युद्धमा घाइते इजरायली पूर्वसैनिकको अन्नपूर्ण यात्रा (फोटोफिचर)
काठमाडौं । अन्नपूर्ण सर्किटको ट्रेकिङमा ९४ भन्दा बढी इजरायली पदयात्रीहरूले हालचालै रोमाञ्चक अनुभव गरे । जसमध्ये ३४ जना विभिन्न युद्धमा घाइते भएका पूर्व सैनिकहरू थिए । पदयात्रामा १२ जना ह्वीलचेयर र २२ जना विभिन्न शारीरिक अपाङ्गता भएका व्यक्ति सहभागी थिए जसलाई पोटर र नेपाली गाइडले सहयोग गरिरहेका थिए । इजरायलीहरू ५ हजार ४१६ मिटरको थोराेङ ला पास पार गरेपछि खुसी मनाए । यो एक चुनौतीपूर्ण पदयात्रा हाे । यस समूहले ट्रकिङको क्रममा नेपालकाे संस्कृतिलाई बुझ्ने माैका पाएका थिए । मनाङबाट सुरु भएको उनीहरूकाे ट्रेकिङ याक खड्का, थोरङ ला फेदी, रङ्गला हाई क्याम्प हुँदै थोरङ्गला पास गरेर मुक्तिनाथ झरेपछि सकिएकाे थियाे । नेपालको सबैभन्दा कठिन पास पार गरेपछि उनीहरू निकै उत्साहित देखिन्थें । उनीहरू स्वदेश फर्किसकेका छन् ।
मर्मत सम्भारपछि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा
मुग्लिन । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा आएको हो । उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए । नेपालको पहिलो केवलकार यसै वर्ष नयाँ प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।
सोह्रश्राद्ध र बाढीले घरजग्गा कारोबार सुस्तायो, तिहारपछि बुम हुने आशा
काठमाडाैं । यस वर्ष साउन महिनामा घरजग्गाको कारोबार लयमा आएको भएतापनि त्यसपछि निरन्तर ओरोलो लागेको छ । साउन महिनामा गत आर्थिक वर्षकाे सोही महिनाको तुलनामा घरजग्गाको कारोबार बढेको भएतापनि भदौ र असोज महिनामा यस्तो कारोबार निरन्तर खच्किएको हो । कारोबारमा सुस्तता आउँदा त्यसबाट संकलन हुने राजस्व पनि निरन्तर घटिरहेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार चालु आवको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा १ लाख ७ हजार १६० वटा लिखत पास भएको छ । गत आवको पहिलो त्रैमासमा १ लाख १४ हजार ८३० वटा लिखत पास भएका थिए । यस वर्ष गत वर्षभन्दा ७ हजारवटा कम लिखत पास भएको छ । मासिक विवरण हेर्ने हो भने चालु आवको साउनमा घरजग्गाको कारोबार चलायमान भएको देख्न सकिन्छ । चालु आवको साउनमा ४३ हजार ८३५ वटा लिखत पारित भएको छ । गत आवको साउनमा ३९ हजार २६३ वटामात्र लिखत पारित भएको छ । साउनमा बढेको कारोबार भदौ र असोजमा निरन्तर घटेको छ । चालु आवको भदौमा ३२ हजार ७९८ वटा लिखत पारित भएको छ । गत अवको भदौमा ३५ हजार ६८६ वटा लिखत पारित भएको थियो । यसैगरी, असोज महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएको छ । गत वर्षको असोजमा ३९ हजार ८८१ वटा लिखत पारित भएको थियो । कारोबार सुस्ताउँदा राजस्व पनि गिरावट घरजग्गाको कारोबार सुस्ताउँदा त्यसबाट संकलन हुने राजस्वमा पनि कमी आएको छ । चालु आवको पहिलो त्रैमासमा १० अर्ब ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको त्रैमासमा १० अर्ब ४ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । अर्थात चालु आवको पहिलो त्रैमासमा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्व करिब ४० करोड रुपैयाँले कमि आएको छ । साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवको सोहि अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी हेर्दा साउनमा कारोबार पनि बढेको र सोहि अनुसार राजस्व पनि ह्वात्तै बढेको देखिन्छ । तर, भदौ र असोज महिनामा घरजग्गाबाट संकलन हुने राजस्वमा निरन्तर गिरावट आएको देखिन्छ । चालु आवको भदौमा ३ अर्ब करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । याे रकम गत आवको भदौ महिनाको भन्दा ४ करोड बढी हो । यसैगरी, असोज महिनामा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएको छ । जुन साउन र भदौ महिनाको भन्दा कम हो । यस्तै, गत आवको असोजको भन्दा एक अर्ब रुपैयाँले राजस्व घटेको छ । किन घट्यो घरजग्गाको कारोबार ? घरजग्गा व्यावसायीहरूका अनुसार भदौ र असोज कारोबार सुस्त हुने सिजन नै हो । यो समयमा विषेशगरी दुइटा कारणले घरजग्गाको कारोबार सुस्ताउने गरेको व्यवसायीहरू बताउँछन् । नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ उपाध्यक्ष दीपक मल्हाेत्राले यो समयमा बाढी पहिरो जाने र साेह्र श्राद्धकाे समय भएकाले कारोबार सुस्त हुने बताए । उनका अनुसार स्रोह्र श्राद्धकाे समयमा जग्गाको कुनै कारोबार नै हुँदैन । यस वर्ष असोजको २ गतेदेखि १६ गतेसम्म सोह्र श्राद्ध परेको थियो । उक्त समयमा कारोबार प्राय: शून्य हुने उनले बताए । गत वर्षभन्दा यस वर्ष बाढी-पहिरो धेरै गएको र त्यसले पनि कारोबारमा असर गरेको वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले बताए । यी दुई कारणले गर्दा असोजमा कारोबार ह्वात्तै घटेको उनको भनाइ छ । गत आवको असोजमा कारोबार बढेको थियो, त्यस वर्ष यी कुराले असर नगरेको हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘गत वर्ष पनि यसले असर गर्याे । तर, कम गर्याे । गत वर्ष असोज १३ देखि २७ गतेसम्म सोह्र श्राद्ध थियो । १३ गतेसम्म कारोबार राम्रो भएको हुनसक्छ । बाढी-पहिरो पनि आएको थिएन । यसले पनि मद्दत गर्याे ।’ कानुनी अल्झनका बीच तिहारपछि कारोबार बढ्ने आशा वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले घरजग्गाको क्षेत्रमा केही कानुनी अल्झन रहेको भएतापनि तिहारपछि कारोबार बढ्ने आशा व्यक्त गरे । उनले भने, ‘तिहारपछि कारोबार बढ्दै जान्छ । सिजन पनि हो ।’ तिहारपछि घरजग्गाको कारोबार बढ्ने केही आधारहरू रहेको उनी बताउँछन् । उनका अनुसार विगत ३ वर्षदेखि सुस्ताएको र मानिसहरूले घरजग्गाको भाउ घट्छ भनेर वेटिङ गरिरहेको उल्लेख गर्दै उनले यसरी वेटिङ गरेका मनिसहरूले अब घरजग्गा खरिद गर्ने बताए । यसैगरी, तिहारपछि घरजग्गा किन्ने, घर बनाउने सिजन भएकाले काराबार बढ्ने आशा उनले व्यक्त गरे । यसैक्रममा वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले घरजग्गा व्यवसायमा नेपाल राष्ट्र बैंकले केही कानुनी अल्झनलाई हटाउनुपर्ने धारणा राखे । विकासन्यूजसँग कुरा गर्दै उनले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत घरजग्गा क्षेत्रको ३ वटा कानुनी अड्चन फुकाउनु पर्ने बताए । लोन टु भ्यालु रेसियो, घरजग्गाको जोखिम भार र मासिक किस्तामा वैध आम्दानीको ७० प्रतिशतवाला व्यवस्थालाई सच्याउनु पर्ने उनको भनाइ छ । घरजग्गामा लोन टु भ्यालु रेसियो ६० प्रतिशत रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले यसलाई कम्तीमा पनि ७० प्रतिशत बनाउनु पर्ने बताए । यसैगरी, जोखिम भार १२५ प्रतिशतलाई घटाएर १०० प्रतिशतमा झार्नुपर्ने महासंघको माग रहेको उनको भनाइ छ । यसैगरी, घरजग्गा खरिद गर्ने जनताले बैंकलाई तिर्ने मासिक किस्ता वैध आम्दानीको ७० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको बताउँदै उनले यसलाई बढाउनुमा जाेड दिए ।
अर्थमन्त्रीका तीन महिना : विदेशी मुद्रा बढ्नुलाई सफलता ठाने, ब्याजदरमा हस्तक्षेप गरेको स्वीकारे
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफूले तीन महिनामा गरेको कामको विवरण सार्वजनिक गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले तीन महिनाको अवधिमा गरेका कामहरू सार्वजनिक गरेका हुन् । नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका कार्यहरू भन्दै सार्वजनिक गरिएको विवरणमा ठूलो काम भने देखिँदैन । अर्थमन्त्री पौडेलले विदेशी मुद्राको सञ्चिति बढ्नुलाई आफ्नो सफलता मानेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसदमा विधेयक पेस गरेको उल्लेख छ । अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताएएका छन् । उनले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, ब्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको र रेमिट्यान्स वृद्धि भएको जानकारी दिएका छन् । अर्थमन्त्री पौडेलले आफू अर्थमन्त्री बनेपछि ब्याजदर घटेको दाबी गरेका छन् । ब्याजदर खुला रूपमा स्वतन्त्र ढंगले निर्धारण हुने विषय हो । बैंक तथा वित्तीय संस्थाले कर्जाको माग र आपूर्तिलाई मूल्यांकन गरेर ब्याजदर निर्धारण गर्ने अभ्यास छ । तर, अर्थमन्त्री भने आफू अर्थमन्त्री बनेपछि ब्याजदर घटेको भन्दै खुसीका साथ प्रेस विज्ञप्ति जारी गरे । यसले उनले ब्याजदरमा हस्तक्षेप गरेको जानकारहरू बताउँछन् । पूँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङ्कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, विदेशी मुद्राको सञ्चिति हालसम्मको उच्च २१ खर्ब ५२ अर्ब रुपैँया रहेको छ। रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ भने ब्याजदर घटेर औषत ६.१५१ प्रतिशत कायम भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्ता छन् अर्थमन्त्रीले गरेका काम – बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरी बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाइएको छ । -यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । यसबाट हालसम्मको चालु, पुँजीगत तथा समग्र खर्चमा उल्लेख्य सुधार ल्याउन सहयोग पुगेको छ । – मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ गरिएको छ। राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गरिएको छ। -अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अगाडि बढाई प्रतिवेदन प्राप्त गर्ने चरणमा रहेको छ। -नयाँ बीमा नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेश गरिएको छ। -साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काषन तथा कारोबारसम्बन्धी नियमावली, २०८१ मन्त्रिपरिषद्मा पेस गरिएको छ। -आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। -भन्सार मूल्याङ्कनलाई यथार्थ कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गरिएको छ । – भन्सार महसुल नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस गरिएको छ। यसबाट भन्सार प्रकिया थप सरलीकृत हुनेछ । – सार्वजनिक संस्थानमा ऋण तथा लगानी सम्बन्धी नीति तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस गरिएको छ । -आन्तरिक ऋण निष्काशन तथा व्यवस्थापन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ । – आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, द्दण्ठट को संशोधन विधेयक सङ्घीय संसदमा पेस गरिएको छ । – तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गरिएको छ । – वीरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयमा ल्याब मोड्युल सुरु गरिएको छ । – भन्सार प्रज्ञापनपत्रको मुख्यमुख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई ईमेल मार्फत जानकारी गराउने प्रणाली सुरु गरिएको छ । -नागरिक वचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण कार्य भएको छ । -आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, द्दण्डज्ञ तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) मा पेस गरिएको छ । -हस्तान्तरण मूल्यसम्बन्धी निर्देशिका, द्दण्डज्ञ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । -वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने ४०० भन्दा बढी करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गरिएको छ । -अन्तःशुल्क चुहावट नियन्त्रणका लागि मदिरा, बियर, चुरोट, सूर्तीजन्य वस्तु, इनर्जी ड्रिङ्कस र जुसको व्यावसायिक उत्पादन गर्ने एक सय भन्दा बढी उद्योग प्रतिष्ठानको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ । -बहुवर्षीय ठेक्का प्रक्रियालाई थप व्यवस्थित र कार्यान्वयन योग्य बनाउन पहल गरिएको छ । -योजनाहरूको प्राथमिकीकरण गरी बजेट विनियोजन तथा कार्यन्वयनलाई थप प्रभावकारी बनाउने कार्य भएको छ । -दोस्रो वित्तीय क्षेत्र रणनीति निर्माणको कार्य प्रारम्भ गरिएको छ । -विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमाको कार्य भइरहेको छ । -नयाँ बजेट तर्जुमा दिग्दर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने
काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । विपद्प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए । केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए । त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए । ‘महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’ मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको बताए । महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरे । महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् । ‘यो हाम्रा लागि ठूलो निर्णय हो,’ उनले भनिन्, मन्त्रीज्यू र यातायात व्यवसायीलाई धन्यवाद ।’ यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए । मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।
वार्षिक कति कमाउँछ महँगो भनिएको युलेन्स स्कुल ?
काठमाडौं । अधिकांश विद्यार्थीले पढ्नका लागि रुचि राख्ने विद्यालय हो- युलेन्स स्कुल । ललितपुरको खुमलटारमा रहेको यस स्कुल ‘युलेन्स एजुकेशन फाउण्डेशन ट्रस्ट’ ले सञ्चालन गरेको हो । यो स्कुल सञ्चालनमा आएको को १८ वर्ष पुगिसकेकाे छ । प्रगतिशील शिक्षा (प्रोग्रेसिभ एजुकेशन)लाई जोड दिइरहेको यो स्कुललाई धेरैले महँगोको ट्याग पनि लगाएका छन् । युलेन्समा कक्षा १ देखि १० सम्म दुइटा सेक्सन छन् । प्रत्येक सेक्सनमा ३० जना विद्यार्थी छन् । यसरी हेर्दा कक्षा १ देखि १० सम्म ६ सय जना विद्यार्थी छन् । युलेन्समा तहअनुसार शुल्क पनि फरक छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको युलेन्सको १७ रोपनी आफ्नै र ५ रोपनी जग्गा भाडामा छ । तीनवटा आफ्नै भवन छन् भने दुइटा भवन भाडामा लिएर पठनपाठन सञ्चालन हुँदै आएकाे छ । यो भव्य विद्यालयसँग बेलाबखत नेपाली कांग्रेसकी नेतृ तथा वर्तमान परराष्ट्र मन्त्री डा. आरजु राणाको नाम पनि जोडिन्छ । यसअघि आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकाले धेरैले उनको स्कुल भएको पनि चिन्छन् । तर, अहिले व्यवस्थापन समितिको नेतृत्व सोमप्रसाद पनेरुले गरिरहेका छन् । अहिले स्कुलको पाँच सदस्यीय व्यवस्थापन समिति छ । देशकै महँगो स्कुलको ट्याग लागेको यो स्कुलको वार्षिक कमाइ चाहिं कति होला ? यस विषयमा सबैको चासो हुनु स्वाभाविक हो । कम्पनीले यस वर्ष रेटिङ गराएको छ । केयर रेटिङ नेपालले गरेको रेटिङमा यस स्कुलले सन् २०२४ मा ७५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अपरिष्कृत वित्तीय विवरण हो । यो आम्दानी मात्रै हो, नाफा भने हाइन । स्कुलले सन् २०२३ मा ७५ करोड ५० लाख र सन् २०२२ मा ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२४ मा यस स्कुलले २० प्रतिशत बढी आम्दानी गरेको देखिन्छ । यस स्कुलले ६० करोड दीर्घकालीन र ५ करोड रुपैयाँ अल्पकालीन गरी कुल ६५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । स्कुलले केयर एनपी ए थ्रीको रेटिङ पाएको छ । युलेन्स एजुकेशन फाउन्डेसन गैर-नाफामूलक संस्था हो । नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको स्कुलले विद्यार्थीको सामाजिक विकास र संवेगात्मक विकासमा जोड दिइरहेको छ । पुस्तक, पोसाक र परीक्षा बिनाको उत्कृष्ट पाठशाला
देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
काठमाडौं । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताए । उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ । उनले भने,’बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश, १९ अर्ब बढी लगानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौं वर्षमा प्रवेश गरेको छ । सिटिजनले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो। यस कम्पनीकाे मूल नारा ‘समृद्धि तपाईंको, साथ हाम्रो’ रहेकाे छ । कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । यसैगरी, १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेकाे छ । १९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सिटिजन लाइफले ७ वर्षको अवधिमा जम्मा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने कुल ११ लाख ८९ हजार बीमित रहेका छन् । कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन् । कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेकाे छ । कम्पनीले सातौं वार्षिकोत्सवका अवसरमा देशैभरका शाखा तथा उपशाखा कार्यालय र प्रधान कार्यालयमार्फत सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दैछ । कम्पनीले यस वर्ष बीमा सचेतनालाई विशेष प्राथमिकतामा राखेको छ । यसका साथै कम्पनीका शाखाले अन्य संघसंस्थासँगको सहकार्यमा जीवन बीमासम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ । यसैगरी, हालैको अविरल वर्षाका कारण आएको बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति भएकोमा प्रभावित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहात सामग्री वितरण गरिने कम्पनीले जनाएकाे छ । यसै सन्दर्भमा सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहलअन्तर्गत विभिन्न ठाउँमा वृक्षरोपणसमेत गर्ने भएको छ । त्यसैगरी विगतका वर्षझैं यस वर्ष पनि प्रधान कार्यालय र शाखाहरुमा कम्पनीले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सिटिजन लाइफले हालसम्मको प्रगतिमा साथ दिने ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, सञ्चारकर्मी, व्यवसायीक साझेदार, कर्मचारीलगायत सबैमा कृतज्ञता व्यक्त गरेको छ ।