोत्तर गरेका उनले भने “धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।” सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उनको सुझाव छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताए। उनको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरुले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् । जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् । जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा रहेको गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरुले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन् । सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउँछन् । विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उनले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिए । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरुमा मोहीको माग अधिक हुने गरेको छ । उनले भने “विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।” यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन्। फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उनले जानकारी दिए । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताए।
इजरायली आक्रमणले लेबनानी मस्जिद ‘ध्वस्त’
लेवनान । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ । स्थानीय समय अनुसार आइतबार “बिहान ३ स् ४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताएका छन् । उनका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे । गाजा युद्धलाई लिएर इजरायल र हिज्बोल्लाहबिच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भयो । लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन् ।
आफैँ पैसा खर्च गरेर उद्यम सिकाउँदै, व्यवसायी जन्माउँदै नबिल बैंक
काठमाडौं । किरण नेपाली गन्धर्वहरूको ‘सारङ्गी’ लाई संसारभर चिनाउन चाहन्छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका यात्रु, गाउँघर अनि सहरका सडकपेटीमा विरहका गीत सारङ्गीको धुनमा सुनाइँदै आएको परम्परागतलाई शैलीलाई आधुनिकीकरण गर्ने उनकाे ठूलो धोको थियो । उनीसँग आईडीया र योजना दुवै थियो । हुन त कुटुम्ब ब्याण्डको सदस्य भएकाले किरणलाई देशविदेशमा पर्फमेन्स र जीविकोपार्जन गर्न कुनै सकस थिएन । कुटुम्ब ब्याण्डबाटै उनले आफूलाई चिनाइरहेका थिए । तर, आफै उद्यमी बन्ने र परम्परागत सारङ्गीलाई उद्यमशीलतामा परिणत गर्ने नेपालीको इच्छा थियो । त्यसका लागि उनीसँग आईडीया पनि थियो । तर, कसरी उद्यमी बन्ने, कसरी बजारीकरण गर्ने ? यी यावत विषयगत ज्ञान भने किरणसँग थिएन । जब उनले नबिल बैंकको ‘फेलोसिप’ पाए तब परम्परागत सारङ्गीलाई ‘ग्ल्यामरस’ बनाए । लोप हुँदै गएको गन्धर्व जातिको सारङ्गीलाई नेपालीले आधुनिकशैलीमा संसारभर चिनाइरहेका छन् । रोशन श्रेष्ठ बायोटेक्नोलिजिष्ट हुन् । उनी स्वदेशमै आलुको गुणस्तरीय बीउ उत्पादन गर्न चाहन्थे । अहिले पनि सामान्य तरिकाले आलु रोपेर फलाइन्छ । परम्परागत शैलीमा आलु राेप्दा उत्पादन क्षमता कम हुने सम्भावना रहन्छ । तर, त्यसलाई परिमार्जन गरी ‘टिस्यू कल्चर’ (आलुको बीउ उत्पादन गर्ने बेर्ना) विधिबाट बीउ बनाउने श्रेष्ठको योजना थियो । अर्गानिक क्षेत्रमा काम गरिसकेको अनुभवका आधारमा उनले काभ्रेमा आलुको बीउ उत्पादन गर्ने फार्म सञ्चालनमा ल्याए । तर, उनीसँग त्यसको बजारीकरण अनि ब्राण्डिङ कसरी गर्ने भन्ने अनुभव थिएन । नबिल बैंकको फेलोसिप प्राप्त गरेपछि अहिले उनको आलुको बीउले चर्चा पाउन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत उनको फार्मबाट उत्पादन भएको आलुको बीउ खरिद गरेर किसानहरूलाई वितरण गरिरहेको छ । सजना भडेलले एक्सपोल हब नेपाल सञ्चालनमा ल्याएकी छिन् । नेपालमा महिला ट्रेकिङ गाइड कम छन् । महिलाहरूलाई लक्षित गरेर पर्यटन प्रवर्द्धन गरिरहेकी उनले नबिल बैंकको फेलोसिप प्राप्त गरेपछि आफ्नो व्यवसायलाई थप मजुबत बनाइरहेकी छिन् । नयाँ-नयाँ किसिमका टुर प्याकेज ल्याइरहेकी छिन् । नसना बज्राचार्यले जिन्सको खेर गएको कपडा वा पुरानो कपडालाई रिसाइकल गरी ब्यागलगायतका अन्य प्रडक्ट उत्पादन गरिरहेकी छन् । खेर गएको कपडालाई रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउँदा उनको व्यवसाय मात्रै भएको छैन, वातावरण प्रदूषण पनि कम भएको छ । किरण परियार, रोशन श्रेष्ठ, सजना भडेल र नसना बज्राचार्य जस्ता १२ दर्जन बढी उद्यमीलाई नबिल बैंकले फेलोसिप प्रदान गरेको छ । नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीप–नबिल एसएसई) मार्फत् नयाँ कार्यको थालनी र काम गर्ने योजना बनाएका व्यक्तिलाई बैंकले प्रत्येक वर्ष २० जनालाई फेलोसिप प्रदान गर्दै आएको छ । बैंकको फेलोसिप प्राप्त गरेपछि उद्यमीहरूले व्यवसायलाई सही दिशामा डोर्याउँदै व्यवसायमा गुणस्तरीय वृद्धि गरिरहेका छन् । फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स बैंकले खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम नबिल बैंकले एउटा अवधारणा बनायो- सामाजिक उत्तरदायित्वअन्तर्गतको निश्चित रकम सामाजिक उद्यमशीलता प्रवर्द्धनमा खर्च गर्ने । बैंकले सन् २०२१ नोभेम्बर २६ मा नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीप–नबिल एसएसई) योजनाको सुरुवात’ गरेकाे थियाे। जसअन्तगर्त बैंकले फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुइटा कार्यक्रम गरिरहेको छ । नबिल फेलोसिप नबिल बैंकले तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेर उद्यमीहरूलाई फेलोसिप प्रदान गर्दै आएको छ । बैंकले हालसम्म तीन चरणको फेलोसिप प्रदान गरिसकेको छ । प्रत्येक वर्ष फेलोसिपका लागि बैंकले विभिन्न माध्यमबाट आवेदन आह्वान गर्छ । आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रतिस्पर्धात्मक प्रक्रियाका आधारमा २० जना छनोट गरी फेलोसिप कार्यक्रममा सहभागी गराइन्छ । फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । प्रत्येक महिना ३ दिनगरी ६ महिनाको अवधिमा १८ दिन विभिन्न किसिमका तालिम दिइन्छ । बैंकको फेलोसिपका लागि जुनसुकै क्षेत्र जस्तै: कृषि, वातावरण, संस्कृति, उर्जा, पर्यटन, आईटी आदि क्षेत्रका व्यक्तिले आवेदन दिन सक्ने नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीपका प्रमुख उज्वल चापागाईं बताउँछन् । जोसँग केही आईडीया र केही गर्न हुटहुटी छ भने आह्वान गरेको बेला आवेदन दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार छनोट भएका व्यक्तिलाई मासिक तीन दिन आवासीय सुविधासहित तालिम दिइन्छ । छनोट भएका व्यक्तिलाई बैंकले फेलोज भन्ने गरेको छ । प्रत्येक फेलोजलाई सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव, सीप भएको एक जना विज्ञलाई मेन्टरका रूपमा गाइड उपलब्ध गराउँछ । नबिल एसएसई प्रमुख चापागाईंका अनुसार नबिल बैंक र टियूसँगको सहकार्यमा उत्पादन भएको उद्यमी भनेपछि जोकोहीले बजारमा सहजै विश्वास गर्छन् । ‘उद्यमशीलता वृद्धिका ज्ञान, सीपको अभाव महसुस गरेको, खातापाताको काम समयमा सही तरिकाले गर्न नसकेर कर तिर्दा जरिवाना तिर्नु परेको, उत्पादन गरेको वस्तुको मार्केटिङ, ब्राण्डङ गर्न नजानेको, बजारीकरण गर्न नजानेको, आफ्नो प्रडक्टको ग्राहक को हो भनेर पत्ता लगाउन नसकेको, नयाँ उद्योग, व्यापार व्यवसाय खोल्ने योजना छ तर, कसरी अगाडि बढाउने भनेर नबुझेको लगायत सानासाना अवरोध थाहा नपाएको व्यक्तिलाई आवेदन आह्वान गरिन्छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई छनोट गरी सम्बन्धित क्षेत्रका विज्ञ, अनुभवी व्यक्तिहरूले आफ्नो अनुभव, ज्ञान अनि सीप सिकाइन्छ । तालिम लिइसकेपछि ‘कन्फिडेन्स’ बढेको, काम गर्ने तरिकमा फरकपना आएको, पहुँच बढेको, जनशक्ति व्यवस्थापनमा सहजता आएको लगायत भोग्दै आएका समस्या हल भएको प्रतिक्रिया दिनुहुन्छ ।’ सर्टिफिकेट कोर्स उद्यमी जन्माउने नबिल बैंकको अर्काे प्रडक्ट हो सर्टिफिकेट कोर्स । नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल एसएसई) कार्यक्रमअन्तर्गत रहेको सर्टिफिकेसन कोर्सका लागि बैंकले सातै प्रदेशमा विभिन्न ११ वटा कलेजहरूसँग सम्झौता गरेको छ । नबिल फेलोसिप कार्यक्रम जस्तै सर्टिफिकेसन कोर्सका लागि बैंकले प्रत्येक वर्ष आवेदन आह्वान गर्छ । स्थानीयस्तरमा उद्यमशील गरिरहेका उद्यमी, सामाजिक उद्यमशीलतामा काम गर्न चाहना भएका व्यक्ति, विद्यार्थी, जो कोहीले पनि यसमा आवेदन दिन सक्ने नबिल एसएसई प्रमुख उज्वल चापागाईं बताउँछन् । उद्यमी बन्ने सोंचको विकास गर्नु वा माइण्ड सेट गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए । तीन महिनाको अवधिमा १४ दिनसम्म याे काेर्स चलाइँदै आइएकाे छ । एउटा ब्याच (एक चरण)मा २५ जना सहभागी गराइने र बैंकले सम्झौता गरेको कलेजमा तालिम दिने गरिएको उनको भनाइ छ । उनका अनुसार दुइटा कलेजमा हालै कोर्स सुरु भएको छ भने ९ वटा कलेजमा ३ चरणसम्म कोर्स चलिरहेको छ । साथै उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमलाई पनि बैंकले नबिल एसएसईअन्तर्गत रहेर सहयोग गरिरहेको नबिल एसएसई प्रमुख चापागाईंको भनाइ छ । उद्यमशीलता विकास गर्न गत वर्ष आयोजना गरिएको सीएनआईवाईइएफ स्टार्टअप फेष्टलाई बैंकले सहयोग गरेको उनले बताए । बैंक आफैले पनि उद्यमशीलताका लागि विभिन्न प्रडक्ट ल्याउने गरेको उनले जानकारी दिए । बजार उपलब्धता बैंकले सबै काम गर्न सक्दैन । तर, बजार उपलब्धताका लागि नेटवर्किङमा सहजीकरण गर्ने गरेको उनकाे भनाइ छ । फेलोसिप कार्यक्रम र सर्टिफिकेसन कोर्समा सहभागी भएका उद्यमीहरूले उत्पादन गरेको प्रडक्टको बजारीकरणका लागि बैंकले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा सहभागीहरूलाई ऋण आवश्यक परेको खण्डमा बैंकले प्रकृति हेरेर कर्जा उपलब्ध गराइरहेको उनले बताए । ‘यदि उहाँहरू कसैलाई कर्जा आवश्यक परेमा बैंकले उपलब्ध गराउँछ । तर, कार्यक्रममा सहभागी भएर तालिम लिएपछि नबिल बैंकबाटै कर्जा लिनुपर्छ भन्ने छैन, उहाँहरूलाई जुन बैंकमा सहज लाग्छ लिन पाउनुहुन्छ,’ उनले भने ।
सहकारी सङ्कट समाधानमा अमेरिकी अनुभव, ४ हजारको संख्यालाई २४१ मा झारियो
सहकारी संस्थामा जे समस्या रहेको हुन्छ, त्यसको निराकरण गर्नु सहकारी सङ्कटको समाधान हो । जुन कारणले सङ्कट भएको हो, त्यसको कारण र सङ्कट समाधानको मार्ग पत्ता लगाई राज्यको सक्रियतामा समस्याको समाधान गर्नु नै सहकारी सङ्कटको समाधान हो । सङ्कटको समाधान सहकारीलाई पूर्ववत् रूपमा सञ्चालन गर्ने अवस्थामा फर्काउनु वा हरहिसाब फरफारक गरी चल्न नसक्ने संस्थाको खारेजी गर्नु सम्मका कार्य सङ्कटको समाधान अन्तर्गत पर्दछन् । सहकारीको समस्या समाधानमा समस्याको कारण प्रमुख रहन्छ । के कारणले समस्या भएको थियो, त्यसको कारण पहिचान गरी त्यसमा समाधानको मार्ग खोजिन्छ । यस्तो प्रक्रियामा नियमित कानूनी प्रबन्ध बाहेक सूर्यास्त प्रकृतिका कानूनी र संस्थागत प्रबन्ध गरेर समस्याको समाधानको मार्ग खोज्ने पनि गरिन्छ । नेपालको सहकारी सङ्कटलाई हेर्दा मुख्यतः तीन खालका प्रवृत्ति नियतजन्य समस्या, परिस्थितिजन्य समस्या र कानूनी रिक्तताको कारण सिर्जना भएको समस्या रहेको देखिन्छ । समाधानको मार्ग खोज्नु अगाडि कुन कारणले समस्या सिर्जना भएको हो भन्ने पहिचान गरिन्छ । त्यसैका आधारमा समाधानको मार्ग खोजिन्छ । सामान्यतया, नियतजन्य समस्यामा कानूनी उपचारको मार्ग अवलम्बन गरिनु उपयुक्त हुन्छ । परिस्थितिजन्य समस्या भएमा सरकारी प्रयासमा समस्या समाधानको प्रयास गरिन्छ । राज्यका तर्फबाट छुट वा सुविधा दिएर पनि समस्याको समाधान गर्न सकिन्छ । कानूनी रिक्तताको कारण सिर्जना भएको समस्यालाई बृहद् जनसमर्थनमा त्यस्तो मुद्दा उठाई कानूनी रूपान्तरणमार्फत समस्याको समाधान खोज्न अविलम्ब अग्रसरता लिनुपर्दछ । सेभिङ्गस् एण्ड लोन सङ्कट समाधानमा अमेरिकी अनुभव सन् १९८० को दशकमा संयुक्त राज्य अमेरिकाले देशभर रहेका सेभिङ्गस् एण्ड लोन एशोसियसनहरूमा ठूलो वित्तीय सङ्कटको सामना खेप्नुपरेको थियो । यी संस्थाहरूलाई थ्रिफ्ट्स् पनि भन्ने गरिन्छ । तिनीहरू करिब नेपालका बचत तथा ऋण सहकारी जस्तै थिए । उक्त सङ्कटबाट सेभिङ्गस् एण्ड लोन क्षेत्र मात्र नभई समग्र वित्तीय क्षेत्रले अत्यधिक समस्या भोग्नु परेको थियो । यसले गर्दा एक तिहाइ भन्दा बढी (एक हजार बढी) त्यस्ता संस्थाहरू बन्द भएका थिए । उक्त सङ्कट कस्तो पृष्ठभूमिमा, के कारणले आएको थियो र कसरी समाधान गरियो भन्ने जानकारी नेपालका वित्तीय सहकारीमा देखिएका समस्या समाधानको लागि सहयोगी हुन सक्ने देखिन्छ । सेभिङ्गस् एण्ड लोन कस्ता संस्था हुन् ? सन् १८०० ताका अमेरिकी बैंकहरूले आवासीय घरजग्गा कर्जामा लगानी नगर्ने गरेका कारण थ्रिफ्टहरूको उदय हुन गएको हो । थ्रिफ्ट एक प्रकारका साना बैंक नै हुन् । जसले आफ्नो सदस्य तथा सर्वसाधारणको बचत परिचालन गर्छन् अनि उक्त रकमलाई घरजग्गा कर्जाका रूपमा लगानी गर्दछन् । अमेरिकाको पहिलो सेभिङ्गस् एण्ड लोन पेन्सेलभेनिया राज्यमा सन् १८३१ मा थियो । थ्रिफ्टहरूको उत्पत्ति आम नागरिकहरूमा घरको स्वामित्व बढाउने सामाजिक लक्ष्यसँग जोडिएको थियो । थ्रिफ्टहरू मूल रूपमा आफ्नै घर खरिद गर्ने इच्छा भएका तर पर्याप्त बचतको अभाव भएका व्यक्तिहरूबाट स्थापना भएको थियो । थ्रिफ्टहरूले समूहका सदस्यहरूको बचत परिचालन गरेर समूहकै केही सदस्यहरूलाई ऋण वा वित्त उपलब्ध उपलब्ध गराउने उद्देश्य राखेका थिए । अर्को शब्दमा भन्नुपर्दा यी सामुहिक र आर्थिक हित पूर्तिका लागि स्थापना भएका वित्तीय सहकारी संस्थाहरू नै थिए । सन् १९८० को दशकसम्म आइपुग्दा थ्रिफ्टहरू बैंकको तुलनामा निकै कम थिए र समग्र सम्पत्ति पनि बैंकिङ क्षेत्रको भन्दा निकै कम थियो । तथापि अमेरिकी घरजग्गा कर्जा बजारको लागि थ्रिफ्टहरू निकै महत्वपूर्ण मानिन्थे । सन् १९८० मा अमेरिकामा करिब ४ हजार थ्रिफ्टहरूले लगभग ६ सय अर्ब डलर बराबरको कूल सम्पत्ति परिचालन गरेका थिए । त्यस समय कूल घरजग्गा धितो कर्जा ९६० अर्ब डलर रहेकोमा सोको आधा अर्थात करिब ४८० अर्ब डलर थ्रिफ्टहरूले परिचालन गरेका थिए । सङ्कट आउनु अगाडिको पृष्ठभूमि सन् १९७० को दशकमा विश्वले दुई ठूला उर्जा सङ्कटहरू भोग्नुपरेको थियो । जसले कच्चा तेलको लागत बढाएको थियो । त्यसको सिधा प्रभाव अमेरिकी अर्थतन्त्र र आर्थिक वृद्धिदरमा परेको थियो । पहिलो सङ्कट अक्टोबर १९७३ मा अरब मुलुकहरूले तेल निर्यातमा प्रतिबन्ध लगाएपछि भएकोमा लगभग पाँच महिनासम्म चल्यो । उक्त अवधिमा कच्चा तेलको मूल्य चार गुणासम्म बढ्यो । दोस्रो ऊर्जा सङ्कट इरानी क्रान्ति लगतै सन् १९७९ मा आएको थियो । जसले कच्चा तेलको मूल्य थप तीन गुणासम्म बढायो । आपूर्तिमा आएको समस्याका कारण मुद्रास्फीति दर १९७० को दशक र सन् १९८० मा उच्च रूपमा बढ्यो । मुद्रास्फिति दर नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वले बैंकदर बढाउदै लगेको थियो । डिसेम्बर, १९८० मा सो दर हालसम्मकै उच्च बिन्दू अर्थात २० प्रतिशत पुगेको थियो । सेभिङ्गस् एण्ड लोन सङ्कटका प्रमुख कारणहरू निक्षेप बीमाले सिर्जित नैतिक विचलन : सन् १९३४ देखि सङ्घीय निक्षेप बीमाको व्यवस्था थ्रिफ्टहरूमा समेत बिस्तार गरिएको थियो । जुन यस सङ्कटको मूल र तात्विक कारण हुन गयो । संघीय बचत तथा ऋण बीमा निगम (एफएसएलआईसी)ले थ्रिफ्ट्हरूको बचतको बीमा गरेको थियो । सुरुवातदेखि नै निक्षेप बिमाबापत लिइने प्रिमियमदर थ्रिफ्टहरूमा अन्तर्निहित वास्तविक जोखिममा आधारित थिएन । यसकारण सुरक्षित र जोखिमपूर्ण थ्रिफ्टले समान बीमा शूल्क बुझाउने गरेका थिए । यसप्रकारको बीमा शुल्क वा प्रिमियम संरचनाले नैतिक विचलनको अवस्था सिर्जना गर्यो र कमजोर वित्तीय संरचना भएका थ्रिफ्टहरूलाई सुधारका लागि पर्याप्त प्रोत्साहनभएन । अमेरिकाले सन् १९९१ मा मात्र थ्रिफ्टहरूका लागि जोखिममा आधारित निक्षेप बीमा प्रिमियम निर्धारण गर्न सुरू गयो । जोखिमपूर्ण सम्पत्ति दायित्व व्यवस्थापन : सन् १९३० को आर्थिक मन्दीपश्चात् अमेरिकी नीतिले सेभिङ्गस् एण्ड लोन एशोसियसनहरूलाई छोटो अवधिको निक्षेप मात्र स्वीकार गरी लामो अवधिको स्थीर ब्याजदरमा ऋण दिन बाध्य गरेको थियो । परिणामस्वरुप थ्रिफ्टहरूले एकल रूपमा सम्पूर्ण ब्याजदर जोखिम बहन गर्नुपरेको थियो । स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति उपयुक्त भएता पनि कमजोर वित्तीय अवस्था भएका थ्रिफ्टहरूमार्फत कार्यान्वयन गरिनु घातक साबित भयो । उक्त समयमा थ्रिफ्टहरूको सम्पत्ति र दायित्व व्यवस्थापन निकै जोखिमपूर्ण रहेको थियो किनकी लगानी गरिएका कर्जाहरूको अवधि परिचालन गरिएका निक्षेपको तुलनामा निकै बढी रहन्थ्यो । ब्याजदरसँग संवेदनशील निक्षेप, दायित्व र बेमेल सम्पत्ति तथा दायित्व भुक्तानी अवधिका कारणले ब्याजदर वृद्धिको असर थ्रिफ्टहरूको सुनाफा र नेटवर्थमा पर्याे । थ्रिफ्टहरूको खुद ब्याज आम्दानी ऋणात्मक भएका कारण सन् १९८१ र १९८२ मा समग्र सेभिङ्गस् एण्ड लोन क्षेत्रको कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर अन्तर क्रमशः १० प्रतिशत र ०.७ प्रतिशत (ऋणात्मक) रहेको थियो । राजनीतिक पहुँचका आधारमा त्यस्ता संस्थाहरूले नियमन खुकुलो पार्दै घरजग्गा भन्दा पनि बढी जोखिमयुक्त सट्टेबाजी लगानी पनि गरेका थिए । संस्थाहरूको नेटवर्थ घाटामा हुँदा पनि सम्पत्ति सञ्चालकहरूको ख्यातीलाई समावेश गरेर वासलात चाहिँ सन्तुलनमा रहेको नै देखाइन्थ्यो । ब्याजदर नियन्त्रण : अमेरिकी राज्यहरूले युज्री कानूनमार्फत थ्रिफ्टहरूले घरकर्जामा लिन मिल्ने ब्याजदरको माथिल्लो सीमा निर्धारण गरिदिएका थिए । ब्याजदरमा रहेको प्रतिबन्धका कारण थ्रिफ्टहरूले लगानी गरेका कर्जाहरूमा कायम गरिएको ब्याजदर बजार अनुसार बढाउन सक्दैन थिए । परिवर्तनीय ब्याजदर पद्धतिको अभावमा व्याजदरहरू बढ्दै जाँदा ब्याजदरहरूमा समयसापेक्ष समायोजन गर्न असमर्थ रही थ्रिफ्टहरूले कर्जामा प्राप्त गरेको ब्याज निक्षेपमा तिरेको भन्दा कम हुन जान्थ्यो । यसका अतिरिक्त सन् १९८२ सम्म घरधनीहरूले घर बिक्री गर्दा कम ब्याजदरका घरकर्जाहरू नयाँ खरिदकर्तालाई सोही दरमा हस्तान्तरण गर्ने प्रचलन समेत ब्यास रहेको थियो जसले थ्रिफ्टहरूको खुद ब्याज आम्दानी समयसमयमा ऋणात्मक हुन आउथ्यो । कर्जा एकाग्रता : ग्रिफ्टहरूले प्रदान गर्ने कर्जामा विविधता नभई एकै प्रकृतिका कर्जाहरूको अंश अत्यधिक रहेको थियो, खासगरी घरजग्गा कर्जा रहेको थियो । समय–समयमा थ्रिफ्टहरूले प्रान्तीय राज्यहरूले लिएका नीतिका कारणले घरजग्गाको मूल्यमा आउने उतारचढावको समेत सामना गर्नुपरेको थियो । घरजग्गाको कर नीति : रियलस्टेट् करमा व्यापक परिवर्तनका कारण सङ्कट अवधिमा रियल स्टेटको मूल्यमा व्यापक उतारचढाव ल्यायो । सन् १९८१ मा करमा दिइएको छुटका कारण घरजग्गाको मूल्य अत्यधिक बढ्न गएकोमा निर्माण कार्य तीव्र थियो । तर, सन् १९८६ मा कर नियमहरू कडा पारिँदा घरजग्गाको मूल्यमा हास आई ग्रिफ्टहरूले प्रदान गरेको ऋणहरूको वास्तविक मूल्यमा ह्रास आई घाटा भएको थियो । नियन्त्रणकारी मौद्रिक नीति : सन् १९७० को दशकदेखि तेल सङ्कटका कारण मूल्यवृद्धि भइरहेको थियो । मुद्रास्फिति दर नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वले बैंकदर बढाउँदै लगेको थियो, डिसेम्बर १९८० मा सो दर हालसम्मकै उच्च बिन्दू अर्थात २० प्रतिशत पुगेको थियो । ब्याजदरमा भएको वृद्धिले थ्रिफ्टहरूका लागि दुई समस्याहरू उत्पन्न भयो । पहिलो, यी थ्रिफ्टहरूले मुख्यतया अल्पकालीन बचत परिचालन गरी दीर्घकालीन स्थिर ब्याजदरमा घरकर्जा प्रवाह गरेका थिए । जसका कारण ब्याजदर बढेपश्चात ब्याज खर्चमा वृद्धि भएता पनि ब्याज आम्दानी स्थीर नै रह्यो । फलस्वरुप थ्रिफ्टहरूले प्रवाह गरेको कर्जाको वास्तविक मूल्य कम हुन गई समग्र सेभिङ्गस् एण्ड लोन क्षेत्रकै नेटवर्थ ऋणात्मक कायम हुन आयो । दोस्रो, त्यस समयमा अमेरिकी सङ्घीय कानूनअनुसार व्याजदर केही नियन्त्रित रहेका कारण थ्रिफ्टहरूले सङ्कलन गरेको निक्षेपमा दिन सक्ने ब्याजदरको माथिल्लो सीमा अन्य संस्थाहरू जस्तै कमाउन सकिने ब्याजदर भन्दा निकै तल रहेको थियो । जसले गर्दा बचतकर्ताहरूलाई आफ्नो रकम फिर्ता लिन अग्रसर गरायो । सोही कारण थ्रिफ्टहरूले केही समय तरलताको समस्या समेत भोग्नुपरेको थियो । अपूर्ण र अविवेकी डिरेगुलेसन : थ्रिफ्टहरूको सम्पत्तिमा आएको हास रोक्न अमेरिकी सरकारले सन् १९८० मा डिपोजिटरी संस्थाहरू नियमन र मौद्रिक नियन्त्रण ऐन पारित गरी सङ्कट समाधानका लागि नियमनमा कटौती गर्ने निर्णय गरेको थियो । तथापि निक्षेप बीमा कोषले भोगिरहेको नोक्सानलाई सामना गर्न पर्याप्त स्रोतसाधन उपलब्ध गराएन । सन् १९८० र १९८२ मा कानून निर्माता र नियामक निकायहरूले थ्रिफ्टहरूले गर्न सक्ने लगानीका प्रकारहरूमा रहेको प्रतिबन्ध हटायो । थ्रिफ्टहरूले अब आफ्नो सम्पत्तिको ४० प्रतिशतसम्म व्यावसायिक घरजग्गा कर्जामा लगानी गर्न सक्ने भए । तर, यस्तो कर्जा बिस्तार गर्दा आउन सक्ने जोखिमका बारेमा नियामकले समेत बेवास्ता गरेका थिए । सन् १९८३ मा लोन टूू भ्यालू अनुपात ७५ प्रतिशतबाट बढाई शतप्रतिशत कायम गरियो । साथै, एकल ग्राहक कर्जा सीमामा पनि वृद्धि गरी एकै व्यक्ति वा समूहलाई अत्यधिक ऋण दिने अनुमति प्रदान गरियो । नीति निर्माताहरूले टेक्सास राज्यमा कम नियमन भएका कारण त्यहाँका थ्रिफ्टहरूले राम्रो नाफा कमाएको र व्यवसाय वृद्धि गर्न सफल भएको गलत दृष्टान्त लिई डिरेगुलेसन सम्बन्धी कानूनहरू जारी गरेका थिए । तर, अन्त्यमा टेक्सस राज्य नै दिवालिया थ्रिफ्टहरूको केन्द्रबिन्दु बन्यो । सङ्कटका कारणले खारेज गरिएका थ्रिफ्टहरूमध्ये ४० प्रतिशत टेक्सस् राज्यमा दर्ता भई सञ्चालनमा रहेका थिए । बढी जोखिमयुक्त लगानीबाट उच्च नाफा आर्जन भई थ्रिफ्टहरू सवल बन्न सक्ने अपेक्षाका साथ ल्याइएका अधिकांश नीतिहरू कालान्तरमा प्रतिकूल साबित भए । पुँजी पर्याप्तता सम्बन्धी कमजोर मापदण्ड : सन् १९८० को दशकको सुरुवाती वर्षहरूमा नियामकहरूले थ्रिफ्टहरूको यथार्थ वित्तीय अबस्थालाई ढाकछोप गर्न पुँजीको मापदण्डलाई कमजोर बनाएका थिए । थ्रिफ्टहरू एकआपसमा गाभिँदा वा निसर्ग हुँदा अधिग्रहण गरिएका सम्पत्तिहरूको बजार मूल्य ग्रहण गरिएका दायित्वहरूको मूल्य भन्दा कम भएमा दुईबीचको फरकलाई गुडविलको रूपमा गणना गर्न अनुमति दिइयो । थ्रिफ्टहरूले किताबी मूल्यमा कूल सम्पत्तिको ५ प्रतिशत पुँजीकोष राख्नु पर्ने नियम संशोधन गरी सन् १९८२ मा ३ प्रतिशत कायम गरियो । यसले गर्दा थ्रिफ्टहरूलाई कम वास्तविक पुँजीमा सञ्चालन भइरहने मौका दियो । फलस्वरुप डिरेगुलेसनद्वारा अधिक जोखिम लिन प्रोत्साहन गरिएता पनि पुँजीको आकारमा सोही अनुरुप समानुपातिक वृद्धि हुन सकेन । कमजोर सुपरीवेक्षण र अधिक जोखिम लिन अनुमति दिने नियामकको खराब मनोवृत्तिका कारण पुँजीकोष ऋणात्मक रहेका थ्रिफ्टहरू समेत सञ्चालनमा रहिरहे । यसका अतिरिक्त आपराधिक मानसिकता भएका व्यक्तिहरूले समेत पैसा हिनामिना गर्न सफल भएका थिए । सन् १९८० देखि १९८३ को अवधिसम्ममा रियल स्टेट व्यवसायीहरूले नै थ्रिफ्ट स्थापना गर्ने वा आफ्नो नियन्त्रणमा लिई आफ्नै परियोजनामा लगानी गरे । सन् १९८० मा निक्षेप बीमाको सीमा ४० हजारबाट बढाएर १ लाख डलर पुर्याइयो । यसले दिवालिया थ्रिफ्टहरूलाई बजारबाट निक्षेप सङ्कलन गर्न झन सहज भयो । किनकि बचतकर्ताहरूले आफ्नो बचत सुरक्षित नै रहने भएकाले कमजोर वित्तीय अवस्था भएका थ्रिफ्टहरूमा समेत निक्षेप राख्ने भए । यसले गर्दा खराब थ्रिफ्टहरू लामो समयसम्म सञ्चालनमा रहिरहन सहज भइरह्यो । यस्तै नियामकीय र विधायकी परिवर्तनहरूको परिणामको स्वरूप थ्रिफ्ट क्षेत्रले द्रुत वृद्धिको अनुभव गर्यो । सन् १९८२ देखि १९८५ सम्म थ्रिफ्टहरूको समग्र सम्पत्ति ५६ प्रतिशतले बढ्यो, जुन बैंकिङ क्षेत्रको २४ प्रतिशतको वृद्धिको तुलनामा दोब्बर भन्दा बढी हो । सरकारको ढिलाइ र निस्क्रियता : सरकारको ढिलाइ र निस्क्रियता तथा राजनीतिक अनिच्छुकताका कारणले गर्दा समस्या पहिचान भएको लामो समयसम्म पनि सुधारका कार्यहरू गर्न आवश्यक कानूनी व्यवस्था गरिएन । टाट पल्टेका ब्रिफ्टहरूलाई खारेज गरी बिमा गरिएको निक्षेप भुक्तानी गर्न निक्षेप बिमा कोषलाई आवश्यक रकम उपलब्ध गराइएन । थ्रिफ्टहरूको निक्षेप बिमा गरेको संस्था संघीय बचत तथा ऋण बीमा निगमले दिवालिया हुने सँधारमा रहेका वा प्राविधिक रूपमा टाट पल्टिसकेका थ्रिफ्टहरूलाई समेत समयनै बन्द नगरेकोले थप घाटा व्यहोर्नु परेको थियो । सन् १९८३ मा नै दिवालिया थ्रिफ्टहरूलाई बन्द गर्ने एकदम उपयुक्त समय भएको भएता पनि सरकारले सो कार्यलाई पछिका लागि धकेल्यो । जसले समस्यालाई थप जटिल र समाधान थप खर्चिलो बनायो । समाधानका लागि चालिएका प्रयासहरू सन् १९८७ मा संघीय बचत तथा ऋण बीमा निगमलाई पुर्नपुँजीकरण गर्नका लागि सरकारले १०.८ अर्ब डलर मात्र उपलब्ध गराएको थियो । जबकि प्रक्षेपित लागत यसको कैयौँ गुणा बढी थियो । एफएसएलआईसी कोषमा रहेको घाटाको आकारलाई सुरुमै आम जनताबाट लुकाई सत्यतथ्य सार्वजनिक समेत गरिएको थिएन । सन् १९८८ मा मात्र पहिलोपटक एक अधिकारीले एफएसएलआईसी जोगाउनका लागि ३० देखि ३५ अर्ब डलर खर्च हुने बयान दिए । त्यसपछिको अर्को आठ महिनामा उक्त कार्यका लागि अनुमानित लागत ४६ अर्ब डलर पुगेको थियो । अन्ततः अमेरिकी संसद्ले सेभिङ्ग एण्ड लोन क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने निर्णय गर्यो । सन् १९८९ मा वित्तीय संस्था सुधार, रिकभरी र प्रवर्तन ऐन पारित गर्यो । जसले महत्वपूर्ण सुधारहरूका उपायहरू अवलम्बन गर्यो । प्रथम, यसले तत्कालीन नियामक संघीय गृह ऋण बैंक बोर्ड खारेज गरी बचत पर्यवेक्षण कार्यालयको स्थापना गर्यो । दोस्रो, दिवालिया एफएसएलआईसी खारेज गरी एफडीआईसी अन्तर्गत नै थ्रिफ्टहरूका लागि निक्षेप बीमा कोषको स्थापना गरिदियो । तेस्रो, रिजोलुसन ट्रस्ट कर्पोरेशन (आरटीसी)को स्थापना गरी बाँकी रहेका समस्याग्रस्त थ्रिफ्टहरूको फरफारक गर्न पर्याप्त स्रोत प्रदान गरियो । आवश्यक स्रोत भने एकैपटकमा उपलब्ध नगराई पटकपटक किस्ताबन्दीमा मात्र प्रदान गरिएको थियो । आरटीसीले ४०७ अर्ब भन्दा बढीको सम्पत्ति फरफारक गरी कूल ७४७ वटा थ्रिफ्टहरू बन्द गर्याे । एफएसएलआईसीले आरटीसी स्थापना हुन अगावै २९६ थ्रिफ्टहरू बन्द गरिसकेको थियो । यस सङ्कटका कारणले ५०० अर्ब डलर भन्दा बढी बराबरको सम्पत्ति नियन्त्रण गर्ने कूल १०४३ वटा थ्रिफ्टहरू बन्द भएका थिए । सन् १९९५ को अन्तिम दिनमा आरटीसी बन्द भएसँगै थ्रिफ्टहरूको सङ्कट आधिकारिक रूपमा समाप्त भयो । करदाताहरूको लागि अन्तिम लागत १२४ अर्ब डलर जति रहेको अनुमान गरिएको छ । अमेरिकी सरकारले सेभिङ्स् एण्ड लोन सङ्कटको अन्त्य भएपश्चात् सन् १९८९ देखि थ्रिफ्ट र वाणिज्य बैंकहरूको कार्यक्षेत्र र सीमालाई छुट्टयाउने परिधिहरू खारेज गर्न थाल्यो । आजका दिनमा थ्रिफ्ट र बैंकिङ उद्योगमा खासै तात्विक भिन्नता छैन । अधिकांश थ्रिफ्टहरू बैंकहरूमा नै गाभिएका वा बैंक होल्डिङ कम्पनीमार्फत समाहित भएका छन् । सन् २००४ को अन्त्यमा कूल ८८६ वटा थ्रिफ्टहरू रहेकोमा मे २०२४ को अन्त्यमा उक्त संख्या २४१ मात्र रहेको छ । (सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)