मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज
दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्– ‘बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।’ दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ । गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन् । गाउँको जनसङ्ख्या एक सय २० मा झरेको छ । गाउँका अगुवा धनबहादुर थापा भन्छन्, ‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ’, यहाँका सबै टोलमा यस्तै समस्या छन् । यस्तै गुनासो गर्छन् रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । ‘निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै ।’ दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । ‘सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?’, उनी प्रश्न गर्छन् । सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको बताए । कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् । परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उनले बताए । जंगली जनावरको आतंक ग्रामीण बस्ती खाली हुनुको एक कारण जंगली जनावरको आतंक पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् । लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जंगली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर स्थानीय गाउँले परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका हुन् । ‘केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जंगली जनावरका कारण बाँझो पर्न थालेका छन् । केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान दिँदैन । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै सहर पस्न थाले’, महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भने । रासस
विवाहको सिजन नजिकिँदा सुनको मूल्य आकासिँदै, किनबेच ठप्प
काठमाडाैं । पछिल्लो समय सुनचाँदीको भाउ लगातार बढिरहेको छ । पछिल्लो तीन दिन सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार पनि सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । शुक्रबार तोलाको २ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार छापावाला सुन तोलाको एक लाख ६२ हजार ४ सय रुपैयाँ थियो । चाँदीको मूल्य आज तोलमा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अब नेपालमा विवाहकाे सिजन नजिकिँदैछ । नेपालमा मंसिरदेखि विवाहकाे सिजन सुरु हुन्छ । विवाहकाे सिजन सुरु भएपनि सुनको बजारमा भने कुनै चहलपहल छैन । सुनको मूल्य बढ्दा बजारमा भने किनबेच सुस्त रहेको व्यापारीहरू बताउँछन् । नेपालमा मात्रै होइन, सुनको मूल्य विश्व बजारमा नै बढिरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब विश्व बजारमा सुनको मूल्य बढ्छ, नेपालमा पनि बढ्ने गरेको छ भने जब विश्व बजारमा सुनको मूल्य घट्छ नेपालमा पनि मूल्य घट्ने अभ्यास छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्य पनि बढिरहेको जानकारहरू बताउँछन् । जानकारहरूका अनुसार अमेरिकी केन्द्रीय बैंकको ब्याजदर, अमेरिकी डलरको प्रभाव, विभिन्न ठूला अर्थतन्त्र भएका देशले सुनमा बढी महत्त्व दिनु, विभिन्न देशका केन्द्रीय बैंकले सुन थुपार्नु तथा आर्थिक गतिविधिमा सुस्सता आउँदा सुनको मूल्य बढ्छ । सोही कारण पनि अहिले सुनको मूल्य बढिरहेको हो ।
अष्ट्रेलियाले कार्ड भुक्तानी अधिभारमा प्रतिबन्ध लगाउने
काठमाडौं । अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्रयाकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले सरकार केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधिनमा २०२६ बाट बिक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिबन्ध गर्न तयार गरेको घोषणा गरे । अस्ट्रेलियालीहरूले कार्ड भुक्तानी अधिभारमा प्रत्येक वर्ष संयुक्त ९६०.२ मिलियन अस्ट्रेलियन डलर (६४५.६ मिलियन अमेरिकी डलर) गुमाउँछन् ।
इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति
इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख रुपैयाँ र दुहबी नगरपालिकामा एक करोड २० लाख रुपैयाँ र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै
काठमाडाैँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश घोषणा गरेको हो । समितिले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, ०.५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीको हाल ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस सेयरपछि यस लघुवित्तको पुँजी एक अर्ब नाघ्ने भएको छ । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।
१८ करोड खर्चेर म्याग्दीका ६ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार संघीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले १८ करोड रुपैयाँ लागतमा छ वटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८/८२ मा एक करोड ४५ लाख रुपैयाँको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार तीन सय ३५ रुपैयाँ भुक्तानी पाएको थियो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिए ।
फोहर व्यवस्थापन नगर्दा बुद्धमाई अस्पतालले तिर्यो एक लाख जरिवाना
काठमाडौं । काठमाडौ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ संकेतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा एक लाख रुपैयाँ जरिवाना गराइएको कामपाले जनाएको छ । अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द
मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए । दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौं र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौं प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।