ढकमक्क फुल्न थाले सयपत्री
दाङ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेंलै भएका छन् । भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लागेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्छन् । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लागेका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका छन् । घोराही-१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक दुई हजार भाडामा लिएर उनीहरूले फूलखेती गरिरहेका छन् । गत वर्ष तिहारमा मात्रै १३ लाखको फूल बिक्री गरेको साउदले बताए । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरूको छ । उनीहरुले दुई वर्ष अगाडि कर्मा-५५५ जातको सयपत्री फूलबाट खेती सुरु गरेका थिए । यसपाली कर्मा-५५५, कर्मा-९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा रु ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए । ‘यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौं’, उनले भने, ‘यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।’ स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउँछन् । उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समयसम्म राख्न समस्या भएको उनले बताए । राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनले बताए । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाहरूमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।
चीनलाई पछि पार्दै भारत बन्यो विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारीको बजार
काठमाडौं । चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारीको बजार बनेको छ । शुक्रबार जारी एक प्रतिवेदनमा ग्रामीण क्षेत्रमा बढ्दो माग, मनसुनको अनुकूल अवस्था र ग्रामीण विकासका लागि सरकारी पहलहरू जस्ता कारकहरूका कारण भारत सबैभन्दा ठूलो दुई पांगे सवारी बजारको रूपमा उभिएको उल्लेख छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार विश्वभरि २०२४ को पहिलो ६ महिनामा दुई पांग्रे सवारीसाधनको बिक्रीमा वार्षिक ४ प्रतिशत वृद्धि भएको छ । भारतमा मात्र नभई युरोप, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, मध्य पूर्व र अफ्रिकामा पनि दुई पांग्रे सवारीसाधनको बिक्रीमा वृद्धि देखिएको छ । तर, चीन र दक्षिण पूर्व एशिया (एसईए) मा दुई पाङ्ग्रे सवारीसाधनको बिक्री घटेको छ । वरिष्ठ विश्लेषक सौमेन मण्डलले भारतको दुई पांग्रे सवारीसाधनको बजारमा यस वर्षको पहिलो ६ महिनामा २२ प्रतिशतको ठूलो वृद्धि भएको बताए । उनले यो बलियो प्रदर्शनका साथ भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारीसाधन बजार भएको बताए । भारतमा दुई पांग्रे सवारीसाधनहरूले यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा वार्षिक आधारमा बलियो दोहोरो अंकको वृद्धि रेकर्ड गरेका छन् । योसँगै १२५ सीसीभन्दा कम क्षमताका दुई पांग्रे सवारीसाधन चीनमा लोकप्रिय छन् तर ग्राहकले दैनिक प्रयोगका लागि मोटरसाइकल र स्कुटरको सट्टा ई–साइकल रोजिरहेका छन् । यो परिवर्तनले चिनियाँ दुई पांग्रे सवारीसाधनको बजारमा, विशेष गरी विद्युतीय क्षेत्रमा अस्थायी मन्दी निम्त्याएको छ । दक्षिणपूर्वी एशियामा, भूराजनीतिक व्यापार तनाव र इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्याण्ड र मलेसिया जस्ता प्रमुख बजारहरूमा कडा ऋण मापदण्डहरूले दुई पांग्रे सवारीसाधनको बिक्रीमा गिरावट ल्याएको छ । थप रूपमा आर्थिक अनिश्चितताको बीचमा ग्राहकहरूको सतर्क मनोवृत्तिले दुई पांग्रे सवारीसाधनको बिक्रीलाई असर गरेको छ । सन् २०२४ को पहिलो ६ महिनामा ७५ प्रतिशतभन्दा बढी बिक्रीका लागि शीर्ष १० विश्वव्यापी दुई पांग्रे सवारी उत्पादकहरूको योगदान छ । होन्डा विश्व दुई पांग्रे सवारीसाधन बजारको नेतृत्व गरिरहेको छ । त्यसपछि हिरो मोटोकर्प, यामाहा, टिभिएस मोटर र याडिया छन् । शीर्ष १० ब्रान्डहरूमध्ये, टिभिएस मोटर वार्षिक रूपमा २५ प्रतिशत वृद्धिको साथ सबैभन्दा छिटो बढिरहेको ब्रान्ड रह्यो । त्यस्तै, वार्षिक आधारमा २९ प्रतिशतको गिरावटका साथ यादियाको सबैभन्दा धेरै गिरावट आयो र कम्पनी पाँचौं स्थानमा झरेको छ । रिसर्चरका उपाध्यक्ष नील शाहले विद्युतीकरण बढ्दै गएकाले सन् २०३० सम्म बिक्री हुने १० मध्ये ४ वटा विद्युतीय सवारी हुने अनुमान गरेका छन् । ‘दुई पांग्रे खण्डले पनि एम्बेडेड सेलुलर जडानको द्रुत अपनत्व देखिरहेको छ,’ उनले भने, ‘जसरी अटोमोटिभ उद्योग सी–वी२एक्स टेक्नोलोजीतर्फ अघि बढ्छ, दुई पांग्रे सवारीसाधन पनि त्यही बाटोमा अघि बढ्नेछन् ।’ एजेन्सी
सडक अभावले गोरखामा कुहिँदै करोडौंको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे । उनले भने, ‘कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौंको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ ।’ गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौं ल्याउँदा प्रतिकेजी ६ सय ६६ रुपैयाँ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौंको स्याउ कुहिने बताए । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडाँैको स्याउ बिग्रने अवस्थामा पुगेको बताए । उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरेको बताए । उनले कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पुर्याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने धारणा राखे । बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी व्यहोर्नु परेको बताए । उनले भने, ‘गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ ।’ गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताए । उनले भने, ‘किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ ।’
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैंको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताए । केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो। गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा छ गुणाले वृद्धि भएको बताइएको छ । भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको सङ्ख्या पनि गत वर्षभन्दा वृद्धि भएकामा स्थानीय होटल व्यवसायी उत्साहित छन् । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै आधार शिविरमा फोहर बढेको छभने शौचालयसहितका अन्य संरचनामा सम्बन्धित निकायको ध्यान नपुगेको पर्यटकले गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ ।
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
काठमाडौं । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अस्ट्रेलियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गरे । नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् । निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ । न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको सात लाख रूपैयाँ २५ हजार कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिए । एक करोड ४५ लाख बढी राजस्व आम्दानी ‘नाउरको सिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ, तर विदेशी सिकारीहरू बँदेलको सिकार गर्न भने खासै इच्छुक देखिदैनन्,’ अधिकृत शेर्पाले भने, ‘बँदेलको सिकारका लागि न्यूनतम् राजस्व १० हजार भने तिर्नैपर्छ । सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कुल एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ।’ सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ। विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो । विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले सिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताए । साथै, उनले हतियारको अनुमति तथा सिकारका लागि कानुनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिए । सिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी सिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै ६ महिनासम्म समय लाग्ने गरेको छ । स्थलगत रूपमा आफूले भोगेका विषयबारे जानकारी दिँदै सञ्चालक थापाले भने, ‘आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्तिलाई प्रभावकारी रुपमा खटाउनुपर्छ।’ यो आरक्ष पेसेवर विदेशी सिकारीका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल र बँदेलको सिकार गर्न पाइन्छ । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । विदेशी सिकारीले अनुमति प्राप्त बन्दुक र गोली आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुन्छ। कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ। सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै रहँदा खाने र अन्य फोहर गाड्ने गरिन्छ । आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आरक्षमा घोरल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन । ‘आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ,’ उनले भने। आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका अधिकृत कँडेलले बताए । ‘यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै, जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पुर्याउने परिस्थिति पनि उत्पन्न हुँदैन,’ उनले भने। बुढो भाले प्रजातिको मात्र सिकार गर्ने प्रावधान यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार दुई सय ९० र झारलको सङ्ख्या सात सय ४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले सिकारका लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ । बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ । गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरेर प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरिन्छ । विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो । अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात सय राजस्व आम्दानी भएको विभागको तथ्यांक छ । रासस
जीर्णोद्धारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
ढोरपाटन । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका-५ हरिचौरस्थित दरबारको जीर्णोद्धारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्धार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ । १०२ वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए । दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उनले बताए । दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको उनले बताए। हमालका अनुसार दैनिक एक सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको उनले बताए। पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको अध्यक्ष हमालले जानकारी दिए। दरबारलाई सङ्ग्रहालयका रूपमा विकास गर्न थालिएको हमालले बताए। दरबारभित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायतका सामग्री सङ्ग्रहित गर्न थालिएको छ। ‘दरबार जीर्ण बनेको थियो, यो दरबारसँग इतिहास जोडिएको हुँदा यसलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले अहिले जीर्णोद्धार गरेका छौँ, इतिहाससँगै दरबार पर्यटकका लागि आकर्षक गन्तव्य पनि बनेको छ, यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन्, जीर्णोद्वार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, अहिले विदेशीको पनि चहलपहल हुन थालेको छ,’ उनले भने। सामाजिक सञ्जालमार्फत दरबारको प्रचारप्रसार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि १० गाडीमा १० मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेका छन् । रुपन्देहीको देवदहबाट घुम्न आएका प्रेरणा शर्माले एक सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताए । सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताए । ‘दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नुभएको रहेछ,’ शर्माले भने, ‘यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी हुनुभयो ।’ पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेस्टुरेन्ट सञ्चालन गरेको छ। टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहने पर्यटकका खाना र बस्नको सुविधा रहेको गलकोट दरबार प्रालिका सदस्य विजय मल्लले बताए। प्रालिले दरबारसँग जोडिएको घरमा करिब ५० लाख लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेको हो। रेस्टुरेन्टमा एकैसाथ २० जना पाहुना राख्न सकिने उनले बताए । घुम्न आउने धेरै पर्यटकले दरबारमा बास बस्ने चाहना देखाएपछि आफूहरुले रेस्टुरेन्ट सञ्चालन गरेको उनले बताए । दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा थिए । यहीँबाट गलकोटको राजकाज चल्थ्यो। त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल थिए । उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए । दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौं सरेको थियो।
सिर्सिया बन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१.२५ प्रतिशत राजस्व संकलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलन २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए । ‘गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ’, उनले भने, ‘चालु आवको दशैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।’ कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९.२८ प्रतिशत अर्थात तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन गर्यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८.५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गर्यो । त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व संकलन गर्यो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व संकलन भएको थियो ।
अमेरिकाले इजरायलमा पठाएको थाड मिसाइल प्रणालीको लगानी कति छ ?
काठमाडाैं । अमेरिकाले इजरायललाई आफ्नो अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) पठाउने निर्णय गरेको छ । अक्टोबर १ मा इरानले इजरायलमा गरेको ठूलो मिसाइल आक्रमणपछि यस्तो निर्णय गरिएको हो । यस हमलामा इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले थाड पठाउनुकाे उद्देश्य इजरायलको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएका छन् । यस अभियानमा करिब १०० अमेरिकी सैनिक पनि तैनाथ हुनेछन् । यो खतरनाक मिसाइल प्रणालीको लागत कति छ र यो किन विशेष छ ? आउनुहोस्, यसबारेमा छाेटकरीमा चर्चा गराैं । थाड (टीएचएएडी) को अर्थ के हो ? थाडको अर्थ ‘टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स’ हो । यो एक प्रकारको क्षेप्यास्त्र विरोधी प्रणाली हो । यसलाई अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाएको हो । यसले छोटो, मध्यम र केही हदसम्म लामो दूरीका ब्यालेस्टिक मिसाइललाई आकाशमै नष्ट गर्न सक्छ । कंग्रेसनल रिसर्च सर्भिसका अनुसार एक थाड ब्याट्रीले ९५ सेनाले गर्ने काम गर्न सक्न । छ वटा ट्रक-माउन्ट गरिएको लन्चर, ४८ वटा इन्टरसेप्टर (प्रत्येक लन्चरमा आठ), उन्नत राडार निगरानी र एक रणनीतिक फायर तत्वहरू हुन्छन् । थाड ब्याट्रीको लागत कति ? प्रत्येक थाड ब्याट्रीको लागत लगभग १ देखि १.८ बिलियन अमेरिकी डलर रहेकाे छ । यस प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष टोलीको आवश्यक पर्छ । दुई सी-१७ सैन्य यातायात विमानले अलाबामाबाट इजरायलमा थाड उपकरणहरू ढुवानी गरेको जनाइएकाे छ । यसले चलिरहेको द्वन्द्वमा अमेरिकाको बढ्दो हस्तक्षेपको संकेत गर्दछ । थाडमा हिट-टु-किल प्रविधि थाडले ‘हिट-टु-किल’ प्रविधि प्रयोग गर्दछ । अर्थात यसले प्रतिद्वन्द्वीको मिसाइललाई सिधै प्रहार गरेर नष्ट गर्छ । यो पुरानो प्याट्रियट एयर र मिसाइल रक्षा प्रणालीभन्दा धेरै ठूलो क्षेत्र कभर गर्न सक्षम छ । यो चाँडै कहीँ पनि तैनाथ गर्न सकिन्छ । यो पृथ्वी भित्र र बाहिर दुवै मिसाइल खतराहरू सामना गर्नसमेत सक्षम छ । इजरायलमा थाड मिसाइल प्रणाली किन पठाइयो ? इरानले हालै गरेको मिसाइल आक्रमणपछि इजरायलले बदला लिने तयारी गरिरहेको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायलको प्रतिक्रिया ‘घातक र आश्चर्यजनक’ हुने चेतावनी दिएकाे छ । इरान सरकारले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको बदला लिन मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।